विकासन्युज

नाडा अटो शोमा यामाहाका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक हुँदै

काठमाडौं । नाडा अटो शो २०२६ मा यामाहाले नेपाली बजारका लागि आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकल भेरियन्ट सार्वजनिक गर्ने भएको छ । विभिन्न शैली, आवश्यकता र रुचिका राइडरलाई लक्षित गर्दै कम्पनीले एरोक्स १५५ एस, फेसिनो एस हाइब्रिड, फेसिनो डिस्क हाइब्रिड र आर१५ एसका नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो । यामाहाका अनुसार नयाँ एरोक्स १५५ एस विशेषगरी पर्फर्मेन्स र स्पोर्टी राइडिङ अनुभव खोज्ने राइडरलाई लक्षित गरी ल्याइएको हो । १५५ सीसी इन्जिन, स्पोर्टी डिजाइन र की–लेस स्टार्ट फिचर रहेको यो स्कुटरले मोटरसाइकलजस्तै राइडिङ अनुभव दिने कम्पनीको दाबी छ । की–लेस प्रविधिका कारण चाबी प्रयोग नगरी इन्जिन स्टार्ट गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ । दैनिक प्रयोगसँगै स्टाइललाई प्राथमिकता दिने ग्राहकका लागि यामाहाले फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिडका नयाँ संस्करण पनि सार्वजनिक गर्दैछ । कम्पनीका अनुसार आकर्षक डिजाइन, आरामदायी राइड र इन्धन दक्षतासहित यी स्कुटर युवा राइडरलाई लक्षित गरेर तयार पारिएका हुन् । त्यस्तै, आर१५ एस र आर१५ एमका नयाँ भेरियन्ट ‘न्यु आर इन्स्टिंक्ट’ अवधारणामा आधारित हुने कम्पनीले जनाएको छ । उत्कृष्ट रोड प्रेजेन्स र स्पोर्टी राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यले परिमार्जन गरिएका यी मोडलले यामाहाको लोकप्रिय आर सिरिजलाई थप आकर्षक बनाउने विश्वास कम्पनीको छ । एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा बढ्दो राइडर समुदायसँग जोडिन नाडा अटो शो महत्त्वपूर्ण मञ्च भएको बताए । उनका अनुसार नयाँ भेरियन्टमार्फत पर्फर्मेन्स, प्रविधि, स्टाइल र व्यक्तित्वलाई समेट्ने उत्पादन ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार नयाँ उत्पादन ल्याउन यामाहा निरन्तर केन्द्रित रहेको बताए । उनले नाडा अटो शोमा आगन्तुकले नयाँ मोडललाई नजिकबाट अवलोकन गर्न र अनुभव गर्न सक्ने जानकारी दिए । कम्पनीका अनुसार नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ भेरियन्ट आधिकारिक रूपमा सार्वजनिक गरिनेछन् । आगन्तुकले यामाहाको ब्लु च्याम्बरमा पुगेर नयाँ मोडलको अवलोकन गर्न सक्नेछन् ।

सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा घटेको हो । नेप्सेका अनुसार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार ३५७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार मकर जितुमाया सुरीको भएको छ । मकरको ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङको १७ करोड, सोलु हाइड्रोको १३ करोड र सुपर मादीको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   मंगलबार अधिकांश उपसूचक घटेका छन् । १३ वटा उपसूचकमध्ये केवल विकास बैंक र निर्जीवन बीमा समूहमा मात्रै वृद्धि देखिएको छ भने बाँकी सबै समूह राताम्मे भएका छन् । मंगलबारको कारोबारमा विकास बैंक उपसूचक ०.०८ प्रतिशतले बढेर ५,४६०.४० बिन्दुमा पुगेको छ । यस्तै निर्जीवन बीमा उपसूचक ०.३६ प्रतिशतले बढेर १०,३३९.६५ बिन्दुमा पुगेको छ, जुन दिनभरका उपसूचकमध्ये सबैभन्दा बढी वृद्धि हो । यता बैंकिङ उपसूचक ०.०३ प्रतिशत, वित्त समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन ०.७१ प्रतिशत, जलविद्युत ०.४२ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत, लघुवित्त ०.२७ प्रतिशत, म्युचुअल फन्ड ०.५३ प्रतिशत, अन्य समूह ०.१८ प्रतिशत र ट्रेडिङ समूह ०.५७ प्रतिशतले घटेका छन् ।

भोलि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले प्रश्न सोध्ने

काठमाडौं । प्रतिनिधिसभाको बुधबार (भाद्र १०) बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।  कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विभिन्न दलका ११ सांसदले सरकारको कामकारबाही, समसामयिक विषय तथा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्न गर्ने भएका हुन् । संसद् सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ प्रश्नकर्ताका रूपमा चयन भएका छन् । त्यस्तै, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्ने कोइरालाले जानकारी दिए ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन र रमेशकुमार हमालले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन् । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली पनि प्रश्न गर्ने सांसदको सूचीमा रहेका कोइरालाले जानकारी दिए । प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले आफूले उठाउन चाहेको विषय र प्रश्नको लिखित विवरण संसद् सचिवालयमा दर्ता गराइसकेको कोइरालाले बताए । यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सञ्चालन गर्ने समय निर्धारण गरेका थिए । प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा छुट्याउने व्यवस्था छ ।  नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा सांसदले प्रश्न गर्न पाउने कोइरालाले बताए । यसपटक सभामुखले बढीमा १५ जना सांसदलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने अवसर दिने गरी व्यवस्था मिलाएका थिए।  दलहरूको प्रतिनिधित्व र संसदमा रहेको दलीय उपस्थितिका आधारमा प्रश्नकर्ताको संख्या निर्धारण गरिएको थियो ।  सोअनुसार रास्वपाबाट मात्रै सात सांसदले प्रश्न गर्न पाउने अवस्था भए पनि तीन जनाले मात्र प्रश्न दर्ता गरेका छन् ।  अन्य दलबाट भने तोकिएको प्रतिनिधित्वअनुसार सांसदहरूले प्रश्न दर्ता गराएका हुन् । नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई प्रश्नको विषयबारे लिखित जानकारी दिनुपर्छ ।  सोही व्यवस्थाअनुसार सभामुखले भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिएका थिए । प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्राप्त प्रश्न स्वीकार गर्ने वा नगर्ने अन्तिम निर्णय सभामुखले गर्ने व्यवस्था छ । प्रश्नको विषय, प्रकृति र प्रक्रियासम्बन्धी अन्य व्यवस्था पनि सभामुखले निर्धारण गर्न सक्नेछन् । प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि गरेको छ । तर प्रश्नोत्तर सकिएपछि प्रधानमन्त्रीले दिएका जवाफमाथि प्रतिनिधिसभामा छुट्टै छलफल भने नहुने व्यवस्था छ ।  कोइरालाका अनुसार नियमावलीको नियम ६० अनुसार सोधिएका प्रश्नको जवाफका सम्बन्धमा सदनमा कुनै छलफल गरिने छैन ।

आकाशे पुलबाट बाटो काट्न भनेर सम्झाउँदा प्रहरीमाथि हातपात

काठमाडौं । बानेश्वरमा आकाशे पुलबाट बाटो क्रस गर्नु भनेर सम्झाउने प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् ।  मंगलबार बिहान साढे ९ बजे बानेश्वरको थापागाउँ सडकखण्डबाट बाटो काट्दा प्रहरीलाई हातपात गर्ने घर भएका २७ वर्षीय राज कठायत पक्राउ परेका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले बिहानीको पिक आवरमा जथाभावी बाटो नकाटन भनेर सम्झाउँदा महिला सामुदायिक प्रहरीमाथि ती युवकले हातपात गरेको बताए ।  थापाका अनुसार युवकले महिला प्रहरीमाथि प्रहरीले भनेको मान्छु भन्दै हातपात गरेका थिए। प्रहरीले युवकलाई आकाशे पुलमाथिबाट बाटो काट्न आग्रह गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । कठायत जुम्ला तातोपानी गाउँपालिका २ का हुन् ।  

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । स्काईवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेका हुन् । जस अनुसार ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ ।   नाडा अटो शो अवधिभरीका लागि कम्पनीले विशेष अफर पनि ल्याएको छ । जस अन्तर्गत नाडा अटो शो अवधिभरको लागि  ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ ।  यसअघि सोमबार एलआरआर मोटर्सले स्काईवेलको लोगो अनावरण गरेको थियो । कम्पनीका अनुसार ७१।९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ । यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ । यसमा ८०० हाई–भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ । पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९८ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ । नाडा अटो शोमा कम्पनीको स्टल ‘एच१९’ रहेको छ । 

कर प्रणालीमा सुधार : सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ

काठमाडौं । आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।   विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो ।  महानिर्देशक भुसालकाअनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरणमा त्रुटि भएमा सात दिनभित्र आफैँले संशोधन गर्न पाउनेछन् । यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि (जस्तैः एउटा शुन्य बढी हुनु) भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो । विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी (ईटीडीएस) गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको छ । हालको कानुनअनुसार प्रत्येक महिनाको २५ गतेभित्र ईटीडीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भएपनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको थियो ।  उनले भने, ‘पुरानो प्रणालीमा विवरण प्रविष्ट (इन्ट्री) भइसकेपछि सच्याउन कठिन हुन्थ्यो, जसका कारण करदाताले निकै सास्ती भोग्नुपरेको थियो । अहिले सात दिनको समय दिइएको छ, जसमा करदाताले घरमै बसेर आफ्नो विवरण रुजु गरी गल्ती सच्याउन सक्नेछन् । यसले कर कार्यालयमा हुने भीडभाड र करदाताको समय वचत गर्नेछ ।’ महानिर्देशक भुसालले कतिपय अवस्थामा करको दायित्व कम देखाउन ‘ब्याक डेट’ मा इन्ट्री गर्ने जस्ता म्यानुपुलेसन (हेरफेर) हुने गरेको समेत उल्लेख गरे । अब प्रणालीलाई अनिवार्य र समयवद्ध बनाइएकाले यस्तो अनियमितता रोकिने विश्वास विभागको छ । यो व्यवस्थाले एकातिर राज्यको कोषमा समयमै राजस्व जम्मा हुने सुनिश्चितता गर्छ भने अर्कोतिर करदाताले आफ्नो कर कट्टीको प्रमाण खोज्दै भौचर बोकेर कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ । विभागले चालेका यी सुधारका प्रयासहरूले समग्र कर प्रशासनमा सुशासन कायम गर्न मद्दत पुग्ने महानिर्देशक भुसालको भनाइ छ ।  

चिनी महँगिएपछि घट्यो उपभोग, २२ प्रतिशत उपभोक्ताले कम गरे दैनिक प्रयोग

काठमाडौं । चिनीको मूल्य लगातार बढेपछि उपभोक्ताले यसको प्रयोग घटाउन थालेका छन् । भारतमा गरिएको एक सर्वेक्षणले चिनी महँगिएसँगै उल्लेख्य संख्यामा मानिसले दैनिक खपत कम गरेको देखाएको हो । मूल्यवृद्धिले उपभोक्ताको खर्च मात्र होइन, खानपानको बानीमा समेत असर पार्न थालेको सर्वेक्षणले संकेत गरेको छ । भारतीय उपभोक्ता मामिला विभागका अनुसार जुलाई २०, २०२६ मा चिनीको औसत खुद्रा मूल्य प्रतिकिलो ४८.१८ भारतीय रुपैयाँ रहेकोमा अगस्ट २० सम्म बढेर ५५.७० रुपैयाँ पुगेको छ । चाडपर्वको मुखमा चिनीको मूल्य बढेपछि सरकारले सेप्टेम्बर ३० सम्म चिनी निर्यातमा रोक लगाएको छ भने अक्टोबर ३१ सम्म १० लाख टन कच्चा चिनी भन्सार महसुलबिना आयात गर्न अनुमति दिएको छ । बढ्दो मूल्यको प्रभाव बुझ्न ‘लोकल सर्कल्स’ले गरेको सर्वेक्षणमा ४८ प्रतिशत उपभोक्ताले पहिलेजस्तै चिनी किनिरहेको बताएका छन् । तर २२ प्रतिशतले चिनीको खपत घटाएको प्रतिक्रिया दिएका छन् । अर्को २२ प्रतिशतले पहिलेकै मात्रामा चिनी प्रयोग गरे पनि खर्च बढेको बताएका छन् । यस्तै ४ प्रतिशतले मिठाइ तथा गुलियो परिकार किन्ने मात्रा घटाएको र ४ प्रतिशतले चिनीको विकल्प प्रयोग गर्न थालेको बताएका छन् । सर्वेक्षणअनुसार १९ प्रतिशत सहभागीले आफूले चिनी नै नखाने बताएका छन् । २८ प्रतिशतले दैनिक करिब १० ग्राम चिनी सेवन गर्ने, २५ प्रतिशतले १० देखि २५ ग्राम, १४ प्रतिशतले २५ देखि ५० ग्राम, ९ प्रतिशतले ५० देखि १०० ग्राम र ५ प्रतिशतले दैनिक १०० ग्रामभन्दा बढी चिनी प्रयोग गर्ने बताएका छन् । सर्वेक्षणले चिनीको मूल्यवृद्धिसँगै उपभोक्ता खर्चमा दबाब बढ्नुका साथै धेरै मानिसले स्वास्थ्य र खर्च दुवैलाई ध्यानमा राख्दै चिनीको प्रयोग घटाउन थालेको देखाएको छ ।

करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

काठमाडौं । आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ । विभागले मंगलबार (भदौ ९)देखि यसको सुरुवात गरेको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ।  ‘डिजाइन ड्रिभन डेभलपमेण्ट’ पद्धति र ‘माइक्रो सर्भिस आर्किटेक्चर’ मा आधारित भएर यो पोर्टल विकास गरिएको हो ।  अन्तःशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजश्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाता स्वयंले रुजु गर्नसक्ने व्यवस्था मिलाइएको छ ।  आय विवरण (डे–०४) अन्तर्गत साविकमा अनुसूची १० मा करदाताले विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी अब उक्त विवरण स्वतः आउने व्यवस्था गरिएको छ ।  स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विदेशी लगानीकर्ताहरूले स्थायी लेखा नम्बर दर्ताका लागि अनलाइनमार्फत निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।  करदाताले आफ्नो स्थायी लेखा नम्बर कार्ड, अन्तःशुल्क इजाजत र करचुक्ता प्रमाणपत्र पोर्टलमा ‘लग–इन’ गरी आफै डाउनलोड गर्न सक्नेछन् ।  मूल्य अभिवृद्धि कर विवरण संशोधन सम्बन्धी सेवा पोर्टलमा समावेश गरिएको छ । परीक्षणका क्रममा रहेकोले यो पोर्टल प्रयोग गर्दा केही समय सामान्य प्राविधिक समस्याहरू आउन सक्नेप्रति विभागले सजगता अपनाएको छ ।  करदाताको सुविधालाई मध्यनजर गर्दै पोर्टलको डिजाइनमा सरलता ल्याउने र आवश्यक थप सुविधाहरू पहिचान गरी छिट्टै व्यवस्थापन गर्ने प्रतिवद्धता महानिर्देशक डा. भुसालले व्यक्त गरेका छन् ।–न्युज एजेन्सी नेपाल