विकासन्युज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार मात्रै २५ करोडभन्दा बढी रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरूबाट २५ करोड ६७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता प्राप्त भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्राप्त जानकारी अनुसार कोषमा राहत प्रदान गर्ने कुल ८० जना व्यक्ति तथा संस्थाहरूबाट चेक मार्फत सो रकम संकलन भएको हो ।  सङ्कलनका लागि प्राप्त चेकहरूमा उल्लेख भएको कुल रकम २५ करोड ६७ लाख ८४ हजार छ सय ७० रुपैयाँ रहेको छ । प्राकृतिक विपद्बाट प्रभावितहरूका लागि उपलब्ध गराइएको यो सहयोग रकमले उद्धार, राहत तथा पुनर्नर्माणको कार्यमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

कृष्णभीरमा सडक सञ्चालन र दीर्घकालीन समाधानका लागि पूर्वाधार मन्त्रालयको पाँचबुँदे निर्णय

काठमाडौं । पृथ्वी राजमार्गको सहज सञ्चालन तथा कृष्णभीर क्षेत्रको तत्कालीन र दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्णय गरेको छ ।  मंगलबार मन्त्रालयमा बसेको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्नका लागि तत्काल र दीर्घकालीन योजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।  बैठकले तत्काल विपद्को सामना गर्न कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तुरुन्त अघि बढाउने निर्णय गरेको छ ।  यसका साथै, नयाँ ट्र्याक खोल्ने कार्यसँगसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डरहरू हिलसाइडबाट तल खसाल्ने कार्यलाई पनि निरन्तरता दिइनेछ । कृष्णभीरको पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागले टनेल (सुरङमार्ग), सोइल नेलिङ, तथा सिट पाइललगायतका प्राविधिक विकल्पहरूबारे आवश्यक अध्ययन अघि बढाउने भएको छ ।  मन्त्रालयले कृष्णभीरको स्थायी विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडकको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । यी उल्लिखित विकल्पहरूको अध्ययन तथा प्राविधिक परामर्शका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ ।  सो कार्यका लागि आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच चाँडै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

आश्मा केसी र नीति शाहले गरे बाढीपीडितलाई १५ लाखको राहत सहयोग

काठमाडौं । पूर्वमिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितका लागि करिब १५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् । उनीहरूले करिब १० लाख रुपैयाँ संकलन गरी बाढी प्रभावित परिवारका लागि ५१ वटा टेन्ट उपलब्ध गराएका हुन् । त्यससँगै २०० कार्टुन चाउचाउ तथा अन्य राहत सामग्रीसमेत वितरण गरिएको छ । एउटा टेन्टमा करिब १० देखि १५ जनासम्म बस्न सक्ने भएकाले ५१ वटा टेन्टबाट मात्रै करिब ५०० देखि ६०० जनासम्मलाई अस्थायी आश्रय उपलब्ध गराउन सकिनेछ । विपद्का कारण घरबाहिर बस्न बाध्य भएका र तत्काल आश्रयको आवश्यकता रहेका परिवारलाई लक्षित गरी राहत सहयोग गरिएको हो । 

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आइआइएमएस समूहको ११ लाख ११ हजार सहयोग

काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आइआइएमएस समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । आइआइएमएस कलेज, अरन्या बुटिक होटल र टेलर्स क्याफे सम्मिलित समूहको संयुक्त संस्थागत पहलअन्तर्गत उक्त रकम सहयोग गरिएको हो ।  कुल सहयोगमध्ये टेलर्स क्याफेले ५५ हजार ५५५ रुपैयाँ, अरन्या बुटिक होटलले २ लाख २२ हजार २२२ रुपैयाँ र आइआइएमएस कलेजले ८ लाख ३३ हजार ३३४ रुपैयाँ योगदान गरेका छन् । शिक्षा, आतिथ्य तथा सेवा क्षेत्रमा क्रियाशील आइआइएमएस समूहले व्यावसायिक तथा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत दायित्वको महत्वपूर्ण हिस्साका रूपमा लिँदै आएको जनाएको छ । संस्थागत सहयोगसँगै आइआइएमएस कलेजका कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी बाढी प्रभावित परिवारका लागि ५५ हजार ५५५ रुपैयाँ बराबरको छुट्टै सहयोग गरेका छन् । कर्मचारीहरूको स्वेच्छिक सहभागितामा संकलन गरिएको उक्त रकमले विपद्को समयमा संस्थागत तहसँगै व्यक्तिगत तहबाट समेत सामाजिक उत्तरदायित्व र मानवीय सहकार्यमा सहभागी हुनुपर्ने सन्देश दिएको आइआइएमएसले जनाएको छ । यसैगरी, आइआइएमएसका विद्यार्थीहरूले आइआइएमएस सामाजिक उत्तरदायित्व तथा नेतृत्व क्लब (सोल क्लब) मार्फत छुट्टै राहत अभियान सञ्चालन गरेका छन् । क्लबको नेतृत्वमा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग संकलन गरी ५४ हजार रुपैयाँ बराबरको राहत सामग्री जुटाएका छन् । उक्त राहत सामग्री बाढीबाट प्रत्यक्ष प्रभावित परिवार तथा समुदायसम्म पुर्‍याउने उद्देश्यले इको साथी संस्थालाई हस्तान्तरण गरिएको छ । विद्यार्थीहरूले आफैं योजना बनाएर सहयोग संकलन तथा राहत सामग्री व्यवस्थापनमा सहभागी हुनु यस अभियानको महत्वपूर्ण पक्ष रहेको कलेजले जनाएको छ ।  यसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, स्वयंसेवा, नेतृत्व, सहकार्य र समुदायप्रतिको संवेदनशीलता विकास गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । यसरी बाढी प्रभावितका लागि सञ्चालन गरिएको सहयोग अभियानमा आइआइएमएस समूहका संस्थाहरू, कर्मचारी तथा विद्यार्थी गरी तीनै तहबाट छुट्टाछुट्टै सहभागिता जनाइएको छ । आइआइएमएस समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सबिन्द्र महर्जनले विपद्का बेला संस्थाको जिम्मेवारी शैक्षिक तथा व्यावसायिक गतिविधिमा मात्र सीमित नहुने बताए । महर्जनले संस्थागत योगदानसँगै कर्मचारी तथा विद्यार्थीहरूले आ–आफ्नो तहबाट छुट्टै पहल गर्नु अझ अर्थपूर्ण भएको बताए । उनका अनुसार समाजप्रति संवेदनशील, जिम्मेवार र आवश्यक परेको समयमा योगदान गर्न सक्ने नागरिक निर्माण गर्नु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य हो । महर्जनले विपत्तिको व्यापकताको तुलनामा संस्थाको योगदान सानो प्रयास भए पनि धेरै व्यक्ति तथा संस्थाका यस्ता प्रयास एक ठाउँमा जोडिँदा प्रभावित समुदायमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको ११ लाख ११ हजार १११ रुपैयाँको संस्थागत सहयोग बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेका राष्ट्रिय प्रयासमा उपयोग हुने अपेक्षा गरिएको छ ।  

भोटेकोशी बाढीपीडितका लागि ज्योति विकास बैंकको १ करोड सहयोग

काठमाडौं । ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ । साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लामा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत थप ५० लाख रुपैयाँसम्म चरणबद्ध सहयोग उपलब्ध गराउने जनाएको छ । बैंकले विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति साथ, सहानुभूति र ऐक्यबद्धता रहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति बैंकले सम्मान व्यक्त गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर ११७ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

रास्वपा सभापति र चिनियाँ राजदूत मिङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ । सभापतिको बुढानीलण्ठस्थित निवासमा मंगलबार दिउँसो भेटवार्ता भएको हो ।  भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका थिए । खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै चीन नेपालको साथमा रहेको बताउँदै उनले  नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने पनि उनले बताए । भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।  साथै बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ । विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको साथमा उभिँदै सहयोग गरिएको बैंकले जनाएको छ ।  बैंकका अनुसार उक्त सहयोगबाट प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।

विपद्को सामना गर्न सबै दल एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकले विपद्को सामना गर्न राजनीतिक दलहरूबीच एकता कायम गर्दै उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले पछिल्लो विपत्ति नेपालको कारणले मात्रै नभएको दाबी गर्दै विश्वव्यापी जलवायु परिवर्तन र विकसित मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए । ‘यो विपत्ति नेपालको कारणले भएको होइ न। कार्बन उत्सर्जन गर्ने अन्य राष्ट्रका कारण हामीले यसको असर भोगिरहेका छौँ,’ शाहीले भने, ‘त्यसैले क्षतिपूर्तिसहितको दाबी अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म पुर्‍याउनुपर्छ ।’ उनका अनुसार नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिको अन्तर्राष्ट्रियस्तरमा क्षतिपूर्ति माग गर्न संसद्बाटै आवश्यक निर्णय गरेर अघि बढ्नुपर्ने विषय बैठकमा उठेको थियो । सर्वदलीय बैठकमा विपद्का कारण विभिन्न स्थानमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धारलाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको शाहीले बताए । विशेषगरी सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेकाहरूको तत्काल उद्धार र प्रभावित नागरिकसम्म राहत पुर्‍याउने विषयमा दलहरूले जोड दिएका थिए । संकटको समयमा सरकारको आलोचना र राजनीतिक विभाजनभन्दा उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै शाहीले विपद् व्यवस्थापनमा सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए । उनले विपद् व्यवस्थापन प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । संघीय सरकारले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहजीकरण गर्दै उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।