विकासन्युज

लक्ष्मी सनराइज बैंकको टिमुरे शाखा बाढीले बगायो, सम्पर्कमा आए सबै कर्मचारी

काठमाडौं । रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा बाढीले बगाएको छ । शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहेको बैंकले जनाएको छ । बाढीपछि केही समय कर्मचारीसँग सम्पर्क हुन नसक्दा बैंकमा चिन्ता बढेको भए पनि उनीहरू डाँडामा गएर सुरक्षित बसेको जानकारी प्राप्त भएको बैंकले जनाएको छ । हाल सबै कर्मचारी सम्पर्कमा आइसकेका छन् । बैंकका अनुसार टिमुरे शाखामा दैनिक १०–१२ वटा मात्रै कारोबार हुने गरेको थियो । अपेक्षाअनुसार कारोबार हुन नसकेपछि उक्त शाखा बन्द गर्ने तयारीसमेत भइरहेको थियो । शाखा बन्द गर्न राष्ट्र बैंकसँग अनौपचारिक रूपमा छलफल भइरहेको भए पनि प्रक्रिया पूरा हुनुअघि नै बाढीले शाखा बगाएको हो । उक्त शाखा तत्कालीन सनराइज बैंकका पालामा राम्रो कारोबार हुने अपेक्षासहित खोलिएको थियो । तर अपेक्षाअनुसार कारोबार हुन नसकेपछि बन्द गर्ने योजना बनाइएको बैंकले जनाएको छ । यसैबीच, बट्टार शाखामा भौतिक क्षति नभए पनि सञ्चार तथा कनेक्सन विच्छेद भएका कारण शाखाको सेवा बन्द गर्नुपरेको बैंकले जनाएको छ । 

हाइड्रोमा कार्यरत २२५ जना सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ ।  बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाको विद्युत् आपूर्ति प्रभावित हुनुका साथै कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भोटेकोशी नदी बेसिनमा प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ वटा उत्पादन केन्द्र बन्द भएका छन् । बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट, सालासुंगी (सान्जेन) जलविद्युत् आयोजनाको ७८ मेगावाट, माथिल्लो सान्जेनको १४.८ मेगावाट, सान्जेनको ४२.५ मेगावाट र चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए को ६० मेगावाट, माथिल्लो मैलुङको १४.८ मेगावाट, मैलुङको ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्रको २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्रको १४ मेगावाट तथा प्राधिकरणको २५ मेगावाट क्षमताको सोलार आयोजना पनि प्रणालीबाट बाहिरिएका छन् । यसैगरी, भोटेकोशी नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दर्जनौं कर्मचारी सम्पर्कविहीन बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत दर्जनौं कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् । चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र वरपर रहेका एक जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत भई त्रिशूली–३ बीको निर्माणस्थलमा खटिएका ११ जना पनि सम्पर्कमा छैनन् । त्यसैगरी, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । त्यस्तै, माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । प्राधिकरणका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक/एक जना कर्मचारी पनि सम्पर्कविहीन छन् ।  रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका एक जना मिटर रिडर पनि सम्पर्कमा छैनन् । त्रिशूली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरका तर्फबाट कार्यरत १६ जना र रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरमार्फत मर्मत, सम्भार तथा निर्माण कार्यमा संलग्न २९ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बाढीले प्रसारण प्रणालीका महत्त्वपूर्ण संरचनामा समेत गम्भीर क्षति पुर्‍याएको छ । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हबको टावर अवरुद्ध भएपछि उक्त संरचना बन्द भएको छ । त्यसैगरी समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध भएका छन् । प्राधिकरणका अनुसार केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको छ । रसुवामा पूर्णरूपमा विद्युत् अवरुद्ध बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ । नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ । धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको छ । अहिले डोजर प्रयोग गरेर लेदो हटाउने काम भइरहेको छ । विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट प्रभावित संरचनाको अवस्था बुझ्न प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोली प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरी फर्किएको छ ।  जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली स्थानीय क्षेत्रमा परिचालन गरिएको छ । सम्पर्कविहीन रहेका कर्मचारी तथा प्रसारण र उत्पादन संरचनामा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।  स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेका व्यक्तिको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्य अघि बढाइएको छ । बाढीका कारण अवरुद्ध भएको विद्युत् प्रणालीलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सकिने स्थानमा तत्काल विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ । यस क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रको प्रणाली सञ्चालनमा ल्याइएको छ भने चौघोडा सबस्टेसन सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ ।  सम्भव भएका अन्य क्षेत्रमा प्राविधिक टोली परिचालन गरी पेट्रोलिङ, मर्मत तथा लाइन पुनः सञ्चालनको काम भइरहेको छ । सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ । प्राधिकरणले राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि सहायक प्रशासकीय अधिकृत रामशरण उप्रेती (९८४१३०६६७८) र सहायक इन्जिनियर टंक पौडेल (९८५१४७४५५५) लाई सम्पर्क गर्न अनुरोध गरेको छ । बाढीका कारण ठूलो विद्युत् उत्पादन तथा प्रसारण संरचना प्रभावित भएपछि विद्युत् प्रणालीलाई सम्भव भएसम्म स्थिर र सञ्चालनमा राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको प्राधिकरणले जनाएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको वास्तविक क्षतिको विवरण तथा सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण खोज तथा उद्धार कार्यसँगै क्रमशः प्राप्त हुने प्राधिकरणले जनाएको छ ।

रेमिट्यान्स साढे २३ खर्ब भित्रियो, विदेशी मुद्रा सञ्चिति ३९ खर्ब, महँगी ५.१४ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह बढ्नुका साथै चालु खाता र शोधनान्तर स्थिति उच्च बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चितिसमेत उल्लेख्य बढेको छ । यद्यपि, असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । मूल्यवृद्धि ५.१४ प्रतिशत गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत रहेको थियो ।  समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १०.०५ प्रतिशत, फलफूलको ७.०९ प्रतिशत र गैरमादक पेय पदार्थको ३.२८ प्रतिशतले बढेको छ । तरकारीको मूल्य सूचकांक ३.९५ प्रतिशत, मरमसलाको ३.६६ प्रतिशत र दाल तथा गेडागुडीको ३.४१ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १७.६१ प्रतिशत, शिक्षाको ७.०४ प्रतिशत, यातायातको ५.८० प्रतिशत तथा कपडा तथा जुत्ताचप्पलको ५.५६ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवाको मूल्य सूचकांक भने ०.०१ प्रतिशतले घटेको छ । गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति १.०४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६९ प्रतिशत रहेको थियो । यस्तै, खाद्य तथा पेय पदार्थ समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२५ प्रतिशत पुगेको छ। २०८२ असारमा भने उक्त समूहको मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको थियो ।  त्यस्तै, गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०८ प्रतिशत रहेको छ । २०८२ असारमा यस्तो मुद्रास्फीति ४.१२ प्रतिशत थियो ।  क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.१६ प्रतिशत, तराईको ३.२८ प्रतिशत, पहाडको २.८१ प्रतिशत र हिमालको २.७३ प्रतिशत रहेको छ । २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ४.८० प्रतिशत, तराईमा ५.६३ प्रतिशत, पहाडमा ४.९७ प्रतिशत र हिमालमा ४.०४ प्रतिशत रहेको छ । भित्रियो साढे २३ खर्ब रेमिट्यान्स नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो ।  यस्तै, समीक्षा वर्षमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।  यसैबीच, समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५ लाख ५ हजार ९५७ रहेको थियो । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने समीक्षा वर्षमा ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ३३ हजार ३०९ रहेको थियो । चालु खाता ९.२३ खर्ब र शोधनान्तर स्थिति १० खर्बले बचतमा गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब १ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ६ अर्ब ३३ करोड डलरले बचतमा रहेको छ । समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, २८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो लगानी १२ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।  यसैगरी, समीक्षा वर्षमा नेपालको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ७ अर्ब ५ करोड डलरले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब पुग्यो नेपालको कुल विदेशी विनिमय सञ्चिति एक वर्षमा ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो  अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २९.८ प्रतिशतले वृद्धि भई २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड डलर पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४३.८ प्रतिशतले वृद्धि भई ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा राष्ट्र बैंकसँग यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ६१.४ प्रतिशतले वृद्धि भई ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।  २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । यस्तै, २०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६३.८ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेको छ  । २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेको थियो ।

ट्रेड युनियन संरचना हटाउने सरकारी निर्णयमा सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियनका संरचना हटाउनेगरी सरकारले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो ।  सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ संशोधन गर्दै निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको थियो ।  सोही संशोधनका आधारमा विभिन्न निकायमा ट्रेड युनियनका संरचना हटाउन सरकारले परिपत्र तथा सूचना जारी गरेको थियो । तर, सर्वोच्चले उक्त अध्यादेश संसदबाट निष्क्रिय भइसकेको भन्दै त्यसका आधारमा जारी गरिएका सरकारी सूचना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । इजलासका अनुसार सरकारले वैशाखमा ल्याएको अध्यादेश संसदमा पेस नै नगरेको र ६० दिनपछि उक्त अध्यादेश निष्क्रिय भएको देखिएको छ । सर्वोच्चले यसअघि नै अध्यादेश निष्क्रिय भएपछि त्यसले संशोधन गरेको पुरानो ऐन स्वतः सक्रिय हुने व्याख्या गरिसकेको छ ।  सर्वोच्चले दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्न आगामी भदौ २२ गतेका लागि पेसी तोकिएको छ । यससँगै सरकारले अध्यादेशका आधारमा अघि बढाएको ट्रेड युनियनका संरचना हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

उद्धार र राहतमा जुट्न कांग्रेसको अपिल, समन्वय समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता भएकाहरूको हरसम्भव खोजी गर्न तथा जोखिममा परेका नेपाली नागरिक र विदेशी पर्यटकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएको हो । बैठकपछि महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकार, प्रतिपक्षी दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदाय एकजुट भएर उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने बताए ।  विपद् व्यवस्थापनमा सरकारले चाल्ने हरेक कदममा कांग्रेसको पूर्ण साथ र सहयोग रहने उनको भनाइ छ । पौडेलले पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई भ्रामक सूचना, मिथ्या प्रचार र अफवाहको पछि नलाग्न आग्रह गरे ।  उनले विपद्को समयमा आरोप–प्रत्यारोपमा नअल्झी उद्धार, राहत र व्यवस्थापनको काममा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिइएको बताए । कांग्रेसले बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा ती जिल्लाबाट केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरू सहभागी छन् ।  पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा समितिको सदस्य सचिव तोकिएका छन्। समितिले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क स्थापना गरी प्रभावित क्षेत्रको अवस्थाबारे सूचना संकलन, उद्धार तथा राहतमा आवश्यक समन्वय गर्नेछ ।  कांग्रेसका तर्फबाट हुने सबै प्रकारका सहयोग समितिमार्फत परिचालन गरिने पौडेलले जानकारी दिए । बैठकले पार्टीका तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णयसमेत गरेको छ । राहत कोषमा जम्मा गरिने रकम भने कांग्रेसले खुलाएको छैन । कांग्रेसले पार्टीका पदाधिकारी तथा सम्पूर्ण पार्टी पंक्तिलाई तत्कालका लागि राजनीतिक गतिविधिभन्दा विपद् व्यवस्थापन, उद्धार, राहत र पुन: स्थापनाको काममा केन्द्रित हुन आग्रह गरेको छ ।

११४ जनाको हवाई उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन् । नेपाली सेनाका अनुसार टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूलीबाट काठमाडौं तीन जनाको हवाई उद्धार गरिएको छ । त्यसैगरी, निजी क्षेत्रका हेलिकप्टर कम्पनीले पनि बाढी प्रभावितको उद्धारमा सक्रियता देखाएका छन् ।  कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल पाँच जना, सिम्रिकले रसुवाबाट तीन जना र अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल चार जनाको उद्धार गरेका छन् । यस्तै, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल पाँच जना, सिम्रिकले रसुवाबाट टिचिङ अस्पताल दुई जना, फिसटेलले रसुवाबाट टिचिङ अस्पताल पाँच जना र एभरेष्ट हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल दुई जनाको उद्धार गरेका छन् । प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा थप दुई जनालाई समेत उद्धार गरेको छ । बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ ।  उद्धार गरिएका घाइते तथा प्रभावितलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा ल्याइएको छ ।

कृषि विकास बैंककी कर्मचारी २ घण्टापछि सुरक्षित भेटिइन्, गाडी र २ मोटरसाइकल बगायो

काठमाडौं । रसुवामा आएको बाढीपहिरोका कारण कृषि विकास बैंकको शाखा कार्यालयमा समेत क्षति पुगेको छ । बैंकको भवन बाढीले नबगाए पनि डुबानमा परेको छ । बाढीका कारण बैंकको एउटा गाडी र शाखा कार्यालयको आँगनमा रहेका दुईवटा मोटरसाइकल बगाएको बैंकले जनाएको छ । कर्मचारीहरू उद्धार तथा ऋण असुलीसम्बन्धी कामका लागि गाडीमा जाँदै गर्दा माथिबाट अचानक बाढी आएपछि उनीहरूले गाडी छाडेर भागेर ज्यान जोगाएका थिए । बाढी आएको देखेपछि तीन जना पुरुष कर्मचारी तत्काल सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । एक जना महिला कर्मचारी भने बाढीले बगाएकोमा करिब एकदेखि डेढ घण्टापछि केही तल सुरक्षित रूपमा निस्कन सफल भएकी थिइन् । करिब दुई घण्टापछि उनी सकुशल रहेको जानकारी प्राप्त भएको बैंकले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको बैंकले जनाएको छ । बैंकको शाखा भवन यथावत् रहे पनि बाढीका कारण डुबानमा परेकाले तत्काल त्यहाँ पुग्न सक्ने अवस्था छैन । भवनभित्र तथा शाखा कार्यालयमा भएको आन्तरिक क्षतिको विवरण भने संकलन हुन बाँकी रहेको बैंकले जनाएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह– बाढीबाट क्षति पुगेको सम्पत्तिको बीमा दाबी गर्नूहोस्

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले त्रिशूली नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका आफ्ना सम्पूर्ण बीमितलाई तत्काल कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ । कम्पनीले बीमा गरिएका भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा बाढीबाट क्षति पुगेको भए सम्बन्धित बीमितले तत्काल कम्पनीमा सम्पर्क गरी बीमा दाबी भुक्तानी प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरेको हो ।  कम्पनीले  बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेका सम्पूर्ण बीमितलाई आफ्नो क्षतिको विवरण कम्पनीमा उपलब्ध गराउन आग्रह गरेको छ । साथै बीमाबाट रक्षावरण भएको सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।  कम्पनीले दाबीसम्बन्धी आवश्यक प्रक्रियाका लागि सम्बन्धित सबैलाई सम्पर्कमा आउन आग्रह गरेको  छ । कम्पनीमा बीमासेवा लिएका ग्राहकले आफ्नो क्षतिको जानकारी कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत गराउन सक्नेछन् ।  क्षतिको विवरण तथा आवश्यक जानकारीका लागि सुबोध कर्माचार्य, अमिता त्रिपाठी, आदर्श श्रेष्ठसँग सम्पर्क गरी क्षतिको विवरण जानकारी गराउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले कठिन परिस्थितिमा ग्राहक तथा सरोकारवालाहरूलाई सुरक्षामा उच्च प्राथमिकता दिन भनिएको छ ।