काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातामन्त्री देवेन्द्र दाहालले बिटुमिनको तुलनामा सिमेन्ट प्रयोग गरी बन्ने सडकको आयु लामो हुने भएकाले अब कंक्रिट सडकलाई प्राथमिकतामा राखेर निर्माण अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बिटुमिनको आयु १० देखि २० वर्ष र कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने उनको दावी छ ।
मन्त्री दाहालले भने, 'हामीले अब कंक्रिट सडक जानैपर्छ । यो नेपालका लागि अति आवश्यक छ । सडकलाई समयअनुरूप मर्मत गर्नुपर्छ । बिटुमिन सडकलाई प्रत्येक ५ वर्षमा मर्मतसम्भार गर्नुपर्छ । तर कंक्रिट सडक लामो समयसम्म मर्मतसम्भार नगरे हुन्छ ।'
उनले सिमेन्टमा नेपाल आत्मनिर्भर मात्रै नभई बाहिर समेत पठाइरहेका समेत बताए । नेपाल अब कंक्रिट सडकहरूमा अगाडि बढ्ने उनको दाबी छ । उनका अनुसार कंक्रिट धेरै ठाउँमा सुरु भइसकेको छ । हाल दाउन्नेमा लागू गरिसकेको उनले जानकारी दिए ।
पूर्वाधार क्षेत्रमा निजी क्षेत्रलाई सँगै लिएर जानुपर्ने मन्त्री दाहालको भनाइ छ ।
उनले भने 'पब्लिक प्राइभेट पाटर्नरसिप (पीपीए) मोडेलबाट हामीले जाने तयारी गर्नुपर्छ । आय र नाफा आउने सडक सञ्जाललाई अध्ययन गरी छनौट गरिनुपर्छ ।'
उनले यस अवधारणमा जानका लागि कानुनी रूपमा सहज बनाउने काम भइरहेको समेत जानकारी दिए।