बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले तिब्बततर्फबाट भोटेकोशी हुँदै रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले बाढीको जोखिम अझै कायम रहेकाले अनावश्यक जोखिम नलिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा जोखिममा रहेका व्यक्तिहरूको सुरक्षामा परिवार र समुदायले विशेष ध्यान दिनुपर्ने बताए । खोज तथा उद्धार वा अन्य कुनै प्रकारको सहायता आवश्यक परे सम्बन्धित निकायको टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न संघले आग्रह गरेको छ । अध्यक्ष मोक्तानले विपद्को यस कठिन परिस्थितिमा राज्यका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धार टोलीलाई तत्काल परिचालन गरी जोखिममा रहेका नागरिकको शीघ्र उद्धार, राहत तथा आवश्यक सहयोगलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरे । उनले बाढी प्रभावित सम्पूर्ण नेपालीको सुरक्षा तथा कल्याणप्रति ऐक्यबद्धता जनाउँदै सबैलाई संयमित, सुरक्षित र उच्च सतर्कताका साथ रहन आग्रह गरे ।
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । बैठकमा भोटेकोशी बाढीले पुर्याएको क्षति, बेपत्ताहरूको खोजी, प्रभावितहरूको तत्काल उद्धार, राहत सामग्री वितरण र दीर्घकालीन पुनस्र्थापनाका विषयमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच छलफल हुनेछ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, विभिन्न जिल्लामा फेला परे शव
काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बाढीपछि विभिन्‍न जिल्लाका नदी किनारमा प्रहरी तथा उद्धार टोलीले खोजतलास गर्दा हालसम्म २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र पहिचान नखुलेका २० जना गरी कुल ९५ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरू विभिन्‍न जिल्लामा भेटिएका छन् । जसमध्ये रसुवामा १ पुरुष, नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना तथा धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जना गरी १८ जनाको शव फेला परेको छ । यसैगरी, गोरखामा १ महिला, ४ पुरुष, १ बालक र पहिचान नखुलेका १० जना गरी १६ जना तथा चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जना गरी ३३ जनाको शव भेटिएको छ । यस्तै, तनहुँमा ३ पुरुष, १ बालिका र १ बालक गरी ५ जना तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ पुरुष र ३ बालिका गरी ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रहरूसहित तटीय इलाकामा अझै पनि बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको छ ।
उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको प्रधानमन्त्रीलाई निर्देशन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकको खोज, उद्धार र राहत कार्यमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी बाढीबाट भएको क्षति र उद्धारका प्रयासबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार तथा राहतलाई तीव्रता दिन निर्देशन दिएका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कुराकानीका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई विस्तृत गराएका थिए । सो क्रममा प्रधानमन्त्री शाहले विपद्मा परेका नागरिकलाई सहयोग पुर्याउन, उद्धार गर्न र राहत वितरणका लागि सरकारका तर्फबाट हरसम्भव प्रयास गरिने र राज्यका सबै संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन भइसकेको आश्वस्त पारेका थिए । यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात आएको बाढीले पुर्याएको ठूलो क्षतिप्रति गहरा दुःख व्यक्त गरेका थिए । विपद्को यस कठिन समयमा उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न उनले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकहरूसँग आह्वान गरे । राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिएका थिए । उनले पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले विपद्मा परेकालाई सहयोग, उद्धार राहतका लागि राज्यका सबै सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने बताएका थिए । यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात गएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका थिए । उनले विपद्को यस घडीमा उद्धार र राहतलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका थिए ।
प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति र विनाश भएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक पर्ने सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सँग टेलिफोन वार्ता गर्दै बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा, स्वास्थ्य र कुशलताका लागि प्रार्थना गरेका छन् । टेलिफोन संवादका क्रममा उनले संकटको यस कठिन घडीमा भारत सरकार नेपाललाई हरसम्भव सहयोग गर्न पूर्ण रूपमा तयार रहेको विश्वास दिलाएका छन् । नेपालमा परेको यो विपद्को समयमा भारत नेपालको साथमा रहेको उल्लेख गर्दै नेपाल एक्लो छैन, यो दुःखको घडीमा भारत नेपालसँगै उभिएको छ भन्दै भारतीय पक्षले ऐक्यबद्धता व्यक्त गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना सम्पर्क विहीन
काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले शाखा कार्यालय नै बगाएपछि त्यहाँ केही पनि बाँकी नरहेको बैंकले जनाएको छ । बैंकका अनुसार टिमुरे शाखामा कार्यरत एक जना कर्मचारी र स्याफ्रुबेसी शाखाका पाँच जना कर्मचारी सम्पर्कविहीन छन् । टिमुरे शाखाका दुई जना कर्मचारी भने सम्पर्कमा आएका छन् । स्याफ्रुबेसीमा तीन जना नियमित कर्मचारीसहित बाह्य स्रोतबाट कार्यरत सुरक्षागार्ड र सहयोगी तथा सहयोगीका एक जना बच्चासमेत सम्पर्कविहीन रहेको जानकारी आएको बैंकले जनाएको छ । यद्यपि, उनीहरूको अवस्थाबारे औपचारिक पुष्टि हुन बाँकी रहेको बैंकले स्पष्ट पारेको छ । सम्पर्कविहीन कर्मचारीहरू सुरक्षित स्थानमा पुगेका भए भोलिसम्म सम्पर्कमा आउने अपेक्षा बैंकले गरेको छ । बैंकले सम्पर्क विहीन कर्मचारीको खोजीका लागि हेलिकप्टरसमेत पठाएको थियो । हेलिकप्टरबाट दुई पटक प्रयास गरिए पनि सम्पर्क स्थापित हुन नसकेको बैंकले जनाएको छ । बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको बैंकले जनाएको छ ।
उद्धार, उपचार र पुनर्वासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले सम्पूर्ण क्षति र प्रभावितको पूर्ण जिम्मेवारी लिने बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यो प्राकृतिक विपद्को अप्रत्याशित बज्रपातले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । ‘तपाईंहरूको यो असैह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौं,’ उनले भनेका छन् । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ताहरूको खोजी गर्नु र प्रभावित नागरिकलाई सुरक्षा दिनु नै अहिले सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शाहले विपद् लगत्तै हजारौंको संख्यामा राज्यका सम्पूर्ण शक्ति र संयन्त्रहरू उद्धार कार्यमा परिचालन भइसकेको जानकारी दिएका छन । प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न; राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ ।’ उनले बाढी प्रभावितहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील समयमा सबैलाई एक ढिक्का भएर उभिन आह्वान समेत गरेका छन् ।
भोटेकोशी बाढी: क्षति संकलन जारी, उद्धार कोषमा सहयोग गर्न सरकारको आह्वान
काठमाडौं । बुधबार बिहान ८ः४० बजे रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रहरू गम्भीर रूपमा प्रभावित बनेका छन् । घटनालगत्तै सरकारले प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत सामग्री वितरणको कार्यलाई तीव्रता दिएको छ भने बाढीबाट पुगेको मानवीय र भौतिक क्षतिको अन्तिम विवरण संकलन गर्ने काम निरन्तर जारी राखिएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने चुनौती छ । यसै सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका तोकिएका बैंक खाताहरूमा यथाशक्य आर्थिक सहयोग गरी हातेमालो गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण संघ-संस्था एवं नागरिकहरूमा अपिल गरेको छ ।