निजी चिस्यान केन्द्रमा पनि शव राख्न सकिने
काठमाडौं । नेपाल सरकारले विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिहरूको शव भण्डारण तथा व्यवस्थापनलाई व्यवस्थित र सहज बनाउन ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गरेको छ । नयाँ संशोधित नियमावलीअनुसार विपद्मा परी ज्यान गुमाउने व्यक्तिहरूको शव प्राथमिकताका साथ सङ्घीय, प्रादेशिक वा स्थानीय तहका सरकारी अस्पताल, सामुदायिक अस्पतालका शव भण्डारण कक्ष वा सरकारी तथा सामुदायिक रूपमा सञ्चालित शवगृहमा राखिनेछ । तर, विपद्को संकटपूर्ण स्थितिमा सरकारी वा सामुदायिक अस्पतालका शवगृहले मात्र नपुग्ने अवस्था आएमा जिल्ला विपद् व्यवस्थापन समितिले विकल्पका रूपमा निजी अस्पतालका शवगृह, सरकारी वा निजी क्षेत्रबाट सञ्चालित चिस्यान केन्द्र (कोल्ड स्टोर) तथा अस्थायी शव भण्डार कक्षको व्यवस्था गरी शव भण्डारण गर्न सक्ने कानुनी बाटो खुलेको छ । नियमावलीमा भएको व्यवस्था अनुसार यसरी शव भण्डारण गर्दा लाग्ने आवश्यक सम्पूर्ण खर्च जिल्ला विपद् व्यवस्थापन कोषबाट भुक्तानी गरिनेछ । यसैगरी, नियमावलीमा निजी क्षेत्रबाट सञ्चालित चिस्यान केन्द्रहरूमा शव भण्डारण गर्दा वा ती चिस्यान केन्द्र प्रयोग गरेबापत रकम भुक्तानी गर्दा नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गरिदिनुपर्ने दायित्व तोकिएको छ । विपद्का समयमा हुन सक्ने ठूलो मानवीय क्षति र शव व्यवस्थापनमा आउन सक्ने जटिलतालाई सम्बोधन गर्न यो नयाँ प्रबन्ध मिलाइएको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनआईएमबीको ४ करोड १ लाख सहयोग
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै उक्त सहयोग गरेको जनाएको छ । बैंकका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकसँग साथमा रहँदै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पु‍र्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराइएको हो । एनआईएमबीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा जारी
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । अब भने राहत तथा उद्धार कार्यलाई सहज बनाउन उक्त सुविधा थप समयसम्म निरन्तरता दिइने भएको हो । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा उपयोग गर्न आग्रह गरेको छ । विपद्का कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अधिकांश क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सुचारु गर्ने काम भइरहेको छ । विपद्को कठिन अवस्थामा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्त तथा उद्धार र राहतमा खटिएका निकायसँग सञ्चार सम्पर्क कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने नेपाल टेलिकमको विश्वास छ ।
ग्राहकको निक्षेप र सुनचाँदी बाढीले बगाएपछि बैंकर चिन्तित, धमाधम भेटिँदै भल्ट
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) धादिङमा फेला परेको छ । मलेखु खोलाको किनारमा बाढीले थुपारेको अवस्थामा भल्ट भेटिएपछि सुरक्षाकर्मी र उद्धारकर्ताले त्यसलाई निकालेर जिल्ला प्रशासन कार्यालयमा सुरक्षित राखेका छन् । बाढीको बहावसँगै बैंकका संरचना, नगद तथा अन्य महत्वपूर्ण सामग्री नदीमा बगेका थिए । त्यही क्रममा बगेको भल्ट धादिङको मलेखु खोलाको पारी किनारमा फेला परेको हो । भल्ट भेटिएपछि त्यसलाई सुरक्षित रूपमा निकालेर प्रशासनको जिम्मामा राखिएको प्रहरीले जनाएको छ । यसअघि पनि रसुवाबाट बाढीले बगाएर ल्याएको एउटा बैंकको भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो । उक्त भल्ट स्थानीय केही व्यक्तिले फुटाएर त्यसमा रहेको रकम आपसमा बाँडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म ९२ लाख बढी रुपैयाँ बरामद भएको सुरक्षा निकायले जनाएको छ । भल्टबाट निकालिएको भनिएको रकम अझै सबै फेला परिसकेको छैन । घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा उनीहरूसँग रहेको रकम खोजी गर्ने काम जारी छ । बाढीले बैंकका संरचना नै बगायो गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीले रसुवा र नुवाकोट क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पु¥याएको थियो । बाढीले ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकका शाखा कार्यालय बगाएको बताइएको छ । बैंकका कार्यालय नै नदीमा मिसिएपछि त्यहाँ रहेको नगदसँगै ग्राहक तथा ऋणीहरूले धितोका रूपमा राखेका सुनचाँदीलगायतका सामग्री पनि बाढीको बहावमा परेका थिए । भल्टजस्ता अन्य सामान समेत नदीले बगाएपछि ती सामग्री कहाँ पुगे भन्ने यकिन गर्न सुरक्षा निकायलाई चुनौती छ । बाढीमा परी ७ वटा वाणिज्य बैंकका २७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ । बैंकिङ संरचनामा भएको क्षतिको वास्तविक अवस्था र बाढीले बगाएका नगद तथा अन्य सम्पत्तिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ । पहिलो भल्ट भेटिएपछि रकम बाँडेको आरोप धादिङको गल्छी क्षेत्रमा यसअघि फेला परेको भल्ट स्थानीयले फुटाएर रकम बाँडेको विषय सार्वजनिक भएपछि घटनाले थप गम्भीर रूप लिएको थियो । धादिङ क्षेत्र नम्बर १ की रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत उक्त घटनाबारे प्रश्न उठाउँदै अनुसन्धान र खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएकी थिइन् । सांसद तामाङले गल्छीका एक वडाध्यक्षको नेतृत्वमा करिब ३५ जनाले भल्ट फुटाएर त्यसमा रहेको करिब १ करोड ८० लाख रुपैयाँ बाँडेको दाबी गरेकी थिइन् । उनको दाबीपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो । त्यसपछि सुरक्षा निकायले बाढीले बगाएका बैंकका भल्ट तथा अन्य सामग्रीको खोजीलाई तीव्र बनाएको हो । सोही क्रममा मलेखु खोलाको किनारमा अर्को भल्ट फेला परेको हो । बाढीले बगाएका भल्टको खोजी जारी बैंकका कार्यालय तथा भल्ट नदीमा बगेपछि त्यसमा रहेको नगद र धितोको सुरक्षालाई लिएर बैंकिङ क्षेत्रसमेत चिन्तित बनेको छ । प्राकृतिक विपत्तिका कारण बैंकको भौतिक संरचना नष्ट भए पनि त्यसमा रहेको रकम तथा ग्राहकको धितोको हिसाब–किताब सुरक्षित राख्नु सम्बन्धित निकायका लागि अर्को चुनौती बनेको छ । प्रहरीले फेला परेका भल्ट तथा त्यसमा हुन सक्ने सामग्रीलाई कानुनी प्रक्रियाअनुसार सुरक्षित राखेर अनुसन्धान अघि बढाइरहेको जनाएको छ । यसअघि फेला परेको भल्टबाट रकम निकालेर लैजाने घटनामा पक्राउ परेकामाथि अनुसन्धान भइरहेकै बेला अर्को भल्ट भेटिएपछि बाढीले बगाएका बैंकिङ सम्पत्तिको खोजी थप महत्वपूर्ण बनेको छ । प्रहरीका अनुसार भल्ट फुटाएर रकम लिएको आरोपमा पक्राउ परेकाबाहेक घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको समेत खोजी भइरहेको छ । साथै, बाढीले बगाएका बैंकका अन्य भल्ट तथा नगदसम्बन्धी विवरणसमेत खोजी गर्ने कार्य जारी छ ।
एकैदिन सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले घट्यो
काठमाडाैं । नेपाली बजारमा आइतबार (आज) सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो । आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
बाढीपीडितको सहयोगका लागि नेकपाले २५ लाख रुपैयाँ प्रदान गर्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाकाअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सहायता पुर्याउने उद्देश्यले सो रकम सहयोग गर्ने निर्णय भएको हो । नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ । विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै प्रवक्ता ज्वालाले उक्त निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने– ढुक्क हुनूहोस्, स्रोतको अभाव हुन दिनेछैनौं
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुगेका थिए । विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिए । सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए । उनले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए । उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उनले दिए । सोही क्रममा उनले बाढीग्रस्त क्षेत्रमा तत्काल बेलिब्रिज आवश्यक रहेको बताए । अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनस्र्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महसुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गरे । त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र र राहत सामग्री सङ्कलन एवम् वितरण केन्द्रको निरीक्षण गरे । यसलगत्तै उनले नेपाली सेनाको उद्धार केन्द्रमा आफन्तजन खोज्दै आएका पीडित परिवारजनलाई भेटेर उनीहरूका समस्या सुने । नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्य फसेको भन्दै उनीहरूको उद्धारका लागि परिवारजनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराए । सो क्रममा अर्थमन्त्रीले नेपाली सेनाबाट भएको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको भन्दै परिवारजनलाई उद्धार हुने कुरामा नेपाली सेना र अन्य सुरक्षाकर्मीमाथि विश्वास गर्न आग्रह गरे । त्यसलगत्तै अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त भएको ढुङ्गे बजार पुगे । त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उनले पीडित परिवारसँग क्षतिको अवस्था र सरकारले गर्नुपर्ने कामबारे सुझाव लिए । तत्पश्चात् अर्थमन्त्री वाग्ले बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुगे । त्यहाँ पुगेर उनले बाढीले पु‍र्याएको क्षतिको अवलोकन गर्दै पीडामा रहेका स्थानीयलाई भेटेर सरकार साथमा रहेको ढाडस दिए । सरकारले हराएका आफन्तको खोजी, राहत, उपचार र पुनःस्थापनामा कुनै कसर बाँकी नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता व्यक्त गरे । त्यसपछि उनले गल्छी-रसुवागढी सडकखण्ड अन्तर्गतको देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गरे । सँगै उनले तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयहरूलाई भेटेर उनीहरूका समस्या सुने । बाढीबाट बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयहरूसँग भेटघाट गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे पनि अर्थमन्त्रीले जानकारी लिए । उनीहरूलाई थप स्वास्थ्य लाभको कामना गर्दै अर्थमन्त्री वाग्लेले सरकारले उचित पुनस्र्थापना गर्ने बताए । साथै स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि भेट गरेर अर्थमन्त्री वाग्लेले स्रोतसाधनको उपलब्धताबारे जानकारी लिए । त्यसपछि अर्थमन्त्री डा.वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनःस्थापनाको समन्वयका लागि छलफल गरे । जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा बोलाइएको छलफलमा उनले केन्द्र सरकारबाट कुनै पनि खाले स्रोतको अभाव नहुने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद्पछिको प्रतिकार्यमा लाग्न आग्रह गरे । केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउने भन्दै उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची जनतालाई विपद्‌मा कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न आग्रह गरे । त्यसपछि उनी दिनभरको उद्धार, राहत र पुनःस्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ हुने नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगे । सो क्रममा विपद्पछिको उद्धारमा खटिनु भएका गृहमन्त्री सुदन गुरुङ, सञ्चार मन्त्री बिक्रम तिमल्सिना र नेपाली सेनाका उच्च अधिकारीहरूले गरेको ब्रिफिङ सुनेका थिए ।
त्रिशूली–३ ‘बी’ मा उद्धार तीव्र, सेनासहित प्राविधिक टोली घटनास्थलमा
काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालन भएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजीसम्बन्धी काम सुरु गरेको हो । घटनास्थल पुगेको टोलीले आयोजनाको भौगोलिक र प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी सम्भावित जोखिमको आकलन गर्दै उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको जनाइएको छ । उद्धारमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको छ । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको आयोजनाले जनाएको छ । टोलीले स्थलको अवस्थाअनुसार उद्धार कार्यको रणनीति तय गर्दै जोखिम न्यूनीकरणमा समेत विशेष ध्यान दिएको छ ।