काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तीब्रता दिएको छ ।
सेनाको हवाई टोलीले आइतबार अपराह्न ३ बजेसम्म १६ जना विदेशी नागरिकसहित कुल ४०९ जनाको सफल उद्धार गरेको छ । उद्धार गरिएका विदेशी नागरिकहरूमा १५ जना चिनियाँ र १ जना भारतीय रहेका छन् ।
यसैबीच, त्रिशूली–३ जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेका व्यक्तिहरूको उद्धारका लागि विशेष टोली निरन्तर परिचालित छ ।
गत भदौ १२ गतेदेखि अस्थायी रूपमा बेस क्याम्प खडा गरी खटिएको विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटर जस्ता उपकरणहरूको प्रयोग गरी ‘क्राउनहेड’ फेला पार्न सफल भएको छ ।
सुरुङमा गरिएको प्वालबाट अवलोकन गर्दा ७ मिटरको डायमिटरमा पानीको सतह निकै माथिसम्म देखिएको प्राविधिक टोलीले जनाएको छ ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विभिन्न जिल्लाहरूमा नेपाली सेनाले ठूलो संख्यामा फौज परिचालन गरेको छ।
हालसम्म करिब ८ हजार ५ सयभन्दा बढी सैन्य जनशक्ति अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा राहत तथा उद्धार कार्यमा सक्रिय रहेका छन् ।
सेनाले प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा उद्धार र सहयोग कार्यलाई निरन्तरता दिइरहेको छ । – न्यूज एजेन्सी नेपाल