विकासन्युज

चिनियाँ सुरुङ विज्ञ रसुवा पुगे, टनेलमा फसेका कामदारको उद्धार गर्ने

काठमाडौं । चिनियाँ सुरुङसम्बन्धी विज्ञहरूको टोली उद्धार गर्न रसुवामा पुगेका छन् । उनीहरूले जल विद्युतको आयोजनामा फसेका कामदारलाई उद्धार गर्ने छन् ।  अहिले पनि जलविद्युतको सुरुङभित्र सयौँको संख्यामा फसेको बताइएको छ। उनीहरूले सुरुङ भित्र फसेका कामदारलाई बाहिर निकाल्ने छन् । नेपाली सुरक्षाकर्मीसँगको समन्वयमा चिनियाँ सुरुङसम्बन्धी विज्ञहरूले काम गर्ने छन् । बुधबार बिहान आएको रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ६ सय भन्दा बढी मानिसको शव फेला परेको छ । सयौँको संख्यामा काठमाडौं लगायतका रसुवा र नुवाकोटका अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

जगन्नाथदेवल कारागारबाट फरार जबरजस्ती करणीका दोषी रुपन्देहीमा पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार कैदीलाई नेपाल प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–४ का २९ वर्षीय पुरुषोत्तम पहारीलाई शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बुद्धचोकबाट पक्राउ गरिएको हो ।  उनी २०७५ असोज १४ गतेदेखि काठमाडौंको जगन्नाथदेवलस्थित कारागार कार्यालयमा कैद भुक्तान गरिरहेका थिए । तर २०८२ भदौ २४ गते भएको ‘आन्दोलन’ का क्रममा कारागारबाट फरार भएका थिए । त्यसबेला उनको १७ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  फरार भएपछि रुपन्देहीमा लुकीछिपी बस्दै आएका पहारीलाई प्रहरी टोलीले खोजी गरी पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कारागार कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यानले दियो ३० लाख रुपैयाँ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै क्यानले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित परिवार र समुदायप्रति समवेदना प्रकट गर्दै उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सधैं प्रतिबद्ध रहने जनाएको छ । क्यानका अनुसार अस्ट्रेलियामा जारी टप इन्ड टी–२० प्रतियोगिताअन्तर्गत शनिबार नेपाल ‘ए’ र हैदराबाद किंग्समेन एकेडेमीबीचको खेल सुरु हुनुअघि दुवै टोलीका खेलाडीले नेपालमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एक मिनेट मौनधारण गरेका थिए । प्रतियोगिताका क्रममा बाढीपीडितको सहयोगका लागि ‘फन्ड राइजिङ’ अभियान पनि सञ्चालन भइरहेको क्यानले जनाएको छ ।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन

काठमाडौं । बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ ’बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ । ​अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ। सरकारको अनुमति पश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो । ​चिनियाँ हेलिकोप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ । ​संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ’रेकी’ (अनुगमन) गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ’स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ । ​सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको छ ।

उद्धार र राहतका लागि मित्रराष्ट्रसँग सहयोग मागेका छौँ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्राकृतिक विपद्पछिको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका छन् । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि तथा विकट क्षेत्रमा राहत सामग्री पुर्याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताए । उनका अनुसार रसुवालगायत जिल्लामा पहिचान हुन नसकेका शवको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त छैन । त्यसका लागि डीएनए परीक्षण तथा रिपोर्टिङमा सहयोग गर्न विदेशी सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए । बाढी र पहिरोका कारण ४० भन्दा बढी पुल तथा सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती थपिएको मन्त्री खनालले बताए । विपद्बाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै उनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि अर्बौँ डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । हालसम्मको तथ्याङ्कअनुसार करिब १५ हजार निजी घर र ४२ वटा पुलमा क्षति पुगेको छ । यद्यपि ‘हानी तथा नोक्सानी’ को विस्तृत अध्ययनपछि मात्रै क्षतिको यकिन विवरण आउने उनले बताए । विदेशी टोली तथा निजी हेलिकप्टर परिचालनका विषयमा उठेका जिज्ञासामा मन्त्री खनालले हाल सबै उडान ‘एकीकृत कमान्ड’ मार्फत सञ्चालन भइरहेको स्पष्ट पारे । भौगोलिक जटिलता तथा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नागरिक उड्डयन प्राधिकरण र सुरक्षा निकायको समन्वयमा विदेशी नागरिक तथा उद्धार टोलीलाई उडान अनुमति दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । मन्त्री खनालले दुर्गम क्षेत्रमा औषधि तथा खाद्यान्न पुर्याउन ठूलो तौल बोक्न सक्ने ‘हेभी लोड लिफ्ट’ ड्रोनको सहयोग मागिएको बताए । ‘दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्याउन हामीले ठूलो तौल बोक्न सक्ने हेभी लोड लिफ्ट ड्रोनको सहयोग माग गरेका छौँ । स्थलगत टोली र सुरक्षा निकायको सुझावका आधारमा हामीले विशिष्ट प्रकारका सहयोगका लागि वैदेशिक नियोगसँग समन्वय गरिरहेका छौँ,’ उनले भने । सरकारको कार्ययोजनाबारे स्पष्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता उद्धार रहेको र त्यसलगत्तै राहत तथा पुनर्निर्माणको चरणमा प्रवेश गर्ने बताए । २०७२ सालको भूकम्पपछिको अनुभव तथा संस्थागत स्मृतिलाई उपयोग गर्दै प्रभावित परिवारलाई आवासलगायत आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए ।

सुरुङमा फसेका कामदारलाई चिनिया र भारतीय सैनिकले उद्धार गर्ने

काठमाडौं । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूलाई उद्धार गर्न चिनियाँ र भारत सैनिक टोली सिधै जाने भएका छन् ।  रसुवा लगायतका केही ठाउँका सुरुङमा फसेका कामदारलाई उद्धार गर्न भारतीय र चिनिया सैनिक टोली प्रभावित क्षेत्रमा पुग्ने भएका हुन् । नेपाली सेनाका एक उच्च अधिकारीले अहिले दुवै मुलुकका सेनाहरू सुरुङमा फसेकालाई उद्धार गर्न आइपुग्ने कुरा छ । केही समयमा उच्च दक्ष प्राप्त सीप हासिल गरेका सैनिकहरू आइपुग्ने जानकारी प्राप्त भएको छ । चिनिया र भारतीय सैनिकका टोलीहरू आएपछि सुरुङमा फसेका कामदारलाई उद्धार गरिनेछ । बुधबार बिहान आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा फसेका नेपाली र विदेशी कामदारलाई उद्धार गर्न छिमेकी मुलुकबाट सुरक्षाकर्मी आउने भएका हुन् । रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति गरेको छ । हालसम्म विभिन्न जिल्लाका मानिसहरूको शवहरू नदी किनारामा ६ सय बढी भेटिएका छन् । घाइतेहरूको काठमाडौं लगायत नुवाकोट र रसुवामा उपचार भइरहेको छ ।  

वैकल्पिक सडक सञ्चालनमा, धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो

काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्म जोडिने सडक सञ्चालनमा आएको हो । गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूली नदीमाथिको पुल बगाएपछि सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो । पुल बगाएपछि धादिङबेसी आवतजावतका लागि वैकल्पिक मार्ग खोजिएको थियो । वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँगको सडक सम्पर्क पुनःस्थापित भएको हो ।

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु

काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।  टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दुरीसम्म मानव ढुवानीमार्फत टावर सम्म पुर्याइएको थियो । कम्पनीका प्राविधिकहरुले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन् ।  यसैगरी रसुवा जिल्लाकै तुप्चे बीटीएस पनि आजैदेखि सञ्चालनमा आएको छ । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिकहरु त्रिशुलीबाट साइट सम्म हेलिकप्टरमार्फत पुगेका र साइट सञ्चालन गरेका हुन् । उक्त साइटबाट त्रिशूली थ्रीबी आयोजना स्थल आसपास, बेत्रावती तथा कालिकास्थानको केही भागमा सेवा पुनः सुचारु भएको छ ।