काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइको लागि पेसी तोकिएको थियो । तर, इजलासले हेर्न नमिल्ने भन्दै सोमबार पनि सुनुवाइ अघि बढ्न सकेन ।
सर्वोच्च अदालत प्रशासनका अनुसार अब मंगलबारका लागि पुनः पेसी तोकिएको छ ।
यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले ‘हेर्न मिल्ने’ इजलासमा पेशी तोक्न आदेश दिएको थियो । तर त्यसपछि पनि सुनुवाइ हुन नसकेको हो ।
लामिछाने हाल सहकारी ठगी र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन् । उनका कानुनी प्रतिनिधिहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।