काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा भइरहेको हेलिकप्टर उद्धार उडानमा अवरोध नपुर्याउन सरकारले स्थानीय प्रशासनको स्वीकृतिबिना ड्रोन नउडाउन आग्रह गरेको छ ।
गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार (भदौ १३) एक सूचना जारी गर्दै पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाए कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको हो ।
गत भदौ १० गते रसुवागढी नाका भई आएको बाढीले रसुवा र नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार कार्य निरन्तर भइरहेको छ ।
तर, केही व्यक्ति तथा संस्थाहरूबाट अनधिकृत रूपमा ड्रोन उडाइँदा हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भई हेलिकप्टर उडानमा बाधा पुगेको मन्त्रालयले जनाएको छ ।
हवाई सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै “मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५“ अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट अनिवार्य अनुमति लिएर मात्र ड्रोन उडान गर्न सर्वसाधारण तथा सरोकारवालाहरूमा सूचनामार्फत आग्रह गरिएको छ ।