कांग्रेसले भन्यो : अभियान रोकिँदैन, एकतामा उभिनैपर्छ

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा पुगे पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र पार्टी रूपान्तरणको अभियान कुनै पनि अवस्थामा नरोकिने स्पष्ट गरेको छ ।

कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार जारी गरेको वक्तव्यमा विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति पार्टीको पूर्ण सम्मान रहेको उल्लेख गर्दै अदालतको हरेक कानुनी प्रक्रियालाई सम्मान गर्ने बताएका छन् ।

उनले पार्टीको वर्तमान नेतृत्व र दिशा भने अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनबाट प्राप्त वैधानिक जनादेश तथा पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्देशित भएको दाबी गरेका छन् ।

घिमिरेले कानुनी प्रक्रिया आफ्नो मार्गमा अघि बढ्ने भए पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनविश्वास पुनःस्थापनाको अभियान रोकिने नभई अझ तीव्र रूपमा अघि बढ्ने बताएका छन् ।

उनले लोकतन्त्रको मूल मर्म असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु उचित नहुने उल्लेख गरेका छन् । संवाद, संस्थागत प्रक्रिया र पार्टी विधानलाई लोकतान्त्रिक पार्टीको सबैभन्दा भरपर्दो आधारका रूपमा व्याख्या गर्दै संस्थाका निर्णय अनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्ने बताएका छन् ।

महामन्त्री घिमिरेले वर्तमान अवस्थामा नेपाली कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प, अविश्वासको राजनीतिभन्दा रूपान्तरणको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

उनले सबै नेता-कार्यकर्ता तथा शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा एकताबद्ध भएर उभिन आग्रह गरेका छन् ।

Share News