सरकारकाे 'सुन्ने अनि थुन्ने' नीतिमा भद्दा मजाक
काठमाडौं । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल नियमित काममा फर्किएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई उनी नियमित काममा फर्किएको जानकारी दिएको हो । गत चैतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो । कम्पनीले कार्यरत कर्मचारीकाहरूलाई छुट्ट्याएको सेयर बाँडफाँट सम्बन्धमा गलत विवरण पठाएको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको थियो । सीआईबीले उनीमाथि अनुसन्धान सम्पन्न गरेपछि उनी नियमित काममा फर्किएका हुन् । केही दिन हिरासतमा बसेका उनी पछि रिहा भएपनि कार्यालय हाजिर भएका थिएनन् । त्यसपछि कम्पनीले कवि फुयाललाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कुनै पनि अनुसन्धान नगरी सीआईबीले ठाडो उजुरीका आधारमा अर्याललाई पक्राउ गरेको थियो । बीमा क्षेत्रमा राम्रो सीईओको छबि बनाएका अर्याललको पक्राउले बीमा क्षेत्र नै एकाएक तरंगित बनेको थियो । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अगाडि सुन्ने त्यसपछि मात्रै थुन्ने नीति लिएको बताए पनि सीईओ अर्याललाई भने ठाडो उजुरीका आधारमा पक्राउ गरिएको थियो । उनी सो विषयमा संलग्न नभएकै कारण सीआईबीले उनलाई रिहा गरेर उनी काममा पनि फर्किसकेका छन् । पछिल्लो समय सरकारले सुन्ने अनि थुन्ने भन्दा पनि थुन्ने अनि सुन्ने नीति आत्मसात गरेको अनुभुती, बैंकर, उद्योगी व्यवसायी तथा सर्वसाधारणले पनि गरेका छन् । सीईओ पक्राउ, बीमा क्षेत्र सरप्राइज
नेक्स्ट जेनेरेसन अटोमोटिभमा प्रहरीको छापा*
काठमाडौं । टाटा गाडीका नक्कली पार्टपुर्जा र लुब्रिकेन्ट अवैध रूपमा आयात गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले नेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिमा छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिमा छापा हानेकाे हाे । प्रहरीले १० वटा गोदाममा छापा हानेर अटो पार्टपुर्जा तथा लुब्रिकेन्ट बरामद गरेको जनाएको छ । बरामद गरिएका गोदामहरू सिलबन्दी गरिएको छ । नक्कली पार्टपुर्जाको प्रयोगले सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै उपभोक्ताको ज्यान र सम्पत्तिमा क्षति पुग्ने तथा सरकारको राजस्वसमेत गुम्ने अवस्था रहेको प्रहरीको भनाइ छ । यस्ता अवैध कारोबारका कारण कानुनी रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीसमेत प्रत्यक्ष प्रभावित भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले देशभर नक्कली अटो पार्टपुर्जा तथा लुब्रिकेन्टको अवैध कारोबारमा संलग्न व्यक्ति र समूहविरुद्ध खोजी तथा कारबाहीलाई थप तीव्र बनाइने जनाएको छ । (समाचारमा केही तथ्यगत त्रुटी भएकोले क्षमाप्राथीसहित सच्याइएको छ : सम्पादक)
भदौ ९ देखि १८ औँ नाडा अटो शो, ‘अर्ली बर्ड’मा ५० प्रतिशत छुट
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औँ वर्षको अवसरमा १८ औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नाडाले प्रदर्शनीको अग्रिम टिकट खरिद गर्ने दर्शकका लागि ५० प्रतिशतसम्म ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ । यो सुविधा सीमित अवधिसम्म मात्र उपलब्ध हुने जनाइएको छ । यस वर्षको अटो शोको मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ । स्वर्ण वर्षलाई विशेष बनाउने उद्देश्यले नाडाले खल्तीसँग सहकार्य गरी डिजिटल टिकटमा छुट योजना ल्याएको हो । योजनाअनुसार खल्ती एप वा आधिकारिक क्यूआर कोड स्क्यान गरेर अग्रिम टिकट खरिद गर्नेले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट पाउनेछन् । नाडाले छुट अवधि सकिनुअघि टिकट सुरक्षित गर्न आग्रह गरेको छ । यस वर्षको प्रदर्शनीमा नयाँ विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपांग्रे र चारपांग्रे सवारीसाधन, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा र बिमा सेवासम्बन्धी जानकारी एकै स्थानमा उपलब्ध हुने जनाइएको छ । नाडाले ५० वर्षको यात्रा उत्सवका रूपमा मनाउन तथा नयाँ अटो प्रविधिसँग परिचित हुन अटोप्रेमी, युवा र विद्यार्थीलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको छ ।
साढे ५ लाख युरोको फेरारी, आलोचनाबीच दुई महिनामै बिक्री लक्ष्य पूरा
काठमाडौं । इटालियन लक्जरी कार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ले सार्वजनिक भएको करिब दुई महिनामै कम्पनीले सन् २०२६ का लागि राखेको बिक्री लक्ष्य पूरा गरेको छ । फेरारीले लुचेका लागि सन् २०२६ मा ५०० भन्दा कम युनिट बिक्री गर्ने लक्ष्य राखेको थियो । फाइनान्सियल टाइम्सले दुई स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार मे २५ मा सार्वजनिक गरिएको लुचेले जुलाईको सुरुमै उक्त लक्ष्य पूरा गरिसकेको थियो । बजारमा आएको केही सातामै फेरारीले आफ्नो पहिलो इलेक्ट्रिक कारका लागि राखेको प्रारम्भिक बिक्री लक्ष्य भेट्टाएको हो । यद्यपि, फेरारीले बिक्री भएको युनिटको ठ्याक्कै संख्या सार्वजनिक रूपमा पुष्टि गरेको छैन । लुचेको सुरुवाती मूल्य करिब ५ लाख ५० हजार युरो अर्थात् करिब ६ लाख २६ हजार अमेरिकी डलर छ । लुचे आम विद्युतीय कारको बजारभन्दा निकै माथि सीमित र अत्यन्तै सम्पन्न ग्राहक लक्षित कार हो । डिजाइनमै ठूलो प्रश्न लुचेको बिक्रीको कथा अझ रोचक हुनुको कारण यसको डिजाइन पनि हो । फेरारीका परम्परागत कारहरू प्रायः होचा, आक्रामक र स्पोट्र्स कारको स्वरूपमा देखिन्छन् । तर लुचे भने चार ढोका र पाँच सिट भएको ठूलो ग्रान्ड टुरर शैलीको कार हो । यही कारण यसको डिजाइन सार्वजनिक भएपछि फेरारीका परम्परागत प्रशंसक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रियासमेत आएका थिए । तर डिजाइनमा देखिएको यो परिवर्तन संयोग भने होइन । लुचेको डिजाइनमा फेरारीसँग सहकार्य गरिरहेका चर्चित डिजाइनर जोनी आइभ र मार्क न्युसनसमेत संलग्न छन् । आइभ एप्पलको डिजाइन प्रमुखका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् । फेरारीले लुचेको डिजाइनलाई केवल आकर्षक देखाउनेभन्दा पनि उच्च प्रदर्शन र विद्युतीय प्रविधिको आवश्यकतासँग मिल्ने गरी विकास गरेको बताउँदै आएको छ । १ हजारभन्दा बढी हर्सपावर लुचे केवल देखावटी लक्जरी कार भने होइन । फेरारीका अनुसार यसमा १ हजारभन्दा बढी हर्सपावर उत्पादन गर्ने विद्युतीय पावरट्रेन प्रयोग गरिएको छ । यसको ब्याट्री क्षमता १२२ किलोवाट–घण्टा छ । कारले ३१० किलोमिटर प्रतिघण्टाभन्दा बढी उच्च गति लिन सक्ने कम्पनीको दाबी छ । त्यस्तै, ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब २.५ सेकेन्डमै हासिल गर्ने क्षमता लुचेमा छ । एकपटक पूर्ण चार्ज गर्दा ५३० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी पनि फेरारीको छ । अर्थात् फेरारीले विद्युतीय कार बनाउँदा परम्परागत रूपमा आफ्नो पहिचान बनेको ‘स्पोट्र्स कारको प्रदर्शन’लाई छोड्न खोजेको देखिँदैन । बलियो माग चीनबाट लुचेको प्रारम्भिक मागमा चीनको बजारले महत्त्वपूर्ण भूमिका खेलेको रिपोर्टहरूमा उल्लेख छ । चीन विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी बजार भएकाले फेरारीका लागि पनि त्यहाँका उच्च आय भएका ग्राहक महत्त्वपूर्ण बनेका छन् । प्रारम्भिक माग चीनबाट बलियो देखिनु फेरारीको पहिलो ईभीका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । अमेरिकालगायत अन्य बजारमा पनि उच्च आय भएका ग्राहकबाट लुचेप्रति रुचि देखिएको रिपोर्टमा उल्लेख छ । यसले फेरारीको विद्युतीय कारको ग्राहक आधार परम्परागत फेरारी खरिदकर्ताभन्दा बाहिर पनि विस्तार हुन सक्ने सम्भावना देखाएको छ । फेरारीका लागि किन महत्त्वपूर्ण छ लुचे ? फेरारीका लागि लुचे एउटा नयाँ मोडल मात्र होइन । यो कम्पनीको पूर्ण विद्युतीय युगमा प्रवेशको पहिलो ठूलो कदम हो । दशकौंदेखि पेट्रोल इन्जिनको शक्ति, आवाज र ड्राइभिङ अनुभव फेरारीको ब्रान्ड पहिचानसँग जोडिँदै आएको छ । यस्तो अवस्थामा पूर्ण विद्युतीय कार ल्याउनु कम्पनीका लागि ठूलो रणनीतिक परिवर्तन हो । तर फेरारीले ईभी बजारमा प्रवेश गर्दा ठूलो संख्यामा कार बेच्ने रणनीति लिएको छैन । कम्पनीले आफ्नो विशेष लक्जरी र सीमित उत्पादनको पहिचान कायम राख्दै विद्युतीय प्रविधिलाई प्रयोग गर्न खोजेको देखिन्छ । २०३० सम्म करिब २ हजार ५०० लुचे बेच्ने योजना फाइनान्सियल टाइम्समा उद्धृत विवरणअनुसार फेरारीले सन् २०३० सम्म करिब २ हजार ५०० वटा लुचे बिक्री गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यो हिसाबले वार्षिक औसत करिब ६०० वटा लुचे बिक्री हुने देखिन्छ । फेरारीको कुल वार्षिक बिक्रीको तुलनामा यो निकै सानो हिस्सा हो । त्यसैले २०२६ का लागि राखिएको ५०० भन्दा कम युनिटको प्रारम्भिक लक्ष्य बजारमा आएको करिब दुई महिनामै पूरा हुनु कम्पनीका लागि महत्त्वपूर्ण संकेत हो । लुचे सार्वजनिक हुँदा यसको डिजाइनले ठूलो बहस जन्मायो । कतिपय फेरारी प्रशंसकले यसलाई परम्परागत फेरारीको शैलीबाट निकै टाढा गएको कारका रूपमा हेरे । तर प्रारम्भिक बिक्री लक्ष्य भने अपेक्षाकृत छिटो पूरा भयो । यसले फेरारीका लागि एउटा रोचक अवस्था सिर्जना गरेको छ, सामाजिक सञ्जालमा आलोचना धेरै देखिए पनि वास्तविक खरिदकर्ताबीच यसको माग कमजोर देखिएन । अझ महत्त्वपूर्ण कुरा यो हो कि आधा मिलियन युरोभन्दा बढी मूल्य पर्ने कारका लागि केही सय युनिटको माग पनि सामान्य कार बजारको हिसाबले होइन, अत्यन्तै सम्पन्न ग्राहकबीचको मागका रूपमा बुझ्नुपर्छ ।
कांग्रेसले भन्यो : अभियान रोकिँदैन, एकतामा उभिनैपर्छ
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा पुगे पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र पार्टी रूपान्तरणको अभियान कुनै पनि अवस्थामा नरोकिने स्पष्ट गरेको छ । कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार जारी गरेको वक्तव्यमा विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति पार्टीको पूर्ण सम्मान रहेको उल्लेख गर्दै अदालतको हरेक कानुनी प्रक्रियालाई सम्मान गर्ने बताएका छन् । उनले पार्टीको वर्तमान नेतृत्व र दिशा भने अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनबाट प्राप्त वैधानिक जनादेश तथा पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्देशित भएको दाबी गरेका छन् । घिमिरेले कानुनी प्रक्रिया आफ्नो मार्गमा अघि बढ्ने भए पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनविश्वास पुनःस्थापनाको अभियान रोकिने नभई अझ तीव्र रूपमा अघि बढ्ने बताएका छन् । उनले लोकतन्त्रको मूल मर्म असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु उचित नहुने उल्लेख गरेका छन् । संवाद, संस्थागत प्रक्रिया र पार्टी विधानलाई लोकतान्त्रिक पार्टीको सबैभन्दा भरपर्दो आधारका रूपमा व्याख्या गर्दै संस्थाका निर्णय अनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्ने बताएका छन् । महामन्त्री घिमिरेले वर्तमान अवस्थामा नेपाली कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प, अविश्वासको राजनीतिभन्दा रूपान्तरणको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले सबै नेता-कार्यकर्ता तथा शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा एकताबद्ध भएर उभिन आग्रह गरेका छन् ।
ट्याङ्करबाट तेल चोर्ने पम्पका साहुसहित सात जना पक्राउ
काठमाडौं । ट्याङ्करबाट पेट्रोल चोरेर बिक्री गर्ने पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका छन् । बिहीबार साँझ पर्सास्थित वीरगञ्ज महानगरपालिका १४ स्थित बाइपास सडकखण्डमा ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल निकाल्दै गरेको अवस्थामा पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका हुन् । ५५ वर्षीय सुनैन मियाँ (पेट्रोल पम्पका साहु), २३ वर्षीय असलम हवारी (पम्पमा लेखाको काम गर्ने), २१ वर्षीय रफिक मियाँ (पम्पको क्यासियर), २० वर्षीय सन्देश राना मगर (ना ७ ख २८०४ नम्बरको ट्यांकरको सहचालक), ४६ वर्षीय केशर राम सुनार (ना ७ ख २८०४ को चालक), २७ वर्षीय उमेश राना मगर (ना ७ ख १५३९ ट्यांकरको सहचालक) र ५० वर्षीय मन्द सिंह लामा (ना ७ ख १५३९ ट्यांकरको चालक) रहेका छन् । प्रहरीका अनुसार पेट्रोल चोर्ने समूहहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
माछापुच्छ्रे बैंकमार्फत करदाता उपहार कार्यक्रममा सहभागी हुन सकिने
काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहकार्य गर्दै आफ्नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन र कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीका वस्तु वा सेवा खरिद गरी व्यापारी क्यूआर मार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन् । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन । बैंकका ग्राहकले एमबीएल एम–स्मार्ट एपमा प्रवेश गरी ‘बिल जितौँ’ मेनुबाट योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा उपहार विजेता भए/नभएको जानकारी सहजै हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले योग्य कारोबारमध्ये दैनिक भाग्यशाली चिठ्ठा मार्फत एक जनालाई कर कट्टीपछि १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा व्यापारी क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा ‘बिल जितौँ’ मेनुबाट आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । साथै ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित कार्यक्रममा सक्रिय सहभागिताका लागि ग्राहकलाई आह्वान गरेको छ ।
कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता गर्न डा. शेखरको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ बजेट फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई शुक्रबार पत्र लेख्दै कोइरालाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याइएको बजेट नीतिगत रूपमा स्वीकार गर्न नसक्ने बताएका हुन् । राज्यका सीमित स्रोत र साधन अभाव, गरिबी र विविध समस्यासँग जुधिरहेका नागरिकको जीवनस्तर उकास्न केन्द्रित हुनुपर्ने भन्दै उनले कोइराला निवासका लागि छुट्याइएको रकम फिर्ता लिन आग्रह गरेका हुन् । कोइरालाले विराटनगर–७ स्थित पितृपुरुष कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको ऐतिहासिक कोइराला निवास गत वर्ष जेन्जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको स्मरण गराउँदै त्यसको ऐतिहासिक महत्त्व कुनै भौतिक संरचनामा मात्र सीमित नरहेको बताएका छन् । उनले कोइराला निवास नेपाली लोकतान्त्रिक आन्दोलन, राजनीतिक चेतना, सामाजिक रूपान्तरण तथा राष्ट्रिय एकताको साक्षी रहेको उल्लेख गर्दै यसको वास्तविक विरासत विचार, संगठन, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामा रहेको धारणा व्यक्त गरेका छन् । पत्रमा कोइरालाले पितृपुरुष कृष्णप्रसाद कोइरालाले सुरु गरेको शैक्षिक जागरणको अभियानलाई जननिर्वाचित प्रथम प्रधानमन्त्री विपी कोइरालाको नेतृत्वमा समग्र कोइराला परिवारले अघि बढाएको उल्लेख गरेका छन् । सो अभियानले नेपाली समाजमा राजनीतिक, बौद्धिक र सामाजिक चेतनाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ । कोइरालाले राज्यले विपीप्रति सच्चा श्रद्धाञ्जली दिन चाहने हो भने जनताको आधारभूत आवश्यकता पूरा गर्न स्रोत र साधन परिचालन गर्नुपर्ने पनि उल्लेख गरेका छन् । राज्यको सीमित बजेट जनजीविकासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा खर्च हुनु नै विपीको आदर्श र कोइराला निवासप्रतिको वास्तविक सम्मान हुने उनको तर्क छ ।