काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ८ जिल्लामा ६१६ जनाको शव फेला परेको छ । शनिबार ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ६१६ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ ।
बाढी तथा पहिरोमा परी हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी २ हजार ३०१ घाइते भएका छन् । घाइतेमध्ये रसुवामा ६७६ जना, नुवाकोटमा १ हजार ६२२ जना र धादिङमा ३ जना रहेका छन् ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको प्रहरीले जनाएको छ ।