गण्डकी सरकारबाट एमाले बाहिरिँदै, चार मन्त्रीले सामूहिक राजीनामा दिने
काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने भएका छन् । एमाले संसदीय बोर्डको मंगलबार बसेको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेसँगै गण्डकीमा सत्ता समीकरण फेरिने भएको हो । संसदीय बोर्डको बैठकले मन्त्रीहरूलाई तत्काल सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको एमालेकी प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् । उनका अनुसार चारै मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन् । ‘संसदीय बोर्डले निर्णय गरेको छ । उहाँहरू सामूहिक रूपमै राजीनामा बुझाउनुहुन्छ,’ पहारीले भनिन्, ‘यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमै छौँ ।’ एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच राष्ट्रिय स्तरमा राजनीतिक सहकार्य भएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार प्रदेशमा समेत सत्ता साझेदारीको स्वरूप परिवर्तन गर्ने तयारी भएको एमाले नेताहरूले बताएका छन् । गण्डकी प्रदेश सरकारमा एमालेका तर्फबाट चार जना मन्त्री छन् । गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, भीम कार्की कृषि मन्त्री र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्रीका रूपमा जिम्मेवारीमा छन् । एमालेले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाउनेछन् । त्यसपछि मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी हेरफेर गर्नुपर्ने हुन्छ । एमालेका मन्त्री सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेश सरकारको वर्तमान सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन आउनेछ । सरकारमा एमालेको स्थानमा नयाँ राजनीतिक सहकार्यअनुसार अन्य दल वा समूहलाई सहभागी गराउने विषयमा समेत छलफल हुने देखिएको छ । केन्द्रमा दलहरूबीच भएको सहकार्यलाई प्रदेश तहमा कार्यान्वयन गर्ने क्रममा गण्डकीमा एमालेले सरकार छाड्ने निर्णय गरेको हो । यद्यपि, नयाँ सरकारको स्वरूप, मन्त्रालय बाँडफाँट र आगामी राजनीतिक समीकरणबारे भने दलहरूबीच थप छलफल हुन बाँकी छ । एमाले संसदीय बोर्डको निर्णयसँगै गण्डकीमा लामो समयदेखि कायम रहेको सत्ता समीकरण परिवर्तनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । अब मुख्यमन्त्री र सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठन तथा नयाँ सहकार्यका विषयमा छलफल अघि बढ्नेछ ।
कालीमाटीमा आजको भाउ : कुन तरकारी सस्तो, कुन महँगो ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल, मसला र माछासहित विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको हो । आजको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ र भारतीय ठूलो गोलभेँडा १०० रुपैयाँ कायम भएको छ। सानो लोकल गोलभेँडा ४५ रुपैयाँ, टनेल गोलभेँडा ६८ रुपैयाँ र भारतीय सानो गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। आलुतर्फ रातो लाम्चो आलु ५१ रुपैयाँ, रातो गोलो र मुढे आलु ५३ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ तथा सेतो आलु ३८ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ९० रुपैयाँ कायम छ। कालीमाटी बजारमा स्थानीय गाजर १२० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने भएको छ। स्थानीय बन्दा ३० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो हाइब्रिड मूला ३५ रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ। बोडी ९० रुपैयाँ, मकै बोडी १२० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमासको कोसा १३० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर ७० देखि ८० रुपैयाँ, चिचिण्डो र घिरौँला ३० रुपैयाँ तथा भिन्डी ४० रुपैयाँ प्रतिकिलो कायम भएको छ । रायोको साग प्रतिकिलो १२० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र पालुङ्गो २५० रुपैयाँ तोकिएको छ। हरियो प्याज २०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुनेछ। च्याउमध्ये कन्य च्याउ ३०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ र मालभोग केरा २०० रुपैयाँ तोकिएको छ । कागती र अनार ३०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ, चोसा आँप २५० रुपैयाँ र जुनार २०० रुपैयाँ प्रतिकिलो कायम भएको छ । तरबुजा ६० रुपैयाँ, स्थानीय काँक्रो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, स्थानीय नास्पाती ९० रुपैयाँ, चिनियाँ नास्पाती २५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । अदुवा प्रतिकिलो ३०० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, हरियो अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ६० रुपैयाँ तथा सुकेको खुर्सानी ५५० रुपैयाँ तोकिएको छ। लसुन सुकेको (चाइनिज) २२० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ, तोफु १६० रुपैयाँ र तामा १६० रुपैयाँ प्रतिकिलोमा बिक्री हुनेछ । कालीमाटी बजारमा रहु माछा प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
अस्ट्रेलियाका मुख्य सहरमा कमाइको आधाभन्दा बढी घरभाडामै खर्च
काठमाडौं । अस्ट्रेलियाका सबै मुख्य सहरमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामा खर्च हुने गरेको एक प्रतिवेदनले देखाएको छ । सोमबार सार्वजनिक गरिएको एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार देशका सबै राजधानी सहरमा एउटा फ्ल्याट (युनिट) भाडामा लिन औसत राष्ट्रिय आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ । प्रतिवेदनका अनुसार वार्षिक ७० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिको आम्दानीको ५६ प्रतिशत हिस्सा राष्ट्रिय औसत घरभाडा तिर्नमै खर्च हुने गरेको छ । त्यस्तै, वार्षिक ४० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिका लागि आवास खर्च कुल आम्दानीको ८९ प्रतिशत पुग्छ भने वार्षिक १ लाख डलर आम्दानी गर्नेहरूले समेत आफ्नो कमाइको ४१ प्रतिशत हिस्सा भाडामै खर्च गर्नुपर्ने अवस्था छ । अस्ट्रेलियाका आठवटै मुख्य सहरमा औसत कमाइ गर्ने कर्मचारीले एउटा युनिटको औसत भाडा तिर्न आफ्नो आम्दानीको कम्तीमा ५१ प्रतिशत खर्च गर्नुपर्ने देखिएको छ । सिड्नीमा ७० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिले आफ्नो आम्दानीको ६९ प्रतिशत हिस्सा साप्ताहिक घरभाडामै खर्च गर्नुपर्ने देखिएको छ । यो अन्य सबै सहरको तुलनामा उच्च अनुपात हो । अस्ट्रेलियाली तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अगस्ट २०२५ सम्ममा अस्ट्रेलियाली कर्मचारीको औसत वार्षिक तलब ७४ हजार १०० अस्ट्रेलियाली डलर रहेको छ । आवास वकालत समूहकी प्रतिनिधि माई अजिजले सरकारले सार्वजनिक तथा सामुदायिक आवास निर्माणबाट हात झिकेका कारण देशमा गम्भीर आवास संकट उत्पन्न भएको बताएकी छन् । ‘संघीय सरकारले ठूलो मात्रामा सार्वजनिक र सामुदायिक आवास निर्माण गर्न आवश्यक छ । अस्ट्रेलियालाई आगामी १५ वर्षभित्र करिब १० लाख यस्ता घरको आवश्यकता पर्ने देखिन्छ,’ अजिजले भनेकी छन् ।
आजदेखि नाडा अटो शोः ईभी, रोबोटदेखि मेड इन नेपालसम्मको प्रदर्शन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबारदेखि १८औँ नाडा अटो शो २०२६ सुरु हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शो ‘स्वर्ण जयन्ती विशेष संस्करण’का रूपमा आयोजना हुँदैछ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र रोबोट मुख्य आकर्षणका रूपमा रहनेछन् । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए । उनका अनुसार यस वर्षको अटो शो सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ । नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना हुन लागेको प्रदर्शनी करिब ३ लाख वर्गफिट क्षेत्रफलमा फैलिनेछ । मेलामा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वित्तीय एवं बीमा कम्पनी सहभागी हुनेछन् । त्यस्तै, पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ । यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ । करिब ८ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरिने जनाइएको छ । नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् भने निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशभर करिब २ हजार चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । नाडाका अनुसार नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा तीव्र गतिमा भइरहेको छ । यही विषयलाई केन्द्रमा राख्दै अटो शोमा सवारीसाधन, चार्जिङ प्रविधि र वित्तीय सेवासम्बन्धी कम्पनीलाई एउटै स्थानमा ल्याएर छलफल गरिनेछ । अटो शोमा विभिन्न मूल्य र वर्गका विद्युतीय तथा हाइब्रिड सवारीसाधन प्रदर्शन गरिनेछन् । बीवाईडी, लीपमोटर, जिली, एमजी र वुलिङलगायत ब्रान्डका विद्युतीय सवारी प्रदर्शनीमा रहनेछन् । दुईपाङ्ग्रेतर्फ रिभोल्टका साथै नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्रीका विद्युतीय मोटरसाइकल पनि सहभागी हुनेछन् । चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर आधिकारिक चार्जिङ पार्टनरका रूपमा रहनेछ । एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् । अटो शोको अर्को प्रमुख आकर्षण अत्याधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ । यी रोबोटमार्फत अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासबारे दर्शकलाई जानकारी दिइनेछ । नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गरिने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुनेछ । यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब र नेसनल ट्रेडिङको परिसरमा पार्किङको व्यवस्था गरिनेछ । पार्किङस्थलबाट प्रदर्शनीस्थलसम्म आउजाउ गर्न सटल बस सेवासमेत सञ्चालन गरिनेछ ।
काठमाडौं महानगरद्वारा ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सर्वाङ्गीण विकासका लागि आवश्यक नीतिगत तथा कार्यमूलक अनुसन्धान गर्न ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली अनुसन्धानकर्ताबाट अनुसन्धान प्रस्ताव माग गरेको हो । फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पु¥याउनुका साथै नीतिगत अनुसन्धान र सहरी विकाससँग सम्बन्धित आयोजनाको पहिचान तथा कार्यमूलक अनुसन्धानलाई प्रोत्साहन गर्नु रहेको महानगरले जनाएको छ । महानगरका अनुसार सहरका विविध आयामसँग सम्बन्धित विषयमा ठोस र व्यावहारिक अनुसन्धानमार्फत विकास प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सूचनाअनुसार, तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्नुपर्नेछ । आवेदनका लागि आवश्यक योग्यता, प्रस्तावको ढाँचा, छनोट प्रक्रिया तथा अन्य विस्तृत सर्तहरू महानगरपालिकाको वेबसाइटमा प्रकाशित ‘कल फर एक्सप्रेसन अफ इन्ट्रेस्ट’मा उल्लेख गरिएको महानगरले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र कोशी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उनले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि सदनमा पेस गर्ने छिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैबीच, बिहान १०ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यात्री पी-२ स्कुटर एकै पटकको चार्जमा १५७ किलोमिटरसम्म गुड्ने
काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ औपचारिक रूपमा सार्वजनिक भएको छ । नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो स्कुटरलाई सिप्रदी यात्रीले विभिन्न ब्याट्री क्षमताका विकल्पसहित बजारमा ल्याएको हो । ग्राहकको आवश्यकता अनुसार पी-२ लाई ५.२ किलोवाट घण्टा, ३.७ किलोवाट घण्टा र ३ किलोवाट घण्टा गरी तीन फरक ब्याट्री मोडलमा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ५.२ किलोवाट ब्याट्री भएको मोडलले एक पटकको पूर्ण चार्जमा १५७ किलोमिटरसम्मको दूरी तय गर्छ । त्यस्तै, ३.७ किलोवाट घण्टाको मोडलले ११२ किलोमिटर र ३ किलोवाट घण्टा क्षमताको ब्याट्रीले ९० किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ । यस स्कुटरमा ३.३ किलोवाट क्षमताको द्रुत (डीसी) चार्जिङ सुविधा समेत रहेको छ । लामो दूरीको यात्रालाई सहज बनाउन सिप्रदी यात्रीले देशभर ३५ भन्दा बढी स्थानमा यस्ता द्रुत चार्जिङ केन्द्र स्थापना गर्ने योजना बनाएको छ । आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको पी-२ मा एन्ड्रोइड अटो, एप्पल कारप्ले, वास्तविक समयको ऊर्जा मापक (रियल टाइम इनर्जी मिटर) र आधुनिक सुचना पाटी (स्मार्ट डिस्प्ले) समावेश गरिएका छन् । नेपालका तराईदेखि पहाडी तथा कठिन सडकहरू (जिरी, काठमाडौं, मुलकोट, कटारी, भरतपुर, वालिङ आदि) मा व्यापक परीक्षणपश्चात् मात्र यसलाई बजारमा उतारिएको हो । नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादनलाई व्यावसायिक रूप दिन सिप्रदी यात्रीले उत्पादन केन्द्रमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार थानसम्म स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।