विकासन्युज

उद्धारदेखि पुनर्निर्माणसम्म अब ‘रियल टाइम’ निगरानी, कसरी हुन्छ काम ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत आयोजनाहरुमा भइरहेको खोज तथा उद्धार, राहत र पुननिर्माणका लागि रियम टाइम अपडेट सिस्टम निर्माण थालेको छ ।  ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा रियल टाइम अपडेटको लागि सिस्टम बनाउन निर्देशन दिएका हुन् । ऊर्जा मन्त्रालयले हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो । मन्त्री श्रेष्ठको निर्देशनअनुसार अब आफ्नै सूचना प्रणाली बनाउन लागेको हो ।  मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार तत्काल मन्त्रालयको सूचना प्रवाहका लागि मन्त्रालयअन्तर्गत कुन जलविद्युत आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न रियल टाइम अपडेट’ प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो । 'कुन-कुन जलविद्युत आयोजनामा कति जना मान्छे फसेका छन्, सुरुङ भित्र र बाहिर कति छन् ? हाम्रो प्रभावित १६ वटा आयोजनामा कहाँ-कहाँ रेस्क्यु अपरेसन भइरहेको छ ? कति जनाको बाहिर उद्धार गरियो ? भित्रको प्रयासहरू के-के हुँदैछ ? त्यसमा मटेरियलको मोबिलाइजेसन हामी कसरी गरिरहेका छौँ ? कोसँग कोअर्डिनेसन गरिरहेका छौँ ? मटेरियल बाटोमा छ कि ठाउँमा पुगिसक्यो ? नेसनल र इन्टरनेसनल एक्सपर्टहरूलाई पनि यसमा पुल गर्न सक्ने एउटा मेकानिजम बनाउँदैछौँ । डे वान देखि डे फाइभ, डे सिक्ससम्म हामीले अहिलेसम्म के-के गर्यौँ ? कुन-कुन समयमा के-के हामीले गर्यौँ, त्यो पनि लिपिबद्ध बनाउने प्रयासमा छौँ,’ उनले भने ।  रियल टाइम अपडेट प्रणालीमार्फत विपद् प्रभावित मुख्य १६ वटा जलविद्युत आयोजनाहरूमा सुरुङभित्र र बाहिर रहेका श्रमिक/कर्मचारीहरूको स्थिति, उद्धारको अवस्था, सामग्रीको परिचालन र आवश्यक राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरूको पुलिङसम्बन्धी विवरण अभिलेख र अनुगमन हुनेछ ।  एसएमटीमार्फत निरन्तर उद्धार र पुनर्निर्माणमा सक्रिय मन्त्री श्रेष्ठ रसुवामा बाढी आउने बित्तिकै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापन, द्रुत उद्धार तथा पूर्वाधार पुनर्निर्माणका लागि आफ्नै नेतृत्वमा उच्चस्तरीय व्यवस्थापन समिति (सिनियर म्यानेजमेन्ट टिम-एसएमटी) गठन गरेका थिए । जलविद्युत आयोजना, सबस्टेसन तथा सिँचाइ पूर्वाधारमा पुगेको क्षति र विपद्को अवस्थालाई सम्बोधन गर्न मन्त्रालयको सचिव, विभाग, महाशाखा र केन्द्रका प्रमुखहरु, नेपाल विद्युत प्राधिकरणका एमडीसहित उच्च अधिकारी सम्मिलित उच्चस्तरीय संयन्त्र सुरुवाती दिनदेखि नै बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणमा खटिएको थियो । मन्त्रालय मातहतका उच्च अधिकारीहरू आफै फिल्डमा खटिएका थिए । उनीहरुले आफू मातहतका अरू निकायसँग सामग्री व्यवस्थापनमा समन्वय गर्ने, उद्धारमा गृह मन्त्रालयलाई सहयोग गर्ने काम गरेका थिए । साथै विद्युत् आपूर्ति अवरुद्ध भएको ठाउँमा विद्युत पुर्याउने, वैकल्पिक ऊर्जाको व्यवस्था गर्ने काममा संयन्त्र सक्रिय भएको थियो । संयन्त्रकै सक्रियतामा नुवाकोटको ९० प्रतिशत ठाउँमा पुनः विद्युतीकरण भइसकेको छ भने रसुवामा पनि द्रुत गतिमा पुनः विद्युतीकरणको काम भइरहेको छ । मन्त्री श्रेष्ठले यो संयन्त्रमार्फत फिल्ड तहदेखि माथिसम्म सबैसँग नेतृत्वदायी समन्वय गरिरहेका छन् । मन्त्री श्रेष्ठले आइतबार एसएमटीको दुईपटक बैठक राखेर सबै कार्यको ब्रिफिङ लिएका छन् । सम्बन्धित सबै निकायलाई आ-आफ्नो मातहतको सबै परिचालन गरेर लिडरसिप देखाएर काम गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालयले अहिलेसम्म खेलिरहेको समन्वयकारी भूमिकाअनुसार काम गर्न सबैलाई निर्देशन पनि दिएका थिए । के के काम गर्यो ?  तुरुन्त फिल्ड परिचालनः एसएमटी कमिटी गठन लगत्तै पहिलो दिन नै प्राविधिक तथा उच्च पदाधिकारीहरूको टोलीलाई प्रभावित साइटहरूतर्फ परिचालन गरियो । तत्काल वैकल्पिक ऊर्जा सामग्री खरिद तथा हस्तान्तरणः बत्ती गएको क्षेत्रमा तत्काल सञ्चार र उज्यालो कायम राख्न पहिलो दिन नै २ किलोवाटका संस्थागत सोलार प्रविधि र २० वाटका ५०० वटा सोलार सेट खरिद/व्यवस्थापनको प्रक्रिया अघि बढाइयो। दोस्रो दिन नै यी सामग्रीहरू एक द्वार प्रणालीमार्फत प्रभावित क्षेत्र (रसुवा)मा पठाइएको । गृह मन्त्रालय र विपद् प्राधिकरणसँग समन्वय: उद्धारको मुख्य जिम्मेवारी गृह मन्त्रालयको भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गर्दै गृह मन्त्रालयलाई पूर्ण सहयोग गरिएको छ । भौतिक तथा प्राविधिक स्रोतको परिचालनः नेपाल विद्युत प्राधिकरण तथा विभागहरूसँग उपलब्ध एक्स्ट्राभेटर, ड्रिलिङ मेसिन, गाडी तथा अन्य अत्यावश्यक सामग्रीहरू तत्काल परिचालन गरी उद्धार टोलीहरूलाई सहयोग पुर्याइयो । विज्ञ टोलीको सहभागिताः उद्धार र जटिल प्राविधिक अवरोध हटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीहरूलाई समेत सहभागी गराई समन्वय भइरहेको छ । अब रियल टाइम अपडेटः विगत ५ दिनसम्म विपद् प्राधिकरण र अन्य निकायहरूसँग निरन्तर समन्वय गरिसकिएको र अब मन्त्रालय अन्तर्गत कुन आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न ’रियल टाइम अपडेट’ संयन्त्र औपचारिक रूपमा कार्यान्वयनमा ल्याइँदैछ । अब के गर्दैछ ?  उच्चस्तरीय व्यवस्था संयन्त्रले अब राष्ट्रिय योजना आयोग र विपद् प्राधिकरणसँगको सहकार्यमा विस्तृत क्षति आकलन (म्भतबष्भिम म्बmबनभ ब्ककभककmभलत) गर्दै क्षतिग्रस्त जलविद्युत आयोजना र सबस्टेशनहरूको पुनरुत्थान (च्भजबदष्ष्तिबतष्यल), पुनर्निर्माण (च्भअयलकतचगअतष्यल) र पुनर्लाभ (च्भअयखभचथ एबिल) का लागि स्रोतको पहिचान र कार्यविधि निर्माणको काम द्रुत गतिमा अगाडि बढाएको छ । मन्त्रालयकाअनुसार बाढीबाट चार सय बढी मेगावाट अर्थात १० प्रतिशत विद्युत् आपूर्तिमा असर परेकाले त्यसलाई पुनर्निर्माण गर्न संयन्त्रले काम अगाडि बढाएको हो ।

धरौटीको रकम फिर्ता लैजान १५ दिनको ताकेता

काठमाडौं । काठमाडौं जिल्ला अदालतले विभिन्न मुद्दामा धरौटीबापत जम्मा भएको रकम फिर्ता लैजान १५ दिनको समय दिएको छ ।  अदालतका अनुसार विगतदेखि आर्थिक वर्ष २०८१/८२ सम्म विभिन्न मुद्दाको कारबाहीका क्रममा धरौटी खातामा जम्मा गरिएको रकम फिर्ता पाउने गरी आदेश वा फैसला भई मुद्दाको अन्तिम किनारा समेत भइसकेको जनाएको छ । तर, सम्बन्धित पक्ष रकम फिर्ता लिन नआएको अदालतले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६६ को उपनियम (२) अनुसार मुद्दाको अन्तिम किनारा भएको मितिले एक वर्षभित्र धरौटी जम्मा गरेको प्रमाणसहित सम्बन्धित व्यक्ति वा संस्थाले रकम फिर्ताका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र दाबी नपरेमा नियम ६८ तथा प्रचलित कानुनबमोजिम त्यस्तो रकम सदरस्याहा गर्नुपर्ने कानुनी व्यवस्था रहेको अदालतले जनाएको छ । अदालतमा दर्ता भई २०८२ साल असार मसान्तसम्म अन्तिम किनारा भएका मुद्दाका पक्षले सम्बन्धित मुद्दामा जम्मा गरेको धरौटी रकम हालसम्म फिर्ता नलिएको भए आवश्यक कागजात तथा प्रमाणसहित १५ दिनभित्र अदालतमा सम्पर्क गरी रकम फिर्ता लिन सक्नेछन् । तोकिएको १५ दिने म्यादभित्र धरौटी रकम फिर्ता लिन नआएमा म्याद नाघेका धरौटी रकम प्रचलित कानुनबमोजिम सदरस्याहा गरिने अदालतले जनाएको छ ।  

बाढीपहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकको अवस्थाबारे जानकारी दिएको हो । कोशी प्रदेशको इलामस्थित मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९, राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै सवारी आवागमनमा कडाइ गरिएको छ । काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । दिउँसो भने परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने जनाइएको छ । मकवानपुरस्थित कान्तिलोकपथको हेटौंडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा सम्भावित बाढी र पहिरोका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोटमा टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८, घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटका अन्य मुख्य राजमार्ग तथा पासाङल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङस्थित पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका-७, कृष्णभीर र गजुरी गाउँपालिका-२, परेवा भीरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका-७, झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो जाँदा नाग्म-मुगु-गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडकहरू सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । साथै, वर्षा र बाढीपहिरोको जोखिम रहेकाले यात्राका क्रममा विशेष सजगता अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका-१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । शवको डीएनए नमुना सुरक्षित राखेर जङ्गलमा व्यवस्थापन गरिएको र सनाखत भएका शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएकाे छ । डीएनए परीक्षणबाट बेपत्ता व्यक्तिका परिवारसँग नमुना मिलेमा व्यवस्थापन गरिएको स्थानबाट शव पहिचान गरी परिवारलाई बुझाउन सकिने गरी सङ्केत चिह्नसमेत राखिएको प्रहरीकाे भनाइ छ । हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, ७ बालक, ६ बालिका र ८७ वटा अन्य अर्थात् अवशेष रहेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ ।

भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली-३ ‘ए’को सुरुङ खोल्न ब्लास्टिङ

काठमाडौं । भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् आयोजनाको ३ ‘ए’मा आज बिहान ३ बजे ब्लास्टिङ गरिएको छ । बाढीका कारण थुनिएको सुरुङको मुख खोल्ने क्रममा ब्लास्टिङ गरिएको हो । तर, सुरुङको भाग पूरै पानीले भरिएकाले अहिले भित्र पस्न सक्ने अवस्था नरहेको सांसद श्रीराम न्यौपानेले जनाएका छन् । उनले भनेका छन्, ‘राति करिब ३ बजे ब्लास्ट त गरियो, तर भित्र पस्ने आशा असम्भव भयो ।’ सुरुङको मुख खोल्ने काम भने जारी रहेको उनले जानकारी दिएका छन् । करिब ४० सेन्टिमिटर मोटाइको ढलान फोर्न ब्लास्टिङ गर्नुपरेको उनले बताएका छन् ।

आजको मौसम: यी प्रदेशमा धेरै भारी वर्षा हुने

काठमाडौं । देशभर साधारणदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । हाल कोशी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भागका थोरै स्थान, बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना छ । भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री बालेनले भने- ५ अर्ब २४ करोडभन्दा बढी राहत कोषमा जम्मा भएको छ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि सरकारले रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ती सञ्चालित केन्द्रहरूबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत सामग्री प्राप्त गरेको बताएका हुन् । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिँदै अहिलेसम्म हवाई र स्थलमार्ग भई कुल ९ हजार ४३५ जना मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइसकेको छ । अत्यन्त जोखिमपूर्ण बनेको प्रभावित विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार साँझसम्म थप २७९ जनाको सफल उद्धार गरिएको छ ।  विशेष गरी रसुवाको माथिल्लो त्रिशूली-१ आसपासको क्षेत्रबाट पछिल्लो दुई दिनभित्र मात्रै २५० जनालाई सकुशल उद्धार गरिएको छ। सो क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी चिनियाँ र कोरियन विशेषज्ञ टोलीले समेत उद्धार प्रयासलाई निरन्तरता दिइरहेका छन् ।  चिनियाँ प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गरी ३ किलोमिटरसम्म गहन खोजतलास गरिसकेको भए तापनि अहिलेसम्म त्यहाँ मानिसहरू फेला पर्न नसकेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । यसैबिच, बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ । फेला परेका ती सबै शवहरूको व्यवस्थापन हालै स्वीकृत ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम गरिएको छ । प्रधानमन्त्री शाहका अनुसार विपद् व्यवस्थापन र राहत कार्यका लागि प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भइसकेको छ ।  उनले सरकारको यो प्रयासमा साथ दिने विभिन्न मित्रराष्ट्र तथा दातृ निकायहरूबाट उपलब्ध भएका सहयोगका विवरणहरू समेत सार्वजनिक गर्दै धन्यवाद व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्री बालेनको स्ट्याटस जस्ताको त्यस्तै: आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, विगत ५ दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पु¥याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ। प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतिपूर्ण भएपनि हामी दृढताका साथ नागरिकको जीवन रक्षाका लागि अघि बढिरहेका छौं।  आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन। आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ। हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौं। नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौं। यस विपद्को घडीमा प्रभावित क्षेत्रमा भइरहेका खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यहरूको हालसम्मको संक्षिप्त विवरणः १) खोजी तथा उद्धार  बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित मानिसहरुको उद्धारलाई तीव्र पारेको थियो। प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म ९,४३५ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएका छौं। राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २०,६१८ जना सुरक्षाकर्मी खटिनुभएको छ। उद्धारमा अन्य स्वयम्सेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहनुभएको छ।  प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ। तर, अहिलेसम्म मानिस फेला पार्न सकेको छैन।  नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ। उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’ अघि बढाइएको छ। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपाल, र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ। टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।  नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी छ। आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ। यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ।  रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ। भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ।  रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु भइसकेको छ। २) उपचार तथा मनोपरामर्श बाढीका कारण त्यहाँ रहनुभएका धेरै मानिसहरू घाइते हुनुभएको थियो। उहाँहरूलाई हामीले जतिसक्दो चाँडो उद्धार गरी उपचार गर्ने कोसिस गर्यौं र त्यो क्रम जारी छ। प्रभावित क्षेत्रबाट २६७ घाइते मानिसहरूलाई उद्धार गरी स्थानीयसँगै काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार गरिरहेका छौं।  केहीबेरअघिसम्म अस्पतालबाट १५६ जना डिस्चार्ज भइसक्नुभएको छ भने अन्य घाइते मानिसहरूको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ। प्रभावित क्षेत्रहरूमा उपचार, मनोपरामर्शका लागि काठमाडौंबाट विभिन्न चिकित्सकसहितको टोली खटिनुभएको छ। प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूको सेवा सुचारु गर्ने क्रम जारी छ। ३) आर्थिक सहयोग नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ।  प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ। संकलित रकम कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्नेबारे हामीले छलफल गरिरहेका छौं। ४) राहत संकलन, वितरण तथा नागरिक व्यवस्थापन  नेपालले व्यहोरिरहेको यो विपद्मा देशभित्रै सहयोग गर्ने क्रम जारी छ। छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ। नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्‍याइसकेको छ। काठमाडौंको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ। मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्‍याइएको छ।  रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएका छन्। यी केन्द्रबाट आइतबार मात्रै ३,४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।  राहत वितरणलाई थप प्रभावकारी बनाउन त्यहाँ भण्डारण गरिएको राहत सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा समेत प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको छ। ५) अन्तर्राष्ट्रिय सहयोग  हामीलाई यो विपद्मा आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरू पनि बढ्दैछन्। एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ।  साथै, भारत सरकारबाट हालसम्म चार चरणमा कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किसिमको सहायता आउँदैछ। चीनबाट ३० वटा बेलीब्रिज सहयोग अनुरोध गरिएको छ। भारतले आइतबार २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। स्विट्जरल्यान्डबाट १ मिलियन स्विस फ्र्याङ्क (संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी) प्राप्त भएको छ। ६) सञ्चार सम्पर्क  प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ। आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ। नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। ७) वैकल्पिक सडक सञ्चालन  बाढीले मुख्य सडकहरूमा क्षति पुर्‍याएको थियो। हामीले वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास गरिरहेका छौं। तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ। साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ। तर, हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेका छन्। ८) शव व्यवस्थापन  बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुनबमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ। हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्‍याउने र पुनर्निर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ।  धन्यवाद।

सकियो १८औं नाडा अटो शो, बीवाईडी, यामाहा र माछापुच्छ्रे बैंक बने उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औं स्वर्णजयन्तीको अवसरमा आयोजित १८औं संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र नेपाली अटोमोबाइल बजारमा देखिएको नयाँ सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो । नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तिय संस्थाहरु तथाा बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो । शोको मुख्य आकर्षण नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन बने । विभिन्न ब्रान्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरे । विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका ईभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने । बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल शोका आकर्षण बनेका थिए । अटो शोमा सवारीसाधन बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा प्रतिस्पर्धा देखियो । बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्क तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न अफर सार्वजनिक गरेका थिए ।  केही बैंकले विद्युतीय सवारीसाधनका लागि विशेष कर्जा सुविधा र कम ब्याजदरका योजना अघि सारेका थिए ।यस वर्षको अटो शो बाढीपहिरोको पीडाका बीच आयोजना गरिएको थियो । शो सञ्चालन भइरहेकै समयमा भोटेकोशी, त्रिशूलीलगायतका नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो ।  यस्तो अवस्थामा पनि अटो शो निरन्तरता पाउनु उद्योगी-व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम र सर्वसाधारणको सहयोग तथा विश्वासको परिणाम भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवको भन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैं एउटै ठाउँमा रोकिन नसक्ने बताए ।  ‘विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ । तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,’अध्यक्ष उप्रेतीले भने, ‘यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौं । कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ ।’ उनले अटो शो केवल सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने र उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यम भएको बताए । नाडाले यस वर्षको शोमा ‘उद्योगदेखि रोजगारसम्म भन्ने अवधारणालाई समेत प्राथमिकता दिएको थियो । नाडा अटो शो २०२६ मा उत्कृष्ट स्टलको उपाधि विभिन्न पाँच विधामा प्रदान गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साईमैक्स इन्क प्रांलिको बीवाईडीले उत्कृष्ट स्टलको उपाधि पाएको छ । त्यस्तै, दुईपांग्रे सवारीसाधनतर्फ एमएडव्लु राइड्स प्रा.लिको यामाहा, कमर्सियल चारपांग्रेतर्फ एनइभि नेपालले विक्री गर्दै आएको दिगोले उत्कृष्ट स्टलको उपाधि पाएको छ । त्यसैगरी अटो कम्पोनेन्टतर्फ सिप्रदि अटोपार्टस् प्रालिले राखेको मिशेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो ।