काठमाडौं । त्रियुगा नगरपालिका, उदयपुरका नगरप्रमुख बलदेव चौधरीसहितका प्रतिवादीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८/७९ मा त्रियुगा नगरपालिकाअन्तर्गत बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने क्रममा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार मूल्य कम कायम गरी तथा सम्झौता नै नगरिएको माटो गैरकानूनी रूपमा उत्खनन र बिक्री गरी जम्मा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतले वैशाख १० गते उक्त मुद्दामा सफाइ दिएकोमा आयोगले उक्त फैसला चित्त नबुझी जेठ ५ गते सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।
आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ अन्तर्गत दोषी ठहर गरी सोही ऐनको दफा ३ को उपदफा (१०) को खण्ड (ज) अनुसार कैद सजाय र दोब्बर जरिवानाको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।