त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ । नदीले सडकको तल्लो भागबाट तिब्र रूपमा कटान गरेसँगै बुधबार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन शुरु भएको हो । नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ । गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले यस क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो । आज बिहानदेखि सडकको केही भाग धस्सिएपछि सो क्षेत्र भएर गुड्ने सवारी साधन र यात्रुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ । सडक भासिने क्रम शुरु भएसँगै उक्त खण्डमा यातायात सञ्चालन गर्दा उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ । प्राविधिक रूपमा सडकको आधारभूत संरचनामै असर परेकाले थप क्षति हुन नदिन र सम्भावित दुर्घटना टार्न शतर्कता अपनाउन आवश्यक रहेको छ ।
नास्पाती किलोको १०० रुपैयाँ, यस्तो छ कृषिउपजको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज ठूलो नेपाली र भारतीय गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ३० रुपैयाँ, टनेल गोलभेँडा ४५ रुपैयाँ र भारतीय सानो गोलभेँडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलुमा रातो आलु ५१ देखि ५३ रुपैयाँ र भारतीय तथा सेतो आलु ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ । भारतीय प्याजको मूल्य प्रतिकिलो ९८ रुपैयाँ कायम गरिएको छ। गाजर ८० देखि १०० रुपैयाँ, बन्दा ३० रुपैयाँ, काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, लौका ५० रुपैयाँ, भिन्डी ४० रुपैयाँ र स्कुस ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ । हरियो तरकारीतर्फ रायोको साग ६० रुपैयाँ, पालुङ्गो १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । फलफूलमा फुजी स्याउ प्रतिकिलो ४०० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती ४०० रुपैयाँ, जुनार २०० रुपैयाँ, नेपाली नास्पाती १०० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । मसलातर्फ अदुवा प्रतिकिलो २५० रुपैयाँ, हरियो खुर्सानी ५० देखि ७० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ र चाइनिज लसुन २२० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ ।
ठाकुर बराल र भेञ्चर ट्रेडिङले बिक्रीमा राखे लुम्बिनी विकास बैंकको सेयर
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको १ लाख ४३ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै उक्त सेयर खरिद गर्न इच्छुक भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा र खरिददर १५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । युरो एकको बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०६ रुपैयाँ ११ पैसा तोकिएको छ । स्विस फ्र्याङ्क एकको बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ७५ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ५६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी रियाल ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७६ पैसा र यूएई दिराम ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।
प्रभु इन्स्योरेन्सले जम्मा गर्यो सेयरधनीको खातामा बोनस सेयर
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस सेयर जम्मा गरेको छ । गत वैशाख ९ गते सम्पन्न ३०औँ वार्षिक साधारणसभाबाट पारित ८.७० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०८२ चैत २६ गतेसम्म कारोबार भई अभिलेखमा कायम रहेका सेयरधनीको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो । उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चैत २५ गतेसम्म सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । कर्जा भुक्तानी भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गराउन कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । चैत २५ गतेपछि सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर भने रोक्का नजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बोनस सेयर रोक्का भए वा नभएको यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन कम्पनीले अनुरोध गरेको छ । भौतिक स्वरूपमा सेयर रहेका र हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीले प्रभु क्यापिटल लिमिटेड, कमलादी वा आफूलाई पायक पर्ने प्रभु बैंकका शाखा कार्यालय तथा अन्य निक्षेप सदस्यमार्फत हितग्राही खाता खोली सेयर अभौतिकीकरण गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसपछि बोनस सेयर सम्बन्धित हितग्राही खातामा प्राप्त गर्न सकिनेछ ।
सानिमा क्यापिटलले १० प्रतिशत नगद लाभांश बाँड्ने
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ८ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल-१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ बजे बस्नेछ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।
नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्य बन्यो निफ्रा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा आबद्ध भएको छ । निफ्रा एसोसिएट सदस्य बनेसँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । निफ्राको सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन तथा जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक चुनौतीलाई सम्बन्धित सरोकारवालासमक्ष सामूहिक रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने संघले जनाएको छ । त्यस्तै, आवश्यक साझा धारणा निर्माण, नीतिगत सिफारिस तथा सुझाव प्रस्तुत गर्नसमेत यस सहकार्यले थप आधार प्रदान गर्ने विश्वास गरिएको छ । निफ्राको पूर्वाधार वित्त तथा लगानीसम्बन्धी अनुभव र विशेषज्ञताबाट संघका अध्ययन, अनुसन्धान, नीतिगत संवाद तथा ज्ञान आदानप्रदानमा साझा सिकाइका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
भोटेकोशी बाढीलाई जलवायु संकटसँग जोडेर अध्ययन गर्न विज्ञहरूको सुझाव
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबारे जलवायु तथा वातावरणसम्बन्धी विज्ञहरूसँग सुझाव लिएकी छन् । मन्त्री चौधरीले मन्त्रालयमा जलवायु तथा वातावरणसम्बन्धी विज्ञहरूलाई बोलाएर बाढीको कारण, त्यसबाट भएको क्षति तथा आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेकी हुन् । छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताइन् । अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि आयोजित विज्ञहरूको छलफलमा उनले जलवायु परिवर्तनको मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा जोड दिइन् । नेपालले विश्वसामु जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्न नसकेसम्म जलवायु संकटले निम्त्याउने क्षति र समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्न कठिन हुने उनको भनाइ थियो । मन्त्री चौधरीले जलवायु तथा वातावरणका विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘हिजो जलवायु परिवर्तन र वातावरणका मुद्दा सरकारले प्राथमिकतामा राखेन भन्ने हाम्रो गुनासो थियो । तर अब मन्त्रालयमा आएपछि जलवायु र वातावरणको एजेन्डालाई नेपालको उच्च प्राथमिकतामा राखेर काम गर्न चाहन्छु । नेपालले आफ्नो अधिकार र दाबीका रूपमा यो मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउँदै माउन्टेन एजेन्डाको नेतृत्व गर्नुपर्छ ।’ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिलाई जलवायु संकटसँग जोडेर वैज्ञानिक अध्ययन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले प्रारम्भिक सूचना प्रणालीको सुदृढीकरण, क्षति तथा नोक्सानीको यथार्थ मूल्यांकन र अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । विज्ञहरूले हिमपात तथा बरफ पग्लिने क्रम, चट्टानमा देखिएका चिरा तथा हिमपहिरोका प्रभावलाई सूक्ष्म रूपमा अध्ययन गर्न हिमनदी विज्ञ तथा वैज्ञानिकको ज्ञान र अनुसन्धान उपयोग गर्नुपर्ने बताएका छन् । तापक्रम वृद्धि तथा विश्वव्यापी तापमान वृद्धिका कारण यस्तो जटिल र बहुआयामिक प्रभाव देखिएको हुनसक्ने भन्दै उनीहरूले घटनाको वैज्ञानिक अध्ययन तथा जलवायुजन्य कारणको पहिचान तत्काल अघि बढाउनुपर्ने बताएका छन् । विज्ञहरूले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको क्षतिलाई आगामी कोप–३१ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट प्राथमिकताका साथ प्रस्तुत गर्न पनि सुझाव दिएका छन् । त्यस्तै, भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्का लागि विशेष क्षति तथा नोक्सानी कोष स्थापना गर्नुपर्ने, पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने र कोप–३१ का लागि नेपालको स्पष्ट राष्ट्रिय धारणा तयार गर्नुपर्ने सुझावसमेत विज्ञहरूले दिएका छन् ।