धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न थालिएको छ । बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी धुन्चेमा रहेका यात्रुलाई काठमाडौं उपत्यका ल्याउने व्यवस्था मिलाएको हो । मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणका लागि त्यहीँ खाना खुवाउने व्यवस्था गरिएको छ । खाना खुवाएपछि उनीहरूलाई सवारीसाधनमार्फत महावीरसम्म पुर्याउने र त्यहाँबाट करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्याइनेछ । चौगटीबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने व्यवस्था गरिएको उनले बताए । ‘धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने काम गरेका छौँ,’ मुख्यमन्त्री थापाले भने । उद्धारको पर्खाइमा रहेका यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरी काठमाडौं ल्याउने प्रबन्ध मिलाएको पनि उनले बताए । धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि प्रदेश सरकारले खानाको व्यवस्था गरेको छ। त्यस्तै, बागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्गको मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ । उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक मार्गका रूपमा सोही सडक प्रयोग गरी काठमाडौँ आउन सक्ने जनाइएको छ ।
माटोमुनिबाट बालिका रोएको आवाज आएपछि एपीएफको टोलीले गर्यो उद्धार, अचेत अवस्थामा फेला
काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ । शुक्रबार साँझ टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो । सीमा सुरक्षा चौकी टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो । उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको जनाइएको छ । चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ। उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ । माटोमुनिबाट आएको बालिकाको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनु ले उद्धार टोलीको सतर्कता र खोजी कार्यको महत्त्व झनै देखाएको छ । बाढी–पहिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
बाढी प्रभावितका लागि एडीबीले ७६ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर (करिब ७६ करोड ५९ लाख रुपैयाँ) अनुदान दिने भएको छ । यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने जनाएको छ । अनुदानबाट खोज तथा उद्धारका सामग्री खरिद गरिनेछ । औषधि, खाद्यान्न र सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ । त्यस्तै, अस्थायी आश्रय, सरसफाइ तथा स्वच्छताका सामग्री उपलब्ध गराइनेछ । भग्नावशेष हटाउन र आपत्कालीन पूर्वाधार स्थिरीकरणमा पनि रकम खर्च हुनेछ । एडिबीले थप १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब २ करोड ३० लाख रुपैयाँसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । यो रकम विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना र सम्भावित पुनर्निर्माणका लागि प्रयोग हुने बताइएको छ । एडिबीका अनुसार मूल्यांकनबाट बाढीबाट भएको क्षति र नोक्सानी पहिचान गरिनेछ । प्रभावित क्षेत्रका आवश्यकता र पुनःस्थापनाका प्राथमिकता पनि तय गरिने उल्लेख छ । एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारसँग समन्वय गरिरहेको जनाएको छ । एडिबी अध्यक्ष मासातो कान्डाले विपद्पीडितलाई तत्काल सहयोग आवश्यक रहेको बताएका छन् । उनले खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधिजस्ता आधारभूत सहयोगमा अनुदान उपयोग हुने बताएका छन् । अगस्ट २६ (भदौ १० गते) भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको बाढी र गेग्रान बहावले ठूलो क्षति गरेको छ ।
नारायणी नदीमा फेला परे २३३ शव, चार जनाको मात्रै सनाखत
काठमाडौं । चितवनस्थित नारायणी नदीमा फेला परेका २३३ वटा शवमध्ये हालसम्म चार जनाको मात्रै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सनाखत भएकामध्ये तीनवटा शव आफन्तले बुझिसकेका छन् भने एक जनाको आफन्त विदेशमा रहेकाले शव बुझ्न बाँकी छ । सनाखत हुनेहरूमा बेत्रावती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल, बाँकेका कविराज चौधरी, मकवानपुरका रमेश मगर र रसुवाका भुवन थापा मगर रहेका छन् । बेत्रावती चौकीका १० जनामध्ये बाढीबाट बचेका ९ जनाबाहेक बेपत्ता रहेका असई पौडेल र रमेश मगरको शव परिवारले बुझेर देवघाटमा दाहसंस्कार गरिसकेका छन् । कविराज चौधरीको शव पनि आफन्तले शुक्रबार बुझेका छन् भने विदेशमा रहेका भुवन थापा मगरका आफन्त शनिबार फर्किएपछि शव बुझाइनेछ । नारायणी नदी किनारमा भेटिएका शवको संख्या अत्यधिक भएपछि भरतपुर अस्पतालमा स्थान अभाव भएको छ । जसका कारण २३० मध्ये १५८ वटा शव भरतपुर अस्पतालमा र बाँकी नारायणी, नेसनल सिटी तथा सामुदायिक अस्पतालमा राखिएको छ । अस्पतालमा अटेका ७७ वटा शव र ६२ वटा हात, खुट्टा तथा पन्जा (अंगहरू) भने चितवन उद्योग वाणिज्य संघको परिसरमा हिउँ (आइस) को व्यवस्था गरी सुरक्षित राखिएको छ । गत बुधबार बिहान रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुनेको संख्या ५७९ पुगेको छ भने सयौँ नागरिक अझै बेपत्ता छन् । बेपत्ताहरूको खोजी तथा नारायणी नदीमा फेला परेका अन्य शवहरूको सनाखत गर्ने कार्य निरन्तर जारी छ ।
बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं । बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग र ७ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकमको चेक तथा राहत सामग्री हस्तान्तरण गरेका हुन् । बाढीप्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराएको जनाएको छ । देशमा पर्ने यस्ता प्राकृतिक विपद्का समयमा सधैं सरकार र प्रभावित समुदायको साथमा उभिने प्रतिबद्धता जनाउँदै प्राइम कमर्सियल बैंकले आगामी दिनमा पनि यस्ता राहत तथा पुनःस्थापनाका कार्यलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक होः प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विदेशी सहयोग अस्वीकार गरिएको भनी भइरहेको प्रचार सर्वथा भ्रामक भएको स्पष्ट पारेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले छिमेकी मुलुकहरू भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको जानकारी गराएका हुन् । विपद्का बेला हवाई उद्धारलाई प्रभावकारी बनाउन अपनाइएका मापदण्डबारे स्पष्ट पार्दै उनले उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई विशेष ध्यानमा राखिएको उल्लेख गरेका छन् । साथै, प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन र राहत वितरणका सन्दर्भमा शुक्रबार दिनभर भएका प्रमुख काम तथा प्रगतिहरूलाई २० बुँदामा प्रस्तुत गर्दै सरकार उद्धार र सहायता कार्यमा निरन्तर सक्रिय रहेको बताएका छन् । प्रधानमन्त्री बालेनले उल्लेख गरेका २० बुँदा यस्ता छन् । जस्ताको त्यस्तै : १. खोज तथा उद्धारमा १५,४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ४,४७३, नेपाली सेनाका ६,७५५ र सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना रसुवा तथा भोटेकोशी-त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन् । २. हालसम्म ४,४५१ जनाको उद्धार गरिएको छ, जसमा जलविद्युत् सुरुङबाट उद्धार गरिएका १९१ जना र आजको हवाई उद्धारबाट उद्धार गरिएका ५१७ जना समेत छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर Shuttle Flight सञ्चालन भइरहेको छ। हालसम्म ९९ हवाई उडान भएका छन् । ३. उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरबाट ६ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटहरू समेत पठाइएको छ । ४. सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ । Upper Trishuli Hydropower Project, रसुवागढी जलविद्युत् केन्द्रमा फसेका र अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी छ। आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको छ । ५. खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ । रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली-नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी कार्य जारी छ । ६. विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा विशेष समन्वय भइरहेको छ । हालसम्म १२९ जना विदेशी पर्यटक/नागरिकको उद्धार तथा पहिचान भएको छ । परराष्ट्र मन्त्रालयले दूतावास तथा परिवारसँग समन्वयका लागि Emergency Control Room सञ्चालन गरेको छ । ७. विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो । भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ। उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ । ८. भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमका क्षेत्रमा पूर्वसूचना र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ । जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको छ । ९. राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको छ । माननीय गृहमन्त्रीज्यू स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक निर्देशन दिइरहनुभएको छ । १०. सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको छ । वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु भएको छ । काठमाडौ मुग्लिङको बाटो एक तर्फी रुपमा सन्चालनमा ल्याइएको छ । ११. रसुवालाई पुनःसडक सञ्जालसँग जोडिएको छ । काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सुचारु भएको छ । क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु गरिएको छ। नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरिएको छ । १२. खानेपानी, इन्धन तथा सरसफाइको तत्काल व्यवस्था गरिएको छ। नुवाकोटमा KUKL का ४ वटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ । नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा डिजल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको छ। १७ हजार लिटर हवाई इन्धन नुवाकोटमा पठाइएको छ । १३. प्रभावित क्षेत्रको क्षतिको विस्तृत मूल्यांकन सुरु गरिएको छ । सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि Sectoral Groups तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएका छन् । १४. स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ । आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाइनुका साथै कम्तीमा ५,००० जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ । रोगको निगरानी तथा मातृ-बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको छ । १५. दूरसञ्चार सेवा पुनःस्थापनामा प्रगति भएको छ। प्रभावित १९८ टावर/साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । NTC का १२० मध्ये ८२ र Ncell का ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएका छन् । बाँकी साइटमा आवश्यक प्राविधिक तथा ऊर्जा स्रोत परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको छ । १६. विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ । नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ । १७. जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था अघि बढाइएको छ । Emergency Shelter का लागि स्थल पहिचान तथा Relocation को काम भइरहेको छ । सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा तथा नुवाकोटका करिब १० स्थानमा तुइन निर्माण गर्ने काम अघि बढाइएको छ । १८. राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक स्रोत परिचालन भइरहेको छ । बाढी तथा विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल रु. ६ करोड ७५ लाख रकम उपलब्ध गराइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु. १.९ अर्बभन्दा बढी रकम संकलन भएको छ। प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने काम अघि बढाइएको छ। साथै, प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ । १९. राहत, उद्धार तथा पुनःस्थापनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग एकीकृत रूपमा परिचालन गरिएको छ। सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको छ । २०. अन्त्यमा, नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद । उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो।सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ ।
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाखभन्दा बढी सहयोग
काठमाडौं । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए । खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । ‘राष्ट्रिय विपत्तिको यो अवस्थामा कलेजको तर्फबाट सानो भए पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हौँ,’ अध्यक्ष खड्काले भने । उनका अनुसार शिक्षा क्षेत्र केवल पठनपाठनमा मात्र सीमित नभई समाजमा आइपर्ने विपत्ति र संकटका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन कलेजले सहयोगको निर्णय गरेको हो । नमुना कलेजले कोशी प्रदेशको शिक्षा क्षेत्रबाट राष्ट्रिय विपत्तिमा संस्थागत रूपमा सहयोग गर्ने पहिलोपटक पहल गरेको जनाएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने कैयौँ नागरिक बेपत्ता भएका छन् । बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि यतिबेला सरकारी निकाय, सुरक्षा निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले आ-आफ्नो स्तरबाट सहयोग गरिरहेका छन् । यही क्रममा नमुना कलेजले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बाढी प्रभावितका लागि कृषि विकास बैंकको ३ करोड सहयोग, अर्थमन्त्री वाग्लेलाई बुझाइयो चेक
काठमाडौं । कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अर्थ मन्त्रालयमा शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष टंक प्रसाद पाण्डेको रोहवरमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले तीन करोड सहयोग प्रदान गरिएको चेक हस्तान्तरण गरेका थिए भने उक्त हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशील हुमागाई, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल समेतको उपस्थिति रहेको थियो । विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कृषि विकास बैंकले ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बैकले विपदको यस दुखद घडीमा देश विदेशमा रहेका ईच्छुक संघ संस्था र व्यक्तिहरुलाई सक्दो सहयोग उपलब्ध गराउन नेपाल सरकारको बैंकमा रहेको “प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोष” खाता र क्युआर कोड समेत सार्वजनिक गरी सहयोगका लागि अपिल गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड (तीन करोड रुपैयाँ) सहयोग गरेको हो । देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौं नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।