काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।
आइएफआरसीले नेपाल रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय भई तत्काल खोज, उद्धार तथा राहत वितरणमा जुटिसकेको जनाएको छ । महासङ्घले विपद् प्रतिकार्यलाई निरन्तरता दिनसमेत आग्रह गरेको छ ।
आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ गर्दै प्रभावितलाई तत्काल मानवीय सहायता पु¥याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत महासचिव चापागाईंले आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार समुदायका लागि थप सहयोग परिचालन गर्न तयार रहेको बताएका छन्। उनले मानवीय सहायता निरन्तर जारी रहनेसमेत उल्लेख गरेका छन् ।
चापागाईंका अनुसार रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय छन् र प्रारम्भिक राहत तथा सहयोग उपलब्ध गराउन जुटिरहेका छन् ।
उनले बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएको र भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।