बैंकहरूको 'अटो लोन' होड: ४.६६ प्रतिशतमै गाडी कर्जा, कुन बैंकको अफर कस्तो ?
काठमाडौं । १८औं नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन् । ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि र ईभी कर्जामा विशेष सुविधा दिएका छन् । नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक-फरक छन् । अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ। साथै, सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ । ईभी सवारी खरिद गर्ने ग्राहकका लागि कृषि विकास बैंकले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। अटो शो अवधिभर यही ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। फ्लोटिङ रेटमा उपलब्ध हुने यो कर्जाको अवधि ७ वर्षसम्म रहनेछ । बैंकले अधिकतम १ करोड रुपैयाँसम्म अटो लोन उपलब्ध गराउने जनाएको छ । सेवा शुल्क सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेकामा अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरिएको छ । नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले २० प्रतिशत डाउन पेमेन्टमै कर्जा सुविधा उपलब्ध गराउने योजना ल्याएको छ । योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गर्नेछन् भने बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ । एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने भएको छ । अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा दिइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प पनि ल्याएको हो । बैंकले फ्लोटिङ रेटमा समेत अटो लोन उपलब्ध गराउँदै आएको जनाएको छ । ईभी सवारीका लागि भने ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाइ छ । ग्लोबल आईएमई बैंकले ईभी सवारीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले स्थिर ब्याजदरमा पनि कर्जा उपलब्ध गराउनेछ । ७ वर्ष अवधिको कर्जामा पहिलो ३ वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ । त्यसपछिको ४ वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो योजनामा कर्जाको अवधि १० वर्षसम्म राखिएको छ । अन्य अधिकांश बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेका बेला माछापुच्छ्रेले लामो अवधि रोजेको हो । कर्जाको सेवा शुल्क ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत छुट दिइएको बैंकले जनाएको छ ।त्यस्तै, प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकका अनुसार आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप हुनेछ । लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । ७ वर्ष अवधिको यो कर्जा फ्लोटिङ रेटमा हुनेछ । बैंकले सेवा शुल्क ०.५० प्रतिशत लिने जनाएको छ । त्यस्तै कुमारी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ५.२१ प्रतिशत, ५.५४ प्रतिशत, ५.९६ प्रतिशत र ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएका छन् । यी बैंकहरूले ७ वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन्। सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ। नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्र नभई कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट र ईभी सवारीमा उपलब्ध कर्जा सीमामा समेत विभिन्न सुविधा दिएका छन् ।
माथिल्लो त्रिशूली-३ 'ए' र लाङटाङको टनेलमा उद्धार टोली परिचालित
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वय र सहयोगमा सुरक्षा मापदण्ड पालना गर्दै उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउँदै आएका छन् । ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी र प्रतिकूल मौसमका कारण प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी पुनःस्थापना तथा उद्धारका काम तीव्र पारिएको छ । हाल नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको छ भने रसुवाको धुन्चेमा विद्युत् लाइन सञ्चालनका लागि काम भइरहेको छ । सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको मन्त्रालयले जनाएको छ । स्थानीय बासिन्दालाई सतर्क रहन तथा आवश्यकता देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आवश्यक सामग्री, उपकरण र दक्ष जनशक्तिसहित थप हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । यसैक्रममा रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारी भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ । त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धारका लागि पनि आवश्यक तयारी र समन्वय भइरहेको छ । ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रको भूमिगत पावरहाउसमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान सञ्चालन भइरहेको छ । पावरहाउस प्रवेश गर्ने केबल टनेलको मुख बाढी र पहिरोका कारण पुरिएपछि नेपाली सेना तथा दक्ष प्राविधिकको समन्वयमा उत्खनन् उपकरण प्रयोग गरी बाटो खुलाउने काम तीव्र पारिएको छ । नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ जना कामदार तथा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिसहित करिब ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिसकेको मन्त्रालयले जनाएको छ । टनेलभित्र अझै सयभन्दा बढी व्यक्ति फसेको प्रारम्भिक जानकारी रहेकाले उहाँहरूको उद्धारका लागि सुरक्षा टोली निरन्तर परिचालित रहेको बताइएको छ । यसैबीच, बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थाबारे ऊर्जा मन्त्रालयमा सम्बन्धित आयोजनाका व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरुसँग बैठक गरी विवरण अद्यावधिक गर्ने काम भइरहेको छ । प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा कार्यरत एक हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । उद्धार तथा खोजी कार्यलाई रातिको समयमा समेत प्रभावकारी बनाउन सुरक्षाकर्मीका लागि २०० थान हेडल्याम्प र ९०० थान ब्याट्रीसमेत उपलब्ध गराइएको छ । मन्त्रालयले बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ । आवश्यकताअनुसार थप हेलिकप्टर, उद्धार तथा राहत सामग्री, उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिने बताइएको छ । विपद्को कठिन परिस्थितिमा विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र निरन्तर सञ्चालनमा राख्दै प्रभावित क्षेत्रमा रहेका कर्मचारी तथा मजदुरको जीवनरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धार तथा पुनःस्थापनाको काम अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
पृथ्वी राजमार्ग सञ्चालनमा
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडक खण्डमा थुप्रिएको लेदो पन्छाएर शुक्रबार साँझदेखि सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा जम्मा भएको लेदो पन्छाएपछि पहिलो चरणमा अत्यावश्यक सवारीसाधनहरूलाई प्राथमिकताका साथ गन्तव्यतर्फ प्रस्थान गराइएको छ । राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका गाडीहरूलाई सडक खुलेसँगै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ । निरन्तरको प्रयासपछि लेदो हटाएर सडक सञ्चालनमा आएपछि रोकिएका यात्रु तथा सवारीसाधनहरूले राहत पाएका छन् ।
रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन
काठमाडौं । भोटेकोसी नदीमा आएको भिषण बाढीले ठूलो क्षति पुर्याउँदा रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शुक्रबार एक जानकारी सार्वजनिक गर्दै दुवै जिल्लाका गरी कुल १३ वटा जलविद्युत् आयोजना बाढीबाट क्षतिग्रस्त भएको र त्यसमध्ये ११ वटा आयोजनाका जनशक्ति सम्पर्कविहीन बनेको पुष्टि गरेको छ । इप्पानका अनुसार बाढीका कारण सबैभन्दा बढी जनशक्ति रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा प्रभावित भएका छन्, जहाँ ५७६ जना सम्पर्कबाहिर छन् । यसैगरी रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, लाङटाङ खोलाका ४२ जना, चिलिमेका आठ जना, मेलुङ खोलाका सात जना र रसुवा-भोटेकोसी आयोजनाका चार जना पनि हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । यता नुवाकोट जिल्लामा निर्माणाधीन र सञ्चालनमा रहेका ६ वटा आयोजनामध्ये पाँच वटाका २०४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । जसमा माथिल्लो त्रिशूली-३ ‘बी’ का १५८ जना, माथिल्लो त्रिशूली-३ ‘ए’ का ४२ जना, मिडल त्रिशूली गंगाका दुई जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक/एक जना रहेका छन् । बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको र हालसम्म माथिल्लो त्रिशूली-१ का २५४ जनाको सकुशल उद्धार भइसकेको इप्पानले जनाएको छ । अन्य आयोजनाहरूमा पनि उद्धार टोली परिचालन गरी बाँकी व्यक्तिहरूको खोजी तथा उद्धारको पहल भइरहेको छ ।
एकैदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३८ करोड ५६ लाख सहयोग
काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकैदिन झण्डै ३८ करोड ५६ लाख रुपैयाँ सहयोग जुटेको छ । विभिन्न २७ संस्था तथा व्यक्तिले कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ कोषमा योगदान गरेका हुन् । राहत सहयोगमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता देखिएको छ । कोषमा सूर्य नेपाल प्रालिले मात्रै १५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख रुपैयाँ योगदान गरेका छन् । यस्तै, हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख, एग्रो थाईफुड्सले १ करोड, एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गरेका छन् । व्यक्तिगततर्फ उद्योगी विजयकुमार शाहले १ करोड तथा राजी राणाले १ करोड ९ लाख ८० हजार रुपैयाँ राहत कोषमा योगदान गरेका छन् । पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले पनि १ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वक्र्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरले १–१ करोड रुपैयाँ योगदान गरेका छन् । यस्तै, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्य संस्था तथा व्यक्तिबाट समेत थप सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सञ्चालनमा आयो पृथ्वी राजमार्ग
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा थुप्रिएको लेदो हटाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो । राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ । ‍लेदो पन्छाउने र सडक खुलाउने कार्यलाई तीव्रता दिएसँगै पृथ्वी राजमार्गमा आवागमन पुनः सुरु भएको हो । मन्त्रालयले सडकखण्डमा थप सहज रूपमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाएको छ । राजमार्गका विभिन्न खण्डमा लेदाे पन्छाउन निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा यान्त्रिक उपकरण परिचालन गरिएको थियो । बाढीले राजमार्गको करिब १५ किलोमिटर सडक खण्डमा क्षति पु‍र्याएको छ । सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्टलगायत उपकरणसमेत बाढीले बगाएको छ ।
बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड ८ लाख सहयोग
काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्राइम कमर्सियल बैंकले ३ करोड ८ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ नगद र ७ लाख रुपैयाँ बराबरका खाद्यान्न सामग्री सहयोग गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ । बैंकले यसअघि पनि विभिन्न विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।
बाढीपीडितको साथमा विकास बैंकर्स एसोसिएसन, उद्धारदेखि पुनःस्थापनासम्म सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोलगायत प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले गहिरो दुःख व्यक्त गरेको छ । एसोसिएसनले बुधबार भोटेकोशी खोलामा आएको भीषण बाढीलगायतका प्राकृतिक विपद्का कारण मुलुक गम्भीर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै विपदमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेको छ । एसोसिएसनले विपद्का बीच उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका स्थानीय समुदाय, नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति कृतज्ञता व्यक्त गरेको छ । उद्धारमा संलग्न सबैको सुरक्षा र स्वास्थ्यप्रति समेत विशेष ध्यान दिन आग्रहसमेत गरेको छ । विपद्का कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन तथा बेपत्ता रहेको भन्दै एसोसिएसनले उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ । बाढीका कारण सदस्य विकास बैंकका केही शाखा पनि प्रभावित भएको एसोसिएसनले जनाएको छ । विद्युत् आपूर्ति, नेटवर्क तथा सञ्चार सेवामा आएको अवरोधका कारण बैंकिङ सेवा प्रभावित भए पनि सम्भव भएसम्म सेवा निरन्तरता कायम गर्न प्रयास भइरहेको जनाएको छ । असामान्य परिस्थितिमा आफ्ना सदस्य विकास बैंकमार्फत राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न एसोसिएसन प्रतिबद्ध रहेको बताएको छ ।