निसान म्यागनाइटको फेसलिफ्ट संस्करण सार्वजनिक, मूल्य ३४.७५ लाख
काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकीकरण कार्यक्रम शुक्रबार थापाथलीस्थित निसानको सोरुममा सम्पन्न भएकाे हाे । सार्वजनिक कार्यक्रममा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, निर्देशक गौरव शारडा,मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द तथा सिनियर म्यानेजर राजकुमार ढकालको उपस्थिति रहेकाे थियाे। नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहित आएको पायोनियर मोटो कर्पले जनाएकाे छ । म्याग्नाइट जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन-कनेक्टा’ र ‘टेक्ना-प्लस’ भेरियन्टमा नेपाल आएकाे हाे । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार रुपैयाँ छ भने शीर्ष भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको पायोनियर मोटो कर्पले जनाएकाे छ । नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब–फोर मिटर एसयूभीका रूपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टी र प्रविधिमा निकै सुधार गरिएको छ । नवप्रवर्तन र ग्राहककेन्द्रित डिजाइन जस्ता विशेषताका कारण नयाँ म्याग्नाइटको उपस्थितिसँगै नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने विश्वास कम्पनीले लिएको छ । विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा लन्च भएको म्याग्नाइट नेपालमा २०२१ मा पहिलो पटक लन्च भएको थियो । यो गाडी हालसम्म १ लाख ५० हजारभन्दा बढी यूनिट बिक्री भैसकेको छ । पायोनिर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाका अनुसार निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुबै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । आधुनिक र गतिशील डिजाइन नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटरसहित स्लिक एलइडी हेडलाम्प उपलब्ध गराइएको छ । यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डिआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ । रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लिरियन्स रहेका छन् । ६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ । प्रिमियम र विलासी इन्टेरियर थुप्रै फर्स्ट–इन–क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ । जसमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, हनीकम्ब सिलाइ ढाँचा भएका लेदरट सीटहरु राखिएका छन् । साथै यसको ढोका, पार्किङ ब्रेक लीभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरट सजावट दिइएको छ । क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सीट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडीको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्ने जस्ता विशेषता पाउन सकिन्छ । पछाडि बस्ने प्यासेन्जरका लागी समेत पर्याप्त स्पेश पाइने यस कारमा दिइएको हाई कमाण्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्स जस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ । विशिष्ट प्रविधि नयाँ निस्सान म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ । यसमा हिट गार्ड सहितको प्रिमियम सिलाइयुक्त लेदरट सीटहरू, मेमोरी फङ्सनसहितको मल्टि कलर एम्विएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ । ६० मिटर परबाटै रिमोटको साहयतामा इन्जि स्टार्ट गर्न सकिन नयाँ ग्लोबल स्मार्ट की उपलब्ध यस एसयुभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभिएस, पूर्ण एलईडी बाहिरी प्याक (हेडलाम्प, टेललाम्प, डिआरएलएस, इन्डिकेटर, फ्रन्ट फग ल्याम्प) र चारैतिर अवलोकन गर्ने मोनिटर पनि उपलब्ध गराइएको छ । नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रीन। वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम र क्रूज कन्ट्रोल जस्ता फिचर राखिएका छन् । साथै, नयाँ युगका ग्राहकलाई लक्षित गरी यसमा ड्यासक्याम, वायरलेस चार्जर, जेविएल स्पिकर, पडल ल्याम्प र एलईडी स्कफ प्लेटजस्ता फिचर समावेश गरिएको विशेष प्रविधि प्याक उपलब्ध गराइएको छ । यी फिचरले नयाँ म्याग्नाइटलाई आधुनिक र प्रिमियम बनाएको छ । शक्तिशाली प्रदर्शन यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ । प्रति लिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने यस एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तीब्रता सुनिश्चित गर्दछ । निसानको स्पोर्ट्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाइटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिङ सिलिण्डर ब्लक प्राविधि’ उपलब्ध गराइएको छ । १.० नेचुरल्लि एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध यस कारको इन्जिनलाई ५ स्पिड गियरवक्ससंग जोडिएको छ । साथै यो म्यानुअल र ईजेड–शिफ्ट (एएमटी) अप्सनमा समेत उपलब्ध छ । सेफ्टी फिचर नयाँ म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टी फिचर दिइएको छ । सेफ्टी फिचरका हिसाबले समेत यो सेग्मेन्टमै उत्कृष्ट रहेको छ । कारमा ६ वटा एयर ब्याग, भेहिकल डाइनामिक कन्ट्रोल (भीडीसी) ट्रयाक्सन कन्ट्रोल सिस्टम(टिसिएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबिएस, ईबीडी र टायर प्रेशर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर पाउन सकिन्छ । साथै यसमा, थ्री–प्वाइन्ट सीट बेल्ट, सीट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइसोफिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टहरूमा अनिबार्य गरिएको छ । ६७ प्रतिशत हाई–टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरी निर्माण गरिको यस एसयूभीमा निसानले ३ वर्ष अर्थात ३० हजार किलोमिटर वारेन्टि सुविधा दिएको छ ।
कोदो किन्दा बाहिरियो ५२ करोड, ९ करोडको फापर आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ५२ करोड ३ लाख रुपैयाँको कोदो आयात भएको छ । भन्सार विभागका अनुसार १ करोड ३ लाख किलो कोदो आयात हुँदा सरकारले ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिमा ५२ करोड ७५ लाख रुपैयाँको कोदो आयात भएको थियो । सो अवधिमा सरकारले ४ करोड रुपैयाँ राजस्व उठाएको थियो । गत वर्षको तुलनामा यो वर्ष कोदोको आयात भने घटेको छ । गत वर्षको तुलनामा ७२ लाख रुपैयाँले घटेको हो । विभागका अनुसार गत वर्षको तुलनामा कोदोको आयात १.३८ प्रतिशतले घटेको छ । नेपालमा विशेषगरी भारत र चीनबाट कोदो आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष सबैभन्दा धेरै भारतबाट ५२ करोड २ लाख रुपैयाँको आयात भएको छ । ९ करोडको फापर आयात चालु आवको माघ महिनासम्म ९ करोड ४२ लाख रुपैयाँको फापर आयात भएको छ । १२ लाख किलो फापर आयात हुँदा १ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा २ करोड २० लाख रुपैयाँ बराबरको फापर आयात भएको विभागले जनाएको छ । ३ लाख २९ हजार किलो फापर आयात हुँदा सरकारले २१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा फापरको आयात बढेको छ । गत वर्षको तुलनामा ७ करोड २२ लाख रुपैयाँको फापर आयात भएको छ । ७.६६ प्रतिशतले आयात बढेको विभागले जनाएको छ ।
‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’
काठमाडौं । सार्वजनिक निकायहरुको बेजुरु बर्सेनि बढ्न थालेपछि महालेखापरीक्षकको प्रतिवेदनले औँंल्याएका विषयमाथि संसद्मा छलफल गरिनुपर्ने धारणा सांसदहरुले राखेका छन् । सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र संसद्को भूमिका’ विषयक अन्तरक्रियामा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुले बेरुजु घटाउन संसद्को भूमिका बढाउनुपर्ने धारणा राखेका हुन् । छलफलका क्रममा सांसदहरुले महालेखापरीक्षकको प्रतिवेदन सार्वजनिक लेखा समितिमा मात्र नभई संसद्मै छलफल गरिनुपर्ने धारणा राखे । सांसद श्रीकृष्ण प्रसाद अधिकारीले महालेखापरीक्षकको प्रतिवेदन संसदमा पनि छलफल गर्न आवश्यक रहेको बताए । त्यस्तै, वित्तीय अनुशासन कायम गर्नका लागि कर्मचारी र जनप्रतिनिधिको आचरणमा कसरी सुधार गर्ने भन्ने मुख्य प्रश्न रहेको उनले उल्लेख गरे । सांसद चन्द्रबहादुर विश्वकर्माले लेखापरीक्षणका लागि जनशक्ति अपुग रहेका कारण कार्यसम्पादनमा समस्या रहेको विषय उठाए । सांसद वीना लामाले सार्वजनिक लेखा समितिले आफ्नो काम प्रभावकारी ढङ्गले सम्पादन गर्न नसकेको टिप्पणी गरिन् । सार्वजनिक लेखा समितिले दिएका सुझाव सम्बन्धित कार्यालयले कार्यान्वयन गरेका छन् वा छैनन् भन्ने समीक्षा गरिनुपर्ने उनको भनाइ थियो । पछिल्ला वर्षहरुमा स्थानीय तहमा बेरुजु बढ्दै गएको पनि उनले उल्लेख गरिन् । सांसद सुमित्रा बिसीले कानूनले तोकेको अवधिभित्र बेरुजु फछ्र्यौट र असुलउपर हुन नसक्नु चिन्ताको विषय रहेको बताइन्। सांसद सुशीला श्रेष्ठले स्थानीय तहलाई लेखापरीक्षण प्रकृयाबारे कम जानकारी रहेका कारण बेरुजु बढेको धारणा राखिन् । सांसद राजेन्द्र केसीले बेरुजु घटाउन सम्बन्धित लेखा उत्तरदायी अधिकारीलाई जिम्मेवार बनाउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन हुन नसकेको बताए । सांसद पदमबहादुर परियारले तोकिएको समय भन्दा अगावै काम सक्नेलाइ पुरस्कार दिने र ढिला सक्नेलाई दण्डित गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । बेरुजु घटाउने विषयलाई कर्मचारीको कार्य सम्पादनसँग जोड्न सक्नुपर्ने उनको धारणा छ । सांसद हितराज पाण्डेले स्थानीय तहको बेरुजु बढेको उल्लेख गर्दै यसलाई घटाउन महालेखापरीक्षकको कार्यालयले कसरी काम गरिरहेका छन् भनेर प्रश्न गरे । त्यस्तै लेखापरीक्षणका क्रममा लेखापरीक्षकले आर्थिक लाभ लिनका लागि ‘बार्गेनिङ’ गर्ने गरेको गुनासो आईरहेको बताए । महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयले औंल्याएका बेरुजु सम्परीक्षणको काम सार्वजनिक लेखा समितिको भएपनि पछिल्लो छ वर्षदेखि वार्षिक प्रतिवेदनमाथि छलफल हुन नसकेको बताए । ‘महालेखापरीक्षकको ५५औं प्रतिवेदनयताका छवटा प्रतिवेदनमाथि छलफल हुन सकेका छैनन् । हामीले ६१औं प्रतिवेदन गत जेठको १३ गते राष्ट्रपतिसमक्ष पेश गरेका थियौं । तर उक्त प्रतिवेदन केही दिनअघिमात्र संसदमा प्रस्तुत भएको छ । यसले पनि हाम्रो प्राथमिकता कति छ भन्ने दर्शाउँछ’, उनले भनिन्, ‘यसवर्षको सङ्घीय सरकारको बेरुजु फछ्र्यौट शून्य छ ।’ बेरुजु बढ्दा सम्बन्धित लेखा उत्तरदायी अधिकारीलाई जिम्मेवार बनाउनुपर्ने र त्यसलाई उनीहरुको कार्यसम्पादन मूल्याङ्कनसँग जोड्न सक्नुपर्ने धारणा पनि रायाले राखे । प्रदेश र स्थानीय सरकारले विधि र प्रक्रियागतरुपमा काम गर्न नजान्दा बेरुजु बढी देखिएको पनि उनको भनाई छ । महालेखापरीक्षक कार्यालयलाई बजेट अभाव रहेको पनि उनले उल्लेख गरे । महालेखापरीक्षको ६१ औं वार्षिक प्रतिवेदनअनुसार तीनवटै तहका सरकारी निकायको हालसम्मको कुल बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्रै अद्यावधिक बेरुजु ९५ अर्ब ६० करोड २१ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम एक खर्ब ४० अर्ब ९५ करोड ३० लाख बराबर पुगेको छ । अर्थात् अघिल्लो आर्थिक वर्षमा मात्र दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । अघिल्लो आर्थिक वर्षमा महालेखाले तीनवटै तहका पाँच हजार छ सय पाँचवटा निकायको कुल ७८ खर्ब ८१ अर्ब ८० करोड बराबर लेखापरीक्षण गरिएको थियो । महालेखापरीक्षक रायाले आगामी दिनमा लेखापरीक्षण प्रणालीलाई थप परिस्कृत र प्रभावकारी बनाउँदै लगिने उल्लेख गरे । महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमार्फत औंल्याएका समस्या समाधानका लागि संसद र संसदीय समितिको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । महालेखापरीक्षक रायाले तीनवटै तहअन्तर्गतका सरकारी कार्यालयको लेखा कानुन बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी लेखापरीक्षण हुने गरेको बताए । रासस
पत्रकारिताको भाषामा ओलीको टिप्पणी : बताए होइन, बताउनुभयो लेख्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताको भाषाप्रति पनि प्रश्न उठाएका छन् । शुक्रबार व्यवसायी राजेश काजी श्रेष्ठको व्यक्तित्व र योगदान नामक पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले पत्रकारिताको भाषा नमिलेको टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल विधेयकको विषयमा उठिएका सवालहरुको विषयमा आफ्नो धारणा राख्दै उनले पत्रकारिताको भाषामा पनि प्रश्न उठाएका हुन् । ‘राष्ट्रपतिलाई भेट्न जाँदा हामी सम्माननीयज्यू तपाईंलाई कस्तो छ भन्छौं, राष्ट्रपति तिमीलाई कस्तो छ त भन्दैनौं नि, अनि समाचार लेख्दा तथा भिडियोमा बोल्दा उनले भने, उनले बताए किन लेख्ने ?’ उनले थपे, ‘यो हाम्रो भाषा र सभ्यता होइन ।’ उनले जे कुरा पनि भन्ने, जस्तो पनि बोल्ने र दुव्यर्वहार गर्ने नेपाली संस्कार नभएको धारणा राखे । नेपाली सभ्य समाज भएकोले सभ्य हुनै पर्ने उनको धारणा छ ।
रास्वपाको राजनीतिक प्रशिक्षण सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ । स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पारेका थिए । उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले सङ्गठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्रशिक्षण गर्ने तालिका रहेको उपसभापति डा वाग्लेले बताए ।
देश बनेन भन्नेलाई ओलीको प्रश्न : पहिले काठमाडौंमा स्याल बास्थे, अहिले कराउँछन् ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था भएन भनेर गुनासो गर्नेमाथि टिप्पणी गरेका छन् । शुक्रबार व्यवसायी राजेश काजी श्रेष्ठको व्यक्तित्व र योगदान नामक पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले देश बनेन भन्नेमाथि टिप्पणी गरेका हुन् । केही दशकअघि काठमाडौंमा कुनै विकास नभएको बताउँदै उनले पहिलेकाे तुलनामा अहिले आकाश पातल रहेको बताए । ‘धेरैले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भनेर गुनासो गर्नुहुन्छ, म तिनीहरुलाई के भन्छु भने केही वर्षअघि मात्रै काठमाडौंमा स्याल कराउँथेँ, बेलुका साँझ परेपछि स्याल कराउन सुरु हुन्थे, काठमाडौं भनेपछि दरबार, सिंहदरबार, रानीपोखरी, धरहरा, असन, इन्द्रचोक, बानेश्वर लगायत केही ठाउँमात्रै थिए, अहिले काठमाडौं भरिभराउ छ, अनि विकास भएन भन्ने ?’ यस्तै, उनले विगतमा काठमाडौंमा एक लेनको सडकमात्रै भएपनि अहिले ठूल्ठूला लेनको सडक भएको धारणा राखे । ‘अहिले चौडा-चौडा सडक बनेका छन्, विगतमा काठमाडौंमा बाइक थिएन, उहिलेको काठमाडौंभन्दा अहिलेको बिर्तामोड ठूलो भइसकेको छ, त्यहाँ पनि एक करोडमा एक धुर जग्गा पाइँदैन,’ उनले प्रश्न गर्दै भने, ‘यो परिवर्तन कसरी आयो ?’ कार्यक्रममा उनले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न नदिने धारणा राखे । धेरैले कम्बोडिया तथा स्वीजरल्याण्डको बैंकमा आफ्नो पैसा रहेको दुष्प्रचार गरेको बताउँदै त्यसलाई नपत्याउन आग्रह गरे । ‘एउटा रोटी र दाल खान्छु, मेरो खाना सामान्य हुन्छ, साथीहरुसँगै बसेर खाना खान्छु, मेरो खाना र बेड रुम खुला हुन्छ । लुकाउनु पर्ने कुरा केही पनि छैन, अनि ममाथि अनेक कुराको हल्ला किन फैलाइन्छ,’ उनले भने । यस्तै, उनले पत्रकारिताको भाषाप्रति पनि प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल विधेयकको विषयमा उठेएका सवालहरुको विषयमा आफ्नो धारणा राख्दै उनले पत्रकारिताको भाषामा पनि प्रश्न उठाएका हुन् । ‘राष्ट्रपतिलाई भेट्न जाँदा हामी सम्माननीयज्यू तपाईं कस्तो छ भन्छौं, राष्ट्रपति तिमीलाई कस्तो छ त भन्दैनौं नि, अनि समाचार लेख्दा तथा भिडियोमा बोल्दा उनले भने, उनले बताए किन लेख्ने ?’ उनले थपे, ‘यो हाम्रो भाषा र सभ्यता होइन ।’ उनले जे कुरा पनि भन्ने, जस्तो पनि बोल्ने र दुव्यर्वहार गर्ने नेपाली संस्कार नभएको बताए । नेपाली सभ्य समाज भएकोले सभ्य हुनैपर्ने उनको धारणा छ । यस्तै, उनले नेपाल केही आर्थिक रुपमा पछाडि परेको भएपनि अब पछाडि नपर्ने धारणा राखे । कार्यक्रममा अर्थतन्त्र चलायमान गराउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकार पनि लागिरहेको भनाइ राखे ।
ईभी यातायात समूहहरूले ‘ईयूलाई गरे ‘सीओ टु’ उत्सर्जन नियमहरू खुकुलो नपार्न आग्रह
काठमाडौं । दुई युरोपेली विद्युतीय (ईभी) यातायात समूहहरूले शुक्रबार युरोपेली संघ (ईयू)लाई २०२५ कार्बनडाइअक्साइड (सीओ टु) कार उत्सर्जन लक्ष्य र त्यससँग सम्बन्धित जरिवाना कम गर्नका लागि युरोपेली अटोमोबाइल निर्माताहरूको दबाब अस्वीकार गर्न आग्रह गरेका छन् । ई-मोबिलिटी युरोप र चार्जअप युरोपले इयूका अध्यक्ष उर्सुला भोन डर लायनलाई पत्र लेखेका हुन् । मार्च ५ मा प्रस्तावित अटोमोबाइल क्षेत्रको योजनामा संघले उत्सर्जन लक्ष्यलाई विस्तारै कार्यान्वयन गर्ने वा बहुवर्षीय औसतको आधारमा जरिवाना गणना गर्ने प्रस्ताव अस्वीकार गर्नुपर्ने पत्रमा उल्लेख छ । साथै कुनै पनि जरिवाना ईभी (ईभी) रूपान्तरणको लागि अनुदानस्वरूप प्रयोग गरिनुपर्ने उल्लेख छ । युरोपेली कार निर्माता कम्पनीहरू जो चिनियाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन् र अमेरिकी ट्यारिफहरूको सामना गरिरहेका छन्, उनीहरूले संघलाई जरिवानाबाट राहत दिन आग्रह गरेका छन् । यदि उनीहरूले २०२५ सीओ टु उत्सर्जन सीमा पूरा गर्न सकेनन् भने १५ अर्ब युरोसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ । ई-मोबिलिटी युरोप र चार्जअप युरोपको पत्रले भनेको छ कि २०२५ को सीओ टु सीमाहरूलाई पछाडि धकेल्ने कुनै पनि लचकपनले युरोपलाई ईभीमा चीनभन्दा पछाडि पार्नेछ र चार्जिङ पूर्वाधार, ब्याट्री विकास, र निर्माण योजनाहरूमा लगानी कम गर्नेछ । युरोपेली कार निर्माताहरूले भनेका छन् कि उनीहरू चार्जिङ पूर्वाधार अपर्याप्त भएकाले उपभोक्ताहरू ईभी किन्न हिच्किचाइरहेका छन् । तर इलेक्ट्रा कम्पनीका प्रमुख औरेलियन डी मेउक्सले यो गलत तथ्याङ्क भएको बताउँछन् । उनका अनुसार ईयू चार्जिङ स्टेसनहरूले हालको भन्दा ५-७ गुणा बढी सवारीसाधन स्वीकार गर्न सक्छन् र यस क्षेत्रमा अर्बौं युरो लगानी भैरहेको छ । समूहहरूले पत्रमा उल्लेख गरेका छन् कि २०२५ को सीओ टु लक्ष्य पूरा गर्न सम्भव छ किनकि २५ हजार युरोभन्दा कम मूल्यका ११ नयाँ ईभी मोडेलहरू बजारमा आएका छन् र जनवरी २०२५ मा ईभी बिक्री ४० प्रतिशतले वृद्धि भएको छ । डी मेउक्सका अनुसार १५ अर्ब युरो जरिवाना भन्ने आँकलन २०२४ को पहिलो ६ महिनाका बिक्री तथ्याङ्कमा आधारित भएकाले गलत छ । खासमा जरिवाना ४-६ अर्ब युरो हुनसक्छ, जसलाई अन्य कम्पनीहरूसँग क्रेडिट व्यापार गरेर आधा घटाउन सकिन्छ । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री : ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै
सात महिनामा ५ अर्ब रुपैयाँको ल्यापटप आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ५ अर्ब रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ । चालु आवको माघसम्म ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ बराबरको ल्यापटप र नोटबुक आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ७५ हजार ७३९ वटा ल्यापटप र नोटबुक आयात हुँदा सरकारले ९८ करोड ५१ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ४ अर्ब ४२ करोड रुपैयाँको ल्यापटप र नोटबुक आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । ६८ हजार ५३९ वटा ल्यापटप आयात हुँदा ६० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा आयात ७६ करोड ५४ लाख २४ हजार रुपैयाँले बढेको छ । साथै गत वर्षको तुलनामा ७ हजार २०० वटा बढी ल्यापटप र नोटबुक आयात भएको छ । गत वर्षको तुलनामा आयात १७.३० प्रतिशतले बढेको हाे । नेपालमा विशेषगरी ३६ वटा देशबाट ल्यापटप र नोटबुक आयात हुने गरेकाे विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष सबैभन्दा धेरै चीन, मलेसिया, भारत र सिंगापुरजस्ता देशहरूबाट आयात भएको छ । चीनबाट मात्रै ४ अर्ब ९५ करोड रुपैयाँको ल्यापटप आयात भएको छ । यसैगरी, मलेसियाबाट १० करोड र भारतबाट १ करोड ४५ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ । ३२ करोडको ट्याबलेट आयात चालु आवको माघसम्म ३२ करोड ४२ लाख रुपैयाँको ट्याबलेट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । १३ हजार ९९३ वटा ट्याबलेट आयात हुँदा सरकारले ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा २६ करोड ७७ लाख रुपैयाँ बराबरको ट्याबलेट आयात भएको थियो । गत वर्षको तुलनामा आयात ५ करोड ६४ लाख ९३ हजार रुपैयाँले बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा आयात २१.१० प्रतिशतले बढेको हाे । यो वर्ष नेपालमा २० वटा देशहरूबाट ट्याबलेट आयात भएको छ । सबैभन्दा धेरै चीन, भियतनाम, अमेरिका र भारत जस्ता मुलुकबाट आयात भएको छ । चीनबाट ३१ करोड ५० लाख रुपैयाँ बढीको आयात भएको छ । साथै भियतनामबाट २९ लाख र अमेरिकाबाट २२ लाख रुपैयाँ बराबरको ट्याबलेट आयात भएको विभागले जनाएको छ ।