चिया बजारमा 'जस्बिरे' ब्राण्डको उदय
काठमाडौं । वि.सं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलु खेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका-४ जस्बिरे गाउँ पुगे। रिसालले इलाममा आलु खेती मात्रै सिकाएनन्, चिया रोप्न पनि सिकाए । त्यति खेर चिया खेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको छ । सूर्यका चार भाइ छोरा हुन् । त्यसमध्येका जेठो र माइलो शरद र गृष्मले १० वर्षअघि जम्मा १४ लाख रुपैयाँ लगानीमा उद्योग सुरु गरेका थिए । हाल सो उद्योगको लगानी ८ करोड रुपैयाँ पुगिसकेको छ । उनीहरुले आफ्नो ६० रोपनी जमिनमा चिया खेती गरेका छन् । साथै, ४ सय रोपनी जमिन भाडामा लिएर चिया खेती गरेका छन् । गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया यही उद्योगमा आउँछ । वार्षिक ३० हजार केजी तयारी अर्थोडक्स चिया उत्पादन गर्दै आएको यस उद्योगले यस वर्षदेखि १ लाख केजी तयारी चिया उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँ उत्पादित चियाको मुख्य बजार नेपालसहित अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क, र जर्मनीलगायतका देश हुन् । जस्बिरे चिया प्रशोधन उद्योग ब्रान्डका रुपमा स्थापित हुनुका पछाडि सुब्बा परिवारको अथक मेहनत उदाहरणीय छ । सूर्यका जेठा छोरा गृष्म उद्योगको बजार व्यवस्थापन गर्छन् । माइला शरद नेपालकै ‘बेस्ट टी मेकर’ हुन् । उनले काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज-२०२४’ मा ‘बेस्ट टि मेकर’को अवार्डसमेत प्राप्त गरेका थिए । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरदले बनाउने गर्छन् । साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । मेसिन फेर्ने, बनाउने वा हटाउने सहितका काम उनको जिम्मामा छ । कान्छा छोरा विकल्प अष्ट्रेलियामा मार्केटिङ बारे अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका छन् । उनको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । ‘उद्योगमा हामी परिवारका सदस्य सबै खटिएका छौँ,’ गृष्मले भने । हाल ७ हजार केजी ‘स्पेशल टी’ र अन्य सबै किसिमका गरी ३० हजार केजी तयारी चिया उत्पादन हुने गरेको गृष्म बताउँछन् । जस्बिरे चिया उद्योगको पहिचान ‘स्पेशल टी’ हो । यस उद्योगमा ‘स्पेशल टी’ मात्र वार्षिक ७ हजार केजी उत्पादन हुँदै आएको छ । ‘एक वर्षमा स्पेशल टी मोटामोटी ७ हजार केजी उत्पादन हुन्छ । सुइरोबाट मात्र उत्पादित २ हजार केजी हुन्छ । किनकी त्यसलाई धेरै मेहनत पर्छ,’ माइला छोरा शरदले भने, ‘अरु ‘स्पेशल टी’ एक पात एक सुइरो, दुई पात एक सुइरो, तीन वा चार पात एक सुइरोको फरक स्वाद हुन्छ । फरक सिजन, मौसम र उचाइअनुसार उत्पादन हुने चियाको स्वाद फरक हुन्छ । मूल्य पनि फरक हुन्छ ।’ उनका अनुसार विश्व बजारमा ‘स्पेशल टी’ को माग धेरै छ । यहाँ उत्पादन भएको ‘स्पेशल टी’ उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्छ । दराज अनलाइनमा त्यही चियाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकेजी रहेको छ । उनका अनुसार विदेशमा सोही चियाको प्रतिकेजी मूल्य १ लाख रुपैयाँ नेपालीसम्म पर्छ । गत वर्षसम्म उद्योगको क्षमताले माग धान्न सकेको थिएन । तर, यसवर्ष उद्योगमा पूर्वाधार र प्रविधि थपिएको छ । अब २५ हजार केजी तयारी चिया उत्पादन गर्दै आएको उद्योगले वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्ने तयारी थालेको छ । ‘यसअघि ८ करोड रुपैयाँसम्मको कारोबार थियो, यस वर्षदेखि बढ्छ । वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्न उद्योगको क्षमता बढाएका छौँ,’ गृष्मले भने, ‘उद्योगमा नियमित काम गर्ने २६ जना हुनुहुन्छ । स्पेशल टी भएकाले मेसिनभन्दा बढी हातकै काम हुन्छ । टिप्ने, केलाउने जस्ता काम भएकाले महिला कामदार बढी हुनुहुन्छ ।’ त्यसो त यो सफलताको कथामा छैन । दुई वर्षअघि उद्योग जलेर ध्वस्त भएको तीतो कथा पनि शरदले सुनाए । २०८१ फागुन १३ गते उद्योगमा आगलागी हुँदा ८ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको थियो । उनका अनुसार ४ करोड बराबरको अर्गानिक अर्थोडक्स तयारी चिया र त्यति नै मूल्यको भौतिक संरचना जलेर नष्ट भएको थियो । विद्युत् सर्ट भई आगो लाग्दा उद्योग पूर्ण रूपमा जलेको थियो । ‘पुनः शून्यबाट उठ्नुपर्ने अवस्था भएकाले हाल बैंकको ऋण ४ करोड रुपैयाँ छ,’ उनले भने । जस्बिरे गाउँका सबै घरपरिवारको मुख्य आयस्रोत चियाखेती नै हो । ‘गाउँमै उद्योग छ । नबिक्ला की भन्ने पीर छैन । अन्य खेती छोडेर गाउँ नै चियामय बनाइयो,’ स्थानीय किसान मिलन मुखियाले भने, ‘सुब्बा परिवारको उद्योगले हामी गाउँलेलाई झन् सजिलो भएको छ ।’ जस्बिरेमा चिया रोप्नुपर्छ भन्ने सुरुआत लेखक तथा पत्रकार स्व भैरव रिसालले गरेका हुन् । उनी पहिलोपटक विसं २०४२ मा जस्बिरे आएका थिए । ‘भैरव सरले हामीलाई आलु रोप्ने उन्नत विधि सिकाउनुभयो । उहाँकै सक्रियतामा यहाँ चिया विस्तार आयोजनाको अवधारणा सुरु भयो,’ सूर्य सुब्बाले भने, ‘त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजना कार्यालय हुँदै देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भयो । भैरव सरले यहाँ आएर आलु, चिया खेती गर्न मात्र होइन, गाउँमा विकासको लहर भित्र्याएर जानुभएको थियो ।’ त्यसो त जस्बिरे गाउँ र चियाको इतिहास सुब्बा परिवारसँग जोडिएको छ । राणाकालमा जस्बिर सिंह सुब्बाको नामबाट जस्बिरे गाउँ रहेको बताइन्छ । तिनै जस्बिर सिंह, सूर्य सुब्बाका हजुरबुबा हुन् । तत्कालीन राणाहरू सदरमुकाम स्थापनाका लागि विभिन्न ठाउँ हुँदै कुटीडाँडासम्म आइपुगेका थिए । उनीहरूसँगै आएका विभिन्न जातजातिका मानिसमध्ये जस्बिर सुब्बा पनि एक थिए । अरू सबै फर्किए, तर जस्बिर सुब्बा भने त्यहीँ बसिरहे । समय बित्दै जाँदा उनको बसोबास रहेको ठाउँ ‘जस्बिरे’ नामले चिनिन थालेको इतिहासमा पाइने पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले बताए । उद्यमी गृष्मका अनुसार, चिया तीन प्रकारको हुन्छन् । सिटिसी, अर्थोडक्स र स्पेशल । सिटिसी मधेसमा उत्पादन मात्र हुन्छ । अर्थोडक्स पहाडमा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बढी माग हुने अर्गानिक स्पेशल टी हो । ‘जस्बिरेमा चिया बुझ्न देश, विदेशका पाहुना आउँछन् । हामी उत्पादन, प्रशोधन र मार्केटिङसम्मका कुरा सिकाएर पठाउँछौँ,’ उनले भने । उनीहरू जिल्लाकै सफल र उदाहरणीय उद्यमी रहेको इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले बताए । ‘हामीले धेरै अनुदान दिएर होइन । आफ्नै बलबुता र अध्ययनले स्थापित हुनुभएको हो,’ प्रमुख थापाले भने । सरकारको अनुदानभन्दा पनि आफैँ गर्नुपर्छ भन्ने हिम्मत आवश्यक रहेको गृष्मको भनाइ छ । ‘हामीले यस्तो चिया उत्पादन गर्छौं भन्ने कुरा संसारका मान्छेलाई थाहा छैन । त्यो काम हाम्रो पहुँचले भ्याउँदैन । यस्तो कुराचाहिँ सरकारले मार्केटिङ गरिदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने, ‘अनुदानका नाममा एक बेला उन्नती परियोजनाले हामीलाई ५० प्रतिशत अनुदान दियो । त्यो बेला हाम्रो उद्योग सानो थियो । हामीलाई सतप्रतिशत अनुदान पाए जस्तै भयो । हामीलाई ७० लाख रुपैयाँ जति अनुदान दिइएको थियो ।’
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी, १० लाखको दुग्धजन्य उत्पादन
काठमाडौं । तनहुँको देवघाट गाउँपालिका-५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरूको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरूद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषि उपज प्रवर्द्धन र बिक्री गर्न प्रत्येक साताको शुक्रबार मेला सञ्चालन गर्न थालेको हो । मेलामार्फत दुग्धजन्य पदार्थ बिक्री गरिने सहकारीका अध्यक्ष सावित्री न्यौपानेले बताइन् । सहकारी संस्थाकी व्यवस्थापक सङ्गीता ओझा भुर्तेलले मेलाका दिन दुग्धजन्य वस्तुको बिक्रीमा विशेष छुट दिइने जानकारी दिइन् । उनका अनुसार मेलामा दूध, दही, पनिर, कुल्फी, घ्यु, मोही, लस्सी, पनिर मःम, पनिर पकौडा, घ्यूमा पकाएको सेलरोटी, दही पुरी तथा स्थानीय अर्गानिक कृषिउपज वस्तुहरु बिक्री गरिन्छ । देवघाटका महिलाहरूले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपालन, तरकारी खेती तथा सामूहिक नगदेबाली खेतीजस्ता आयआर्जनमा सदस्यहरूलाई आबद्ध गराउँदै आएको छ । सहकारीमा हाल दैनिक ६०० लिटरभन्दा बढी दूध सङ्कलन हुँदै आएको छ । सङ्कलित दूधलाई आफ्नै उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको छ । सहकारीमा हाल ८१९ जना शेयर सदस्य छन् । सहकारीमा देवघाटको वडा नम्बर ५ तथा वडा नम्बर ४ र १ का महिलाहरू सदस्य छन् । सेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । सेयर सदस्यहरूले उत्पादन गरेको दूध सहकारीले खरिद गरी दुग्धजन्य वस्तुहरू उत्पादन गरी बिक्री गर्दै आएको छ । सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरू चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैँडाकोटलगायतका बजारहरूमा डेरी पसलमार्फत बिक्री हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा बिक्री हुँदै आएको व्यवस्थापक ओझाले बताइन् । उनका अनुसार हाल उक्त डेरी उद्योगमार्फत मासिक १० लाख रुपैयाँको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरूको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।
कसैको हार वा जित होइन, एकताबद्ध भएर १५औं महाधिवेशन सम्पन्न गर्छौं : महामन्त्रीद्वय
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गरेका छन् । कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको उनको भनाइ छ । ‘यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ । यो कसैको हार वा जित होइन । अब हामी नेपाली कांग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ उनले भने । विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्ने उनले बताए । महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताए । उनले भने, ‘यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’
आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुवात
काठमाडौं । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगको सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली (लिक्स) अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ हब’ थालनी गरिएको हो । नेपालमै पहिलो पटक स्थापना गरिएको सो ‘हब’ले विशेष गरेर आँखा स्वास्थ्य सेवामा परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमा आधारित आधुनिक चिकित्सा तालिमतर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ । अत्याधुनिक ‘सर्जिकल सिमुलेटर’, ‘वेट ल्याब’, ‘भर्चुअल लर्निङ सिस्टम’ तथा ‘साइबर साइट’ मार्फत उपलब्ध विश्वव्यापी टेलि-मेन्टोरिङ सुविधासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अझ सुरक्षित, भरपर्दो र आत्मविश्वासका साथ सो तालिम केन्द्रबाट सीप विकास गर्न सक्ने जनाइएको छ । लिक्स परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालभरिका आँखा अस्पताल, मेडिकल कलेज, निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका पेशाकर्मीहरूकाे समेत सहभागिता रहनेछ । तालिमहरू विश्वस्तरका अनुभवी विशेषज्ञहरूद्वारा सहजीकरण गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ । यस केन्द्रले स्वास्थ्य सेवा सुदृढीकरणसँगै अन्तर्राष्ट्रिय प्रशिक्षार्थी आकर्षित गरी चिकित्सा शिक्षा पर्यटन प्रवर्द्धन गर्ने तथा महँगो विदेश तालिममा निर्भरता घटाउने अपेक्षा गरिएको छ । साथै यससँगै विराटनगर आँखा अस्पताल एक अग्रणी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तालिम केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ । लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणालीका (लिक्स) प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार लिक्स अन्तर्गत सञ्चालित यस सञ्जालले दुई अस्पताल तथा ४० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत शहरदेखि दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्दै आएको छ । सन् २०२५ मा मात्र १४ लाखभन्दा बढी आँखा सेवा प्रदान गरिएको छ, यसमा १ लाख ३२ हजारभन्दा बढी दृष्टि पुनःस्थापना शल्यक्रिया तथा ७ लाख ६४ हजारभन्दा बढी सामुदायिक सेवा समावेश छन् । स्थापना कालदेखि हालसम्म १ करोड ६६ लाखभन्दा बढी सेवा र झण्डै २५ लाख शल्यक्रिया भइसकेका छन् । नेपालको आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको सो ‘हब’को कोशी प्रदेशका स्वास्थ्य मानबहादुर लिम्बू तथा अर्बिस इन्टरनेशनलकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए. शेरविनले हालै संयुक्त रूपमा शुभारम्भ गरे । सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरी तथा अर्बिस इन्टरनेशनल भारतका देशीय निर्देशक डा ऋषिराज बोहरा लगायतको उपस्थिति थियो । ‘डिजिटल ट्रेनिङ हब’ले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मापदण्ड स्थापित गर्दै रोकथामयोग्य अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
तीन पटक म्याद थप्दा पनि पूरा हुन सकेन अस्पताल भवन
काठमाडौं । तनहुँको व्यास नगरपालिका-३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा नमूना अस्पतालको भवन निर्माण निर्माणाधीन अवस्थामा छ । पटक-पटक म्याद थपे पनि गण्डकी प्रदेशको गौरवको योजनाको रूपमा निर्माणाधीन नमूना पशु अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन । प्रदेश सरकारको प्राथमिकताको योजनाका रूपमा रहेको नमूना पशु अस्पताल भवन निर्माण पूरा गर्ने उद्देश्यले चौंथो पटक निर्माण अवधि थपिएको छ । अस्पतालको केही निर्माण भइरहेकाले निर्माण अवधि चौंथो पटक थप गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रविनसन अधिकारीले बताए । उनका अनुसार चौंथो पटक वि.सं २०८३ जेठ १० गतेसम्मका लागि अवधि थप गरिएको छ । हालसम्म ७७ प्रतिशत भौतिक प्रगति भएको छ भने ५४.३४ प्रतिशत आर्थिक प्रगति भएको विज्ञ केन्द्रले जनाएको छ । वि.सं २०७८ साउन १२ गते निर्माण कम्पनीले वि.सं २०७९ पुस १२ मा नमूना अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि तेस्रो पटक वि.सं २०८२ जेठ २१ को निर्णयअनुसार वि.सं २०८२ कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि पशु अस्पतालको भवन निर्माण पुरा हुन नसकेपछि वि.सं २०८३ जेठ १० गतेसम्मका लागि म्याद थप गरिएको हो । तीन पटक समयावधि थपिँदा पनि पूरा हुन नसक्दा पशुपालक किसानले पाउनुपर्ने सेवा प्रवाहमा सकस भएको अधिकारीले बताए । पटकपटक म्याद थपिँदा पनि उल्लेख्य प्रगति हुन नसक्दा आयोजना नै अलपत्र अवस्थामा पुगेको हो । म्याद थप गरिएपछि चालु आर्थिक वर्षमा २० लाख रूपैयाँ निर्माण कम्पनीलाई भुक्तान गरिएको प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार भवन अभावले गर्दा अस्पताललाई आवश्यक पर्ने उपकरण जडान र सेवा विस्तारको प्रक्रिया अगाडि बढिरहेको छ । तनहुँ र कास्की जिल्लामा एकैसाथ नमूना पशु अस्पताल निर्माण सुरू गरिएको थियो । कास्कीमा भने भवन निर्माण सम्पन्न भई सेवा प्रवाह भइरहेको केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले भ्याट बाहेक रु चार करोड ९० लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको भएपनि आवश्यक संरचनासमेत निर्माण हुन सकेको छैन । पूर्वाधारसहित पूर्ण सञ्चालनका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साढे दुई तले भवनमा आकस्मिक, शल्यक्रिया, रेडियोलोजी र प्याथोलोजीसहित २३ वटा कोठा रहनेछ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशको मध्यभागमा पशु अस्पतालको भवन निर्माण थालिएको हो । पछिल्लो पटक थपिएको निर्माण अवधिमा अस्पताल भवन निर्माण भएमा तनहुँलगायत लमजुङ, गोर्खा, मनाङ, कास्की, नवलपुर, स्याङ्जा जिल्लाका सेवाग्राहीले पशु सेवा सहज रूपमा पाउनेछन् ।
आज देशभर मौसम सफा, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने भए पनि केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना पनि औंल्याएको छ। त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सर्वोच्चको फैसला स्वीकार गर्दै कांग्रेसले गर्यो एकताको अपिल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालतले दिएको फैसला स्वीकार गर्ने बताएका छन् । उनले उक्त फैसला कसैका लागि पनि हार वा जीतको विषय नभएको स्पष्ट पार्दै यसलाई प्रतिस्पर्धाको रूपमा व्याख्या नगर्न आग्रह गरेका छन् । पौडेलले यस्तो व्याख्याले पार्टी एकता खल्बलिन सक्ने भएकाले सबै नेता तथा कार्यकर्तालाई सचेत र सजग रहन अपिल गरेका छन् । महामन्त्री पौडेलले अब सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू चारतारे झण्डामुनि पुनः एकताबद्ध भएर आगामी १५औं महाधिवेशनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले सबैलाई सुरक्षित आभास हुने वातावरण निर्माण गर्दै पार्टीलाई सुदृढ बनाउन सक्रिय हुन आग्रह गरेका छन् ।
गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगनकुमार थापा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको भन्दै आदेश जारी गरेको हो । गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसको नयाँ कार्यसमितिको वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको हो । उक्त विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनबाट बनेको उक्त कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि देउवा पक्ष अदालत गएको थियाे। निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको पक्ष सर्वोच्च अदालत पुगेको थियो ।