८ जिल्लामा ६१६ जनाको शव फेला
काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ८ जिल्लामा ६१६ जनाको शव फेला परेको छ । शनिबार ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ६१६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ । बाढी तथा पहिरोमा परी हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी २ हजार ३०१ घाइते भएका छन् । घाइतेमध्ये रसुवामा ६७६ जना, नुवाकोटमा १ हजार ६२२ जना र धादिङमा ३ जना रहेका छन् । यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको प्रहरीले जनाएको छ ।
अमेरिकी डलर १५२ रुपैयाँ, बैंकले सार्वजनिक गर्यो नयाँ विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलरसहित विभिन्न प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरेको हो । राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । यस्तै, एक युरोको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ५ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ ।
पृथ्वी राजमार्गमा यातायात सञ्चालन
काठमाडौं । तीन दिनपछि काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै यातायात सञ्चालनमा आएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण चितवनको नारायणगढसम्मको सडक प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । बाढीका कारण क्षतिग्रस्त सडक सफाइ तथा मर्मत गरेपछि हिजो रातिदेखि यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको हो । आज बिहानदेखि काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा मात्र एकतर्फी यातायात सञ्चालन भइरहेको छ । उक्तबाहेक अन्य सडकखण्डमा भने दुईतर्फी यातायात सञ्चालनमा कुनै बाधा छैन ।
१५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा राजपत्रमा
काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय सरकारले गरेको थियो । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो । विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन् । यसैगरी धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका विपद् संकटग्रस्त घोषणा गरिएको छ भने तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका रहेका छन् । नेपाल–चीन सीमास्थित भोटेकोशी(ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ । विपद् संटग्रस्त क्षेत्र घोषणा भएपछि ती क्षेत्रहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन कानुनी रूपमा सरकारलाई सहज हुनेछ ।
रसुवा बाढीमा बेपत्ता भएका २७ प्रहरीको सूची सार्वजनिक
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरी कर्मचारीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार बाढीमा परेर २८ जना प्रहरी बेपत्ता भएका थिए । तीमध्ये एक जनाको शव भेटिएको छ भने अन्य २७ जना अझै बेपत्ता छन् । शव भेटिनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल छन् । उनको शव सनाखत गरी आफन्तले बुझिसकेका छन् । अन्य २७ प्रहरी कर्मचारीको खोजी जारी रहेको नेपाल प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सई) दर्जासम्मका कर्मचारी छन् ।
बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड प्रभावित भएका छन् । बागमती प्रदेशका मुख्य राजमार्गमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड र नुवाकोटका मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् । विपी राजमार्ग (काभ्रे) र कान्ति लोकपथ (मकवानपुर) मा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न निषेध गरिएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थान ज्वाङखोला, गल्छी र बैरेनीलगायत क्षेत्रमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण यातायात ठप्प भएको छ। त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट-डोल्पा सडकखण्ड रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशमार्ग नागढुङ्गा-मुग्लिन सडक भने हाल पूर्ण रूपमा सञ्चालनमा रहेको छ। यद्यपि, धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । वर्षाको समयमा यात्रा गर्दा थप जोखिम हुन सक्ने भएकाले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
रसुवा बाढी प्रभावित क्षेत्रका लागि पौने ७ करोड निकासा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो । प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता र क्षतिको आधारमा वितरण गरिनेछ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकम निकासा गर्ने निर्णय गरेको थियो । अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहका रूपमा वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मोङ गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका, धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकामा भएको क्षतिको आधारमा अनुदान वितरण गरिनेछ । प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९’ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको प्राधिकरणले जनाएको छ ।
दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमसहित देशभर सुरु हुँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने तथा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि मृत्यु भएका व्यक्तिहरूले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्ना घरमा मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि यो पर्व सुरु भएको ऐतिहासिक तथ्य पाइन्छ । गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत आयोजना गर्न आदेश दिइएको र त्यसै अनुरूप हास्य व्यङ्ग्यको प्रचलन सुरु भएको जनश्रुति छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रामा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म कायम छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक देखिन्छ । भाद्र कृष्ण अष्टमीसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीत गाउने गरिन्छ । विकृतिविरुद्ध हास्यव्यङ्ग्यको पर्व पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै वि.सं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा समेत प्रतिबन्ध लगाइएको थियो । वि.सं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा पुनः मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने तथा अनर्थकतामा सार्थकता झल्काउने काम गर्छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना तथा काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गतिलाई उजागर गर्ने गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विभिन्न कार्यक्रम आयोजना गरिन्छ । पत्रपत्रिकाले समेत सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशन गर्ने गरेका छन् । गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले समेत विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन् । सरकारले गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।