विकासन्युज

यी हुन् आइतबार दिनभर ऊर्जा मन्त्रालयले गरेका काम

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात र विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाहरूमा उद्धार, अन्तरनिकाय समन्वय तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाइएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार (भदौ १४ गते) विशेष प्रेस विज्ञप्ति जारी गर्दै बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी र उद्धार कार्यलाई नेपाल सरकारले सर्वोच्च प्राथमिकतामा राखेर राज्यका सम्पूर्ण उपलब्ध जनशक्ति, स्रोतसाधन र प्रविधिको परिचालन गरिरहेको जनाएको छ ।  प्रतिकूल मौसम, उच्च जोखिमयुक्त भौगोलिक बनावट तथा जटिल प्राविधिक चुनौतीका बाबजुद पनि उद्धार टोलीहरू निरन्तर खटिरहेका छन् । यसैक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी उद्धार कार्यको हालसम्मको प्रगति, देखिएका चुनौती र सरकारको तर्फबाट भइरहेका प्रयासबारे विस्तृत जानकारी गराएका थिए ।  संकटको यो घडीमा उद्धारको यथार्थ अवस्था सम्बन्धित परिवारसम्म नियमित, विश्वसनीय र समयमै पुर्‍याउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै मन्त्रीले परिवारजनको पीडाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको र नागरिकको जीवनरक्षाका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे ।  यता माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीका परिवारजनले पनि अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा समयमै उद्धार कार्य प्रारम्भ गरी निरन्तरता दिएको भन्दै मन्त्री तथा उद्धारमा संलग्न सम्पूर्ण सुरक्षा र प्राविधिक निकायहरूप्रति आभार व्यक्त गरेका छन् ।  स्थलगत उद्धार कार्यतर्फ, माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासहित आयोजना प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि, साइट इन्जिनियर तथा प्राविधिक टोली परिचालित भई घटनास्थलको विस्तृत निरीक्षण, जोखिम मूल्याङ्कन र सुरक्षित उद्धार कार्यलाई अगाडि बढाएका छन् ।  उद्धारमा संलग्न सबै निकायहरूबीच आवश्यक समन्वय र कार्यविभाजनलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको छ । अर्कोतर्फ माथिल्लो त्रिशूली–३ ए आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य थप तीव्र पारिएको छ ।  नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिक, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सुरुङ प्रवेशमा अवरोध बनेका संरचना हटाउने, टनेल पोर्टल सफा गर्ने र सुरुङको माथिल्लो भाग (क्राउन) सुरक्षित रूपमा खोल्ने कार्य सम्पन्न गरिसकेका छन् ।  हाल सुरुङभित्र जमेको पानी हटाउने कार्य भइरहेको छ भने अक्सिजन, मेडिकल सामग्री, सञ्चार उपकरण र क्यामरासहित उद्धारकर्मीहरूलाई सुरुङभित्र पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।  टोलीले पोर्टलबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित वर्किङ स्पेससम्म पुगेर त्यहाँको वास्तविक अवस्था, फसेका व्यक्तिको स्थान र सुरक्षाको मूल्याङ्कन गर्ने योजना बनाएको छ । उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोलीको सहयोगसमेत जुटाइएको छ । चिनियाँ टोलीले अपर त्रिशूली–१ आयोजनाको टनेलभित्र खोजी कार्य सम्पन्न गरिसकेको छ भने उद्धार सहायताका लागि आइपुगेको भारतीय टोली त्रिशूली पुगी हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गरी थप उद्धार योजना बनाउन खटिएको छ । यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा माननीय मन्त्रीज्यूले उद्धार कार्यसँगै प्रभावकारी सूचना प्रवाह, अन्तरनिकाय समन्वय र पीडित परिवारसँगको नियमित सम्पर्कलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।  राहत तथा उद्धार सामग्रीको व्यवस्थापनका लागि स्पष्ट कार्यढाँचा निर्माण गरी वास्तविक आवश्यकता र उपलब्ध स्रोतसाधनबीच प्रभावकारी समन्वय कायम गर्न मन्त्रीज्यूले मातहतका निकायलाई कडा निर्देशन दिए । खोजी तथा उद्धारसँगै मन्त्रालयले बाढीबाट प्रभावित विद्युत् प्रणाली, प्रसारण तथा वितरण संरचना र अन्य ऊर्जा पूर्वाधारको शीघ्र पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरण तथा सुरक्षा निकायहरूसँग समन्वय गरी तीव्र गतिमा काम गरिरहेको छ । रसुवामा बाढीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न नुवाकोटबाट रसुवामा विद्युत् जोड्ने गरी खोलापारिबाट तार तान्ने कार्य निरन्तर जारी छ । चुनौतीपूर्ण परिस्थितिमा पनि प्रभावित क्षेत्रमा शीघ्र विद्युत् आपूर्ति सुचारु गर्न प्राविधिक टोलीहरू निरन्तर खटिएका छन् ।  मन्त्रालयले उद्धार कार्य पूर्ण रूपमा सम्पन्न नहुँदासम्म र प्रभावित क्षेत्रको अवस्था सामान्य नबन्दासम्म आवश्यक समन्वय, सहजीकरण तथा अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।  

विपद्मा निजी क्षेत्रका विद्युत उत्पादकको उदार सहयोग, इप्पानको राहत कोषमा ८ करोड १९ लाख जुट्यो

काठमाडौं । विपद्को घडीमा निजी क्षेत्रका विद्युत उत्पादकहरूले उदारतापूर्वक सहयोग गरेपछि प्रधानमन्त्री दैवी प्रकोप कोषका लागि इप्पान (स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल) ले हालसम्म ८ करोड १९ लाख रुपैयाँ सहायता संकलन गरेको छ ।  इप्पानले यसअघि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।  तर, विपद्का बेला निजी क्षेत्रका विद्युत उत्पादकहरूबाट थप उत्साहजनक सहयोग प्राप्त भएपछि सहायता रकम बढेर ८ करोड १९ लाख रुपैयाँ पुगेको हो ।  इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार सहयोग अभियानलाई थप तीव्रता दिँदै सोमबारसम्म सहायता रकम १० करोड रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्यसहित पहल भइरहेको छ । विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संकलित उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत सोमबार आयोजित विशेष कार्यक्रममा चेक तथा भौचर हस्तान्तरण गरिनेछ । विपद्को समयमा निजी क्षेत्रले देखाएको सामाजिक उत्तरदायित्व र ऐक्यबद्धताको यो पहलले प्रभावित नागरिकलाई राहत पुर्‍याउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले भने- यो दुःखमा नेपाल एक्लै छैन

काठमाडौं । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ । साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैं साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् । प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाए ।  “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थपे, “यो दुःखमा नेपाल एक्लै छैन । चीन नेपाल र नेपाली जनताको साथमा छ ।” साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताए । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे ।  यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे ।  राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए ।  राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ । रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उहाँले अर्थमन्त्रीलाई अवगत गराए ।  त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।

बाढीबाट मृत्यु हुनेको संख्या ७८१ पुग्यो, साढे दुई हजारभन्दा बढी अझै सम्पर्कबिहीन

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म विभिन्न आठ जिल्लाबाट ७८१ जनाको शव तथा मानव अंग फेला पारिएको हो ।  बाढीबाट सबैभन्दा बढी क्षति चितवन र नवलपरासी पूर्वमा भएको छ, जहाँ क्रमशः २७२ र १९९ जनाको शव फेला परेको छ । यसैगरी नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव तथा मानव अंग भेटिएको प्राधिकरणले जनाएको छ । बाढीपछि हालसम्म दुई हजार ५०२ जना मानिस सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ठूलो संख्या विभिन्न क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको रहेको छ ।  जसमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल, १५ भन्सार कार्यालयका कर्मचारी र चार जना अध्यागमन कार्यालयका कर्मचारी छन् ।  त्यसैगरी विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, ५९२ विदेशी नागरिक, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन र क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि बेपत्ता छन् ।  जिल्लागत आधारमा रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना सर्वसाधारण अझै सम्पर्कमा आएका छैनन् । विपत्तिको यस घडीमा प्रभावित क्षेत्रहरूबाट हालसम्म ९ हजार ४३५ जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये जलविद्युत् आयोजनाका जोखिमपूर्ण सुरुङबाट मात्रै २७९ जनालाई निकालिएको छ ।  उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत २५४ विदेशी र तीन हजार ६७ नेपाली गरी कुल तीन हजार ३२१ जनाको हवाई उद्धार गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन कुल २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसअन्तर्गत आठ हजार ५२१ नेपाली सेना, सात हजार ८९४ नेपाल प्रहरी र चार हजार २०३ सशस्त्र प्रहरी बलका जवानहरू रातदिन खटिएका छन् । 

प्रधानमन्त्री राहत कोषमा चिनियाँ सरकारको ३० करोड सहयोग

काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरे । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । नेपालको विपत्तिमा चीन सधैं साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आजमात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए ।  साथै थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ ।        रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रुत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए । नेपाल सरकारको तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन व्यक्त गरे । विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको भन्दै उनले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख व्यक्त गरे । विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले बेहोर्नु पर्ने कारणको सुरुवात भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो जरुरी रहेको बताए ।

जलविद्युत आयोजनामा करिब ९ सय जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत  करिब ९ सय जना सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा ८९८ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेको संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा धेरै छ ।  २१६ मेगावाट क्षमताको उक्त आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । यहाँबाट २५४ जनाको उद्धार भइसकेको छ भने करिब ३०० जना अझै सुरुङभित्र फसेको बताइएको छ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४२ जना, २२ मेगावाटको चिलिमेमा ८ जना, ५ मेगावाटको मैलुङ खोलामा ७ जना र १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन छन् ।  लाङटाङ खोलामा सम्पर्कविहीनमध्ये १८ जनाको उद्धार भए पनि २५ जना अझै सुरुङभित्र रहेको जनाइएको छ। मैलुङ खोलाका ७ जना पनि सुरुङमै फसेका छन् । यस्तै, नुवाकोटका चार जलविद्युत् आयोजनामा पनि १६८ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।  जसअनुसार ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना, १९.६ मेगावाटको मिडल त्रिशूली गंगामा २ जना, २४ मेगावाटको त्रिशूली आयोजनामा १ जना र १४.९ मेगावाटको देवीघाट आयोजनामा १ जना सम्पर्कविहीन छन् ।  माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ११ जनाको उद्धार भइसकेको छ । बाढीपछि आयोजनाका कर्मचारी तथा कामदारको उद्धारलाई प्राथमिकतामा राखिएको छ ।  विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर प्रयास गरिरहेका छन् ।

विपद् प्रभावित चार जिल्लालाई बागमती सरकारले ३ करोड रुपैयाँ दिने

काठमाडौं । बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् । मुख्यमन्त्री थापाका अनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याइएको छ ।  यस्तै, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए ।  विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले बताए । उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने उनको भनाइ छ ।  मुख्यमन्त्री थापाले विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम सुरु गरिसकेको पनि जानकारी दिए ।  प्रदेश सरकारले राहत तथा पुनःस्थापनाका काम स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढाइरहेको मुख्यमन्त्री थापाको भनाइ छ ।  प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए ।

बाढीपहिरो पीडितका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । विपदबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।  उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइनेछ । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन् ।  विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन् ।