काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो । प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता र क्षतिको आधारमा वितरण गरिनेछ ।
प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकम निकासा गर्ने निर्णय गरेको थियो । अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहका रूपमा वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मोङ गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका, धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकामा भएको क्षतिको आधारमा अनुदान वितरण गरिनेछ ।
प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९’ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको प्राधिकरणले जनाएको छ ।