काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।
उनले यसअघि पनि यस विषयमा छलफल भएको र नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा अघि बढाउँदा आवश्यक सहयोग र परियोजनाबारे थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे ।
मिस्रीले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै दुवै देश सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहेको बताए । भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि उनले स्मरण गरे ।
उनले दुई देशबीचका विभिन्न महत्त्वपूर्ण पहल र सहकार्यलाई अघि बढाउन दुवै पक्षका अधिकारीहरूले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
मिस्रीले भने, ‘धेरै समयदेखि बाँकी रहेका विषयहरू समाधान गर्नुका साथै दुवै पक्षबाट अघि बढाइएका महत्त्वपूर्ण पहलहरूको कार्यान्वयनमा पनि प्रगति भएको छ । यसका लागि दुवै पक्षका सहकर्मीहरू प्रशंसा र बधाईका पात्र हुनुहुन्छ । यसै सन्दर्भमा हामीलाई निरन्तर सहयोग प्रदान गर्नुभएकोमा तपाईं र तपाईंको टोलीलाई पनि धन्यवाद दिन चाहन्छु ।'
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न पहल तथा एजेन्डाबारे छलफल केन्द्रित हुने उनले बताए ।