चिनी महँगिएपछि घट्यो उपभोग, २२ प्रतिशत उपभोक्ताले कम गरे दैनिक प्रयोग

काठमाडौं । चिनीको मूल्य लगातार बढेपछि उपभोक्ताले यसको प्रयोग घटाउन थालेका छन् । भारतमा गरिएको एक सर्वेक्षणले चिनी महँगिएसँगै उल्लेख्य संख्यामा मानिसले दैनिक खपत कम गरेको देखाएको हो । मूल्यवृद्धिले उपभोक्ताको खर्च मात्र होइन, खानपानको बानीमा समेत असर पार्न थालेको सर्वेक्षणले संकेत गरेको छ ।

भारतीय उपभोक्ता मामिला विभागका अनुसार जुलाई २०, २०२६ मा चिनीको औसत खुद्रा मूल्य प्रतिकिलो ४८.१८ भारतीय रुपैयाँ रहेकोमा अगस्ट २० सम्म बढेर ५५.७० रुपैयाँ पुगेको छ । चाडपर्वको मुखमा चिनीको मूल्य बढेपछि सरकारले सेप्टेम्बर ३० सम्म चिनी निर्यातमा रोक लगाएको छ भने अक्टोबर ३१ सम्म १० लाख टन कच्चा चिनी भन्सार महसुलबिना आयात गर्न अनुमति दिएको छ ।

बढ्दो मूल्यको प्रभाव बुझ्न ‘लोकल सर्कल्स’ले गरेको सर्वेक्षणमा ४८ प्रतिशत उपभोक्ताले पहिलेजस्तै चिनी किनिरहेको बताएका छन् । तर २२ प्रतिशतले चिनीको खपत घटाएको प्रतिक्रिया दिएका छन् । अर्को २२ प्रतिशतले पहिलेकै मात्रामा चिनी प्रयोग गरे पनि खर्च बढेको बताएका छन् । यस्तै ४ प्रतिशतले मिठाइ तथा गुलियो परिकार किन्ने मात्रा घटाएको र ४ प्रतिशतले चिनीको विकल्प प्रयोग गर्न थालेको बताएका छन् ।

सर्वेक्षणअनुसार १९ प्रतिशत सहभागीले आफूले चिनी नै नखाने बताएका छन् । २८ प्रतिशतले दैनिक करिब १० ग्राम चिनी सेवन गर्ने, २५ प्रतिशतले १० देखि २५ ग्राम, १४ प्रतिशतले २५ देखि ५० ग्राम, ९ प्रतिशतले ५० देखि १०० ग्राम र ५ प्रतिशतले दैनिक १०० ग्रामभन्दा बढी चिनी प्रयोग गर्ने बताएका छन् ।

सर्वेक्षणले चिनीको मूल्यवृद्धिसँगै उपभोक्ता खर्चमा दबाब बढ्नुका साथै धेरै मानिसले स्वास्थ्य र खर्च दुवैलाई ध्यानमा राख्दै चिनीको प्रयोग घटाउन थालेको देखाएको छ ।

Share News