विकासन्युज

याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । वैशाख १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २१ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ७५ हजार कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सरकारी जागिर छाडेर बाख्रा पालन, लाख आम्दानी

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।  १० वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशु बहुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन् ।  ‘५ वर्षजति खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि विसं २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीको रुपमा काम गरेको थिए,’ उनले भने, ‘सङ्घीयता पछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । ९ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।’ वार्षिक ३५ देखि ४० वटासम्म खसी बोका बिक्री गरेर ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने पौडेलले ३ जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताए । खसी बोका बाहेक पाठा पाठी पनि बिक्री हुने गरेको छ । ग्राहकहरू पाठा पाठी र खसी बोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन । पौडेलले बाख्रापालनसँगै व्यावसायिक रुपमा सुन्तला र तरकारी खेती पनि गरेका छन् । १ सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् । थप १ सय सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेका छन् । वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले अनुभव सुनाए । व्यवस्थित किसिमको खोर बनाएर जमुना पारी जातको बाख्रा पाल्नुभएका पौडेलले उन्नत बोयर जातको एक वटा बोका सहयोग पाएका छन् ।  फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरे । घर वरपरको पाखामा चरनमा आधारित बाख्रापालन गरेका पौडेलले बहु वर्षीय डालेघाँस खेती पनि अपनाएका छन् । बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एक वटा भोटे जातको सहित दुई वटा कुकुर पालेका छन् । रातको समयमा खोर वरपर रुघेर बस्ने कुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छ ।  जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए । भुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाएकी छिन् । 

विदेशमा रहेका नेपालीले आजसम्म एभरेष्ट कलरको आईपीओ खरिद गर्न पाउने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । वैशाख १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ९० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरेको हो ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

२० जना किसानले पाए मिनीटिलर

काठमाडौं । परम्परागत कृषिबाट किसानलाई मुक्त बनाउनका लागि जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका २० किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ । कृषि उद्यमीलाई मर्मतसम्भारको तालिमसहित मिनीटिलर वितरण गरिएको हो । तालिमसहित पहिलो चरणमा सोमबार मिनीटिलर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनीटिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए । किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा ५ महिला र १५ पुरुषलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरिएको कार्यालय प्रमुख शाहीको भनाइ छ । व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यावसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी मिनीटिलर वितरण गरिएको हो । यसबाट खेतिपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख शाहीले बताए ।  व्यावसायिक खेती गर्दै आएका किसान र कृषि उद्यमीलाई उक्त मिनिटिलर हलो उपलब्ध गराइएको हो । किसानले उपकरण सही तरिकाले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिएपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको छ । कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि खेतिपाती गर्न सहज हुने भन्दै किसानले खुसी व्यक्त गरेका छन् । 

आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयले थाल्याे छलफल

काठमाडौं । अर्थ मन्त्रालयले नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको मन्त्रालयगत बजेट छलफल साँझ साढे ७ बजे सकिएको थियो । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय तालिकाअनुसार सोमबार सुरु भएको छलफल मंगलबारसम्म चल्नेछ । सोमबार गृह मन्त्रालयसँग छलफलको सुरुआत भएको थियो ।  त्यसपछि क्रमश श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेट छलफल भएको हो ।  छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयका अर्थ र राजश्व सचिव, बजेट लेखन समितिको संयोजक तथा सदस्यहरू, मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख एवं महाशाखाका विषयक्षेत्रगत शाखा प्रमुखहरूले उल्लिखित मन्त्रालयका मन्त्री, सचिव एवम् जिम्मेवार महाशाखा प्रमुखसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम र त्यसका लागि प्रस्तावित बजेट र स्रोत व्यवस्थापनबारे छलफल गरेको हो । छलफलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिना, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल एवं सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी थिए ।  मंगलबार (भोलि) बाँकी मन्त्रालयको बजेट छलफल हुनेछ।

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं ।  सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गतवर्षको अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपालमा भित्रिएका थिए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण यसवर्ष पर्यटक आगमनमा कमी आएको हो । बोर्डका अनुसार दक्षिण एसिया (सार्क) क्षेत्र बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् ।  नेपाल आउने पर्यटकमा सैबभन्दा बढी भारतबाट १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक रहेका छन् । 

लिलामीको जग्गा ३ वर्षभित्र बेच्नुपर्ने कानुन सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा लिएको जग्गा लिलाम हुन नसकी आफैँले सकार गर्नुपर्ने अवस्थामा तीन वर्षभित्र बेचबिखन गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदीको संवैधानिक इजलासले सोमबार लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ मार्फत भूमिसम्बन्धी ऐन, २०२१ मा थप गरिएको दफा १२ (च) को व्यवस्था खारेज गरेको हो ।  सो व्यवस्था खारेज गरेसँगै बैंक तथा वित्तीय संस्थाहरूले जग्गा लिलाम बिक्री गर्दा कसैले सकार नगरेमा आफूले लिएको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने बाध्यता हटेको हो । नेपालको संविधानसँग बाझिने गरी उक्त ऐन जारी गरेको उल्लेख गर्दै अधिवक्ता सागर अधिकारीलगायतले उक्त व्यवस्थाविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।