नबिल र शाइन रेसुङ्गालाई आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड

नबिल उत्कृष्ट वाणिज्य बैंक, शाइन रेसुङ्गालाई तीन विधामा अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।

भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ जितेको हो । विकास बैंकतर्फ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ‘बेस्ट डेभलपमेन्ट बैंक’ घोषित भएको छ ।

शाइन रेसुङ्गाले ‘बेस्ट डेभलपमेन्ट बैंक’सँगै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन विधामा अवार्ड जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ ।

आईसीसीले बिम्स्टेक सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाबाट आवेदन माग गरेको थियो । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा र समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको जनाइएको छ ।

अवार्ड छनोटका लागि प्राइस वाटरहाउस कूपर्स (पीडब्लुसी) का विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो।  आयोजकका अनुसार यसले पुरस्कार छनोट प्रक्रियाको विश्वसनीयता र पारदर्शिता थप सुदृढ बनाएको छ ।

यो सम्मानलाई नेपालको बैंकिङ क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विशेषगरी शाइन रेसुङ्गाले एकैपटक तीन विधामा अवार्ड जित्नु नेपाली विकास बैंकहरूको सुशासन, वित्तीय अनुशासन र दिगो वृद्धिको संकेत भएको विश्लेषण गरिएको छ ।

इण्डियन चेम्बर अफ कमर्सले हरेक वर्ष दक्षिण एसियाली मुलुकका उत्कृष्ट बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ । नेपालका बैंकहरूले प्राप्त गरेको यसपटकको अन्तर्राष्ट्रिय सम्मानले नेपालको बैंकिङ प्रणालीप्रतिको विश्वास र विश्वसनीयता थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।

Share News