काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् । ती हेलिकोप्टरलाई आज बिहान ६:३० बजेदेखि नै आवश्यक परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो ।
यस्तै, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन गरिएको छ । यससँगै उद्धारका लागि आवश्यक परे तत्काल परिचालन गर्न सकिने हेलिकोप्टरको संख्या ३० पुगेको छ ।
प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिनेछ ।
प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने जनाइएको छ ।