काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को प्रदेशहरूको कुल गार्हस्थ उत्पादन अनुमान सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदूरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन यू. एस. डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ ।