काठमाडौं । ट्याङ्करबाट पेट्रोल चोरेर बिक्री गर्ने पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका छन् ।
बिहीबार साँझ पर्सास्थित वीरगञ्ज महानगरपालिका १४ स्थित बाइपास सडकखण्डमा ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल निकाल्दै गरेको अवस्थामा पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका हुन् ।
५५ वर्षीय सुनैन मियाँ (पेट्रोल पम्पका साहु), २३ वर्षीय असलम हवारी (पम्पमा लेखाको काम गर्ने), २१ वर्षीय रफिक मियाँ (पम्पको क्यासियर), २० वर्षीय सन्देश राना मगर (ना ७ ख २८०४ नम्बरको ट्यांकरको सहचालक), ४६ वर्षीय केशर राम सुनार (ना ७ ख २८०४ को चालक), २७ वर्षीय उमेश राना मगर (ना ७ ख १५३९ ट्यांकरको सहचालक) र ५० वर्षीय मन्द सिंह लामा (ना ७ ख १५३९ ट्यांकरको चालक) रहेका छन् ।
प्रहरीका अनुसार पेट्रोल चोर्ने समूहहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।