विकासन्युज

त्रिशूली ३ ’ए’ को सुरुङको मुख खोल्ने कार्य तीव्र

काठमाडौं । रसुवास्थित त्रिशूली ३ ’ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ । सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ । ​टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो । ​सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ । ​यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ ।

ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री उद्धार कोषमा सहयोग गर्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ’ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो । यस सुविधामा खाता छनोट, योगदानकर्ताको नाम र रकम उल्लेख गरी सरल तवरले सहयोग रकम पठाउन सकिने बैंकले जनाएको छ । डिजिटल बैंकिङ केवल कारोबारमै सीमित नरही आवश्यक परेको बेला प्रभाव पार्ने माध्यम पनि बन्नुपर्ने बैंकको भनाइ छ। यसै सन्दर्भमा बैंकले प्रविधिमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड नेपालको प्रमुख वाणिज्य बैंकहरूमध्ये एक हो, जसले देशभर फैलिएको शाखा सञ्जालमार्फत ग्राहकहरूलाई आधुनिक र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र पहुँचयोग्य बनाउँदै लगेको छ । ग्राहकमैत्री सेवा, प्रविधिमैत्री समाधान र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरूमार्फत बैंकले आफ्नो साझेदारी भूमिका निर्वाह गर्दै आएको छ ।

काठमाडौं आउन चाहने अलपत्र यात्रुका लागि महानगरको निःशुल्क बस सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई काठमाडौं ल्याइयो ।   आजबाट २ वटा सवारी साधन सञ्चालनमा ल्याइएका छन् । २ वटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौं यात्रु ओसार्ने ००६ ख ९३३९ नम्बरको गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो । यसमा १० जना यात्रु अट्टाउँछन् । निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।  सवारी साधनमा परिचालन गरिएका जनशक्तिलाई विपद व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा सभा गृहमा आएका थिए ।  उनीहरुले यात्रुहरुका अपेक्षा, सेवा सञ्चालनको लक्ष्य अनुरुप सेवा गर्न प्रोत्साहित गरेका थिए ।  यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्मका लागि हो । कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा कार्य थलो भएर विपद पछि अलपत्र परेका काठमाडौं आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौंबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्ति लक्षित वर्ग मानेर यो सेवा थालिएको हो ।  यी सवारी साधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।

अमेरिका र इरानलाई वार्तामा फर्कन संयुक्त राष्ट्र संघको आह्वान

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । द्वन्द्व शुरु भएको छ महिना पुगेको सन्दर्भमा प्रवक्ता दुजारिकले महासचिवको धारणा सार्वजनिक गर्दै यस संकटको एक मात्र समाधान कुटनीति भएकोमा जोड दिए । उनले भने, ‘हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं ।’  महासचिवले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरब र कुवेत लगायतका देशहरूले गरिरहेका मध्यस्थता प्रयासहरूको प्रशंसा गर्दै आफू ती देशहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।   द्वन्द्वका कारण सिर्जना भएको विनाशकारी मानवीय र आर्थिक परिणामप्रति महासचिवले गहिरो चिन्ता व्यक्त गरेका छन् । विशेषगरी सर्वसाधारणमाथि भइरहेको बमबारी, भौतिक पूर्वाधारको विनाश र विश्वव्यापी रूपमा खाद्यान्न तथा मल आपूर्तिमा परेको अवरोधले निम्त्याएको संकटका बारेमा प्रवक्ताले स्पष्ट पारे । इन्धनको मूल्य वृद्धिले कमजोर अर्थतन्त्र भएका मुलुकहरूलाई झनै ठूलो झट्का दिएको राष्ट्र संघको ठहर छ ।  महासचिवका विशेष दूत जीन अर्नाल्टले दुवै पक्ष र मध्यस्थकर्ताहरूलाई दिगो समाधानमा पुग्न सहयोग गर्न आफू तयार रहेको र निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् ।  गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि तनाव उत्कर्षमा पुगेको थियो । यसको बदलामा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा प्रत्याक्रमण गरेको थियो । यस द्वन्द्वका कारण विश्व ऊर्जा व्यापारको प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुँदा तेल र अन्य सामग्रीको आपूर्तिमा गम्भीर असर परेको छ ।  यसअघि, गत जुन १८ मा अमेरिका र इरानबीच ६० दिनभित्र वार्ता गरी अन्तिम सम्झौतामा पुग्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यद्यपि, दुई देशबीच पुनः तनाव बढेसँगै प्रश्तावित वार्ताको भविष्य अन्योलमा परेको छ ।   

रसुवाको बाढीले १९८ टेलिफोन टावरमा क्षति

काठमाडौं । रसुवामा आएको बाढी कारण १९८ वटा टेलिफोनमा क्षति भएको छ । रसुवा र नुवाकोट लगायका विभिन्न क्षेत्रमा भएका टेलिफोन टावरमा क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले जनाएको छ । प्राधीकरणका अनुसार क्षति भएका टेलिफोन टावर मर्मतपश्चात १४५ वटा सञ्चालनमा आइसकेका छन्।प्राधीकरणका अनुसार ६२६ वटा शव फेला परेका छन् । विभिन्न मानव अंगसहित आठ जिल्लामा शव फेला परेको हो । बुधबार बिहान आएको बाढीले तीन जिल्लामा ठूलो धनजनको क्षति गरेको छ ।

चितवनमा २२९ शवको पहिचान भएन, डीएनए लिएर देवघाटमा व्यवस्थापन गरिने

काठमाडौं । चितवनमा पहिचान नखुलेको शवको डिएनए लिएर शव व्यवस्थापन गरिने भएको छ । २ सय ३३ शवमध्ये ४ शवको मात्र पहिचान खुलेको छ ।  बाँकी २२९ शवको पहिचान खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको छ। चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट संकलन गरिएका अधिकांश शव तथा शवका अवशेष सडेर–गलेका कारण अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। तत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरूबाट दुर्गन्ध फैलिन थालेको छ । संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणपछि शव व्यवस्थापनको निर्णय गरिएको प्रशासनले जनाएको छ। शनिवार जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै पहिचान हुन नसकेका शवलाई जमिन मुनि व्यवस्थापन गरिने भएको छ। शव व्यवस्थापनअघि सबै शवको डीएनए नमूना संकलन गरिने र संकेत नम्बरका आधारमा विस्तृत अभिलेख राखिने प्रशासनले जनाएको छ। आजदेखि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शवहरूको सम्मानजनक, सुरक्षित तथा कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिने प्रशासनले उल्लेख गरेको छ । बुधवार बिहान रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्‍याएको छ । हालसम्म रसुवामा आएको बाढीका कारण ६२६ जनाको शव फेला परेको छ ।

आर्या फार्माल्याबद्वारा बाढी प्रभावितलाई ८२ लाखभन्दा बढीको औषधि सहयोग

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्माल्याबले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि सहयोग गरेको छ । कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरका औषधि उपलब्ध गराएको जनाएको छ । प्रभावित नागरिकको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक परे उपचारमा प्रयोग हुने उपकरण तथा औषधिसमेत सहयोग गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको सहयोगबाट स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । कम्पनीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको सहयोगले राहत तथा पुनस्र्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ । आर्या फार्माल्याबले विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बाढीले बगाएर ल्याएको सेफ फोडेर पैसा चोर्ने २९ जना पक्राउ

काठमाडौं । भोटेकोशीले बगाएर ल्याएको सेफबाट पैसा चोरी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार सेफ फुटाएर पैसा चोरी गर्ने २९ जना पक्राउ परेका हुन् ।  धादिङको गल्छी गाउँपालिका ४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा फेला पारी सेफ तोडफोड गरी सेफ भित्र  रहेको पैसा केही व्यक्तिहरूले आफूखुसी निकाली लगेका थिए । शुक्रबार सेफ फोडेर पैसा लगेको खबर आएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ फेला पारेको छ । पैसा चोरीमा संलग्न हुने अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद नगद र नियन्त्रणमा लिएका व्यक्तिहरुलाई थप अनुसन्धान कार्य भइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । गत बुधबार बिहान रसुवामा आएको बाढीले सेफ बगाएको थियो । रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा ठूलो धनजनको क्षति गरेको छ । सेफ फोडेर चोरी गरेर यी हुन २९ जना ः