विकासन्युज

बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । आइएफआरसीले नेपाल रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय भई तत्काल खोज, उद्धार तथा राहत वितरणमा जुटिसकेको जनाएको छ । महासङ्घले विपद् प्रतिकार्यलाई निरन्तरता दिनसमेत आग्रह गरेको छ । आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ गर्दै प्रभावितलाई तत्काल मानवीय सहायता पु¥याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । सामाजिक सञ्जालमार्फत महासचिव चापागाईंले आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार समुदायका लागि थप सहयोग परिचालन गर्न तयार रहेको बताएका छन्। उनले मानवीय सहायता निरन्तर जारी रहनेसमेत उल्लेख गरेका छन् । चापागाईंका अनुसार रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय छन् र प्रारम्भिक राहत तथा सहयोग उपलब्ध गराउन जुटिरहेका छन् ।  उनले बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएको र भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

ठूलो मात्रामा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग बन्द, दिउँसोसम्म सञ्चालनमा आउने

काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । सडक विभागका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो हटाउने काम तीव्र गतिमा भइरहेको छ । विशेष अवस्था नआए आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार मुग्लिनदेखि गल्छीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक सञ्चालनयोग्य छ । बैरेनीदेखि गल्छीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ ।  सडकमा थुप्रिएको लेदो हटाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ । गएराति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिएको थियो । आज बिहानैदेखि ती उपकरणमार्फत सडकमा थुप्रिएको लेदो हटाउने काम पुनः तीव्र पारिएको छ । बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको हो ।

आज बिहानैदेखि हेलिकप्टरबाट उद्धार, प्रभावित क्षेत्रमा राहत पठाइँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेको उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने शिविरमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयकाका अनुसार गम्भीर घाइतेलाई तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्थाअनुसार प्राथमिकताका आधारमा वर्गीकरण गरी उद्धार तथा उपचारको व्यवस्था मिलाइनेछ । यसैगरी, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

काठमाडौं मेडिकल कलेजले २५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २ गते बिहान ११ बजे काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुरमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले कार्यकारी अध्यक्षको पारिश्रमिक वृद्धि तथा अन्य सुविधा निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, अस्पतालको स्तर वृद्धि गर्न विभिन्न स्वास्थ्य उपकरण खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, घरजग्गा खरिद गर्नुपर्ने र आवश्यक स्रोत जुटाउन विभिन्न बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीको व्यवसाय विस्तारका लागि समान तथा अन्य उद्देश्य भएका कम्पनी, हाइड्रो इनर्जी तथा सोलार इनर्जीलगायत विभिन्न कम्पनी खरिद गर्न तथा त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।

साल्ट ट्रेडिङले बिक्रीमा राख्यो ८ गाडी, मूल्य ३ लाखदेखि साढे ६ लाखसम्म

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना ८ वटा सवारीसाधन लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले २ वटा भक्सवागन भेन्टो, ४ वटा भक्सवागन पोलो र एक÷एक वटा टोयोटा यारिस र किया पिकान्टो ईएक्स-२ बिक्रीमा राखेको हो ।  कम्पनीका अनुसार भक्सवागन भेन्टोको मूल्य ६ लाख ५० हजार रुपैयाँ, भक्सवागन पोलोको ५ लाख २५ हजार रुपैयाँ, टोयोटा यारिसको ४ लाख रुपैयाँ र किया पिकान्टोको ३ लाख रुपैयाँ तोकिएको छ ।  कर्पोरेसनको केन्द्रीय कार्यालय, कालीमाटीमा रहेका ती सवारीसाधन हाल जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक व्यक्ति, कम्पनीले २१ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।  बोलपत्रमा अङ्कित रकमको २५ प्रतिशत धरौटीबापत कर्पोरेसनको खातामा नगद जम्मा गरेको सक्कल भौचर बोलपत्र फारामसँगै संलग्न गर्नुपर्नेछ । 

आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बदली छ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक रहनसमेत सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

भोटेकोशी बाढीमा निधन हुनेको संख्या १५७ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १५७ जनाको निधन भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु भएकामध्ये ३४ जना महिला, ६३ जना पुरुष, ६ जना बालिका र ७ जना बालक छन् । थप ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव फेला परेको छ । नुवाकोटमा ६ महिला र ७ पुरुष गरी १३ जनाको शव भेटिएको छ । त्यसैगरी, धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जना गरी २७ जनाको शव फेला परेको छ । गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनासहित १९ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । चितवनमा सबैभन्दा बढी ६४ जनाको शव फेला परेको छ। तीमध्ये १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जना छन् । यस्तै, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १जनासहित ९ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, तीन बालिका, १ बालक र पहिचान नखुलेका ४ जनासहित २२ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

नेपाली सेनाले रातभर जारी राख्नेछ उद्धार र खोज, बिहीबार बिहान टिमुरेबाट हवाई उद्धार गरिने

काठमाडौं । नेपाली सेनाले बुधबार रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ ।  बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो ।  आज रातभर ११ एक्स टिमबाट जमिनबाटै उद्धार जारी रहने छ । साथै भोलि बिहान टिमुरे माथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न टनेलमा अड्किएका व्यक्तिहरुको उद्धारको प्रयास पनि जारी रहने छ ।  नेपाली सेनाले उद्धारका लागि थप समन्वय साथ हवाई साधनहरुको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरुबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ साथ विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरु तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्नेछ ।  आज दिनभर एक हजार १६९७ परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । साथै जमिनबाट २७ जनाको उद्धार गरिएको छ ।  आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरहरुबाट खाना तथा पानी उपलब्ध गराई राखिएको थियो ।