काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको चर्चित सवारी निर्माता डोङफेङका दुई मोडलका बस नाइमा अटो एक्स्पोमा सार्वजनिक गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा डोङफेङका नयाँ बस सार्वजनिक गरिएको हो । कम्पनीले हाल दुईवटा मोडलका बस बजारमा ल्याएको जनाएको छ ।
डोङफेङ सन् १९६९ मा स्थापना भएको चीन सरकारको स्वामित्वमा रहेको सवारी निर्माता कम्पनी हो । कम्पनीले यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक तथा विद्युतीय सवारी उत्पादन गर्दै आएको छ ।
डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् । नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन् ।
७.२ मिटरका बस सार्वजनिक
नेपालमा ठूला विद्युतीय बसको माग बढ्दै गएको र सरकारले समेत विद्युतीय बसलाई प्राथमिकता दिन थालेपछि डोङफेङका बस नेपाल ल्याइएको कम्पनीले जनाएको छ ।
नाइमा अटो एक्स्पोमा ७.२ मिटर लम्बाइका २५ सिट र २७ सिट क्षमताका बस सार्वजनिक गरिएको छ ।
यी बसको सुरुवाती मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाख रुपैयाँसम्मको विशेष छुट दिने योजना समेत कम्पनीले ल्याएको छ ।
५ वर्षको वारेन्टी
डोङफेङका बसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ । ग्राहकले थप ३ वर्षको विस्तारित वारेन्टी समेत खरिद गर्न सक्नेछन् ।
हाल सार्वजनिक गरिएका बसमा ग्राहकको मागअनुसार थप एसी, विलासी सिट तथा एक वा दुईवटा प्रवेशद्वार जडान गर्न सकिने कम्पनीले जनाएको छ । दुईवटा प्रवेशद्वार राख्दा दुईवटा सिट घट्नेछ ।
थप बस पनि नेपाल ल्याइँदै
कम्पनीले निकट भविष्यमा ७.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिट क्षमताका बस र १२ मिटरका ५२ सिट क्षमताका बससमेत नेपाल ल्याउने तयारी गरेको छ ।
यी बसको मूल्य र अन्य विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आगामी दिनमा ल्याइने बसको मूल्य नेपालमा उपलब्ध अन्य ब्रान्डका बसको तुलनामा कम हुने अपेक्षा गरिएको छ । नाइमा एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको योजना समेत ल्याइने जनाएको छ ।
बसको बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सका लागि हिमालयन अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीका शाखा तथा डिलरमार्फत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।