विकासन्युज

बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल, स्थानीयवासी भए खुसी

तनहुँ । सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदु्रडाँडा । चारैतिर  वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ ।  आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर  छाक टार्दै आएका छन् । यो समस्या त छँदैछ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव छ।स्थानीय हस्तबहादुर नेपालीले भने,‘बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५÷२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो ।’ उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ’, उनले भने,‘जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’  यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । बस्ती बसेको एकाउन्न वर्षपछि भदु्रडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् । यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी  दिए । ‘बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो’, उनले भने,‘यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।’ श्रेष्ठका अनुसार विसं २०७९ भदौमा रु १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ । विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताए । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा  हाल संस्थाले सानाठूला गरी चारवटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ ।रासस

रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक

काठमाडौं । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गरेका हुन् । मन्त्री लेखीले सार्वजनिक गरेको विवरणअनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ । यसअघि स्थानीय युवक रूपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । हाल परिवारले थप व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग गर्दै पूरक जाहेरी दर्ता गराएको छ । प्रहरीका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया जारी छ । रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

निजामती विधेयक निष्कर्समा पुर्‍याउन बडूको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्समा पुर्‍याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गरे । उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् । उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’ माथि छलफल चलिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रूपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारदेखि नियमित रूपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । आज मडिया ब्रिफिङका क्रममा उनले भने, ‘साताभरिका नीगितगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौं ।’ यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरू दिँदै आएको छ । प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि प्राप्त गरेको र ती औषधी भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताए । मिडिया ब्रिफिङमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा कूल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको प्रवक्ता डा बुढाथोकीले बताए । उनले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७ सय ८९ लाई खोप प्रदान गरिएको जानकारी दिए । हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जिल्लामा हाल हिमपात भएकाले खोप अभियानमा कठिनाइ भएको र फागुन अन्त्यमा उनीहरुलाई खोप लगाइने ब्रिफिङमा जानकारी गराइयो । अभियानमा छुटेकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । देशभरि ३० देखि ४९ वर्षसम्मका ९२ हजार दुई सय ७३ जना महिलाहरुले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको मिडिया ब्रिफिङमा डा बुढाथोकीले जानकारी गराए । भिआइए विधिबाट ६० हजार ९३७ , एचपीभी डिएनए विधिबाट नौ हजार ९२७, प्याप स्मेयर विधिबाट २१ हजार ४०९ जनाले परीक्षण गराएका हुन् । प्रवक्ता डा बुढाथोकीले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलिरहेको बताए । यही फागुन ५ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका–४ मा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भइरहेको र अभियान एक महिनासम्म चल्ने जानकारी गराए ।

टीभीएसको नयाँ शोरुम जनकपुरमा खुल्यो

काठमाडौं । दुईपाँग्रे सवारीसाधन ब्रान्ड टीभीएसको नयाँ शोरुम जनकपुरमा खुलेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरुम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंह, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतो लगायतको उपस्थिति रहेको थियो । ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ । टीभीएस ब्रान्ड नेपालका दुईपाँग्रे सवारीसाधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ ।

चार दिनदेखि विद्युत वितरण बन्द, व्यवसाय र जनजीवन प्रभावित

ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द छ । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए । जसबाट एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै विद्युत् आपूर्ति हुने उनले बताए । विद्युत् अवरुद्ध हुँदा यस क्षेत्रको व्यापार, व्यवसाय र जनजीवन प्रभावित भएको छ ।

नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न

विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत  विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा बुधबार  सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो । प्रदेश स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरूप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवर्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै नबिल एसएसईबारे जानकारी गराएका थिए । ‘बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सुरुआत गरेको हो, यो समाजप्रति उत्तरदायित्व बहन गर्ने एक माध्यम पनि हो,’ सीइओ ढुंगानाले भने । उनले यस कार्यक्रममा सहभागीहरुलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए । सोही अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए भने मध्यस्थकर्ताको भूमिकामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक ज्योती कोठारी थिए । अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले स्वदेशमै पुँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि उद्यमशीलता प्रवर्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । उद्यमशीलताका क्रियाकलापहरूले जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी प्रवद्र्धन तथा व्यवसाय वृद्धिका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्नुपर्ने बताए । नबिल बैंकका अध्यक्ष पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवर्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए । उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नबिल एसएसईको अवधारणाबारे चर्चा गर्दै बैंक दिगो उद्यमी विकासमा प्रतिबद्ध रहेको बताए । ‘बैंकहरुले मात्रै होइन, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरुले पनि व्यवसायलाई दिगो बनाउन आवश्यक छ, यसले जनजीवन र वातावरणको हितमा सहयोग गर्छ,’ उनले भने । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरुसँगको सहकार्यमा रोजगारी तथा नयाँ व्यवसाय सृजना गर्दै आएको बताए । उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए । नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष निरौलाले स्थानीय व्यवसाय प्रवद्र्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए । उनले महासंघले नव उद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत बताए । नबिल एसएसई कोशी प्रदेशका संयोजक बेद संग्रौलाले सहभागी तथा अतिथिहरुलाई स्वागत गर्दै उद्यमशीलता प्रवद्र्धनमा निरन्तर सहयोगका लागि नबिल बैंकप्रति आभार व्यक्त गरे । उक्त अवसरमा नबिल एसएसई कार्यक्रमका सहभागीहरुले आफ्‌नो उद्यमशीलता यात्रा र नबिल एसएसईमार्फत प्राप्त ज्ञानले पुर्‍याएको सहयोगबारे चर्चा गरेका थिए । कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको सम्भावनालाई उजागर गर्दै नवप्रवर्तनशील व्यवसायहरूको प्रवद्र्धन तथा मुलुकभर दिगो उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्‍याउँदै आएको छ । सोही अवसरमा नबिल बैंकका अध्यक्ष पौडेल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा। रामावतार शरणले कार्यक्रममा सहयोग पुर्‍याउने विज्ञहरुलाई सम्मान स्वरुप मायाको चिन्ह प्रदान गरेका थिए । क्याम्पस प्रमुख डा शरणले नबिल बैंक तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँगको साझेदारीमा सञ्चालित नबिल एसएसई कार्यक्रम सफल रहेको तथा आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम तथा सर्टिफिकेट कोर्स सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको छ । हालसम्म नबिल एसएसई सर्टिफिकेट कोर्सले ५४३ सहभागीलाई सफलतापूर्वक प्रशिक्षण प्रदान गरेको छ । जसले ७२ उद्यम स्थापना गर्न सफल भएका छन् । दुवै कार्यक्रममार्फत हालसम्म कुल ११७ उद्यम स्थापना भएका छन् भने एक हजार २०० भन्दा बढी रोजगारीका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।

केआईआईटीबाट नेपाल फर्किएका विद्यार्थीलाई पढाउन पूर्वाञ्चल विश्वविद्यालय तयार

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएका खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जानकारी दिएको हो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलियाले उनीहरूलाई पढाउन आफूहरू तयार रहेको बताए । यो विषयमा शिक्षा मन्त्रायसँग कुरा गरिसकेको बताउँदै उनले विद्यार्थीलाई भारत फर्केर त्यही कलेजमा पढ्न असहज  भएको खण्डमा पूर्वाञ्चल विश्वविद्यालय ती विद्यार्थीलाई भर्ना लिने बताए । विकासन्युजसँग कुरा गर्दै थपलियाले भने, ‘धेरै विद्यार्थी  स्वदेश फर्किएको सुनेका छौं, अब उनीहरू भारत जाने कि नजाने भन्ने विषयमा दुविधामा छन्,  नेपालमै पढ्न इच्छुक भए हामी पढाउन तयार छौं, यसका लागि विद्यार्थीले शिक्षा मन्त्रालयसँग समन्वय गर्नुपर्छ, हाम्रो पनि कुरा भइसकेको छ ।’ हिमालयन ह्वाइट हाउस कलेजका प्रिन्सिपल तोयनारायण पौडेलले नेपालमै पढ्न चाहने विद्यार्थीलाई सिट उपलब्ध गराउन सकिने बताए । उनले वीरगञ्जमा दुई सय बढी विद्यार्थी अन्योलमा बसिरहेको बताउँदै उनीहरूले नेपालमै पढ्न चाहे भर्ना लिन तयार रहेको धारणा राखे । उनले भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थीले पढिरहेका ९५ प्रतिशत विषय आफ्नै कलेजमा रहेको बताउँदै नेपालमा पढ्न खोज्दा पनि कुनै समस्या नहुने बताए । ‘भारत र नेपालको पाठ्यक्रम प्राय: हुने एउटै हो,’ पाैडेल भन्छन्, ‘नेपालमै पढ्न चाहने हो भने हामी दुवै देशको पाठ्यक्रम राखेर पढाउँछौं, पढिसकेको विषयलाई पढाइराख्न परेन, बाँकी रहेको कोर्सलाई हामी यहीं पढाउन सक्छाैं ।’ विद्यार्थीका गुनासाे सुनेर निर्णय लिइने  शिक्षा मन्त्रालयललाई भने कति नेपाली विद्यार्थी स्वदेश फर्किए भन्ने समेत जानकारी छैन । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा नेपाल फर्किएका विद्यार्थीको हकमा के गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा काम गर्ने बताउँछन् ।  शिक्षा मन्त्रालयले यसका लागि सहायता कक्षा राखेको बताउँदै सापकोटाले त्यसमा आएका गुनासाे अनुसार मन्त्रालयले निर्णय गर्ने बताए । ‘हामीले हेल्प डेस्क राखेका छौं, नेपाल फर्किएका विद्यार्थीले त्यसमा गुनासाे राख्न सक्छन्,’ उनी भन्छन्,  ‘त्यसमा आएका गुनासाे र केआईआईटीको पछिल्लो अवस्थाबारे छलफल गरेर के गर्ने भन्ने विषयमा छलफल गरिसकेपछि निर्णय लिन्छाैं ।’ विभिन्न नाकाबाट करिब तीन सय नेपाली विद्यार्थी फर्किएकाे बुझिएको छ । कलेज प्रशासनले गरेको दुर्व्यवहारले पढ्ने वातावरण नमिलेको भन्दै उनीहरू स्वदेश फर्किएका हुन् । होस्टेलबाट गलत्याएर बीच सडकमा पुर्‍याइका विद्यार्थी  पूर्वी नेपालका विभिन्न नाका हुँदै नेपाल फर्केका हुन् । नेपाली विद्यार्थी प्रकृतिको मृत्युपछि उत्पन्न भएको विवादले नेपाली विद्यार्थीमाथि हातपात भएको थियो । होस्टेलमा बसिरहेका विद्यार्थीलाई रातारात गाडीमा हालेर बीच सडकमा छोडिदिएको घटनाले कलेज प्रशासनप्रति चौतर्फी आलोचना भइरहेकाे छ। नेपाल र भारत दुवै देशबाट आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेर अवस्था सहज भइसकेको भन्दै नेपाली विद्यार्थीलाई भारत फर्किन आग्रह गरेको छ ।  नेपाल फर्किएका विद्यार्थीहरूको शिक्षा के हुन्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक नै चिन्तित बनेका छन् । उनीहरूले अहिले पनि अवस्था ठीक नभएको भन्दै तत्काल फर्किन नसक्ने अवस्था रहेको बताएका छन् ।