स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषधको कारोबारी खोज्न जाँदा स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौं महानगरपालिका १५ स्थित चमतीबाट ५२ वर्षीय मा यागुबीलाई ३१ लाख नगदसहित पक्राउ गरेको हो । यागुबी चौमतीमा घर भाडामा लिएर बस्दै आएका थिए । घर खानतलासी गर्दा कोठा भित्रबाट लागु औषध नभेटिएको तर स्रोत नखुलेको रकम भेटिएको प्रहरीले जनाएको छ । लागुऔषध ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार उनी हालसम्म ६ पटक नेपाल आएर फर्केको देखिन्छ । पछिल्लो पटक जुलाई २३, २०२६ मा आएको अध्यागमनको रेकर्डबाट देखिन्छ । उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। यागुबीकाे साथबाट प्रहरीले नेपाली नगद ३१ लाख, पासपोर्ट थान १, सुन काट्न प्रयोग गरिने कैची थान १, ह्याम्मर थान १, डिजिटल तराजु थान १, क्यालकुलेटर थान १, विभिन्न कम्पनीका मोबाइल थान ४, एनआइएमबी बैँकको चेकबुक थान २ र एनआइसी बैंकको चेकबुक थान १ बरामद गरेकाे छ ।
गाडी किन्नेलाई एनआईएमबीको अफर, ५.१३ प्रतिशत ब्याजदरमै अटो लोन
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सीमित अवधिका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने जनाएको हो । मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार सवारी कर्जा प्रक्रियालाई सहज, छिटो र सर्वसुलभ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। बैंकले यस योजनाअन्तर्गत प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्रै कायम गरेको जनाएको छ । बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजात बुझाएपछि तीन कार्यदिनभित्रै कर्जा स्वीकृत र प्रवाह गरिनेछ। यो सुविधा बैंकका देशभर रहेका सबै शाखामार्फत उपलब्ध हुनेछ । प्रतिस्पर्धी ब्याजदर, न्यून सेवा शुल्क र द्रुत कर्जा स्वीकृतिका कारण नयाँ गाडी खरिद गर्ने योजनामा रहेका ग्राहकलाई यो योजना लाभदायी हुने बैंकको विश्वास छ । बैंकले यो विशेष अटो लोन योजना सीमित अवधिका लागि मात्रै लागू हुने जनाएको छ ।
नाडा अटो शोको पहिलो दिनमै ईभीमा झुम्मिए अवलोकनकर्ता
काठमाडौं । भृकुटीमण्डप यतिबेला सवारीसाधनका पारखीहरूको महाकुम्भ बनेको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५० वर्षे लिगेसी र १८ औं संस्करणको यो उत्सवले काठमाडौंको माहोललाई थप चलायमान बनाएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले संयुक्त रूपमा उद्घाटन गरेसँगै सुरु भएको यो मेलामा नयाँ प्रविधि, ईभी गाडीप्रतिको मोह र सुरक्षा सचेतनाको एउटै थलो बन्न पुगेको छ । यसपटकको अटो शोमा पनि सबैकाे राेजाइ विद्युतीय सवारीसाधन (ईभी) तर्फ नै मोडिएको छ । मेला अवलोकन गर्न उदयपुरबाट आएका व्यवसायी प्रदीप थापा भन्छन्, ‘जता हेर्यो त्यतै ईभीको चहलपहल छ । अबको १०/१५ वर्षमा सडकमा पर्यावरणमैत्री गाडी छाउने निश्चित देखिन्छ ।’ उनी जस्तै धेरै अवलोकनकर्ताहरू गाडीको लुक र ईभीले दिने सुविधा बुझ्न व्यस्त देखिन्छन् । कतिपय भने मेलाको पहिलो दिनमै गाडी बुक गर्ने मनसायका साथ आइपुगेका छन् । त्रिपुरेश्वरका विक्रम अछामी टाटाको पन्च ईभी बुक गर्ने योजनाका साथ मेलामा भौंतारिइरहेका भेटिए । ‘एकै ठाउँमा धेरै ब्रान्डका गाडी र तिनको स्पेसिफिकेसन तुलना गर्न पाइने हुनाले अटो शो निकै सजिलो माध्यम हो,’ उनले भने । यद्यपि, उनले अघिल्ला वर्षहरूका मेलाको तुलनामा यसपालि रोबोटिक्स र नयाँ प्रविधिको प्रदर्शनी केही कम भएको महसुस पनि सुनाए । सवारी मात्र होइन, सुरक्षा पनि मेलाको अर्को आकर्षण हो, ट्राफिक प्रहरीको स्टल । गाडी किन्ने मात्र होइन, गाडी चलाउँदा अपनाउनुपर्ने सुरक्षाबारे पनि सचेतना फैलाउन ट्राफिक प्रहरी सक्रिय देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार नेपालमा हुने ७० देखि ८० प्रतिशत दुर्घटना दुई पाङ्ग्रे सवारी साधनका कारण हुने गरेका छन् । ‘हामी यहाँ सवारीका पारखीहरूलाई ट्राफिक नियम पालना गर्न सिकाउँदैछौं । करोडौंका गाडी किने पनि एक सेकेन्डको लापरवाहीले अमूल्य जीवन र सम्पत्ति दुवै नष्ट हुन्छ,’ मल्लले भने । विशेषगरी युवाहरूले गर्ने तीव्र गति र लेन अनुशासनको कमी नै दुर्घटनाको मुख्य कारण रहेको उनको अनुभव छ । मेलामा दुर्घटनाका भिडियो दृश्य र ट्राफिक प्रहरीले प्रयोग गर्ने उपकरणहरूको प्रदर्शनीले अवलोकनकर्तालाई सडक सुरक्षाप्रति जिम्मेवार बन्न प्रेरित गरिरहेको छ । भृकुटीमण्डप छिर्नका लागि टिकट काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झटलाई डिजिटल प्रविधिले कम गरिदिएको छ । खल्ती एपमार्फत सहजै टिकट काट्न सकिने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको यो मेलामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था छ । नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार यसपटक २०० भन्दा बढी स्टलहरू रहेका छन् । भृकुटीमण्डप आसपासको पार्किङ समस्यालाई मध्यनजर गर्दै नाडाले सटल बसको निःशुल्क व्यवस्था समेत गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती । ‘हामीले सुन्धारा, आरएनसी र पुरानो बसपार्कमा पार्किङ गरेर अवलोकनकर्तालाई मेला स्थलसम्म ल्याउन सटल बस चलाएका छौं, जसले ट्राफिक व्यवस्थापनमा ठुलो सहयोग पुगेको छ,’ उप्रेतीले भने । प्रदर्शनीको पहिलो दिनमै अवलोकनकर्ता र ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको नाडा अटो शोका सभापति अनुप बरालले जानकारी दिए । मानिसहरूको भीडले आयोजक टोलीलाई निकै उत्साहित बनाएको उनको भनाइ छ । उनले भने, ‘सुरुवात एकदमै राम्रो भएको छ । मर्निङ शोज द डे भने झैं उद्घाटन सत्रसँगै बढेको यो उत्साहले आगामी दिनहरू अझै सफल हुने संकेत गरेको छ ।’ अनुप बराल । उनका अनुसार प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, छ पाङ्ग्रे र आठ पाङ्ग्रे सवारी साधनहरूका साथै पछिल्लो समय लोकप्रियता कमाइरहेका ईभी र परम्परागत आईसीई इन्जिन भएका सवारीहरू समेत राखिएका छन् । सवारी साधनका अतिरिक्त अटोमोबाइल कम्पोनेन्ट र सफ्टवेयरहरूको समेत प्रदर्शनी भइरहेको छ । छोटो समयको तयारीका बावजुद व्यवस्थापन पक्षलाई चुस्त बनाउन टोली अहोरात्र खटिएको र अवलोकनकर्ताहरूले फरक तथा स्तरीय अनुभव पाउने सभापति बरालले दाबी गरे । आयोजक टोली आगामी दिनमा अझ बढी अवलोकनकर्ता आउनेमा विश्वस्त रहेको उनले बताए । सभापति बरालले सम्पूर्ण अटो प्रेमी तथा सर्वसाधारणलाई भृकुटीमण्डप पुगेर अटो शोको अवलोकन गरिदिन समेत आग्रह गरे । अटो शोमा ५ दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म दर्शनीमा राखिएका छन् । हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् । त्यस्तै, नेपालको उत्पादन ‘यात्री पी-२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत सहभागिता छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा कर्णलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा मनोज कुमार लाल कर्णलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीश नारायणप्रसाद पौडेल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजालासले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेष अदालत नियमावली २०८० को नियम ३० को उपनियम ( २)अदालतको आदेशमा धरौटी नबुझाएम थुनुवा पुर्जी थमाएर कारागारमा पठाउन आदेशमा उल्लेख गरिएको छ । कर्णले हिमालयन लाइफ इन्सुरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहँदा अन्य प्रतिवादीहरुसँगको मिलेमतोमा नेपाल रिइन्सुरेन्सको शेयरसमेत कर्नरिङ्ग गर्ने कार्यमा सहभागी भएको आदेशमा उल्लेख गरिएको छ । मूल्य उतारचढाव समेतको कसुरजन्य कार्यमा सहभागी भई व्यक्तिगत लाभ लिई हिमालयन लाइफ इन्सुरेन्सको विमा कोषको रकम दुरुपयोग गर्ने मनसायले रु। ७ करोड २२ लाख ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको कारोबार मार्फत गैरकानुनी सम्पत्ति आर्जन गरेको आदेशमा बताइएको छ ।
बुधबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले भाद्र १० गते बुधबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचना अनुसार, मिति २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित व्यवस्था बमोजिम मुस्लिम आयोगको सिफारिसमा यो निर्णय गरिएको हो । आयोगले यस वर्षको मोहम्मद जयन्ती भाद्र १० गते बुधबार परेको जानकारी गराएपछि मन्त्रालयले सोही अनुसार बिदाको निर्णय अघि बढाएको हो । यसैबीच, मोहम्मद जयन्तीको अवसरमा गृह मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।
सामसङले ल्यायो मनसुन अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक
काठमाडौं । सामसङ नेपालले आफ्ना टीभी तथा होम अप्लायन्समा लक्षित गर्दै विशेष मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत चुनिएका होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक तथा टीभी खरिदमा निःशुल्क साउन्डबार र नेटटीभी सब्सक्रिप्सनलगायतका सुविधा दिने जनाएको छ । सामसङका अनुसार अफरमा टीभी, वासिङ मेसिन र रेफ्रिजेरेटर समावेश छन् । चुनिएका टीभी मोडल खरिदमा १२ महिनासम्मको निःशुल्क नेटटीभी सब्सक्रिप्सन उपलब्ध हुनेछ । केही मोडलमा निःशुल्क साउन्डबारको सुविधा पनि राखिएको छ । टीभीतर्फ नियो क्यूएलईडीमा ७ प्रतिशत, मिनी एलईडीमा ६ प्रतिशत, क्यूएलईडीमा १८ प्रतिशत, यूएचडीमा १२ प्रतिशत, एफएचडीमा ७ प्रतिशत र एचडी टीभीमा २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । मिनी एलईडीको ८५ इन्च मोडल र यूएचडीको ७५ इन्च मोडल खरिदमा ४९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको साउन्डबार निःशुल्क उपलब्ध हुनेछ । यस्तै, विभिन्न टीभी मोडलमा ६ देखि १२ महिनासम्मको निःशुल्क नेटटीभी सब्सक्रिप्सनको सुविधा दिइनेछ । वासिङ मेसिनमा २३ प्रतिशतसम्म क्यासब्याक सामसङले वासिङ मेसिनतर्फ २३ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । कम्पनीका अनुसार ९ देखि ११ केजी क्षमताका एआई इकोबबल वासर ड्रायरमा २३ प्रतिशतसम्म र ९ देखि १२ केजी क्षमताका एआई इकोबबल फ्रन्ट लोड वासिङ मेसिनमा २२ प्रतिशतसम्म क्यासब्याक पाइनेछ । त्यस्तै, ८ केजी क्षमताका फुल्ली अटोमेटिक टप लोड र ७ केजी क्षमताका सेमी अटोमेटिक टप लोड वासिङ मेसिनमा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ । चुनिएका मोडलमा सर्फ एक्सेल म्याटिक पाउडरसमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक रेफ्रिजेरेटरमा पनि १७ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । साइड-बाइ-साइड रेफ्रिजेरेटरमा ११ प्रतिशत, ५ इन १ मोडलमा १५ प्रतिशत, डबल डोरमा १७ प्रतिशत र सिंगल डोर रेफ्रिजेरेटरमा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । २४ महिनासम्मको ईएमआई सुविधा ग्राहकले सामसङका होम अप्लायन्स २४ महिनासम्मको ईएमआई योजनामा समेत खरिद गर्न सक्नेछन् । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट यस्तो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ उपकरण खरिद गर्न चाहने ग्राहकले आफ्ना पुराना उपकरण आर्कोस्टोर वा नेपालभर रहेका सामसङका अधिकृत खुद्रा पसलमार्फत एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार मनसुन अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ । अफरसम्बन्धी थप जानकारीका लागि नजिकैको सामसङको अधिकृत स्टोरमा सम्पर्क गर्न सकिनेछ ।
नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाख
काठमाडौं । नाडा अटो शो २०२६ को पहिलो दिन सीजी एमएडब्लु इभोलुसन प्रालिले नेपालमा प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय एसयूभी अवतार ०७ औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडलसँगै नेपाली बजारमा अत्याधुनिक प्रविधि र विलासी सुविधायुक्त विद्युतीय सवारीसाधन भित्रिएको जनाएको छ । अवतार ०७ को अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चाङ्गान इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधि दु काइजियान (केभिन) र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा गरेका हुन् । कम्पनीका अनुसार 'स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी' अवधारणामा तयार गरिएको अवतार ०७ मा आधुनिक डिजाइन, बौद्धिक प्रविधि, आरामदायी क्याबिन र उच्च कार्यक्षमतायुक्त विद्युतीय प्रणाली समेटिएको छ । यो प्रिमियम एसयूभीमा ८२.१६ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । एनईडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा यसले अधिकतम ५७५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । रियर–ह्विल–ड्राइभ पावरट्रेनले १९० किलोवाट पावर र ३६५ एनएम टर्क उत्पादन गर्नेछ भने गाडीले ७.७ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीले जनाएको छ । अवतार ०७ को क्याबिनमा ३५.४ इन्चको फोर–के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर सिट, ६४ रङको एम्बियन्ट लाइटिङ र १६ स्पिकरसहितको पायोनियर अडियो सिस्टम जस्ता सुविधा उपलब्ध छन् । यसमा जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन र हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा ५० वाटको वायरलेस स्मार्टफोन चार्जर समेत समावेश गरिएको छ । सुरक्षातर्फ अवतार ०७ मा ९ वटा एयरब्याग सहित विभिन्न इन्टेलिजेन्ट ड्राइभर–असिस्टेन्स प्रणाली उपलब्ध छन् । यी प्रणालीलाई लाइडार, हाई–डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक राडारले सहयोग गर्ने कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको छ । एफएचडी संस्करणको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ । नाडा अटो शो अवधिभर आगन्तुकले अवतार पेभिलियनमा नयाँ एसयूभीको प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् ।
नाडा अटो शोमा यामाहाका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक हुँदै
काठमाडौं । नाडा अटो शो २०२६ मा यामाहाले नेपाली बजारका लागि आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकल भेरियन्ट सार्वजनिक गर्ने भएको छ । विभिन्न शैली, आवश्यकता र रुचिका राइडरलाई लक्षित गर्दै कम्पनीले एरोक्स १५५ एस, फेसिनो एस हाइब्रिड, फेसिनो डिस्क हाइब्रिड र आर१५ एसका नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो । यामाहाका अनुसार नयाँ एरोक्स १५५ एस विशेषगरी पर्फर्मेन्स र स्पोर्टी राइडिङ अनुभव खोज्ने राइडरलाई लक्षित गरी ल्याइएको हो । १५५ सीसी इन्जिन, स्पोर्टी डिजाइन र की–लेस स्टार्ट फिचर रहेको यो स्कुटरले मोटरसाइकलजस्तै राइडिङ अनुभव दिने कम्पनीको दाबी छ । की–लेस प्रविधिका कारण चाबी प्रयोग नगरी इन्जिन स्टार्ट गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ । दैनिक प्रयोगसँगै स्टाइललाई प्राथमिकता दिने ग्राहकका लागि यामाहाले फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिडका नयाँ संस्करण पनि सार्वजनिक गर्दैछ । कम्पनीका अनुसार आकर्षक डिजाइन, आरामदायी राइड र इन्धन दक्षतासहित यी स्कुटर युवा राइडरलाई लक्षित गरेर तयार पारिएका हुन् । त्यस्तै, आर१५ एस र आर१५ एमका नयाँ भेरियन्ट ‘न्यु आर इन्स्टिंक्ट’ अवधारणामा आधारित हुने कम्पनीले जनाएको छ । उत्कृष्ट रोड प्रेजेन्स र स्पोर्टी राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यले परिमार्जन गरिएका यी मोडलले यामाहाको लोकप्रिय आर सिरिजलाई थप आकर्षक बनाउने विश्वास कम्पनीको छ । एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा बढ्दो राइडर समुदायसँग जोडिन नाडा अटो शो महत्त्वपूर्ण मञ्च भएको बताए । उनका अनुसार नयाँ भेरियन्टमार्फत पर्फर्मेन्स, प्रविधि, स्टाइल र व्यक्तित्वलाई समेट्ने उत्पादन ग्राहकसम्म पुर्याउने लक्ष्य राखिएको छ । एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार नयाँ उत्पादन ल्याउन यामाहा निरन्तर केन्द्रित रहेको बताए । उनले नाडा अटो शोमा आगन्तुकले नयाँ मोडललाई नजिकबाट अवलोकन गर्न र अनुभव गर्न सक्ने जानकारी दिए । कम्पनीका अनुसार नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ भेरियन्ट आधिकारिक रूपमा सार्वजनिक गरिनेछन् । आगन्तुकले यामाहाको ब्लु च्याम्बरमा पुगेर नयाँ मोडलको अवलोकन गर्न सक्नेछन् ।