विकासन्युज

सहसचिवदेखि सचिवसम्म राजीनामाको लहर

काठमाडौं । संघीय निजामती सेवामा उच्च तहका कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिने क्रम तीव्र बनेको छ । गत चैतदेखि साउनसम्मको अवधिमा सचिव तथा सहसचिव तहका १६ अधिकारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखानाका अनुसार १३ सहसचिवले राजीनामा दिँदा तीन सचिवले पनि सोही बाटो रोजेका छन् । विशेषगरी असार महिनामा सहसचिव तहका कर्मचारीको राजीनामा उल्लेख्य रूपमा बढेको देखिएको छ । राष्ट्रिय किताबखानाको अभिलेखअनुसार असार १ देखि २३ गतेसम्म सबैभन्दा धेरै कर्मचारीले राजीनामा दिएका थिए । यस अवधिमा मात्रै १७८ जना निजामती कर्मचारीले राजीनामा दिएका थिए । त्यसमध्ये ६ जना सहसचिव थिए । यही अवधिमा ४३ उपसचिवसहित विभिन्न तहका कर्मचारीले सेवा छाडेका थिए । यस अवधिमा राजीनामा दिने कर्मचारीको संख्या अनिवार्य अवकाशमा जाने कर्मचारीको भन्दा बढी रहेको किताबखानाले जनाएको छ । केही उच्च तहका कर्मचारीको राजीनामालाई पछिल्लो समय प्रस्तावित संघीय निजामती सेवा ऐनसँग जोडेर समेत हेर्न थालिएको छ । केही अधिकारीको राजीनामा सरकारको प्रतिशोधसँग समेत जोडिएको पाइएको छ । विशेषगरी ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश दिने प्रस्तावका कारण धेरै सहसचिवले राजीनामा दिएको पाइएको छ । पेन्सन तथा सेवा सुविधामा हुन सक्ने परिवर्तन र प्रशासनिक संरचनामा भइरहेको फेरबदलले पनि कर्मचारीमा भविष्यप्रतिको अन्योल बढाएको कर्मचारी वृत्तको बुझाइ छ । प्राविधिक तथा अनुभवी अधिकारी नै बढी प्रभावित पछिल्लो अवधिमा राजीनामा दिने उच्च तहका कर्मचारीमा लामो प्रशासनिक तथा प्राविधिक अनुभव भएका अधिकारीहरू छन् । किताबखानाका अनुसार वरिष्ठ प्राविधिक सहसचिव बालमुकुन्द श्रेष्ठले वैशाख २१ गते राजीनामा दिएका थिए । उनी मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत थिए ।  त्यसपछि तत्कालीन खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका आयोजना प्रमुख इन्जिनियर उज्ज्वल प्रजापतिले जेठ ५ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सहसचिव राजु सापकोटा, वन विभागका उपमहानिर्देशक उद्धव घिमिरे र सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झाले पनि यही अवधिमा सेवा छाडेका छन् । यी अधिकारीहरू विभिन्न महत्वपूर्ण प्राविधिक तथा प्रशासनिक जिम्मेवारीमा कार्यरत थिए ।  किताबखानाका अनुसार राजीनामा दिने अन्य सहसचिवमा वैकुण्ठ अधिकारी, शिवादेवी दाहाल, रुद्रप्रसाद अधिकारी, लोकप्रसाद न्यौपाने, गोविन्द उपाध्याय, इन्द्रबहादुर कार्की, टेकनारायण पौडेल र उद्धवबहादुर घिमिरे रहेका छन् । किताबखानाले उपलब्ध गराएको तथ्यांकमा १३ जना सहसचिवले यस अवधिमा सेवाबाट राजीनामा दिएका छन् ।  तीन सचिवको पनि राजीनामा  पछिल्लो राजीनामाको लहरमा तीन जना सचिव पनि रहेका छन् । राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका १३ अधिकारीले राजीनामा दिँदा विशिष्ट श्रेणीका तीन अधिकारीले पनि राजीनामा दिएका छन् ।  पछिल्लो पटक सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका छन् । उनी साउन १३ गते मात्रै सञ्चार मन्त्रालयमा सरुवा भएका थिए । उनको सेवा अवधि अझै १३ महिना बाँकी रहेको अवस्थामा राजीनामा आएको हो ।  पोखरेलसँगै बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले पनि राजीनामा दिएका छन् । यसअघि साउन १ गते सचिव डा. गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएका थिए । सरकारले साउन ६ गते गरेको मन्त्रिपरिषद्को निर्णयमार्फत डा. शर्माले दिएको राजीनामा स्वीकृत गरिएको छ । यसरी पछिल्लो अवधिमा सचिव तहमा समेत राजीनामाको घटना देखिन थालेपछि उच्च प्रशासनिक नेतृत्वको स्थायित्वबारे प्रश्न उठेको छ । राजीनामाको कारण के ?  उच्च तहका कर्मचारीको राजीनामाका पछाडि एउटै कारण नभए पनि प्रस्तावित निजामती सेवा ऐन प्रमुख कारणका रूपमा देखिन थालेको छ । विशेषगरी ३० वर्ष सेवा वा ५५ वर्ष उमेरमध्ये जुन पहिले पुग्छ, त्यसैका आधारमा अवकाश दिने प्रस्तावप्रति कर्मचारीमा चासो र चिन्ता देखिएको छ ।  त्यस्तै पेन्सन गणना, सेवा सुविधामा सम्भावित कटौती तथा लामो समय सरकारी सेवामा काम गरेका कर्मचारीको भविष्यबारे देखिएको अन्योलले पनि राजीनामालाई प्रोत्साहित गरेको कर्मचारी वृत्तको बुझाइ छ । कतिपय कर्मचारीले भने सेवा अवधिको अनिश्चितता र आगामी कानुनी व्यवस्थाबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरणका लागि समयमै राजीनामा रोजेको बताउने गरेका छन् ।  तर, राजीनामा दिएका सबै कर्मचारीले एउटै कारण देखाएका छैनन् । व्यक्तिगत तथा पारिवारिक कारण, वैकल्पिक रोजगारीका अवसर, निजी क्षेत्रमा आकर्षक अवसर तथा प्रशासनिक वातावरणप्रतिको असन्तुष्टि पनि बहिर्गमनका कारणका रूपमा देखिएका छन् ।  अनुभवी जनशक्ति बाहिरिँदा राज्यलाई कति असर ? सचिव र सहसचिव सरकारको नीति निर्माण, कार्यान्वयन तथा प्रशासनिक निर्णय प्रक्रियाका मुख्य तह हुन् । पूर्वमुख्यसचिव डा. बिमल कोइरालाका अनुसार लामो समय सरकारी सेवामा काम गरेर अनुभव हासिल गरेका अधिकारीले सेवा अवधि पूरा नहुँदै बाहिरिँदा राज्यले उनीहरूमा गरेको लगानी गुम्ने मात्र होइन, संस्थागत ज्ञान र अनुभवसमेत बाहिरिने जोखिम हुन्छ ।  डा. कोइरालाका अनुसार विशेषगरी प्राविधिक सेवाका सहसचिवले ठूला पूर्वाधार, खानेपानी, सडक, वन तथा वातावरणजस्ता क्षेत्रमा वर्षौंको अनुभव हासिल गरेका हुन्छन्। त्यस्ता जनशक्तिको एकैपटक बहिर्गमन हुँदा मन्त्रालय तथा विभागको कामको निरन्तरता, परियोजना व्यवस्थापन र निर्णय प्रक्रियामा असर पर्न सक्ने उनको धारणा छ ।  सरकारले प्रशासनिक सुधार, सेवा प्रवाहमा प्रभावकारिता र परिणाममुखी शासनको लक्ष्य अघि सारिरहेका बेला अनुभवी कर्मचारी नै सेवा छाड्ने अवस्था सिर्जना हुनु चुनौतीपूर्ण संकेत भएको डा. कोइराला बताउँछन् ।  अहिलेको बहिर्गमनलाई केवल कर्मचारीको व्यक्तिगत रोजाइका रूपमा मात्र हेर्ने कि निजामती सेवाको संरचनागत समस्या मान्ने भन्ने बहससमेत सुरु भएको एक बहालवाला सचिवले बताए । उनका अनुसार त्यसका लागि राजीनामा दिएका कर्मचारीको सेवा अवधि, उमेर, पद, सेवा र समूह, राजीनामाको कारण तथा राजीनामापछि उनीहरूले रोजेको क्षेत्रबारे विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ । निजामती सेवामा राजीनामाको पछिल्लो प्रवृत्तिले एउटा महत्वपूर्ण प्रश्न भने उठाएको छ- सरकारी सेवामा अनुभवी र दक्ष जनशक्ति टिकाइराख्न राज्यले पर्याप्त वातावरण र प्रोत्साहन दिन सकेको छ कि छैन ? यसको जवाफ आगामी संघीय निजामती सेवा कानुन र सरकारले कर्मचारी व्यवस्थापनमा लिने नीतिले निर्धारण गर्ने ती सचिवले बताए । 

गाँजा किन्ने क्रममा भनाभन हुँदा एक वृद्धाको हत्या

काठमाडौं । गाँजा किन्ने विषयमा विवाद हुँदा लमजुङमा एक व्यक्तिले एक महिलाको हत्या गरेका छन् ।  राईनास नगरपालिका–६ की ७५ वर्षीया काली सार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय प्रेम अछामी पक्राउ परेका हुन् । प्रहरीका अनुसार साउन २३ गते राति नौ बजे अछामी सार्कीको घरमा गाँजा किन्न गएका थिए । त्यसक्रममा सार्की र अछामीबीच पैसाको विषयमा विवाद भएको थियो ।  त्यसैक्रममा अछामीले हँसिया प्रहार गरी सार्कीको हत्या गरेका हुन् । हत्यापछि अछामीले सार्कीको लगाएको गरगहनासमेत लुटपाट गरेर शव खाटमुनि राखेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

मधेसमा थपिँदै विद्युत् प्रसारणका ठूला पूर्वाधार, उद्योगलाई सहज हुने

काठमाडौं । मधेस प्रदेशमा विद्युत् आपूर्ति सुधार गर्न प्रसारण लाइन तथा सबस्टेसन निर्माणलाई तीव्रता दिइएको छ । बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिएको आपूर्ति चुनौती समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रणनीतिक आयोजनालाई प्राथमिकता दिएको हो । मन्त्रालयले अहिलेको माग मात्र नभई आगामी दिनमा उद्योग, व्यवसाय र घरायसी उपभोक्ताबाट थपिने माग धान्ने गरी प्रसारण संरचना विस्तार गरिरहेको जनाएको छ । नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण भएपछि विद्युत्को गुणस्तर र विश्वसनीयता सुधार हुने अपेक्षा गरिएको छ । यसबाट औद्योगिक विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधारसमेत तयार हुनेछ ।  ढल्केबर–बालगंगा आयोजना अन्तिम चरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणको महत्वपूर्ण चरणमा पुगेको छ । करिब २४ किलोमिटर लामो दोहोरो सर्किट १३२ केभी प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज भइसकेको छ । बालगंगा सबस्टेसनमा उपकरण जडानको काम तीव्र गतिमा भइरहेको छ । आयोजनालाई दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले बताएका छन् । आयोजना सञ्चालनमा आएपछि मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना र नगराइन क्षेत्रको विद्युत् आपूर्ति सुधार हुनेछ। धनुषा जिल्लाको समग्र वितरण प्रणालीसमेत थप मजबुत हुने अपेक्षा गरिएको छ । आयोजनाको लागत अनुमान करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ छ । हंसपुर नगरपालिका–९ मा ६३ एमभीए क्षमताको १३२/३३ केभी सबस्टेसन निर्माण गरिँदैछ । सबस्टेसनका अधिकांश प्रमुख उपकरण आयोजनास्थलमा पुगिसकेका छन् । सिभिल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरण जडान भइरहेको छ ।  सिरहा र सप्तरीमा पनि प्रसारण संरचना विस्तार सिरहा र सप्तरीका ग्रामीण तथा औद्योगिक क्षेत्रमा विद्युत् माग बढ्दै गएपछि लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । लहान सबस्टेसनदेखि सुखीपुरमा प्रस्तावित १३२/३३/११ केभी सबस्टेसनसम्म करिब १७ किलोमिटर दोहोरो सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । सुखीपुरमा ६३ एमभीएका दुईवटा र २४ एमभीएको एउटा ट्रान्सफर्मर जडान गरिनेछ । लहान सबस्टेसनमा दुईवटा १३२ केभी लाइन थपिनेछन् । आयोजनाको अनुमानित लागत करिब १ अर्ब ५३ करोड रुपैयाँ छ। सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ। निर्माण अनुमतिपत्रसमेत प्राप्त भएको छ । त्यस्तै, सप्तरीमा रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । करिब १८ किलोमिटर दोहोरो सर्किट प्रसारण लाइन निर्माण गरी बोदेबरसाइनमा नयाँ १३२/३३/११ केभी सबस्टेसन निर्माण गर्ने तयारी छ । प्रस्तावित सबस्टेसनमा ३० एमभीएका दुईवटा र २४ एमभीएको एउटा ट्रान्सफर्मर राखिनेछ । रुपनी सबस्टेसनमा दुईवटा १३२ केभी लाइन थपिनेछन् । आयोजनाको अनुमानित लागत करिब १ अर्ब ५६ करोड रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रौतहटमा ३७ किलोमिटर प्रसारण लाइन रौतहटमा चन्द्रपुर–सुखदेव चोक १३२ केभी प्रसारण लाइन आयोजनामार्फत विद्युत् प्रसारण क्षमता बढाइँदैछ । चन्द्रनिगाहपुरको विद्यमान सबस्टेसनदेखि यमुनामाई गाउँपालिका–४ सरुअठासम्म करिब ३७ किलोमिटर दोहोरो सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । सरुअठामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरी ६३ एमभीएका दुईवटा र २४ एमभीएका दुईवटा ट्रान्सफर्मर जडान गर्ने योजना छ । यसबाट गौर, मनपुर, सिम्रौनगढ र मौलापुर क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ । प्रसारण लाइन निर्माणका लागि जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता रकम करिब ९३ करोड ८२ लाख ४० हजार रुपैयाँ छ । निर्माण अवधि ३० महिना तोकिएको छ ।  बारा–पर्साका उद्योगलाई उच्च क्षमताको प्रसारण लाइन औद्योगिक करिडोरका रूपमा विकसित बारा–पर्सामा बढ्दो विद्युत् माग धान्न हेटौँडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । परवानीपुरदेखि पोखरियासम्म २१.२१ किलोमिटर लामो १३२ केभी चार सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । पोखरियामा नयाँ १३२/३३/११ केभी सबस्टेसन निर्माण र परवानीपुर सबस्टेसनमा लाइन थप गर्ने काम आयोजनाअन्तर्गत हुनेछ । पोखरिया सबस्टेसनमा नियन्त्रण कक्ष, कर्मचारी आवास, भण्डार तथा सुरक्षा भवन निर्माण भइरहेको छ । उपकरण र ट्रान्सफर्मरका लागि आधारसमेत निर्माण भइरहेको छ । आयोजनाका लागि चिनियाँ कम्पनीसँग निर्माण सम्झौता भइसकेको छ । आयोजना सन् २०२७ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी पार्टनर तथा मोडल-इन्फ्लुएन्सर जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् ।  करिब एक दशक लामो सम्बन्धपछि उनीहरूले पोर्चुगलमा विवाह गरेका हुन् । रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा लिस्बननजिकै समुद्री किनारमा रहेको कास्काइस सहरमा विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  समारोहलाई निजी राखिएको थियो। विवाहमा रोनाल्डोका पाँचै सन्तान पनि उपस्थित थिए । विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा विवाहको औंठी देखिने तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा दुवैको हातमा विवाहको औंठी देखिन्छ ।  पोस्टमा ‘सी जी’ लेखिएको थियो । तस्बिर सार्वजनिक भएको केही समयमै त्यसले लाखौं लाइक्स पाएको थियो । रोनाल्डो र जर्जिनाको सम्बन्ध सन् २०१६ मा सुरु भएको थियो। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्चीको एक स्टोरमा भएको थियो ।  त्यतिबेला जर्जिना उक्त स्टोरमा बिक्री सहायकका रूपमा काम गर्थिन् भने रोनाल्डो रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए ।  उनीहरू सन् २०१७ मा पहिलोपटक सार्वजनिक रूपमा सँगै देखिएका थिए । रोनाल्डोका कुल पाँच सन्तान छन् । जर्जिना रोनाल्डोका परिवारसँग लामो समयदेखि नजिक रहेकी छन् र उनका सन्तानको हेरचाहमा पनि संलग्न हुँदै आएकी छन् । विवाहअघि उनीहरूले गत वर्ष अगस्ट ११ मा इन्गेजमेन्ट घोषणा गरेका थिए ।  जर्जिनाले सामाजिक सञ्जालमा ठूलो हिरा जडित औंठीको तस्बिर सार्वजनिक गर्दै रोनाल्डोसँग यस जीवनमा मात्र नभई आफूले पाउने हरेक जीवनमा पनि सँगै रहन तयार रहेको सन्देश दिएकी थिइन् । जर्जिना मोडल तथा सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनको जीवन र रोनाल्डोसँगको पारिवारिक सम्बन्धलाई समेटेर ‘आइएम जर्जिना’ नामक नेटफ्लिक्स डकुमेन्ट्री सिरिजसमेत बनेको छ । रोनाल्डो भने अहिले साउदी अरबको क्लब अल–नसरबाट खेलिरहेका छन् । उनले सन् २०२५ मा क्लबमा आफ्नो सम्झौता थप गर्दै सन् २०२७ सम्म निरन्तरता दिने घोषणा गरेका थिए । करिब १० वर्षदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाको विवाह लामो समयदेखि विश्वभरका फुटबलप्रेमीको चासोको विषय बनेको थियो । इन्गेजमेन्टको एक वर्षपछि उनीहरूले अन्ततः विवाह गरेका हुन् ।

नाइमा एक्स्पोमा डोङफेङका बस सार्वजनिक, ५ लाखसम्म छुट

काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको चर्चित सवारी निर्माता डोङफेङका दुई मोडलका बस नाइमा अटो एक्स्पोमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा डोङफेङका नयाँ बस सार्वजनिक गरिएको हो । कम्पनीले हाल दुईवटा मोडलका बस बजारमा ल्याएको जनाएको छ । डोङफेङ सन् १९६९ मा स्थापना भएको चीन सरकारको स्वामित्वमा रहेको सवारी निर्माता कम्पनी हो । कम्पनीले यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक तथा विद्युतीय सवारी उत्पादन गर्दै आएको छ । डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् । नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन् ।  ७.२ मिटरका बस सार्वजनिक नेपालमा ठूला विद्युतीय बसको माग बढ्दै गएको र सरकारले समेत विद्युतीय बसलाई प्राथमिकता दिन थालेपछि डोङफेङका बस नेपाल ल्याइएको कम्पनीले जनाएको छ । नाइमा अटो एक्स्पोमा ७.२ मिटर लम्बाइका २५ सिट र २७ सिट क्षमताका बस सार्वजनिक गरिएको छ । यी बसको सुरुवाती मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाख रुपैयाँसम्मको विशेष छुट दिने योजना समेत कम्पनीले ल्याएको छ ।  ५ वर्षको वारेन्टी डोङफेङका बसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ । ग्राहकले थप ३ वर्षको विस्तारित वारेन्टी समेत खरिद गर्न सक्नेछन् । हाल सार्वजनिक गरिएका बसमा ग्राहकको मागअनुसार थप एसी, विलासी सिट तथा एक वा दुईवटा प्रवेशद्वार जडान गर्न सकिने कम्पनीले जनाएको छ । दुईवटा प्रवेशद्वार राख्दा दुईवटा सिट घट्नेछ ।  थप बस पनि नेपाल ल्याइँदै कम्पनीले निकट भविष्यमा ७.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिट क्षमताका बस र १२ मिटरका ५२ सिट क्षमताका बससमेत नेपाल ल्याउने तयारी गरेको छ । यी बसको मूल्य र अन्य विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी दिनमा ल्याइने बसको मूल्य नेपालमा उपलब्ध अन्य ब्रान्डका बसको तुलनामा कम हुने अपेक्षा गरिएको छ । नाइमा एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको योजना समेत ल्याइने जनाएको छ । बसको बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सका लागि हिमालयन अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीका शाखा तथा डिलरमार्फत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य घटेको छ । तोलामा १ हजार २ सय रुपैयाँले घटी ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँ बढी ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।  गत पाँच दिनमा २४ हजार २ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटी ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  गत वर्षको माघ १५ गते  सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो ।  नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । 

नाइमा एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक, १५ लाख ५० हजारसम्मको लाभ

काठमाडौं । नेपालमा एमजीको सबैभन्दा ठूलो र शक्तिशाली एसयूभी एमजी मेजेस्टर सार्वजनिक भएको छ । जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा मेजेस्टर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार मेजेस्टर भारतको पहिलो डी–प्लस एसयूभी हो । यो पूर्ण आकारका एसयूभीभन्दा माथिल्लो श्रेणीमा पर्छ । ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ रहेको मेजेस्टरको सडकमा आकर्षक उपस्थिति देखिन्छ । यसमा २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २६५/५५ आर१९ अल–टेरेन टायर प्रयोग गरिएको छ ।  २१५.५ पीएस पावर मेजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ । यसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ । यसलाई ८–गियर स्वचालित गियरबक्ससँग जोडिएको छ । मेजेस्टर दुई पांग्रे र चार पांग्रे दुवै सञ्चालन प्रणालीमा उपलब्ध छ । नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यसमा १० वटा अफ–रोड मोड उपलब्ध छन् । स्यान्ड, स्नो, मड र रक मोडलगायत सुविधा छन् । त्यस्तै, अगाडि, बीच र पछाडिको गरी तीनवटा डिफरेन्सियल लक तथा ८१० मिलिमिटरसम्म पानीमा चल्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।  ६ र ७ सिटको विकल्प मेजेस्टरमा ६ सिट र ७ सिटको विकल्प उपलब्ध छ । ६ सिटको संस्करणमा दोस्रो पंक्तिमा क्याप्टेन सिट राखिएको छ । अगाडिका सिटमा एम–लाउन्ज बहु–मोड मसाज र भेन्टिलेसन सुविधा छ । त्यस्तै, पानोरामिक ग्लास रूफ, १२.३ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन र ७५ भन्दा बढी कनेक्टेड कार सुविधा उपलब्ध छन् ।  मेजेस्टरमा ६ वटा एयरब्याग, लेभल–२ एडीएएस, ३६० डिग्री क्यामेरा र इलेक्ट्रोनिक पार्किङ ब्रेकलगायत सुरक्षा सुविधा छन् । गो अटोमोबाइल्सले मेजेस्टरमा ५ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ । नेपालभर २४ घण्टा सेवा उपलब्ध हुने सडक सहायता पनि दिइने कम्पनीले जनाएको छ । ​​​​​​​ नाइमा एक्स्पोमा १५ लाख ५० हजारसम्मको लाभ नाइमा एक्स्पोमा मेजेस्टर बुक गर्ने ग्राहकले १५ लाख ५० हजार रुपैयाँसम्मको मूल्य लाभ पाउनेछन् । यसअन्तर्गत ८ लाख रुपैयाँ नगद छुट, एक वर्षको पूर्ण बिमा र प्रिमियम एसेसरिज निःशुल्क उपलब्ध गराइनेछ । त्यस्तै, १० हजार रुपैयाँभन्दा माथिको बुकिङमा उपहार प्याकेज तथा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किने क्रममा आफूले चुपचाप विमान परिवर्तन गरेको बताएका छन् । सम्भावित सुरक्षा जोखिमका कारण गोप्य रूपमा विमान परिवर्तन गरिएको उनको भनाइ छ । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले सिक्रेट सर्भिस र सेनाको सुझाव पालना गरेको बताए ।  उनले भने, ‘म सिक्रेट सर्भिस र सेनाको कुरा मान्छु। उनीहरूले मलाई अर्को उडान र अर्को विमानबाट जान भनेका थिए । मैले उनीहरूले भनेअनुसार गर्नुपर्थ्यो ।’ यो जानकारी जुलाई ८ मा ट्रम्प टेलिभिजन क्यामेराको उपस्थितिमा ‘एयर फोर्स वन’ मा चढेको देखिएको घटनासम्बन्धी रिपोर्टहरू सार्वजनिक भएपछि बाहिर आएको हो । त्यसपछि उनलाई क्याटरिङ ट्रकमार्फत एउटा सैन्य विमानमा लगिएको थियो । अन्तिम समयमा विमान परिवर्तन गरिएको घटनाले ट्रम्पलाई देखावटी रूपमा ‘एयर फोर्स वन’मा चढाइएको थियो कि भन्ने प्रश्नसमेत उठेको छ ।  उक्त विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका कर्मचारीलाई राष्ट्रपति विमानमा नरहेको जानकारीसमेत दिइएको थिएन । तर ट्रम्पले मंगलबार आफूपछि चढेको सैन्य विमान नै ‘झन् बढी जोखिममा’ रहेको बताए । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजलाई अधिकारीहरूले दिएको जानकारीअनुसार इरानले विमानमा क्षेप्यास्त्र आक्रमण गर्न सक्ने आशंका थियो । त्यसैको सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्रम्पलाई गोप्य रूपमा अर्को विमानमा सारिएको थियो । ट्रम्पले टर्कीको राजधानी अंकारामा भएको नेटो सम्मेलनका क्रममा आफू इरानको ‘टार्गेट नम्बर एक’ रहेको यसअघि नै बताएका थिए । मंगलबार उनले भने, ‘मेरो अनुमानमा कुनै खतरा थियो । मैले त्यसबारे धेरै जानकारी मागिनँ। मलाई धेरै धम्की आउँछन् ।’ ‘यस्ता धेरै धम्की आउँछन् जसबारे तपाईंहरूलाई समेत थाहा हुँदैन,’ उनले थपे । यो गोप्य सुरक्षा कदम अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता भंग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य हमला सुरु गरेको समयको हो । त्यसको भोलिपल्ट ट्रम्पले विमान परिवर्तन गरेका थिए । ट्रम्प कतारले उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमानबाट टर्की पुगेका थिए । तर उनले ‘पुराना दिनको सम्झनाका लागि’ पुरानो एयर फोर्स वनबाट फर्किने बताएका थिए । जुलाई ८ मा सार्वजनिक भिडियोमा ट्रम्प अंकारा विमानस्थलमा राष्ट्रपति सवार हुने विमानमा चढिरहेको देखिएका थिए । तर ‘द वासिङ्टन पोस्ट’ का अनुसार त्यसपछि ट्रम्प एयर फोर्स वनबाट क्याटरिङ ट्रकमा गए । उक्त ट्रकलाई विमानको तहसम्म उठाइएको थियो ।   त्यसपछि उनलाई गोप्य रूपमा सानो सी–३२ए सैन्य विमानमा लगियो । यो बोइङ ७५७ को परिमार्जित संस्करण हो, जसलाई प्रायः अमेरिकी उपराष्ट्रपतिले प्रयोग गर्छन् । रक्षामन्त्री पीट हेगसेथ पनि छुट्टै बाहिरी भर्याङबाट सी–३२ एमा चढेका थिए । यसबाट उडान सामान्य रूपमा भइरहेको देखाउने प्रयास गरिएको थियो । यसैबीच पत्रकार र ह्वाइट हाउसका केही कर्मचारी भने एयर फोर्स वनमै बसे । उनीहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न भनिएको थियो । राष्ट्रपति विमानमा नरहेको कुरा उनीहरूलाई थाहा थिएन । एयर फोर्स वनमा रहेका एक पत्रकार टोलीका सदस्यका अनुसार उडानका क्रममा असामान्य रूपमा पत्रकारहरूलाई झ्यालका पर्दा बन्द राख्न भनिएको थियो ।  एक फोटोग्राफरले केही समयका लागि पर्दा खोलेपछि तत्काल बन्द गर्न भनिएको थियो ।  उनलाई यो राष्ट्रपति सुरक्षामा खटिएको सिक्रेट सर्भिसको अनुरोध भएको बताइएको थियो । ह्वाइट हाउस संवाददाता संघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पत्रकारहरू विमानमा पुग्दा विमानको अगाडि र पछाडि दुईवटा क्याटरिङ ट्रक देखिएका थिए ।  विमानस्थलमा पत्रकारहरूलाई बोक्ने सवारीसाधन पनि राष्ट्रपतिको सवारीभन्दा निकै पछाडि राखिएको थियो, जसका कारण उनीहरूले ट्रम्प विमानमा चढेको तस्बिर खिच्न सकेनन् । प्राविधिक रूपमा अमेरिकी राष्ट्रपति सवार जुनसुकै विमानको कलसाइन ‘एयर फोर्स वन’ हुन्छ । तर उक्त अवसरमा सी–३२ए विमानले ‘रिच १८’ कलसाइन प्रयोग गरेको थियो ।  पत्रकारहरूलाई बोकेको विमानले भने ‘एएफ १’ कलसाइन नै प्रयोग गरिरह्यो, ताकि राष्ट्रपति अझै त्यही विमानमा रहेको देखियोस् । ट्रम्प त्यसपछि अमेरिका फर्किने क्रममा बेलायत पुगे। त्यहाँ उनले पुरानो एयर फोर्स वनमा पुनः यात्रा गरे । आरएएफ मिल्डेनहलमा विमान अवतरण गरेपछि उनलाई त्यसबाट ओर्लिएको देखिएको थियो। तर सी–३२एबाट उनी कसरी पुरानो एयर फोर्स वनमा पुगे भन्ने स्पष्ट छैन । त्यसपछि ट्रम्प कतारले उपलब्ध गराएको नयाँ एयर फोर्स वनमा चढेर वासिङ्टन फर्किएका थिए । त्यस उडानमा उनले विमानमा रहेका पत्रकारहरूसँग कुरा गरेका थिए । उनले इरानबाट उत्पन्न हुन सक्ने खतराबारे उल्लेख गरे पनि आफूले टर्कीबाट फर्किँदा विमान परिवर्तन गरेको विषय भने बताएनन् । टर्कीबाट उडेको विमानमा पत्रकारहरूलाई झ्यालका पर्दा बन्द राख्न किन भनिएको थियो भन्ने प्रश्नमा ट्रम्पले त्यतिबेला भनेका थिए, ‘सायद तपाईं खतरनाक उडानमा हुनुहुन्छ । हामीले सामना गर्नुपर्ने घटिया मानिसहरूका कारण ।’ उनले आफ्नो ज्यानलाई ‘हरेक समय खतरा’ रहेको र इरानको ‘सूची’ मा आफू ‘नम्बर एक’ मा रहेको समेत बताएका थिए । (बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित)