विकासन्युज

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् ।      काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य सामाजिक सञ्जालबाट नगर्न आग्रह गरेका हुन् ।       सामाजिक सञ्जालमा चिकित्सकले गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्नाको साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुने भएकाले चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको हो ।       रजिष्ट्रार डा. देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण आवश्यक जाँच र चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन विना औषधि सेवन गर्न सुझाव दिनु र त्यस्तो सल्लाहले विरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानि पुग्न सक्ने बताए ।  काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ । काउन्सिलले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र गर्नुपर्ने अवस्था भएका बिरामीको अनुहार र पहिचान नखुलाउन आग्रह गरेको छ । रासस

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गरेका छन् । उनले प्राथमिकताका आधारमा आयोजनाहरू पेस गर्दै बजेट सुनिश्चित गर्न अर्थमन्त्री डा वाग्लेको ध्यानाकर्षण गराएका हुन् ।       अध्यक्ष चुमानले जिल्लामा रहेका सडक, पुल, धार्मिक पर्यटन, स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रका महत्त्वपूर्ण आयोजनाहरू अघि सारेका छन् । उनका अनुसार सडकतर्फ छिम्केश्वरी-हिलेखर्क(बन्दिपुर सडक स्तरोन्नतिका लागि रु ३० करोड, बरादी-हिलेखर्क (गिरनचौर-साते खण्ड) सडकका लागि रु २० करोड, पुलजीप-घुमाउने हुँदै देवघाट जोड्ने सडकका लागि रु ५० करोड तथा आँबुखैरेनी रिङरोड मर्मतका लागि र १० करोड बजेट माग गरिएको छ ।      पुल निर्माणतर्फ घुमाउने पुल आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, बरालुङबेँसीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउने तथा पाँचकिलोस्थित जीर्ण झोलुङ्गे पुललाई स्थानान्तरण गरी नयाँ मोटरेबल पुल निर्माण गर्ने प्रस्ताव गरिएको अध्यक्ष चुमानले बताए । छिम्केश्वरी सडक खण्डअन्तर्गत सिर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि रु आठ करोड बजेट आवश्यक रहेकाबारे अर्थमन्त्रीलाई जानकारी गराइएको उनले उल्लेख गरे ।      गाउँपालिकाका अध्यक्ष चुमानका अनुसार धार्मिक पर्यटनतर्फ छिम्केश्वरी क्षेत्रको विकासका लागि रु १० करोड, अकला क्षेत्रका लागि रु पाँच करोड र आँधीमुल क्षेत्र विकासका लागि रु पाँच करोड बजेट माग गरिएको छ । स्वास्थ्य क्षेत्रमा आँबुखैरेनी-१ सत्रसयमा दश रोपनी जग्गा अस्पतालका लागि प्राप्त भइसकेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष चुमानले थप १०० रोपनीसम्म विस्तार गर्न सकिने भएकाले सो क्षेत्रमा एक सय शय्याको ट्रमा अस्पताल स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरिएको बताए । पृथ्वी राजमार्गसँग जोडिएको रणनीतिकस्थान भएकाले यहाँ अस्पताल विस्तार भएमा गोरखा, तनहुँ र लमजुङका बासिन्दालाई समेत सेवा पुग्ने उनको भनाइ छ ।       शिक्षातर्फ बहुप्राविधिक शिक्षालय स्थापना, आँबुखैरेनी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन, विभिन्न विद्यालयमा विद्युतीय बस, छात्रावास तथा आधुनिक प्रयोगशाला व्यवस्थापनका लागि बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । उनका अनुसार खानेपानीतर्फ हिलेखर्क-छिम्केश्वरी-लोप्राङ एकीकृत खानेपानी आयोजना निर्माणका लागि रु १० करोड तथा सत्रसय खानेपानी शुद्धीकरण आयोजनाका लागि रु पाँच करोड बजेट विनियोजन गर्न प्रस्ताव गरिएको छ । रासस     

मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमाछोरा उपचाररत

काठमाडौं । कैलालीमा फार्ममा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ भने आमाछोरा उपचाररत रहेका छन् । जिल्लाको चुरे गाउँपालिका–३ फाल्टुडेका एकै परिवारका चार जना वैशाख ३ गते मरेको कुखुराको मासु खाएपछि बिरामी परेका थिए । तीमध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मासु खाएका २८ वर्षीया आमा राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार भने हाल उपचाररत छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार घटना बिहीबार भएको भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको हो । त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । घटनापछि स्थानीय कुखुरा फार्म सञ्चालकमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा फार्म सञ्चालकले कुखुरा मरेकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । उनलाई आवश्यक परे पुनः उपस्थित हुने सर्तमा छाडिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

भाडाको कोठामा नक्कली नोट तयार, भीडमा किनमेलको नाटक

काठमाडौं । साँझ पर्न थालेपछि ठमेलका गल्लीहरू उज्यालो बत्ती, संगीत र भीडले भरिन थाल्छन् । पर्यटक, युवा र किनमेलमा निस्किएका मानिसहरूको चहलपहलबीच केही अनुहार यस्ता पनि थिए, जसको उद्देश्य रमाइलो होइन- ठगी थियो । ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा भाडाको कोठाबाट सुरु भएको एउटा सानो योजना विस्तारै उपत्यकाका भीडभाड हुने बजारसम्म फैलिएको थियो । बाहिरबाट हेर्दा सामान्य देखिने चार युवाहरू- रामकुमार पाख्रिन, पुर्णराज बाध्यकार, दीपेश बाध्यकार र शिव घिसिङ भित्रभित्रै नक्कली नोटको कारोबारमा संलग्न थिए । प्रहरीका अनुसार उनीहरूले कोठा भाडामा लिएर नक्कली नोट छाप्ने मेसिन जडान गरेका थिए । गिरोहभित्र कामको स्पष्ट बाँडफाँड थियो । मुख्य भूमिका पुर्णराज बाध्यकारले निभाउँथे- नोट छाप्ने जिम्मा उनकै थियो । अन्य सदस्यहरूलाई भने ती नोट बजारमा ‘साट्न’ पठाइन्थ्यो । उनीहरूको तरिका पनि निकै चलाख थियो । साँझको समय जब बजार व्यस्त हुन्थ्यो, उनीहरू किनमेलको बहानामा पसलतिर लाग्थे । ५ हजार रुपैयाँको सामान किन्दा उनीहरूले सक्कली नोटको बीचमा १-२ वटा नक्कली नोट मिसाएर भुक्तानी गर्थे । हतार, भीड र व्यस्तताबीच पसलेले छुट्याउनै सक्दैनथे। प्रहरी स्रोतका अनुसार उनीहरूको गतिविधि केवल ठमेलमा मात्र सीमित थिएन । जात्रा र भीडभाड हुने अन्य स्थानहरूमा पनि उनीहरू सक्रिय थिए । विशेषगरी ठेलामा व्यापार गर्ने साना व्यापारी उनीहरूको सजिलो लक्ष्य बन्थे । नयाँ वर्षको समयमा त उनीहरू अझ सक्रिय भए । भीड, उत्सव र हतारबीच नक्कली नोट चलाउन सजिलो हुने उनीहरूको बुझाइ थियो। रेष्टुरेन्टहरुमा समेत उनीहरूले ठूलो बिल आउने गरी अर्डर दिने, तर वास्तवमा धेरै नखाने- उद्देश्य केवल नक्कली नोट चलाउनु थियो । तर, लामो समयसम्म उनीहरूकाे नक्कली नाेटकाे काराेबारकाे धन्दा गतिविधि लुकेर बस्न सकेन । बजारमा नक्कली नोटको प्रयोग बढेको सूचनापछि प्रहरी सचेत बनेको थियो । शङ्कास्पद व्यवहार, अस्वाभाविक किनमेल शैली र बारम्बार एउटै ढाँचामा कारोबार गर्ने प्रवृत्तिले अन्ततः उनीहरू प्रहरीको निगरानीमा परे । गत शुक्रबार, उनीहरू फेरि ‘किनमेल’का लागि निस्कन लागेको अवस्थामा प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेका बाध्यकारको कोठामा छापा मार्दा ५ सयको नोट ३७ थान, १ हजारका नोट ६ थान, १ हजारका नोट छापेर राखिएको एफो साइजका पेपर ८ थान, नक्कली नोट छाप्न प्रयोग गरिने मेसिन १ थान र १ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले भने, ‘यस्ता गिरोह चिन्ने संकेतहरू प्रष्ट हुन्छन् । व्यवहारमा अस्वाभाविकता, अनावश्यक ठूलो बिल बनाउने बानी र भुक्तानी गर्दा देखिने हतार- यी सबैले शंका पैदा गर्छन् ।’

१५.८० अर्ब ऋण बोकेको जगदम्बाको आम्दानी साढे १४ अर्ब रुपैयाँ

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्रालिले सन् २०२५ मा १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशत अर्थात् ९ करोड ६० लाख रुपैयाँले घटेको हो । सन् २०२४ मा कम्पनीले १४ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो।  कमजोर माग र निर्माण गतिविधिमा आएको सुस्तताका कारण मूल्य घट्दा आम्दानी घटेको कम्पनीले जनाएको छ । पछिल्लो समय उद्योगमा चुनौतीपूर्ण अवस्था रहे पनि कम्पनीले उत्पादन प्रक्रियाको एकीकरणमार्फत भविष्यमा नाफा वृद्धि गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता मजबुत बनाउने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा १४ अर्ब ९८ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा १९ अर्ब ६६ करोड १० लाख रुपैयाँ, सन् २०१८ मा १६ अर्ब ७० करोड ८० लाख रुपैयाँ र सन् २०१७ मा ११ अर्ब ५५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । वि.सं. २०५७ साल चैत १५ गते स्थापना भएको कम्पनीले पर्साको जीतपुरस्थित कारखानाबाट एम.एस. ब्ल्याक तथा ग्याल्भनाइज्ड पाइप उत्पादन गर्दै आएको छ । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गरी नेपालको औद्योगिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् २०२५ को जुलाई मध्यसम्म कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६०० मेट्रिक टन पुगेको छ । यसले कम्पनीलाई नेपालकै प्रमुख इस्पात उत्पादक कम्पनीमध्ये एकको रूपमा स्थापित गरेको छ। कम्पनीको प्रवद्र्धन नेपालका उद्योगपति तथा व्यापारीहरूले गरेका हुन्, जो सिमेन्ट उत्पादन, निर्माण सामग्री व्यापार तथा होटल व्यवसायलगायत विभिन्न क्षेत्रमा संलग्न छन् । कम्पनीको सञ्चालन तीन सदस्यीय सञ्चालक समितिको मार्गदर्शनमा हुन्छ भने दैनिक व्यवस्थापन अनिल कुमार रुङ्टा र विशाल पटवारीले सम्हाल्दै आएका छन् । जगदम्बा इन्टरप्राइजेजले जगदम्बा र जग शक्ति नामबाट बजारमा बलियो पहिचान बनाएको छ । कम्पनीसँग देशभर फैलिएको डिलर सञ्जाल रहेको छ, जसले प्रमुख शहरहरूमा यसको उत्पादनको स्थायी बजार सुनिश्चित गरेको छ । यस क्रममा कम्पनीले इस्पात पगाल्ने एकाइ र तातो स्ट्रिप उत्पादन गर्ने मिल स्थापना गरेको छ, जुन क्रमशः सन् २०२२ को नोभेम्बर र २०२३ को जुलाईदेखि सञ्चालनमा आएका छन् । यी परियोजनामा कुल २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरिएको छ । कम्पनीका मुख्य कच्चा पदार्थहरू भारतबाट आयात हुने भएकाले मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ । सन् २०२५ मा कच्चा पदार्थ लागत कुल आम्दानीको करिब ९१ प्रतिशत पुगेको छ, जसले नाफामा प्रत्यक्ष प्रभाव पारेको छ । साथै, अमेरिकी डलरमा आधारित आयातका कारण विदेशी विनिमय दरको जोखिम पनि उच्च रहेको छ । सोही वर्ष कम्पनीले ३४ मिलियन रुपैयाँ विदेशी विनिमय घाटा बेहोरेको छ । कम्पनीले विभिन्न आकार र प्रकारका स्टिल उत्पादनहरू निर्माण गर्दछ, जसमा टीएमटी बार, एमएस ब्ल्याक पाइप, ग्याल्भनाइज्ड आइरन पाइप, हट रोल्ड स्ट्रिप, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड भवन सामग्री, डब्लु–बिम तथा विभिन्न स्टिल पोलहरू समावेश छन् । यी उत्पादनहरूको प्रयोग निर्माण, अटोमोबाइल, रसायन तथा तेल उद्योग लगायतका विभिन्न क्षेत्रमा हुन्छ । उत्पादन विविधताले कम्पनीलाई कुनै एक मात्र उद्योगमा निर्भर हुनुपर्ने जोखिम घटाएको छ र फराकिलो ग्राहक आधार बनाउन मद्दत गरेको कम्पनीको दाबी छ ।  कम्पनीको उद्योग पर्सा जिल्लामा भारत–नेपाल सीमाबाट करिब १५ किलोमिटर दूरीमा तथा वीरगञ्ज सुक्खा बन्दरगाह नजिक अवस्थित छ, जसले ढुवानी लागत घटाउन सहयोग पु¥याएको छ । मध्यम अवधिमा नेपालमा स्टिल उत्पादनको माग वृद्धि हुने अपेक्षा गरिएको छ, किनभने देश पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रमा विकासको चरणमा छ । सडक, पुल, सार्वजनिक संरचना तथा निजी निर्माण कार्यको विस्तारले स्टिलको माग निरन्तर रहन सक्ने अनुमान छ । सरकारले सडक, जलविद्युत, विमानस्थल लगायतका पूर्वाधार विकासमा जोड दिइरहेको कारण पनि स्टिल उद्योगलाई सकारात्मक प्रभाव पर्ने देखिन्छ । तर निकट भविष्यमा आर्थिक वृद्धि सुस्त हुनु र सरकारी खर्च अपेक्षाभन्दा कम हुनुका कारण निर्माण क्षेत्र प्रभावित भएकाले उद्योगमा चुनौतीहरू पनि कायम रहने कम्पनीको अनुमान छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र १३ अर्ब ९२ करोड रुपैयाँ अल्पकालीन गरी कुल १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँ ऋण लिएको छ । 

पाँच वर्षमा अख्तियारका ७९८ मुद्दा, ३१ अर्बभन्दा बढी बिगो दाबी

प्रकाश सिलवाल काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ ।      सो अवधिमा कुल एक लाख ६६ हजार ५२० उजुरी परेकामा एक लाख २१ हजार ९४३ (७३ दशमलव २३ प्रतिशत) फर्छ्यौट भई ७९८ मुद्दा दायर भएका छन् । ती मुद्दामा चार हजार ६६२ जनालाई प्रतिवादी बनाई  ३१ अर्ब ५२ करोड २५ लाख पाँच हजार ५७३ रुपैयाँ बिगो दाबी गरिएको छ । यी मुद्दामा विशेष अदालतबाट सरदर ५५ प्रतिशत कसुर स्थापित भएको छ भने कसुर स्थापित नभएकामध्ये ७१९ मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको छ । पुनरावलोकन गरिएकामध्ये नौ मुद्दामा अख्तियारको माग दाबीअनुसार सर्वोच्च अदालतबाट ठहर भएको आयोगले जनाएको छ ।      आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका पदाधिकारीले २०७७ माघ २१ गतेदेखि पद बहाली गरेका थिए । आर्थिक वर्ष २०७७/७८ को तुलनामा पछिल्लो आर्थिक वर्षमा उजुरी, फछ्र्यौट र मुद्दा दायरको आँकडा बढ्दो देखिएको छ ।      आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा १२ हजार ४९६ उजुरी र ४६ मुद्दा दायरी भई २३० प्रतिवादी रहेकामा चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म २८ हजार ४१६ उजुरी र १२१ मुद्दा दायर भई ४२९ प्रतिवादी छन् । आर्थिक वर्ष २०७७/७८ मा दायर भएका मुद्दामध्ये ६८ प्रतिशत कसुर स्थापित भएका थिए भने चालु आर्थिक वर्षको चैतसम्ममा ४८ दशमलव ८५ प्रतिशत कसुर स्थापित भएका छन् ।       यसैगरी, आव २०७८/७९ मा २४ हजार ३३१ उजुरी परेकामा ७० दशमलव ५६ प्रतिशत फछ्र्यौट भई १३१ मुद्दा दायर भई ६३९ प्रतिवादी रहेका थिए । आव २०७९/८० मा २८ हजार ६५ उजुरी परेकामा ६६ दशमलव ९८ प्रतिशत फछ्र्यौट भई १६१ मुद्दा दायर भएकामा ७६६ प्रतिवादी कायम गरिएको थियो । यी मुद्दामा ३३ दशमलव ४३ प्रतिशत कसुर स्थापित भएका छन् ।       आर्थिक वर्ष २०८०/८१ मा ३६ हजार १८६ उजुरी परेकामा ७६ दशमलव ५९ प्रतिशत फछ्र्यौट भई २०१ मुद्दामा गरी एक हजार ५४५ प्रतिवादी रहेका थिए । यसमध्ये ६५ दशमलव ६७ प्रतिशत कसुर स्थापित भएको थियो । आव २०८१/८२ मा ३७ हजार २६ उजुरीमध्ये ८० दशमलव २२ प्रतिशत फछ्र्यौट भई १३७ मुद्दामा ७५३ प्रतिवादी  कायम भए । यीमध्ये ५२ दशमलव ६७ प्रतिशत कसुर स्थापित भएको थियो ।       संसद्को गत अधिवेशनमा पेस भएको अख्तियारको ३५औँ वार्षिक प्रतिवेदनमा प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बन्धी उजुरीको सङ्ख्या बढी देखिएको छ ।      ‘स्टिङ अपरेसन’का सम्बन्धमा सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० अमान्य र बदर हुने गरी २०७८ वैशाख ८ मा फैसला भएका कारण त्यसयता घूस (रिसवत) सम्बन्धी भ्रष्टाचार मुद्दाको सफलता दर केही घट्न गएको आयोगको बुझाइ छ ।       आयोगले प्राप्त उजुरी, आयोगको अनुसन्धान र विद्यमान कानुनी व्यवस्थाअनुसार मुद्दा अघि बढाउने भएकाले विशेष अदालतको फैसलाबारे पुनरावलोकनबाहेक अरू विकल्प आफूहरुसँग नहुने प्रवक्ता न्यौपानेको भनाइ छ ।      नेपालको संविधानको भाग २१ बमोजिम दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान गरी वा गराई त्यस्तो अनुसन्धानबाट कसुरदार देखिएमा त्यस्ता व्यक्तिउपर विशेष अदालतमा मुद्दा दायर गराउँदै आएको छ । आयोगले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजन गर्ने वा गराउने कार्यका अतिरिक्त भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न प्रकारका निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिहरु तय गरी सदाचार, निष्पक्षता, निडरता, पेसागत विशिष्टता र प्रमाणमा आधारित अनुसन्धान एवं अभियोजनजस्ता मूल्यमान्यताका आधारमा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्दै आएको प्रवक्ता न्यौपानेले बताए । शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी      आयोगले यसबीचमा दायर गरेका मुद्दामा प्रतिवादी बनाइएकामा तत्कालीन प्रधानमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म छन् । आयोगका अनुसार २०७७ माघ २१ देखि गत चैत मसान्तसम्ममा यस वर्गमा १०२ प्रतिवादी भएका छन् । प्रतिवादी बनाइएकामा पतञ्जली योगपीठको जग्गा साटफेर प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, वाइडबडी खरिदमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, टेरामक्स खरिदमा तत्कालीन सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेत, लिची बगैँचा जग्गाको घूस रिसवतमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री  राजकुमार गुप्ता र तत्कालीन भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री रंजिता श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ  । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको अनियमितता मुद्दामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्य र दीपक चन्द अमात्य तथा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत प्रतिवादी रहेका छन् ।      यस्तै, भन्सार छलेर सुन ल्याएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । यसैगरी, विभिन्न प्रदेशका मन्त्री, सांसद, नगर तथा गाउँपालिकाका प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षविरुद्ध पनि मुद्दा दायर भएको छ ।      यसैगरी, पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अन्तःशुल्क स्टिकरमा मुद्दा दायर भई किनारा लागिसकेको छ भने नेपाल सरकारका तत्कालीन सचिवहरु रामकुमार श्रेष्ठविरुद्ध गैह्रकानुनी सम्पत्ति आर्जन, शङ्करप्रसाद अधिकारीविरुद्ध वाइडबडी खरिद, सञ्जय शर्माविरुद्ध नेसनल पेमेन्ट गेटवे, छविराज पन्तविरुद्ध पतञ्जली योगपीठ जग्गा साटफेरमा मुद्दा दायर गरिएको छ ।       तत्कालीन सचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्माविरुद्ध विमानस्थल निर्माणमा लागत बढाइएको विषयमा मुद्दा दायर भएको छ । यस्तै, विभिन्न सहसचिव, महानिर्देशकहरु, प्रदेश सचिव, सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा विभिन्न कर्मचारीविरुद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ ।       सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा भएको हालको संशोधित व्यवस्थाअनुसार आयोगले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान गर्ने क्रममा सम्पत्ति शुद्धीकरण कसुरका तत्व देखिएमा सोको समेत अनुसन्धान गर्ने व्यवस्था रहेको छ । रासस  

गुल्मीमा शनिबारदेखि सातामा ४ पटक हवाई सेवा सञ्चालन, पर्यटकको सङ्ख्यामा वृद्धि

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।      यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।       पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा-काठमाडौंको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौंका लागि रु १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए । निगमले यसअघि काठमाडौंबाट रेसुङ्गाका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।          विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा रु तीन हजार ४०२ मूल्य वृद्धि गरिएको स्टेसन प्रमुख थापाले जानकारी दिए । उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ ।       वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौं-रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।       काठमाडौंबाट आइतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौबाट बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।      गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो । रासस   

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एक विदेशी पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजा र भाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको एक दशमलव २५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनले भने, 'एअर इण्डियाको उडान नम्बर एआइ २१८ मा काठमाडौंबाट दिल्ली जान लागेका निजले लिई आएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा/भाङको जस्तो देखिने तेल एक दशमवल २५ लिटरको बोतल पाँच थान फेला पारिएको हो । पक्राउ परेका निज अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको प्रवक्ता सिलवालले बताए ।