काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस सेयर जम्मा गरेको छ । गत वैशाख ९ गते सम्पन्न ३०औँ वार्षिक साधारणसभाबाट पारित ८.७० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०८२ चैत २६ गतेसम्म कारोबार भई अभिलेखमा कायम रहेका सेयरधनीको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो । उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार चैत २५ गतेसम्म सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । कर्जा भुक्तानी भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गराउन कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ ।
चैत २५ गतेपछि सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर भने रोक्का नजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बोनस सेयर रोक्का भए वा नभएको यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन कम्पनीले अनुरोध गरेको छ ।
भौतिक स्वरूपमा सेयर रहेका र हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीले प्रभु क्यापिटल लिमिटेड, कमलादी वा आफूलाई पायक पर्ने प्रभु बैंकका शाखा कार्यालय तथा अन्य निक्षेप सदस्यमार्फत हितग्राही खाता खोली सेयर अभौतिकीकरण गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसपछि बोनस सेयर सम्बन्धित हितग्राही खातामा प्राप्त गर्न सकिनेछ ।