काठमाडौं । बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त रकम प्रदान गरेका हुन् ।
नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भोटेकोशी बाढीबाट रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।
एनसीसीएस ग्रुपले पनि विपद्को समयमा प्रभावित परिवारलाई राहत र पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।
विगत साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको एससीसीएस ग्रुपले जनाएको छ ।
‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था एनसीसीएस कलेज पकनाजोलमा सञ्चालनमा रहेको छ र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ ।
विद्यार्थीलाई डिग्री हासिल गराउने मात्र नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासमा समेत केन्द्रित हुँदै आएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।