काठमाडौं । तीन दिनपछि काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै यातायात सञ्चालनमा आएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण चितवनको नारायणगढसम्मको सडक प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
बाढीका कारण क्षतिग्रस्त सडक सफाइ तथा मर्मत गरेपछि हिजो रातिदेखि यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको हो । आज बिहानदेखि काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा मात्र एकतर्फी यातायात सञ्चालन भइरहेको छ । उक्तबाहेक अन्य सडकखण्डमा भने दुईतर्फी यातायात सञ्चालनमा कुनै बाधा छैन ।