विकासन्युज

सरकारलाई साथ दिन्छौँ, तर गलत काममा मौन बस्दैनौँ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकारलाई साथ दिनु भनेको सरकारका हरेक कामको समर्थन गर्नु नभएको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दा साथ दिने, तर कमजोरी र गलत काममा खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको स्पष्ट पारे । प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि खोज तथा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । ‘सरकारलाई साथ दिन्छौँ’ भन्नुको अर्थ सरकारका गलत कामलाई पनि समर्थन गर्नु नभएको उल्लेख गर्दै उनले भने, ‘बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन ररु प्रलयकारी बाढी आएको एक साता बितिसक्यो । सबै ठीकठाक भइरहेको छ, जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख भएको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो ।’ आङदेम्बेले सरकारलाई कमजोर बनाउन नभई अझ प्रभावकारी बनाउन आफूहरूले प्रश्न गरिरहेको बताए । विपद्को समयमा राजनीतिक प्रचारभन्दा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो । ‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो,’ उनले भने, ‘नागरिकको जीवनसँग जोडिएको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोस् ।’ उनले विपद्पछिको सबैभन्दा गम्भीर कमजोरी खोज तथा उद्धारमै देखिएको बताए । विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति उनले आपत्ति जनाए । सरकारका मन्त्री तथा जिम्मेवार अधिकारीहरू उद्धारको मैदानमा प्रभावकारी रूपमा खटिनुको साटो सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको आरोप पनि उनले लगाए । ‘मलाई एउटा प्रश्नले घोचिरहेको छ । यदि मन्त्रिपरिषद्का सदस्यकै परिवार वा आफन्त विपद्मा परेका भए, मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि माटो खोस्रेको फोटो–भिडियो खिचेर “वाह मन्त्रीजी” भन्दै पोस्ट गरिरहनुहुन्थ्यो ?’ उनले प्रश्न गरे । आङदेम्बेले विपद्को समयमा सरकारको ध्यान प्रचारमा नभई खोज, उद्धार, राहत र नागरिकको जीवन रक्षामा केन्द्रित हुनुपर्ने बताए । उनले फिल्डमा देखिएका कमजोरी तत्काल सच्याएर सरकारलाई थप प्रभावकारी ढंगले परिचालन गर्न आग्रह गरे ।

व्यवसाय विस्तार र कर्जाको गुणस्तर सुधारमा सिटिजन्स बैंकको जोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा व्यवसाय विस्तार र कर्जाको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै विशेष सेमिनार आयोजना गरेको छ । 'एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश' शीर्षकमा आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा बैंकका अन्य कर्मचारी सहभागी भएका थिए । सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा, चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । केन्द्र र प्रदेशबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया भएको थियो । सिटिजन्स बैंकका कोशी प्रदेशका १० जिल्लामा २८ वटा शाखा सञ्चालनमा छन् । यसअघि बैंकले बागमती प्रदेशमा पनि यस्तै प्रकृतिको रणनीतिक सेमिनार आयोजना गरेको थियो । अब अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।  बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलन ९.२२ प्रतिशत बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकले हालै जेन–जी बचत खाता, फ्रिलान्सर बचत खाता, डिजी बैंक सेवा र मोबाइल बैंकिङमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । हाल सिटिजन्स बैंकका देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् । बैंकले २० लाख ६२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

चन्द्र ढकालको आइएमई मोटर्सको आम्दानी साढे ३ अर्ब, नयाँ गाडी दर्ता रोक्दा व्यवसायमा दबाब

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिए पनि पछिल्लो दुई आर्थिक वर्षमा भने वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३४ करोड ७० लाख, आव २०७९/८० मा १ अर्ब ७५ करोड १० लाख, आव २०७८/७९ मा ३ अर्ब १४ करोड, आव २०७७/७८ मा २ अर्ब ६३ करोड १० लाख, आव २०७६/७७ मा १ अर्ब ८३ करोड २० लाख र आव २०७५/७६ मा २ अर्ब ९५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आइएमई मोटर्स नेपालमा हिन्दुजा ग्रुपअन्तर्गतको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्ड लिमिटेडको आधिकारिक एकमात्र वितरक हो । सन् २०१० मा स्थापना भएको कम्पनीले अशोक लेल्यान्डका बस, हलुका तथा मध्यमस्तरीय व्यावसायिक सवारीसाधन, ट्रक र टिपरलगायतका सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ । कम्पनी सुरुमा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो । त्यतिबेला कम्पनीले डिजिटल टेलिभिजन सेवा प्रदायक डिसहोमको विक्रेता कारोबार गर्दै आएको थियो । सन् २०१५ देखि अशोक लेल्यान्डको आधिकारिक विक्रेताका रूपमा कारोबार सुरु गरेको कम्पनीको नाम सन् २०१७ मा परिवर्तन गरी आइएमई मोटर्स प्रालि राखिएको हो । आइएमई मोटर्सको प्रवर्द्धन मुख्य रूपमा आइएमई ग्रुपसँग आबद्ध व्यक्तिहरूले गरेका छन् । नेपालका वित्तीय क्षेत्रलगायत विभिन्न क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि स्थापित आइएमई ग्रुपको व्यावसायिक पृष्ठभूमिले कम्पनीलाई वित्तीय तथा सञ्चालनगत रूपमा सहयोग पुर्याउँदै आएको छ । चन्द्रप्रसाद ढकाल आइएमई ग्ररुपका अध्यक्ष हुन् भने निशान ढकाल आइएमई मोटर्सका कार्यकारी अध्यक्ष हुन् । सरकारले सन् २०२६ मेमा जारी गरेको परिपत्रमार्फत नयाँ व्यावसायिक सवारीसाधन दर्तामा अनिश्चितकालीन रोक लगाएपछि भने कम्पनीको आगामी व्यवसायमा दबाब पर्न सक्ने जोखिम देखिएको छ । व्यावसायिक सवारीसाधनमा केन्द्रित कम्पनी भएकाले दर्तामा लगाइएको रोक लामो समयसम्म कायम रहेमा यसको प्रत्यक्ष असर बिक्री, आम्दानी तथा समग्र व्यावसायिक प्रदर्शनमा पर्न सक्ने देखिएको हो । यद्यपि, रोक लाग्नुअघि आयात गरिएका सवारीसाधनको मौज्दात तथा खोलिएका प्रतीतपत्रले निकट अवधिको कारोबारलाई केही हदसम्म सहयोग गर्ने अपेक्षा गरिएको छ । तर, सन् २०२६ अक्टोबरको अन्त्यतिर प्रमुख चाडपर्वपछि सुरु हुने व्यावसायिक सवारीसाधनको उच्च मागको समयमा समेत दर्तामा रोक कायम रहेमा कम्पनीको व्यवसायमा थप दबाब पर्न सक्ने जनाएको छ । त्यस्तै, भारत स्टेज छ उत्सर्जन मापदण्डको अनिवार्य कार्यान्वयनले प्रतिइकाइ बिक्रीबाट प्राप्त हुने रकम बढाउने भएकाले कम्पनीको कारोबार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, व्यावसायिक सवारीसाधनको कारोबार विस्तारसँगै कम्पनीलाई थप चालु पुँजी आवश्यक पर्ने भएकाले वित्तीय व्यवस्थापनमा चुनौती थपिन सक्ने देखिन्छ । नेपालमा अशोक लेल्यान्डका व्यावसायिक सवारीसाधनको एकमात्र राष्ट्रिय विक्रेताका रूपमा करिब ११ वर्षको अनुभव भए पनि कम्पनीले बजारमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । टाटा मोटर्स, भारतबेन्ज र आइचरजस्ता स्थापित ब्रान्डका आधिकारिक विक्रेताबाट हुने प्रतिस्पर्धा कम्पनीको व्यवसायका प्रमुख चुनौतीमध्ये रहेका जनाएको छ । साथै, कम्पनीले पाएको विक्रेता अधिकार नवीकरण नहुने जोखिम पनि कायम छ । व्यावसायिक सवारीसाधनको माग स्वभावतः चक्रीय हुने भएकाले पछिल्लो समय आम्दानी तथा नाफामा देखिएको सुधार दीर्घकालसम्म कायम रहने विषयमा समेत जोखिम रहेको छ । बजारमा माग बढ्दा कारोबार र नाफा बढ्ने तथा माग घट्दा त्यसमा गिरावट आउने भएकाले कम्पनीको व्यावसायिक प्रदर्शनमा उतारचढावको सम्भावना रहन्छ । विद्युतीय व्यावसायिक सवारीसाधनको बढ्दो प्रयोग पनि कम्पनीका लागि अर्को चुनौतीका रूपमा देखिएको छ । कम्पनीको विद्युतीय व्यावसायिक सवारीसाधन क्षेत्रमा हालसम्म उल्लेख्य उपस्थिति नरहेकाले आगामी दिनमा विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदा त्यसको असर कम्पनीको व्यवसायमा पर्न सक्ने देखिन्छ । कम्पनीको तरलता अवस्था पनि दबाबमा रहेको छ । लामो समयसम्म ग्राहकबाट रकम उठाउनुपर्ने अवस्थाका कारण चालु पुँजीमा कम्पनीको निर्भरता उच्च छ । आर्थिक वर्ष २०८२/८३ को मध्य जुलाईसम्म कम्पनीको चालु पुँजीको आवश्यकता सञ्चालन आम्दानीको करिब ७१ प्रतिशत रहेको थियो । उच्च चालु पुँजी आवश्यकताका कारण कम्पनी अल्पकालीन बाह्य वित्तीय स्रोतमा समेत निर्भर रहेको छ । आइएमई मोटर्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये १ अर्ब ३० करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ११ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

एभरेष्ट बैंकको बाढीपीडितलाई ३ करोड ११ लाखभन्दा बढी सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । यस्तै, बैंकका कर्मचारीले ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा सहयोग गरेका छन् । कर्मचारीको सहयोग रकमसमेत जोड्दा बैंकले सरकारको उद्धार कोषमा कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा जम्मा गरेको जनाएको छ । नगद सहयोगसँगै बैंकका कर्मचारीले आवश्यक राहत सामग्रीसमेत संकलन गरेका छन् । संकलित राहत सामग्री विपद् प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।

काठमाडौंमा १६५ शव ल्याइयो, शव व्यवस्थापनमा ७५ प्रहरी परिचालन

काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाएकाको १६५ वटा शव काठमाडौंमा ल्याइएको छ  ।  नुवाकोटबाट १५९ र धादिङबाट ६ वटा शव ल्याइएको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै नुवाकोटबाट शव आउने गरेको छ । अस्पतालमा आएका शवलाई प्रहरीले व्यवस्थापन गरिरहेका छन् । शवको डिएनए परीक्षणका लागि अस्पतालबाट नमुना संकलन गरिएको सिंहले जानकारी दिए । यहाँबाट शवको डिएनए परीक्षण गर्न प्रहरी अस्पताल लाने गरेको उनले बताए । शव व्यवस्थापनका लागि ७५ जना प्रहरी परिचालन गरिएको उनले बताए ।  '१० जना प्राविधिक प्रहरीले शव व्यवस्थापन गरिरहेका छन्  र ५  जनाले शवको मुचुल्का गरिरहेका छन्,' उनले भने । बाँकी प्रहरी अस्पताल परिसरभित्र परिचालन छन् । गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खमा ठूलो धनजनको क्षति गरेको छ ।

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख राहत

काठमाडौं । भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ तथा सञ्चालक र कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । उक्त सहयोग रकमको चेक कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । कम्पनीले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी तथा मानवीय प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ । विनाशकारी बाढीबाट रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले राहत तथा पुनःस्थापनाका लागि सरकारको कोषमा आर्थिक सहयोग गर्दै आएका छन् ।

रसुवा बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ११ हजार ९९३ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछि उद्धार गरिएका व्यक्तिमध्ये ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताए । उनका अनुसार उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये हालसम्म १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रधानमन्त्री शाहले भने, ‘११ हजार ९९३ जनाको उद्धार गरेका छौं । तर पनि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये केही बेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ ।’ उनले भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको जानकारी दिए । बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढी जानकारी दिँदै उनले सुरुङ उद्धार जारी रहेको बताएका छन् । ‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने ।  केही जलविद्युत् आयोजना सञ्चालन गर्न ठूलो खर्च लाग्ने देखिएको उनले बताए ।  अहिले शोक मनाउने समय होइन, खोज तथा उद्धार जारी छ : प्रधानमन्त्री शाह

अहिले शोक मनाउने समय होइन, खोज तथा उद्धार जारी छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार प्रतिनिधि सभाको बैठकमा विपदबारे जानकारी दिँदै अहिले शोक मनाउन समय नभएको बताए। उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् ।  सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । ‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने ।  उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए ।  प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए ।