विकासन्युज

डा. श्रवण मिश्रविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि अख्तियारले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने क्रममा खरिद प्रक्रियामा अनियमितता भएको थियो । ठेक्का नम्बर PPHL2/G/NCB/05/2078-79 मा कानुनविपरीत खरिद कार्य गरेको आरोपमा डा. मिश्रसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा अख्तियारले ५ करोड १ लाख ९० हजार ८० रुपैयाँ बिगो कायम गरी सजायको माग गरेको थियो । साथै डा. मिश्रलाई थप सजायसमेत हुनुपर्ने माग अख्तियारको थियो । तर विशेष अदालत काठमाडौंले २०८२ फागुन १३ गतेको फैसलाबाट प्रतिवादीलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ १६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ थियो । बुधबार सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको हो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

३ कम्पनीको लाभांश घोषणा, प्रिमियममा आईपीओदेखि हकप्रद जारी गर्ने

काठमाडौं । तीनवटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा होटेल सारथी लिमिटेड, सेन्चुरी इनर्जी लिमिटेड र डिभाइन हेल्थ केयर लिमिटेड रहेका छन् । होटेल सारथीले गत वर्षसम्मको जगेडा कोषबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ४ गते दिउँसो १२ बजे होटेल सारथीको सभा हलमा दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै, कम्पनीले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर प्रिमियममा जारी गर्ने प्रस्तावसमेत सभामा पेस गर्नेछ । त्यस्तै, सेन्चुरी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १० गते बिहान साढे ८ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारण सभा बोलाएको छ । सभाले कम्पनीको स्वामित्वमा रहेको मोटरसाइकल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन र कम्पनीको साधारण सेयर जारी गर्ने सम्बन्धी प्रस्तावसमेत सभामा पेस हुनेछ । यस्तै, डिभाइन हेल्थ केयर लिमिटेडले चुक्ता पुँजीको १.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०६५ प्रतिशत नगद लाभांश गरी कुल १.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ६ गते बिहान ११ बजे उद्योग परिसर, भरतपुर-१६, चितवनमा दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गरी अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नियमावली संशोधन गरी हाल कायम ११ सदस्यीय सञ्चालक समितिको संख्या घटाएर ७ जना कायम गर्ने प्रस्ताव छ । प्रस्तावित संरचनाअनुसार संस्थापक समूहबाट ५ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र व्यवसायिक विशेषज्ञ स्वतन्त्र सञ्चालक १ जना रहनेछन् । कम्पनीले बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत गरेको छ । हकप्रद सेयर निष्काशनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । यसैगरी, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने सम्बन्धमा प्रथम वार्षिक साधारण सभाबाट भएको निर्णयलाई निरन्तरता दिने तथा आईपीओबाट प्राप्त पुँजी उपयोग गर्ने सम्बन्धी प्रस्तावसमेत साधारण सभाले पारित गर्नेछ ।

रसुवा बाढी : मृतकको संख्या १ हजार ११४ पुग्यो, करिब ४ हजार अझै बेपत्ता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको बताएको छ ।  प्राधिकरणको बुधवार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोजन्य विपदमा परी हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको हो ।  प्राधिकरणका अनुसार बाढी र पहिरो परी निधन भएकाहरू  चितवनमा सबैभन्दा बढी ३ सय ४८ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा १ सय ९०, नुवाकोटमा १ सय ५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।  यस विपदमा हालसम्म २९२ जना घाइते भएका छन् । जसमध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी छ ।  घाइतेहरूको उपचारका लागि नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरी बलले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।  विपद्का कारण करिब ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, पर्यटक तथा स्थानीय बासिन्दा र जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू रहेका छन् । प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ ।  उद्धार कार्यका लागि २१,३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका ९ हजार १ सय ९९, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।  नेपाली सेनाले ६ सय २२ पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरेको छ । यस्तै, ३ हजार ४ सय ५३ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा राखिएको छ ।  सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसका साथै प्रभावित १५ वटा पालिकाका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ । राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । दुर्गम क्षेत्रहरूमा ७७ पटक हेलिकप्टर उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ । प्रभावित क्षेत्रमा अत्यावश्यक इन्धनको मौज्दात सुरक्षित राखिएको छ । हाल ४९ हजार लिटर डिजेल, १९ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।  सञ्चार क्षेत्रमा परेको असरलाई मत्थर पार्दै नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा ल्याइएको छ । यस्तै, एनसेलका ७८ क्षतिग्रस्त टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन् । बाँकी टावरहरूको मर्मत कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।–न्युज एजेन्सी नेपाल

राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिर निर्माणमा अनियमितता गरेको आरोपमा ५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार मन्दिर निर्माणका क्रममा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएर नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको थियो । सोही आधारमा ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । उक्त निर्माणका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो । रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणका लागि पर्यटन विकास कार्यालय, गौर र उपभोक्ता समितिबीच सम्झौता भएको थियो । अख्तियारले पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेलविरुद्ध ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । त्यस्तै, उक्त योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायसरह सजाय माग गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा फिल्डमा नभएको काम भएको देखाई गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेका थिए । त्यसका आधारमा झुट्टा बिल तथा भरपाई बनाएर बढी भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।  बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ ।  बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ ।  ‘केही विद्यालयले भने उच्च सतर्कता अपनाएसँगै ठूलो दुर्घटना हुनबाट जोगिएको छ,’ उनले भने, ‘अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ । केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउन योजना बनाउनेछौं ।’ त्रिशूली नदीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाको तथ्याङ्कअनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेकाले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ । त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एकवटा ब्लकमात्र बाँकी छ । चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्राबास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाइ छ । रामचन्द्र आविको एक र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा बस बाढीले बगाएको छ ।   त्यस्तै, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ भने बेलकोटगढीमा एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।  बेलकोटगढी–७ स्थित शिलादेवी मावि बाढीबाट प्रत्यक्ष र वडा नं ५ को महादेव मावि प्रभावित बनेको छ ।

कागेश्वरी मनोहराका इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की घुस रकमसहित पक्राउ परेकी छन् । उनीसँगै घुस रकम लिन मध्यस्थता गर्ने आस्मा कार्की पनि पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले स्ट्रक्चर एनालाइसीसको काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले दुवै जनालाई ६४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनीहरूलाई भदौ १५ गते कागेश्वरी मनोहरा नगरपालिका–थली, डाँछीस्थित कार्यालयबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेकामध्ये इन्जिनियर कार्कीले घुस रकमका लागि सेवाग्राहीसँग पटक–पटक बार्गेनिङ गरी दुःख दिएको अख्तियारको दाबी छ । उनीहरूमाथि घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। विशेष अदालतको आदेशबाट भदौ १६ गते म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

एचआईडीसीएलको सञ्चालकमा पर्वत कार्की नियुक्त

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को सञ्चालक समितिमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमालको स्थानमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीलाई सञ्चालकमा मनोनयन गरिएको हो । नागरिक लगानी कोषले भदौ १५ गते पठाएको पत्रअनुसार कार्कीलाई एचआईडीसीएलको सञ्चालकमा मनोनयन गरिएको कम्पनीले जनाएको छ । कार्कीले भदौ १६ गते कम्पनीका सञ्चालक समितिका अध्यक्षसमक्ष सञ्चालक पदको शपथ लिएका छन् । कम्पनीले सञ्चालकमा भएको परिवर्तनबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराएको छ ।