काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ ।
सडक विभागका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो हटाउने काम तीव्र गतिमा भइरहेको छ । विशेष अवस्था नआए आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार मुग्लिनदेखि गल्छीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक सञ्चालनयोग्य छ । बैरेनीदेखि गल्छीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ ।
सडकमा थुप्रिएको लेदो हटाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ । गएराति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिएको थियो । आज बिहानैदेखि ती उपकरणमार्फत सडकमा थुप्रिएको लेदो हटाउने काम पुनः तीव्र पारिएको छ ।
बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो ।