मुक्तिनाथ विकास बैंकले ल्यायो ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन लिन सक्नेछन् । बैंकले बेस रेटमा शून्य प्रतिशत जोडेर विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ । नाडा अटो शो २०२६ लाई लक्षित गरी ल्याइएको उक्त विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ । ग्राहकको ऋण आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफूले रोजेको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल ऋण सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।
फेरि चम्कियो बिटक्वाइन, ३ दिनमै २० प्रतिशत बढीले उछाल
काठमाडौं । बिटक्वाइन मंगलबार (आज) ८० हजार डलरको स्तर पार गरेको छ । बिटक्वाइनमा आधारित स्पट एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) मा पुनः लगानी बढ्नु र लगानीकर्ताको जोखिम लिन सक्ने क्षमता बढेसँगै क्रिप्टोकरेन्सी बजारमा जारी उछाल थप बलियो बनेको हो । बिटक्वाइनको मूल्य पछिल्लो पटक २ प्रतिशतभन्दा बढीले बढेर ८० हजार ५०१ डलर पुगेको थियो । गत सातादेखि सुरु भएको तीव्र वृद्धि अझै जारी छ । तीन दिनमै बिटक्वाइनको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ, जुन सन् २०२३ यताकै सबैभन्दा ठूलो तीनदिने वृद्धि हो । मूल्य बढेसँगै क्रिप्टो बजारमा ‘सर्ट स्क्विज’ हुँदा ४ अर्ब डलरभन्दा बढीको मन्दीको पक्षमा राखिएका कारोबार बन्द भएका थिए । अमेरिकी ट्रेजरीले लामो अवधिका सरकारी ऋणपत्रको खरिद दोब्बर बनाउने घोषणा गरेपछि पनि बजारमा सकारात्मक प्रभाव परेको थियो । त्यस घोषणाले केही समयका लागि ऋणपत्रको प्रतिफल घटाएको र जोखिमयुक्त सम्पत्तिप्रति लगानीकर्ताको माग बढाएको थियो । मुद्रास्फीति र सरकारी ऋणप्रतिको बढ्दो चिन्ताले सीमित आपूर्ति भएका सम्पत्तिप्रति पनि आकर्षण बढाएको छ । संस्थागत लगानीकर्ताको मागसमेत पुनः बढेको छ । अमेरिकामा स्पट बिटक्वाइन ईटीएफमा गत साता १ अर्ब ९२ करोड डलरको खुद लगानी भित्रिएको थियो । यो गत अक्टोबरपछि एक सातामा आएको सबैभन्दा ठूलो लगानी हो । अक्टोबरमै बिटक्वाइनले अघिल्लो चक्रको उच्चतम मूल्य छोएको थियो । यद्यपि, बिटक्वाइनको यो उछाल लामो समयसम्म टिक्छ कि टिक्दैन भन्ने प्रश्न भने कायमै छ । अक्टोबरदेखि बिटक्वाइन लामो समयदेखि कमजोर अवस्थामा थियो । बीटीआईजीका अनुसार सन् २०२३ को जनवरीमा पनि यस्तै तीव्र वृद्धि भएको थियो, तर त्यसबेला प्रारम्भिक उछाल केही समयमै कमजोर बनेको थियो । त्यसपछि बिटक्वाइनले आफ्नो २००(दिने औसत मूल्य आसपासमा समर्थन पाएको थियो । फन्डस्ट्राटले सोमबार जारी गरेको विश्लेषणमा गत साताको ‘सर्ट स्क्विज’पछि भएको खरिदले बिटक्वाइनको पछिल्लो वृद्धि केवल अस्थायी उछाल नभई ‘दीर्घकालीन रूपमा टिक्न सक्ने’ संकेत गरेको जनाएको छ । संस्थाले बिटक्वाइन र इथर ईटीएफमा भएको बलियो लगानी, कारोबारमा भएको वृद्धि तथा लगानीकर्ताले क्रिप्टोकरेन्सी खरिद गर्न प्रयोग गर्ने ‘स्टेबलक्वाइन’को उत्पादन बढेको विषयलाई यसको आधार मानेको छ । इथरको मूल्य पनि १.१७ प्रतिशतले बढेर २ हजार ४९८ डलर पुगेको छ । त्यस्तै, एक्सआरपी २.६ प्रतिशतले बढेर १.५२ डलर पुगेको छ । कोइनगेकोका अनुसार एक्सआरपीको मूल्य पछिल्लो सात दिनमा करिब ५० प्रतिशतले बढिसकेको छ । विकल्प कारोबार बजारको गतिविधिले पनि लगानीकर्ताहरू बिटक्वाइनको पछिल्लो उछाल टिक्नेमा थप विश्वस्त हुँदै गएको देखाएको फन्डस्ट्राटले जनाएको छ । यसअघिका सुधारका क्रममा लगानीकर्ताले मुख्यतः छोटो अवधिको मूल्य वृद्धिमा दाउ लगाउने गरेका थिए । तर अहिले उनीहरूले भविष्यमा बिटक्वाइनको मूल्य बढ्दा लाभ लिन सक्ने गरी लामो अवधिका कारोबारमा समेत लगानी गरिरहेका छन् । फन्डस्ट्राटले विश्वकै सबैभन्दा ठूलो कर्पोरेट बिटक्वाइन धारक ‘स्ट्राटेजी’ले पछिल्लो दुई सातादेखि नयाँ बिटक्वाइन खरिद नगरेको अवस्थामा समेत मूल्य बढेको उल्लेख गरेको छ । यदि ईटीएफमा बलियो माग कायमै रहँदा स्ट्राटेजीले पुनः बिटक्वाइन खरिद गर्न थाल्यो भने त्यसले मूल्यमा थप उछाल ल्याउन सक्ने अनुमान गरिएको छ ।
२ अर्बमा ३० मेगावाटको ढल्केबर-२ सौर्य आयोजना बन्दै, बैंकबाट डेढ अर्ब ऋण लिँदै
काठमाडौं । इन्टिग्रेटेड इनर्जी एण्ड इण्डस्ट्रियल इन्टरप्राइजेज प्रालिले धनुषामा ३० मेगावाट क्षमताको ढल्केबर-२ सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । एशियन हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणको प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत आयोजना विकासका लागि इन्टिग्रेटेड इनर्जीलाई अघि सारेको हो । ढल्केबर ग्रिड उपकेन्द्रमा निर्माण हुने आयोजनाको विकास, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी इन्टिग्रेटेड इनर्जीको रहनेछ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत करिब ६ करोड ५१ लाख ९० हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ । आयोजनामा कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ । कुल स्वपुँजीमध्ये साउन मसान्तसम्म प्रवद्र्धकहरूले करिब १० प्रतिशत रकम लगानी गरिसकेका छन् । ऋणतर्फ भने कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४० करोड रुपैयाँ जुटाउने प्रक्रिया अघि बढाएको छ । आयोजना हाल निर्माण तथा कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले निर्धारित समय र लागतभित्र निर्माण सम्पन्न गर्ने विषय मुख्य चुनौतीका रूपमा रहेको छ । आयोजनाका लागि आवश्यक जग्गा २७ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेकाले जग्गा उपलब्धतासम्बन्धी जोखिम भने न्यूनीकरण भएको कम्पनीले जनाएको छ । निर्माण सम्पन्न भएपछि आयोजनालाई अपेक्षित क्षमतामा सञ्चालनमा ल्याई विद्युत् उत्पादन स्थिर बनाउन सक्ने क्षमता पनि महत्वपूर्ण रहनेछ । निर्माणमा ढिलाइ वा लागत वृद्धि भएमा आयोजनाको अनुमानित नगद प्रवाह तथा ऋण भुक्तानी क्षमतामा असर पर्न सक्ने जोखिम रहेको छ । आयोजनामा मोनो-क्रिस्टलाइन बाइ-फेसियल प्रविधिमा आधारित सौर्य प्यानल जडान गर्ने योजना छ । उक्त प्रविधिका प्यानलमा तुलनात्मक रूपमा कम क्षयीकरण हुने तथा ऊर्जा उत्पादन क्षमता बढी हुने अपेक्षा गरिएको छ । यसले आयोजनालाई अपेक्षित विद्युत् उत्पादन क्षमता हासिल गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । यद्यपि, सौर्य प्यानलको क्षयीकरण तथा प्रविधिसँग सम्बन्धित जोखिमका कारण आयोजनाले अपेक्षित क्षमतामा विद्युत् उत्पादन गर्न नसक्ने सम्भावना पनि रहन्छ । मौसम तथा जलवायु परिस्थितिमा हुने परिवर्तनले विद्युत् उत्पादन प्रभावित भएमा कम्पनीको आम्दानी, नगद प्रवाह तथा ऋण भुक्तानी क्षमतामा समेत असर पर्न सक्ने जनाएको छ । कम्पनीमा तीन सदस्यीय सञ्चालक समिति रहेको छ । समितिको अध्यक्षता भानुभक्त पोखरेलले गर्दै आएका छन् । पोखरेल नेपालका विभिन्न जलविद्युत् कम्पनीमा प्रबन्ध निर्देशकका रूपमा समेत कार्यरत छन् । आयोजनाबाट उत्पादित विद्युत् करिब १.५ किलोमिटर लामो ३३ केभी दोहोरो प्रसारण लाइनमार्फत सञ्चालनमा रहेको १३२÷३३ केभी ढल्केबर सबस्टेसनमा जोडिनेछ । यसका लागि कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग २०८२ साल मंसिर २६ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ । विद्युत् खरिद सम्झौता ‘टेक एण्ड पे’ आधारमा गरिएको छ । सम्झौता आयोजना सञ्चालनमा आएको मितिदेखि २५ वर्षसम्म वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधि समाप्त नभएसम्म कायम रहनेछ । सौर्य आयोजनाका लागि प्रतिकिलोवाट घण्टा ५ रुपैयाँ ३९ पैसा विद्युत् खरिद दर निर्धारण गरिएको छ । सरकारले विद्युत् उत्पादनलाई प्राथमिकताप्राप्त क्षेत्रका रूपमा अघि बढाउँदै आएको छ । विद्युत् उत्पादनमा निजी क्षेत्रको सहभागिता बढाउन विभिन्न नीतिगत तथा प्रोत्साहनात्मक व्यवस्था गरिएको छ । सौर्य ऊर्जा आयोजनालाई प्रोत्साहन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत विभिन्न छुट तथा सुविधा उपलब्ध गराइँदै आएको छ । त्यस्तै, २०८५ साल वैशाख मध्यसम्म विद्युत् उत्पादन, प्रसारण तथा वितरणको व्यावसायिक सञ्चालन सुरु गर्ने संस्थाहरूलाई सुरुका १० वर्ष पूर्ण आयकर छुट र त्यसपछिका पाँच वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो कुल कर्जा लगानीको निश्चित हिस्सा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारी प्राथमिकता, कर छुट तथा बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा क्षेत्रमा हुने कर्जा प्रवाहले नवीकरणीय ऊर्जा क्षेत्रको विस्तारका लागि अनुकूल आधार तयार गरेको छ ।
अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद सेयर निष्कासन गर्न अनुमति
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । कम्पनीले आफ्नो १४औँ वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । सोहीअनुसार आयोगले कम्पनीलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको हो । कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको आधारमा शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो । आयोगले तोकेको सर्तअनुसार हकप्रद सेयरबाट संकलन हुने रकम मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको सिसुवाखोला जलविद्युत् आयोजनामा स्वपुँजी लगानीका लागि प्रयोग गरिनेछ । यस्तै, बाँकी रकम अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको आवधिक कर्जा भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ । संखुवासभामा रहेको अपर हेवाखोला जलविद्युत् आयोजनाको क्षमता ८.५ मेगावाट छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । अब नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र कम्पनीले लगानीकर्ताका लागि हकप्रद सेयर निष्कासन खुला गर्नेछ ।
सुरु भयो नाडा अटो शो २०२६, उपराष्ट्रपतिले गरे उद्घाटन
काठमाडौं । १८औं नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरे । नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताए । उपराष्ट्रपति यादवले भने,‘नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।’ उनले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिकमुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राखे । नेपाली अटोमोबाइल क्षटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा बोल्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले सवारी साधनलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताए । उनले सवारी साधन नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकतासमेत भएको उल्लेख गरे । उनले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी तथा सामाजिक दृष्टिकोणमा पुनरावलोकन आवश्यक रहेको बताए ।अटोमोबाइल क्षेत्र १० लाखभन्दा बढी मानिसको रोजगारीसँग जोडिएको र यसबाट वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने उल्लेख गर्दै उप्रेतीले यो क्षेत्रले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न नसकेकोप्रति पनि चिन्ता व्यक्त गरे । भृकुटीमण्डपको वर्तमान संरचना ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शनका लागि पर्याप्त नभएको भन्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको भृकुटीमण्डप स्तरोन्नतिको योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि उनले जोड दिए । व्यवसायमा दीर्घकालीन लगानी आकर्षित गर्न नीतिगत स्थिरता अपरिहार्य रहेको उनको भनाइ थियो । करका दर तथा नीतिमा बारम्बार हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन भइरहेको उल्लेख गर्दै उप्रेतीले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए । यसैगरी, नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जानु नयाँ अवसरका रूपमा देखा परेको उनले बताए । अब विद्युतीय सवारी साधनको एसेम्बल उद्योगमा मात्र सीमित नभई पार्टपुर्जा तथा कम्पोनेन्ट उत्पादनतर्फ समेत अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमै उत्पादित सवारी साधनको स्थायित्व र प्रवद्र्धनका लागि सरकारले थप सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ छ दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, विद्युतीय गाडी, दुईपांग्रे सवारी, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित उत्पादन र प्रविधिहरू प्रदर्शनीमा राखिएका छन् ।
कामना सेवा विकास बैंकले सेयरधनीलाई बाँड्दैछ १५ प्रतिशत नगद लाभांश
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बोलाएको छ। बैंकको सञ्चालक समितिको ४२१औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकका अनुसार साधारणसभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा हुनेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंकले साधारण सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाब पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ । त्यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावमा समेत सभाले निर्णय गर्नेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् । गत आर्थिक वर्षमा बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशत बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरको रकम ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ । जसअनुसार सेयरधनीले ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर पाउनेछन् । त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी कम्पनीले कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश आगामी १७औँ वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ । साधारणसभाबाट स्वीकृत भएपछि मात्रै प्रस्तावित लाभांश सेयरधनीलाई वितरण हुनेछ ।
बेनी हाइड्रोले भदौ २२ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।