अमेरिकाले रसुवा बाढी प्रभावितलाई ३६ लाख डलर सहायता गर्ने
काठमाडौं । अमेरिकाले रसुवा बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै सहायताबारे घोषणा गरेको हो । त्यस्तै, मन्त्रालयले बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपतकालीन खाद्यान्न उपलब्ध गराइने घोषणा गरेको छ ।
रसुवा बाढी अपडेट : ज्यान गुमाउनेको संख्या ७३४ पुग्यो
काठमाडौं । गत बुधबार (१० भदौ) मा रसुवा भोटेकोशीमा आएकोे विनाशकारी बाढीमा सम्पर्कविहीनमध्ये मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो । प्राधिकरणका अनुसार चितवनमा २५९ नवलपरासी पूर्वमा १८४, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पश्चिममा ८२, रसुवामा १३ र तनहुँमा ३६ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ ।
बाढीमा बेपत्ताको खोजी र उद्धारमा सरकारले सम्पूर्ण शक्ति परिचालन गर्दै, यथार्थ सूचना प्रवाहमा जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेर उपलब्ध सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताएका छन् । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको उनको भनाइ छ । सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग मन्त्रालयमै भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताए । उनले संकटको समयमा पीडित परिवारलाई उद्धारको अवस्थाबारे नियमित, यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनु राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गरे । उनले भने, ’परिवारजनसँग सम्पर्क नहुँदाको पीडा मैले महसुस गरिरहेको छु । हामीलाई प्रत्येक सेकेन्ड महत्वपूर्ण छ। नागरिक तथा कर्मचारीको जीवनरक्षाका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन । तर, काबुबाहिरको परिस्थितिमा सरकारले चाहेर पनि धेरै कुरा गर्न कठिन भइरहेको छ ।’ बाढीपछि मन्त्रालयले उद्धार, समन्वय तथा पुनःस्थापनाका लागि उपलब्ध स्रोतसाधन परिचालन गर्दै विभिन्न कमाण्ड तथा कार्यसंयन्त्रमार्फत काम गरिरहेको जनाएको छ । सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्यलाई तीव्रता दिइए पनि कठिन भौगोलिक अवस्था र जोखिमका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको मन्त्री श्रेष्ठले बताए । केन्द्रीय तहमा मन्त्रीले अन्तरमन्त्रालय समन्वय, सहजीकरण तथा आवश्यक स्रोत व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अन्य उच्च अधिकारीहरू फिल्डमै पुगेर उद्धार, पुनःस्थापना, समन्वय तथा स्रोत परिचालनको काममा खटिएका छन् । यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शनिबार राति बसेको बैठकमा मन्त्री श्रेष्ठले विपद्का समयमा उद्धार जत्तिकै प्रभावकारी सूचना प्रवाह र समन्वयलाई पनि प्राथमिकता दिनुपर्ने बताए । फिल्डमा खटिएका कर्मचारी, उद्धारकर्मी तथा सुरक्षाकर्मीले युद्धस्तरमा काम गरिरहे पनि त्यसको यथार्थ जानकारी समयमै सम्बन्धित परिवारसम्म पुग्न न पुग्दा पीडित परिवारमा पीडा र अन्योल थपिएको उनले बताए । उद्धार तथा पुनःस्थापनासम्बन्धी सूचना नियमित रूपमा परिवारसम्म पुर्याउने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले राहत तथा उद्धार सामग्री व्यवस्थापनका लागि स्पष्ट कार्यढाँचा निर्माण गरी वास्तविक आवश्यकता र उपलब्ध आपूर्तिबीच सन्तुलन कायम गर्नुपर्ने धारणा राखे । ऊर्जा मन्त्रालयले उद्धार कार्यसँगै बाढीबाट प्रभावित विद्युत् प्रणाली तथा आवश्यक पूर्वाधारको पुनःस्थापनालाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
उद्धार क्षेत्रमा अनुमतिबिना ड्रोन नउडाउन गृह मन्त्रालयको आग्रह, अटेर गरे कारबाही हुने
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा भइरहेको हेलिकप्टर उद्धार उडानमा अवरोध नपुर्याउन सरकारले स्थानीय प्रशासनको स्वीकृतिबिना ड्रोन नउडाउन आग्रह गरेको छ । गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार (भदौ १३) एक सूचना जारी गर्दै पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाए कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको हो । गत भदौ १० गते रसुवागढी नाका भई आएको बाढीले रसुवा र नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार कार्य निरन्तर भइरहेको छ । तर, केही व्यक्ति तथा संस्थाहरूबाट अनधिकृत रूपमा ड्रोन उडाइँदा हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भई हेलिकप्टर उडानमा बाधा पुगेको मन्त्रालयले जनाएको छ । हवाई सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै “मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५“ अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट अनिवार्य अनुमति लिएर मात्र ड्रोन उडान गर्न सर्वसाधारण तथा सरोकारवालाहरूमा सूचनामार्फत आग्रह गरिएको छ ।
शनिबार ३५ हजारले गरे नाडा अटो शो अवलोकन
काठमाडौं । भृकुटीमण्डपमा जारी १८ औँ संस्करणको नाडा अटो शो मा शनिबार अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको छ । आयोजकका अनुसार शनिबार मात्रै करिब ३५ हजारले अटो शोको अवलोकन गरेका छन् । मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन नै करिब ३० हजारले अवलोकन गरेका थिए । तर, बुधबार भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण अटो शोमा अवलोकनकर्ताको चहलपहल केही घटेको थियो । शुक्रबारदेखि भने पुनः अवलोकनकर्ताको संख्या बढ्न थालेको र शनिबार उत्साहजनक भीड देखिएको आयोजक संस्था नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले जनाएको छ । शनिबार सार्वजनिक बिदा भएकाले बिहानैदेखि नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको थियो । विशेषगरी नयाँ विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरका स्टलमा अवलोकनकर्ताको बढी चाप देखिएको थियो । यस वर्षको नाडा अटो शोमा नयाँ मोडल र नयाँ ब्रान्डको प्रवेशले पनि अवलोकनकर्ताको आकर्षण बढाएको छ । करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन् भने नाडा अटो शोमार्फत आधा दर्जनजति नयाँ अटोमोबाइल ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति जनाएका छन् । चारपांग्रे सवारीतर्फ ईभीमा विशेष आकर्षण देखिएको छ । नामी भिगो, नामी बक्स, नयाँ नेक्सन, पन्च ईभी, बीवाईडी एटो २, जेको जेफाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टी-वान, ओरा फाइभ, लीपमोटर बी०३ र प्रोटोन इमास फाइभलगायतका नयाँ मोडलका स्टलमा अवलोकनकर्ताको बाक्लो भीड देखिएको छ । ईभीको बढ्दो आकर्षणका बीच पेट्रोल सवारीसाधनप्रति पनि ग्राहकको चासो कायमै देखिएको छ । नयाँ सुजुकी ब्रेजा, जिम्नी र अल न्यू हुन्डाई भेन्यूलगायतका पेट्रोल गाडीमा पनि ग्राहकले चासोपूर्वक जानकारी लिइरहेका छन् । दुईपांग्रे सवारीतर्फ नेपालमै उत्पादन भएको यात्री पी, यामाहा एक्सएसआर १५५, यामाहा आर १५, यामाहा फासिनो, अप्रिलिया एसआर १७६ तथा एक्सट्रीम २५० आरलगायत नयाँ मोडल हेर्न र बुझ्न चाहनेको भीड देखिएको छ । हाइब्रिड सवारीतर्फ बीएआईसी बीजे३०ई, एमहिरो वान र बीवाईडी शार्कप्रति पनि अवलोकनकर्ताको चासो देखिएको छ । यसपटकको अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे ब्रान्डसहित ५३ वटा सवारी ब्रान्ड सहभागी छन् । त्यस्तै, अटो पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसहित २०० भन्दा बढी स्टल राखिएका छन् । नयाँ मोडलसँगै कम्पनीहरूले ल्याएका आकर्षक छुट, बुकिङ योजना तथा वित्तीय सुविधाले पनि ग्राहकलाई अटो शोमै सवारी खरिद गर्ने वातावरण बनाएको छ । विशेषगरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कार, नयाँ मोटरसाइकल तथा स्कुटरमा ग्राहकको चासो बढी देखिएको छ । भदौ १४ गतेसम्म सञ्चालन हुने भएकाले अन्तिम दिनसम्म अवलोकनकर्ताको संख्या अझ बढ्ने आयोजकको अपेक्षा छ । अटोमोबाइल व्यवसायमा आएको सुस्तताका बीच आयोजना भएको यस वर्षको नाडा अटो शोमा शनिबार देखिएको उत्साहले नेपाली अटो बजारमा ग्राहकको रुचि अझै बलियो रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ ।
त्रिशूली-३ ‘ए’ को सुरुङमा उद्धार टोलीले क्राउन भेट्टायो, भित्र अक्सिजन र क्यामेरा पठाइँदै
काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ । बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ । क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने प्रयास भइरहेको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्याउन यो प्रयास महत्वपूर्ण मानिएको छ । उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।
बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयोग
काठमाडौं । बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ अर्बभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का अनुसार विभिन्न ९ वटा वाणिज्य बैंकहरूमा रहेका कोषका खाताहरूमा हालसम्म रु ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ जम्मा भइसकेको छ । यसबाहेक हिमालयन र लक्ष्मी सनराइज बैंकमा वैदेशिक सहयोग स्वरूप थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर प्राप्त भएको छ । यसैबीच, प्रधानमन्त्री शाहले विपद्को यस संवेदनशील घडीमा संकलित रकमको पारदर्शी उपयोग र सम्भावित वित्तीय ठगी नियन्त्रणका लागि सरकारद्वारा जारी आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गरेका छन् । उनले ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’ नाममा रहेका आधिकारिक खाता तथा सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्यूआर कोड’ मार्फत मात्र सहयोग रकम जम्मा गरिदिन देश–विदेशमा रहेका सबै नागरिक एवं संघ-संस्थाहरूलाई अनुरोध गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनस्र्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको शनिबार (भदौ १३ गते) बसेको कार्यकारी परिषद्को बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलब भुक्तानी गर्दा निश्चित प्रतिशत/दिन बराबरको रकम कट्टा गरी उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ । निर्णयअनुसार उपकुलपति, रजिस्ट्रार, सबै डीन र परीक्षा नियन्त्रकबाट एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, सबै निर्देशक र सहायक डीनबाट आधा महिनाको तलब बराबरको रकम कट्टा हुनेछ । प्राध्यापक तथा प्रशासक, सह-प्राध्यापक तथा सह-प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिनेछ । उप-प्राध्यापक तथा उप-प्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा हुनेछ । त्यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरिने विश्वविद्यालयले जनाएको छ । भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । सो घटनाप्रति दुःख तथा समवेदना व्यक्त गर्दै विश्वविद्यालयले प्रभावित परिवार तथा समुदायको राहत र पुनस्र्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो । विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुविर सिंहद्वारा जारी अत्यन्त जरुरी सूचनामा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत र पुनस्र्थापना कार्यमा स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्ने विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीप्रति धन्यवादसमेत व्यक्त गरिएको छ ।