विकासन्युज

४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तीब्रता दिएको छ । सेनाको हवाई टोलीले आइतबार अपराह्न ३ बजेसम्म १६ जना विदेशी नागरिकसहित कुल ४०९ जनाको सफल उद्धार गरेको छ । उद्धार गरिएका विदेशी नागरिकहरूमा १५ जना चिनियाँ र १ जना भारतीय रहेका छन् ।  यसैबीच, त्रिशूली–३ जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेका व्यक्तिहरूको उद्धारका लागि विशेष टोली निरन्तर परिचालित छ ।  गत भदौ १२ गतेदेखि अस्थायी रूपमा बेस क्याम्प खडा गरी खटिएको विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटर जस्ता उपकरणहरूको प्रयोग गरी ‘क्राउनहेड’ फेला पार्न सफल भएको छ । सुरुङमा गरिएको प्वालबाट अवलोकन गर्दा ७ मिटरको डायमिटरमा पानीको सतह निकै माथिसम्म देखिएको प्राविधिक टोलीले जनाएको छ ।  बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विभिन्न जिल्लाहरूमा नेपाली सेनाले ठूलो संख्यामा फौज परिचालन गरेको छ।  हालसम्म करिब ८ हजार ५ सयभन्दा बढी सैन्य जनशक्ति अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा राहत तथा उद्धार कार्यमा सक्रिय रहेका छन् ।  सेनाले प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा उद्धार र सहयोग कार्यलाई निरन्तरता दिइरहेको छ । – न्यूज एजेन्सी नेपाल

बाढीपीडितका लागि एनसीसीएस ग्रुपको १० लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु‍र्याउन एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त रकम प्रदान गरेका हुन् ।  नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन् । भोटेकोशी बाढीबाट रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।  एनसीसीएस ग्रुपले पनि विपद्को समयमा प्रभावित परिवारलाई राहत र पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ । विगत साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको एससीसीएस ग्रुपले जनाएको छ । ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था एनसीसीएस कलेज पकनाजोलमा सञ्चालनमा रहेको छ र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । विद्यार्थीलाई डिग्री हासिल गराउने मात्र नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासमा समेत केन्द्रित हुँदै आएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट उपत्यकामा ग्यास र इन्धन ल्याइँदै

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा वैकल्पिक मार्गबाट एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाएको छ । भाद्र १४ गते अर्थात् आइतबार त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक कटान गरेपछि यातायात तथा ढुवानी सेवा प्रभावित भएको हो ।  मुख्य राजमार्ग नै अवरुद्ध भई ढुवानीमा समस्या उत्पन्न भएपछि निगमले ग्यास उद्योगीहरूसँग छलफल गरी आपूर्ति सुचारु गर्ने नयाँ विकल्प तय गरेको हो ।  निगमका अनुसार अब काठमाडौं तथा आसपासका क्षेत्रमा ग्यास बिक्री वितरण गर्ने उद्योगहरूले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायत आफूलाई पायक पर्ने जिल्लाका ग्यास उद्योगहरूसँग समन्वय गर्नेछन् । ती स्थानका उद्योगहरूमा आ-आफ्ना ग्यास बुलेट खाली गराई सिलिन्डर रिफिल गरिनेछ । कृष्णभीरको बाटो पूर्ण रूपमा नखुलेसम्म यसरी रिफिल गरिएका सिलिन्डरहरू ट्रकमार्फत वैकल्पिक बाटो हुँदै काठमाडौं उपत्यकामा ल्याएर बिक्री वितरण गरिने व्यवस्था मिलाइएको छ । यसैगरी, एलपी ग्यासका साथै अन्य पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर र ट्रकहरूलाई समेत स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंसम्म ल्याउने र आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने निगमले जनाएको छ ।

अनुमति दिए बाढी प्रभावित क्षेत्रमा स्टारलिंकको निःशुल्क इन्टरनेट प्रस्ताव, के भन्छ सरकार ?

काठमाडौं । रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हालै आएको विनाशकारी बाढीले दूरसञ्चार पूर्वाधारमा पुर्‍याएको क्षतिपछि उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय भू-उपग्रह इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले निःशुल्क सेवा दिने प्रस्ताव गरेको छ ।  कम्पनीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नेपाल सरकार तथा मानवीय सहायता साझेदारहरूसँग सहकार्य गरी उपकरण र इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ ।  सडक, पुल र मोबाइल टावर अवरुद्ध भएको विषम परिस्थितिमा बिजुली र खुला आकाश पाउनेबित्तिकै मिनेटभरमै सञ्चालन गर्न सकिने यो सेवाले उद्धार कार्य र सम्पर्क पुनःस्थापनामा सहयोग पुग्ने स्टारलिंकको दाबी छ ।  यद्यपि, नेपाल सरकारले भने अनुमति दिएपछि मात्रै यो सेवा सुरु गर्न सकिने बताएको छ । नेपाल सरकार तथा सञ्चार मन्त्रालयले भने विपद्का बेला तत्कालका लागि विदेशी दूरसञ्चार कम्पनीको आवश्यकता नरहेको स्पष्ट पारेको छ ।  सञ्चार मन्त्रालयका अधिकारीहरूका अनुसार हालको मुख्य समस्या टावरहरूमा विद्युत् आपूर्ति नहुनु हो, जसका लागि जेनेरेटर र इन्धन ब्याकअपको प्रयोग भइरहेको छ ।  साथै, निजी तथा फाइबर सेवाप्रदायकहरूले ९० प्रतिशतभन्दा बढी क्षेत्रमा सेवा सुचारु गरिसकेका छन् ।शतप्रतिशत वैदेशिक लगानीमा नेपाल प्रवेश गर्न चाहेको स्टारलिंकले विपद्को बहाना बनाएर आउन खोजेको आशङ्का मन्त्रालयको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालको प्रचलित कानुनबमोजिम २० प्रतिशत स्थानीय साझेदार राखेर प्रक्रियागत रूपमा स्टारलिंक आउने बाटो भने सधैं खुला छ । यसैबीच, प्रभावित क्षेत्रमा स्वदेशी दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम र एनसेलले सञ्चार सेवा पुनःस्थापनाको कामलाई तीव्रता दिएका छन् ।  रसुवा, नुवाकोट र धादिङका कुल १२० वटा साइटमध्ये नेपाल टेलिकमका ९४ वटा टावरहरू पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी २६ वटा टावरमा विद्युत् अभाव र इन्धन ढुवानीको कठिनाइका कारण सेवा रोकिएको छ ।  मौसमको प्रतिकूलताका बिच प्राविधिक टोलीहरू खटिएका छन् । उता निजी सेवा प्रदायक एनसेलले पनि अवरुद्ध भएका २७ मध्ये २१ टावरहरू सञ्चालनमा ल्याइसकेको छ ।  दुवै कम्पनीहरूले बाँकी भौतिक क्षति पुगेका तथा फाइबर काटिएका स्थानहरूमा छिट्टै सेवा पूर्ण रूपमा सुचारु गर्ने प्रतिबद्धता जनाएका छन् ।   

नाडा अटो शोको अन्तिम ३ घण्टाको टिकट बिक्रीबाट उठेको रकम बाढीपीडितलाई

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जारी नाडा अटो शोको अन्तिम तीन घण्टाको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढी तथा पहिरोपीडितको राहतमा सहयोग गर्ने घोषणा गरेको छ । नाडाका अनुसार आज साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सबै टिकटको रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगमा खर्च गरिनेछ । देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा अटो शोको अन्तिम समयलाई राहत अभियानसँग जोड्ने निर्णय गरिएको नाडाले जनाएको छ । नाडाका प्रतिनिधिले अटो शोमार्फत सवारीसाधन र प्रविधिको उत्सव मनाइरहँदा देशका विभिन्न भागमा नागरिकहरू प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै अन्तिम तीन घण्टामा संकलन हुने टिकट शुल्क पीडितको सहयोगमा समर्पित गर्ने बताए । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी हुँदै राहत अभियानमा योगदान पु‍र्याउन नाडाले सर्वसाधारणलाई अपिल गरेको छ ।  संकलित रकम आधिकारिक राहत कोषमार्फत निष्पक्ष र पारदर्शी ढंगले प्रभावित क्षेत्रका पीडितसम्म पु‍र्याइने नाडाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा थप ७ स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा मोबाइल सेवा सुचारु गरेको छ । यससँगै प्रभावित क्षेत्रमा अवरुद्ध भएका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका अनुसार आज सञ्चालनमा आएका साइटमा रसुवाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी बीटीएस साइट रहेका छन् । रसुवा बोर्डर बीटीएस सञ्चालनमा आएसँगै नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । त्यस्तै, अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोङदिमो गाउँपालिका–५ लगायतका क्षेत्रमा सेवा उपलब्ध हुनेछ ।  छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको टेलिकमले जनाएको छ । जिपजिपे साइटबाट कालिका गाउँपालिका–२ र ५, धारापानी तथा देउरालीडाँडामा सेवा पुगेको छ ।  गत्लाङ बीटीएस सञ्चालनमा आएसँगै गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलाभार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा उपलब्ध भएको छ । यसैगरी, चारघरे तथा चारघरे मुलाबारी बीटीएस सञ्चालनमा आएपछि नुवाकोटको विदुर नगरपालिका–१२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ । विपद्का कारण प्रभावित नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा २० स्याटेलाइट फोन

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना तथा सञ्चार सम्पर्कलाई थप सहज बनाउन २० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । उपलब्ध गराइएका फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ ।  यी स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । सामान्य दूरसञ्चार नेटवर्कको पहुँच नपुग्ने दुर्गम तथा प्रभावित क्षेत्रमा समेत स्याटेलाइटमार्फत फोन र एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले विपद्का बेला यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ । सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार, राहत तथा समन्वयमा समस्या हुने भएकाले स्याटेलाइट फोनको प्रयोगले उद्धार टोली, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच तत्काल सूचना आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विपद्का समयमा अत्यन्त उपयोगी मानिने स्याटेलाइट फोन प्रविधि महँगोसमेत हुने भएकाले आईटीयूबाट प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सञ्चार प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

बाढीको छायामा नाडा अटो शो

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल झिलिमिली छ । बाहिर खासै भीड देखिँदैन, भित्र केही मानिसहरूको चहलपहल छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को १८औं संस्करण र स्थापनाको ५०औं वर्षगाँठ (स्वर्ण जयन्ती) का अवसरमा आयोजित यो मेला बाढीको छायामा परेकाे छ । अटो व्यवसायीहरूले यसपटकको नाडा अटो शोलाई निकै ठूलो तडकभडक र लगानीका साथ सुरु गरेका थिए । पाँच दशकको इतिहासलाई उत्सवका रूपमा मनाउने योजना थियो । मंगलबार मेलाको विधिवत उद्घाटन हुँदा व्यवसायीहरूमा बेग्लै उत्साह थियो । तर, त्यो उत्साह २४ घण्टा पनि टिक्न पाएन । बुधबार बिहानै विपत्तिले नेपालको अटोमोबाइल क्षेत्रलाई मात्र होइन, सिंगो देशलाई नै शोकमा डुबायो । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नाडा अटो शोको रौनकलाई खल्लो बनाइदियो । बाढीले नाडाको रौनकमा मात्र धक्का दिएन, नेपालमा ईभी भित्रिने मुख्य मार्ग रसुवागढी नाका नै तहसनहस बनाइदियो । अटो व्यवसायीहरूका अनुसार रसुवागढी नाकामा रहेका करिब ८ सय वटा नयाँ गाडीहरू बाढीले बगाएको छ । स्टलमा बसेका एक व्यवसायी भावुक हुँदै भन्छन्, ‘भृकुटीमण्डपमा त गाडीको शो मात्र भइरहेको छ । हाम्रो ध्यान त उतै रसुवा र नुवाकोटतिर छ । देश रोइरहेको बेला हामी यहाँ मुस्कुराएर व्यापार गर्न सकिरहेका छैनौं ।’  व्यवसायीहरूका अनुसार कतिपय गाडीहरू बाढीले बगाएर कता पुर्‍यायो पत्तो छैन । कतिपय हिलोले पुरिएका छन् । यो क्षति अटोमोबाइल क्षेत्रका लागि अपूरणीय छ । नाडाका कोषाध्यक्ष पंकज अग्रवालका अनुसार मेलाको सुरुवाती दिनहरूमा उत्साहजनक सहभागिता थियो । पहिलो दिन ३० हजार र शनिबार ३५ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रह्यो । व्यापारिक दृष्टिले बुकिङ पनि राम्रो भयो । तर, देशमा परेको ठूलो विपत्तिका कारण आयोजकले मेलालाई उत्सवका रूपमा मनाउन सकेनन् । विपत्तिका कारण नाडाले मेलाका सबै प्रचारप्रसारका कार्यक्रमहरू बीचमै रोकेको थियो । ठूलो भौतिक संरचना तयार भइसकेकाले र करोडौंको लगानी भइसकेकाले मेला स्थगित गर्न सम्भव थिएन, तर समापन समारोहसमेत नगरेर नाडाले राष्ट्रिय शोकप्रति ऐक्यबद्धता जनायो ।  ‘२०७२ को भूकम्पपछिकै यो सबैभन्दा ठूलो विपत्ति हो, यस्तो बेला हाम्रो मन यहाँ मेलामा हुनै सकेन,’ अग्रवालले थपे । विपत्तिका बाबजुद पनि उपभोक्ताहरूको ध्यान भने विद्युतीय गाडीले खिचेको देखियो । नाडा अटो शोमा सधैं झैं यसपटक पनि बीवाइडी सबैभन्दा बढी आकर्षणको केन्द्र बन्यो ।  बीवाइडीले एटो १, एटो २, एटो ३, सार्क सिक्स र सिलायन सेभेन जस्ता मोडलहरू प्रदर्शनमा राखेको थियो । कम्पनीका अनुसार यीमध्ये हालै सार्वजनिक भएको एटो २ लाई ग्राहकले सबैभन्दा बढी मन पराएका छन् । मेला अवधिभर बीवाइडीले ८ सय भन्दा बढी गाडीको बुकिङ लिन सफल भएको छ, जुन यो मन्दीको बजारमा उत्साहजनक उपलब्धि हो । त्यस्तै, टाटाको स्टलमा पनि ग्राहकको बाक्लो उपस्थिति रह्यो । टाटाले पन्च ईभी, नेक्सन ईभी, टियागो ईभी र नेपालमै पहिलोपटक सिएरा ईभी प्रदर्शनमा राखेको थियो । सिप्रदी ट्रेडिङका अनुसार पन्च ईभीको बुकिङ सोचेभन्दा बढी भएको छ । टाटाको नयाँ प्लेटफर्ममा बनेको पन्च ईभीले मध्यम वर्गीय परिवार र युवा पुस्तालाई निकै आकर्षित गरेको पाइएको छ । यस वर्षको अटो शोमा चिनियाँ ब्राण्डहरूको बाहुल्यता देखियो । नयाँ ब्राण्ड चेरी ले ग्राहकको निकै ध्यान तान्यो । ओमोडा र जेकोमार्फत नेपाल भित्रिएको यो ब्राण्डका नाडा अटो शोमा ५ सय ५० भन्दा बढी गाडीहरू बुकिङ भइसकेका छन् । आधुनिक फिचर र आकर्षक डिजाइनका कारण चेरीले नेपाली सडकमा आफ्नो बलियो उपस्थिति देखाउने संकेत गरेको छ । त्यस्तै, एमएडब्लु वृद्धि मोटर्सले ल्याएको दिपल ब्राण्डमा पनि ग्राहकको घुइँचो थियो । दिपलको नेभो क्यु जिरो फाइभ र दिपल एस०५ मोडललाई अवलोकनकर्ताले निकै चासोका साथ हेरेका थिए । नामी ब्राण्डको नामी बक्स इ२ मा पनि ग्राहकको उत्तिकै रुचि देखियो । स्कोडा, सुजुकी, लिपमोटर, जीडब्लुएम, प्रोटोन इमास र स्काईवेल लगायतका ब्राण्डका स्टलहरूमा पनि ग्राहकको सक्रिय सहभागिताले नेपाली बजार बिस्तारै ईभीमय बन्दै गएको पुष्टि गर्छ । मेलामा गाडीको बुकिङ राम्रो भए पनि व्यवसायीहरूका अगाडि अब अर्को ठूलो चुनौती खडा भएको छ । गाडीको डेलिभरी । देशभरका प्रमुख राजमार्गहरू बाढी र पहिरोले क्षतिग्रस्त भएका छन् । रसुवागढी नाका ठप्प छ । चीनबाट आउन ठिक्क परेका र नाकामा आइपुगेका सयौं गाडीहरू उतै रोकिएका छन् । व्यवसायीहरूका अनुसार ग्राहकलाई गाडी हस्तान्तरण गर्न अहिलेको सडक पूर्वाधार बाधक बनेको छ । एकातिर गाडीको अभाव र अर्कोतिर सडकको दुरावस्थाले गर्दा बुकिङ भएका गाडीहरू समयमै पुर्‍याउन कठिन हुने देखिएको छ ।  यदि बाढी नआएको भए नाडा अटो शो २०२६ एउटा ऐतिहासिक संस्करण बन्न सक्ने आयाेजकले जनाएकाे छ । ५०औं वर्षगाँठको उत्साह, नयाँ प्रविधिको आगमन र ईभीप्रतिको बढ्दो आकर्षणले अटो बजारमा नयाँ आशा जगाएको तर बाढीले यसपटककाे नाडा अटाे शाेलाई खल्लो बनाइदिएकाे आयाेजककाे भनाइ छ ।