बाढी पीडितलाई आइएमई ग्रुपको १० करोड सहयोग, रेमिटेन्स सुविधा निःशुल्क
काठमाडौं । भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनःस्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेको छ । ग्रुप र यस अन्तर्गतका विभिन्न भगिनी संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराउन लागिएको हो । यस सहयोग अभियानमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ, आइजीआई प्रुडेन्सियल, चन्द्रागिरी हिल्स, डिसहोम, अशोक लेल्यान्ड, आइएमई खल्ती लगायत दर्जनौं सम्बद्ध कम्पनीहरू र तिनमा कार्यरत कर्मचारीहरूको १ दिनको तलब समेत समावेश हुनेछ । आर्थिक सहयोगका अलावा आइएमईले संसारभरबाट नेपालमा उद्धार कोषका लागि आउने रकम निःशुल्क पठाउन सकिने रेमिटेन्स सुविधा ल्याएको छ भने खल्ती वालेटमार्फत कोषमा निःशुल्क रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । साथै, आइएमई फाउन्डेसनमार्फत थप राहत तथा जिन्सी सामग्री समेत वितरण गरिने ग्रुपले जनाएको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रुपले विपद्को यस कठिन समयमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेको छ । आइएमई ग्रुपले यसअघि पनि भूकम्प, महामारी तथा विभिन्न प्राकृतिक विपद्का समयमा निरन्तर अग्रपंक्तिमा रहेर सहयोग पुर्याउँदै आएको छ ।
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, अझै २५ सय जना सम्पर्कविहीन
काठमाडौं । बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ भने अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नदी किनारमा ६७५ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी, रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ । भोटेकोशी बाढीपछि दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कायरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री बालेनले भने- उद्धार र राहतमा कुनै कमी हुन दिइन्न
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायका साथै अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिइरहेको बताएका छन् । प्रधानमन्त्री शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत दिनभर भएका काम र प्रगतिको विवरण सार्वजनिक गर्दै उद्धार कार्यलाई तीव्रता दिइएको जानकारी गराएका हुन् । उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरिएको र आवश्यकताअनुसार यो संख्या हरेक दिन बढाउँदै लगिएको छ । प्रतिकूल मौसम र कठिन भौगोलिक बनावटका कारण एकैपटक धेरै उडान भर्न नसकिए पनि थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको उनले बताएका छन् । ‘उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौं,’ प्रधानमन्त्री शाहले भने । विपद्को यस घडीमा प्राप्त सुझाव र गुनासोहरूलाई सम्बोधन गर्दै सरकार उद्धार र राहत वितरण कार्यमा निरन्तर सक्रिय रहेको उनले स्पष्ट पारेका छन् । यस्तो छ बालेनको स्टाटस् जस्ताको त्यस्तै: रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ। बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ। संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ। राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौं। प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, उपचार, व्यवस्थापन र सञ्चार पुनःस्थापनालगायतबारे संक्षिप्त विवरण निम्न अनुसार छः खोजी तथा उद्धारः प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज साढे पाँच बजेसम्म ७,५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा भारतीय र चिनियाँ विज्ञहरु नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८,७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ। हामीलाई प्राप्त सुझाव र गुनासोलाई समेत ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीहरूको संख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्। तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन। ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ। उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौं। उपचार तथा मनोपरामर्शः प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेका छौं। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौंबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ। यस्तै, काठमाडौंबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा २ गरी ५ स्थानबाट स्वास्थ्य सेवा दिइरहनुभएको छ। साथै, घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान गरिरहेका छौं। अस्पतालहरूमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ। प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा प्रवाहको थालनी गरिसकेका छौं। विभिन्न अस्पतालहरूमा उपचारार्थ घाइेते नागरिक निको भएर घर जानेक्रम जारी छ। नागरिक व्यवस्थापनः प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा ३, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ। यी शिविरहरूका लागि संघीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रहरू समेत परिचालित छन्। बाढीबाट विस्थापित करिब ३,५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक/सामुदायिक भवनहरूमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ। राहत संकलनः नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शीरूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ। विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ कोड र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ। पीडितहरूका तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरुको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ। यसैक्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ। संकलित राहत सामाग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याउने काम भइरहेको छ। साथै, मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याउने गरिएको छ। त्यहाँ संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरु सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिरहेको छ। आज मात्रै एमआइ-१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ। साथै,आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ। विभिन्न संघसंस्था र सहयोगी निकायहरुले समेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुहरुमा राहत सामग्री पठाउने क्रम जारी छ। अन्तर्राष्ट्रिय सहयोगः प्रभावितको व्यवस्थापन र पुनःस्थापनाका लागि एशियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाको सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एशियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता आएको छ। साथै, भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किमिसको सहायता आउँदैछ। चीनबाट ३० वटा बेलीबिज्र सहयोग अनुरोध गरिएको छ। भारतबाट २ हजार र चीनबाट २ हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ प्राप्त भएको छ। स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्र्याङ्क (संयुक्त राष्ट्र संघ) बाट खर्च हुनेगरी प्राप्त भएको छ। यस्तै, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट सहयोग प्राप्त हुनेक्रम जारी छ। सञ्चार सम्पर्कः प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो। सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनः सञ्चालनमा ल्याएको छ। जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ। वैकल्पिक सडक सञ्चालनः बाढीले मुख्य सडकहरूमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला हाल काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ। यो सडकखण्ड खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ। शव व्यवस्थापनः हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’बमोजिम व्यवस्थापन गरिदैछ। पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरुलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरु सुरक्षित राखी सरकारले आफै व्यवस्थापन गर्न लागेको हो। परिवारले पहिचान गरेका शव भने उहाँहरुलाई जिम्मा लगाउने काम भइरहेको छ। त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौं। विपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्थाहरूले देखाउनुभएको धैर्यता, तत्परता र सहयोगप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ। विपद्को समयमा समाजले भरोसा, सही दिशा र सत्य-तथ्य खोजिरहेको हुन्छ। त्यसैले पीडितहरुको जीवन रक्षा र उहाँहरुको मनोवल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत अनुरोध समेत गर्दछौं। नेपाल सरकार प्रभावित नागरिकहरुको साथमा छ र उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ। धन्यवाद।
शव व्यवस्थापनमा नेपाल प्रहरी सक्रिय, लुटपाटमा संलग्न ३० भन्दा बढी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिबार कुरा गर्दै विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सङ्गठन अहोरात्र खटिएको बताएका हुन् । प्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ । बेपत्ता व्यक्तिहरूको खोजीका लागि अनलाइन माध्यमबाट निवेदन लिने व्यवस्था मिलाइएको र घाइतेहरूको विवरण प्रहरीको फेसबुक पेजमार्फत नियमित अद्यावधिक भइरहेको छ । हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको डीआईजी काफ्लेले बताए । यसैगरी, सम्पर्कविहीन विदेशी पर्यटकहरूको खोजी र विवरण संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा पर्यटक प्रहरी परिचालन गरिएको छ । नेपाल टेलिकमसँगको समन्वयमा बेपत्ता व्यक्तिहरूको अन्तिम लोकेसन ‘ट्याली’ गरी खोजी कार्यलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ । विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए । सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्लेले उल्लेख गरे । अवरुद्ध भएका मुख्य राजमार्गहरू खुलाउन प्रहरी टोली निरन्तर खटिएको र धादिङ लगायतका स्थानमा सडक सुचारु गराइएको पनि जानकारी दिए । नदी किनारमा रहेका शवहरूको पहिचानका लागि ड्रोन प्रयोग गरी खोजी कार्य भइरहेको उनले बताए । काठमाडौँको टिचिङ अस्पताल, पोखरा र चितवन लगायतका स्थानमा शव व्यवस्थापन र हस्तान्तरणको प्रक्रिया सुरु गरिएको छ । पहिचान हुन नसकेका शवहरूको हकमा नयाँ पारित कार्यविधिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । उद्धार र खोजी कार्यमा केही प्राविधिक र भौतिक चुनौती रहेको प्रहरीले जनाएको छ । खोला किनारको दलदलमा हिँड्न सहज हुने विशेष प्रकारका बुट, वायरलेस ट्रयाकिङ डिभाइस र कम्तीमा १०० केजी तौल बोक्न सक्ने क्षमताका ड्रोनहरू आवश्यक रहेको प्रवक्ता काफ्लेले बताए । प्रभावित क्षेत्रमा थप फरेन्सिक चिकित्सकहरूको आवश्यकता रहेको र शवलाई सुरक्षित राख्न ‘रेफ्रिजिरेटिङ कन्टेनर’ का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको उनले जानकारी दिए। हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको काफ्लेले बताए ।
नुवाकोटका देवचन्द्र रिजाल सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह
काठमाडौं । रसुवा गएका नुवाकोट विदुर नगरपालिका–२ निवासी देवचन्द्र रिजाल सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार रिजालसँग भदौ ९ गते राति करिब ८ देखि ९ बजेसम्म सम्पर्क भएको थियो। भदौ १० गतेदेखि उनीसँग कुनै पनि सम्पर्क हुन नसकेको परिवारले जनाएका छन्। परिवारका अनुसार बुधबार दिउँसो करिब १ बजेपछि उनको मोबाइल फोन बन्द भएको थियो। त्यसयता उनको अवस्था तथा उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। बुधबार रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भइरहेका बेला रिजालसँग पनि सम्पर्क विच्छेद भएको परिवारजनले बताएका छन्। उनलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी हुने व्यक्तिलाई परिवारजन तथा सम्बन्धित निकायलाई जानकारी गराइदिन परिवारले आग्रह गरेका छन्।
बाढीपीडितका लागि ग्यास उद्योग संघले १२ सय बढी सिलिन्डर सहयोग गर्ने
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगममार्फत लक्षित वर्गलाई ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । संघका अनुसार प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाउन सबै पक्षसँग अपिल गरिएको छ । संघले विपद् कुनै एक व्यक्ति वा संस्थाको मात्र समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई सम्बोधन गर्न ग्यास सहयोग गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढी प्रभावित परिवारसम्म राहत सामग्री छिटो र प्रभावकारी रूपमा पुर्याउन संघ प्रतिबद्ध रहेको बताएका छन्।
प्रहरीले बेवारिसे शवको व्यवस्थापन कसरी गर्दैछ ?
काठमाडौं । नेपाल प्रहरीले बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरीरका अंगहरूको व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ । प्रहरीले संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शव गृहको अभावका कारण शवहरू सड्न सुरू भएको जनाएको छ । रोगको सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रिएर दुर्गन्ध फैलने भएकाले सामूहिक शव व्यवस्थापन प्रक्रियालाई तीव्रता दिएको हो । चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको प्रहरीले बताएको छ । हालसम्म रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिममा ७५ जनाको गरी जम्मा ६ सय ६९ जनाको शव फेला परेको छ । विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा आंशिक अंगहरु आवश्यक सावधानीपूर्वक संकलन गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ । शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा डेड बडी ब्यागमा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार फरेन्सिक डाक्टरको उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरीन्छ । पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग र चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा आवश्यक पोस्टमार्टम परीक्षण हुन्छ । पोस्टमार्टम पश्‍चात शवहरूलाई पहिचानका लागि सुरक्षित रूपमा राखिएको तथा सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ । प्रहरीले फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू हेल्प डेस्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लास जाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरेको छ । पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेतरकोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी डीएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको प्रहरीले बताएको छ । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको जानकारी दिएको छ । शवलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेतरकोड नम्बरसहित शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेसन फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ। जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमूना, संकेत नम्बर, हुलिया, सनाखत सम्बन्धी विवरण, पोस्टमार्टम रिपोर्ट, लासजाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने प्रहरीले बताएको छ । भविष्यमा कुनै परिवार र आफन्तले आफ्नो सदस्यको रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्ने प्रहरीले जानकारी दिएको छ । बेवारिसे तथा पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको अफिसियल बेवसाइट राखिएको पहिचान नखुलेको शवहरूको विवरण आइकनबाट हेर्न सकिनेछ ।
एनसेलले बढायो निःशुल्क सञ्चार सेवा, १८ मोबाइल टावर पुनः सञ्चालनमा
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ। शनिबारदेखि लागू हुने गरी सेवा अवधि थपिएसँगै प्रभावित क्षेत्रका ग्राहकले थप एक सातासम्म यी सेवा निःशुल्क प्रयोग गर्न पाउने भएका छन्। यसअघि कम्पनीले बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, सबै नेटवर्कमा भ्वाइस कल र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त अवधि शुक्रबार सकिने भएपछि सेवा निरन्तरता दिँदै थप सात दिन विस्तार गरिएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार विपद्को समयमा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार तथा राहत वितरण र आपसी समन्वयका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रभावित समुदायलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको हो। एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कठिन परिस्थितिमा सञ्चार पहुँच कायम राखेर प्रभावित समुदायलाई सहयोग पुर्याउने प्रयास जारी रहने बताए। उनले यसले परिवारसँग सम्पर्क कायम राख्न र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे। १८ मोबाइल टावर पुनः सञ्चालनमा बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर एनसेलले पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार अझै प्रभावित रहेका अन्य ९ वटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको छ। यसअघि एनसेल फाउन्डेसनमार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि उपलब्ध गराएको थियो। साथै बाढी प्रभावित क्षेत्रमा सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न एसएमएस र सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।