काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । कार्यालयको भदौ १० गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ ।
कार्यालयका अनुसार जगन्नाथ गाउँपालिकाको सिफारिसमा नेपालगन्जस्थित रमादेवी चौधरीको न्यू जेएमबी अर्डर एण्ड सप्लायर्स, राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखानाको सिफारिसमा काठमाडौं महानगर-१५ स्थित टंक प्रसाद धमलाको स्वयम्भु सप्लायर्स, मन्थली नगरपालिकाको सिफारिसमा रामेछापस्थित रत्न बहादुर नेवारको रत्न बिएस कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
जयपृथ्वी नगरपालिकाको सिफारिसमा कैलालीको धनगढीस्थित विक्रम बहादुर बुढाको बाल्दा पेट्रोकेमिकल प्रालि, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सिफारिसमा गैरिधारा काठमाडौंस्थित उमेश कुमार अग्रवालको बायोमेड इन्टरनेशनल प्रालि, बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा चौदण्डीगढी-१० उदयपुरस्थित रबिन बस्नेत र मनोज बस्नेतको निश्मान इन्टरनेशनल प्रालि र शिखर नगरपालिकाको सिफारिसमा गोकर्णेश्वर-८, काठमाडौंस्थित रवि प्रकाश सिंहको जेडिएमआर बिल्डर्स प्रालिलाई कालोसूचीमा राखिएको हो ।
कार्यालयका अनुसार सबै निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।