विकासन्युज

कृष्णभीरको सडक पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएको छ । लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो ।  सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ ।  विभागको प्राविधिक टोलीले सो स्थानको भौगोलिक अवस्था र सडक भासिनुको कारणबारे विस्तृत अध्ययन सुरु गरेको जनाएको छ ।  अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ ।  सडक भासिएका कारण सो क्षेत्रमा यातायात आवागमन समेत प्रभावित भएको छ ।  भदौ १० गते रसुवा हुँदै आएको भोटेकोशी बाढी र धादिङ त्रिशूली नदीको कटानका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।

२ हजार ४९८ जना अझै सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ ।  परराष्ट्र मन्त्रालयले आइतबार (आज) दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।  प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २  हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए ।  उनका अनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ ।  उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए । उनले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविही अवस्थामा रहेको समेत जानकारी दिए ।  सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमातासहित परिचालित रहेको बताए ।  उनले बाढी प्रभावित नागरिकको विवरण परराष्ट्र मन्त्रालय, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट हेर्न सकिने समेत बताए । उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सुरक्षा निकायसहितको सहकार्यमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाहरूमा खोज, उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए ।  सचिव राईले यस कठिन समयमा सरकार र सरकारसँग संयन्त्रहरुले मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर सम्पर्क र सहकार्य गरिरहेको पनि बताए ।  उनले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रल रुममार्फत सम्पर्कविहीन भएका नागरिकका परिवार सम्बन्धीत देशका नियोगहरूसँग निरन्तर रूपमा सम्पर्क गरिरहेको समेत जानकारी दिए । उनले हालसम्म भारत, चीन, युएई लगायतका देशहरूबाट राहत सामग्री प्राप्त गरिसकेको बताए ।  सचिव राईले यसबीच प्रधानमन्त्री बालेन्द्र साह र परराष्टमन्त्री शिशिर खनालले विभिन्न छिमेकी देशका समकक्षीहरूसँग फोनवार्ता गरेको समेत जानकारी दिए । 

सुरुङभित्र फसेकाको उद्धारमा जुट्यो ९० जनाको टोली

नुवाकोट । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले तीव्र प्रयास अघि बढाएको छ ।  सुरुङभित्र पुग्न सहज बनाउन नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्ने तयारीसहित प्वाल फराकिलो पार्ने काम अघि बढाएका छन् । उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालित छ । टोलीले यसअघि दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २ बाई ३ फिटको प्वाल बनाएको थियो ।  त्यसपछि डोरीको सहायताले उद्धार टोलीका सदस्य सुरुङभित्र तल झरेर फसेका मानिसलाई बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ । उद्धारलाई थप सहज र तीव्र बनाउन अहिले ठूला उपकरण परिचालन, प्वाल फराकिलो पार्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारी एकसाथ अघि बढाइएको छ ।   कठिन तथा जोखिमपूर्ण भौगोलिक अवस्थाबीच पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली उद्धार प्रयासमा जुटिरहेको छ ।

बाढीपीडितलाई ग्यास उद्योग संघले १ हजार २५० सिलिन्डर दिने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट उक्त सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै संघले दुःख व्यक्त गरेको छ ।  संघले विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यस्तै, संघले घाइतेहरूको शीघ्र उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । विपद्का कारण प्रभावित नागरिकको दैनिक जीवन कठिन बनेको अवस्थामा तत्काल आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न निकाय मानवीय सेवामा जुटिरहेका छन् ।  यही परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रबाट राहत सहयोग गर्ने उद्देश्यले ग्यास सिलिन्डर उपलब्ध गराउन लागेको संघले जनाएको छ ।

अर्घाखाँची सिमेन्टले बाढीपीडितका लागि दियो १ करोड ११ लाख

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट अर्घाखाँची सिमेन्ट लिमिटेडका सञ्चालक पशुपति मुरारकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा व्यवसायीहरू राजेश अग्रवाल, मनोज केडिया लगायतको उपस्थिति रहेको थियो । कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत घोषणा गरिएको १ करोड ११ लाख रुपैयाँ सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास लिइएको छ ।

रास्वपा नेता शाक्य भन्छन्– आशिकाले आफ्नो शैली सुधार्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङका नेता डा. कृष्णमान शाक्यले पार्टीकी सांसद आशिका तामाङले नागरिकका समस्या उठाउने विषय सही भए पनि त्यसलाई प्रस्तुत गर्ने शैली उपयुक्त नभएको बताएका छन् । आइतबार विकासन्युजकर्मीसँग कुरा गर्दै शाक्यले तामाङले वडाध्यक्षसँग गरेको प्रश्न उठानको विषयलाई गलत भन्न नमिल्ने, तर प्रश्न गर्ने र प्रस्तुत हुने शैली भने सुधार गर्नुपर्ने बताए । ‘उहाँले नागरिकका समस्या उठाउनुहुन्छ, यो सकारात्मक कुरा हो,’ शाक्यले भने, तर ती विषय उठाउने उहाँको शैली त्यति शोभनीय हुँदैन । जनप्रतिनिधिसँग प्रश्न गर्दा विषयवस्तुमा केन्द्रित भएर मर्यादित ढंगले प्रस्तुत हुनुपर्छ ।’ उनका अनुसार जनप्रतिनिधिले नागरिकका समस्या र गुनासा सम्बन्धित निकायसम्म पु‍र्‍याउनु आवश्यक छ ।  तर, समस्या समाधानका लागि गरिने पहल विवाद वा व्यक्तिगत आरोप प्रत्यारोपमा परिणत हुन नहुने उनको भनाइ छ । शाक्यले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयमता अपनाउनुपर्ने बताए ।  ‘सांसदले जनताको आवाज उठाउनु उहाँको जिम्मेवारी हो । तर सार्वजनिक पदमा रहेपछि बोल्ने र प्रस्तुत हुने शैलीले पनि त्यत्तिकै महत्त्व राख्छ,’ उनले भने । उनले तामाङले उठाएका विषयमाथि भन्दा पनि त्यसलाई प्रस्तुत गर्ने तरिका चर्को रहेको बताए ।  नागरिकका समस्या समाधान गर्न स्थानीय तह, जनप्रतिनिधि र सांसदबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । रास्वपाभित्रै सांसद तामाङको कार्यशैलीलाई लिएर समय समयमा बहस हुँदै आएको अवस्थामा शाक्यको पछिल्लो टिप्पणी आएको हो ।

बाढीपीडितका लागि सिद्धार्थ बैंकले दियो २ करोड ५१ लाख

काठमाडौं  । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।  विपद्बाट मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापना कार्यमा सहयोग पु‍र्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।  साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवनमा फर्काउन भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ । सिद्धार्थ बैंकले यसअघि पनि विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ ।  आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा सामाजिक दायित्वअन्तर्गत मानवीय सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले डाक्यो भर्चुअल केन्द्रीय समिति बैठक

काठमाडौं । विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी सूचना जारी गरिएको छ । पार्टीले दिएको जानकारीअनुसार बैठक आज आज अपरान्ह ४ः३० बजे बस्नेछ । बैठकका मुख्य कार्यसूचीमा पछिल्लो समय देखिएका बाढी, पहिरोलगायत विपद्का घटनाको सन्दर्भमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्ने विषय राखिएको छ ।  बैठकमा विपद्का बेला उद्धार, राहत, पुनःस्थापना तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल हुने बताइएको छ ।