आईजीपीबाट हटे कार्की

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री कार्यालय मातहत रहने गरी विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कार्कीलाई प्रहरी संगठनको नेतृत्वबाट हटाएर प्रधानमन्त्री मातहत राखिएको छ । पछिल्लो समय भएका विभिन्न विवादास्पद घटनाक्रममा उनको भूमिकालाई लिएर प्रश्न उठेपछि सरकारले नेतृत्व परिवर्तनको निर्णय गरेको हाे ।

सिधै पदबाट बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने देखिएपछि सरकारले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने विकल्प अपनाएको बताइएको छ ।

यससँगै सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

Share News